काङ्ग्रेस पराजयका कारण

काङ्ग्रेस पराजयका कारण

बीबी श्रेष्ठ

व्यग्रतका साथ हेरिएको स्थानीय निकायको चुनावी परिणामले नेकपा एमालेलाई पहिलो पार्टी बनाएपछि नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावी नतिजाको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस पहिलो पार्टी बन्दै आइरहेको भर्खरै सम्पन्न पहिलो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको सन्दर्भमा उपसभापति पौडेलले यसको समीक्षा उठाउनु स्वाभाविक हो । तर यस चुनावका समयमा काङ्ग्रेसको भूमिका कस्तो रह्यो भन्ने कुरालाई गहन छलफल गरेको पाइदैन । विगतका राजनीतिक योगदानबाट व्याज खान पल्केको नेपाली काङ्ग्रेस अहिले पनि त्यही व्याजबाट पहिलो पार्टी बन्नेमा विश्वस्त थियो । तर एक्काइसौँ शताब्दीका नेपाली सचेत जनताको सही मूल्याङ्कनका कारण हाम्रो होइन, राम्रो व्यक्ति हुनुपर्ने कुरामा प्रष्ट देखियो । यद्यापि यो सोचमा अझै केही समयको अन्तरालमा धेरै परिवर्तन देख्न सकिने कुरामा काठमाडौँ महानगरपालिकाको रन्जु दर्शनाको प्राप्त मतले पनि प्रष्ट पारेको छ । यसलाई सबैले बेलामा नै मनन गर्नुपर्ने देखिन्छ ।

उपसभापति पौडेलले सभापति देउवासँग यस पटकको हारको कारण देखाइसकेपछि त्यसको गम्भीर समीक्षा गरेर निचोडका साथ अगाडि बढ्नुभन्दा पनि त्यसै उठेर हिँड्नु नेतृत्वको असक्षमता हो । विगतमा भएको परिणामको शृङ्खला पनि त्यही हो । त्योभन्दा माथि गएर सोच्नु व्यर्थ छ । किनभने जोसँग जे छ, त्यही नै देखाउने हो । ऊसँग भएको भन्दा बढी सोच्ने भनेको सोच्ने व्यक्तिको नै मूर्खता हो । त्यो इतिहासले प्रष्ट पारिसकेको छ । भलै पहिलो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताको मतदाता शिक्षाको अभाव र पहिलो अनुभवको कारण पनि उल्लेख्य सुधार हुन नसके पनि विगतमा नेपाली काङ्ग्रेसले सधैँ आफ्नो बिर्ता सम्झनेको गढमा समेत एमालेको जितले साँच्चै जनताहरु सचेत भइसकेको कुरालाई अवगत गराउँदछ । सधैँ जनतालाई दास प्रवृत्ति र जे गरे पनि हुन्छ भन्ने मानसिकताको उपजले नै अहिलेको परिणाम आएको हो भन्नलाई गाह्रो मान्नु पर्दैन ।

समयको गतिशीलतासँगै आम व्यक्तिको गतिशीलता हुने गर्दछ भन्ने कुराको चुरो बुझनु पर्दछ । स्थानीय निकायको चुनावमा हामीले जितेको क्षेत्र हो भन्दैमा सधैँ जितिन्छ भन्ने मानसिकता नै कमजोरी हो । जनताको प्रत्यक्ष जनजीवनसँग सरोकार नराख्ने, समाज र देश र जनभावनाको कदर नगर्ने, सत्ता र सरकारमा हुँदा जे गरे पनि जायज हुन्छ भन्ने मानसिकताले ग्रसित हुनु भनेको कमजोर हुँदै जानु हो । यद्यापि दोस्रो चरणको निर्वाचनपछि समग्र देशबाट आउने परिणामले पार्टीको लोकप्रियता मापन भए पनि नेकपा एमालेले खेलेको राष्ट्रियता, देशभक्ति र स्वाभिमानको नारा यो चुनावका लागि मुख्य कसी बनिदियो । संविधान निर्माणमा खेलेको अगुवा भूमिका होस् वा सरकारमा रहेर भारतीय नाकाबन्दीको चर्को सामना, स्वतन्त्रता, स्वाभिमान र सार्वभौम देशको नाराले नेपाल र नेपालीको मात्र होइन, सिङ्गो विश्वमा समेत यसले सकारात्मक भूमिका खेलिदियो । स्वाभिमानको रक्षा गर्ने जनताहरु मात्र होइन, जीवनभर काङ्गे्रसमा आस्था राख्ने अगुवाहरु समेत एमालेले खेलेको भूमिकाका कारण नतमस्तक बनिदियो ।

जनताको प्रत्यक्ष सरोकारको विषयमा मलजल गर्ने काम गरेको एमालेले वृद्धभत्ता वृद्धि होस वा कर्मचारीको तलबभत्ता वृद्धि, स्वास्थ्य शिक्षा, रोजगारको विषयमा खेलेको भूमिकाले उचो बनाइदियो । कम्युनिस्ट स्वयं विचारलाई प्रधानता दिने गर्दछ, बल र पैसालाई होइन । एमाले तुलनात्मक रुपमा नेपाली काङ्गे्रसभन्दा कम भए पनि साङ्गठनिक रुपमा मजबुत रहेको थियो । विचार र दृष्टिकोणमा अडिग रहेका आम कार्यकर्ताको अटुट भावना र जनताप्रतिको आस्था र विश्वासका कारण पनि एमाले पहिलो पार्टी बन्न पुग्यो । वडामा बीसौँ लाख खर्च गर्न सक्नेका लागि पाँच हजार मात्र खर्च गरेर चुनाव जित्ने अवस्थाको सिर्जना हुन पुग्यो । यसको मुख्य कारण भनेको नेकपा एमालेको सङ्गठन र जनताप्रतिका आस्था र भरोसा बनिदियो । काठमाडौँ, पोखराजस्ता महानगरमा अत्यधिक मत ल्याएर विजेता बनेको एमाले भरतपुरमा देउवा र प्रचण्डसँग एक्लै लडिरहेका छ । त्यसमाथि सत्तापक्षबाट भएको धाँधली र जताबाट पनि जित्नका लागि गरिएको हत्कण्डाले झन् काङ्ग्रेस र माओवादीको भूमिका माथि प्रश्न चिन्ह खडा भएको । हिजोका दास र सामन्ती युगबाट उठ्न नसकेको नेतृत्व गणका कारण आम काङ्ग्रेसी र माओवादी कार्यकर्ता पनि नेतृत्वका कारण निर्लज्जताका साथ हिँड्न विवश छन् । जसरी पनि जित्नुपर्ने माओवादी र काङ्ग्रेसको एक मात्र अडानले गर्दा झनझन नेकपा एमालेमा जनताको आस्था बढिरहेको छ ।

चुनावका दौरान अहिलेसम्म त काङ्ग्रेसमा भोट हालियो । अब त झन बुढेसकालमा अरुलाई भोट हालिँदैन, किन भोट काङ्गे्रेसलाई भन्ने प्रश्न तेर्सियो । हामी त जन्मै काङ्गे्रस, बुबा पनि काङ्ग्रेस, हजुरबुबा पनि काङ्ग्रेस, त्यसैले हामी सबै काङ्ग्रेस भन्ने बूढा बाको जवाफले वाक्क बनायो । न विचार, न नेतृत्वको क्षमता, न योजना, न कार्यक्रम, न सिद्धान्त, तैपनि जन्मजातै काङ्ग्रेस, बीपीको कर्मले ठूलो भएको काङ्ग्रेस सधैँ त्यसको व्याज खानुभन्दा पनि समय र जनताको कर्ममा लिन भएर ठूलो बन्नुपर्दछ भन्ने कुरामा अब चुक्नु हुँदैन । जिम्मेवार नयाँ अध्यक्षज्यूले भन्नुभयो, विकास त नियमित भइहाल्दछ नि यो त गर्नैपर्दैन । अझै पनि पुरातनवादी त्यही सोचमा बसेको नेतृत्वबाट पुन विकास र गतिशीलताको आशा राख्नु भनेको हामी आफै मूर्ख र नरपशु शिवाय केही हुन सक्दैनौँ, फेरि पनि भन्न मन लाग्यो, मत हजुर जन्मजातै एमाले, जन्मजातै काङ्ग्रेस, टिकट पाउने व्यक्ति जस्तो सुकै किन नहोस्, मेरो भोट काग्रेसलाई, एमालेलाई भन्ने मानसिकता रहेको छ । योग्यता क्षमता लाजले लुकिरह्यो ।

समयको गतिशीलता सँगै परिवर्तन हुन नसकेपछि कमजोर हुने कुरा स्वयंसिद्ध तथ्य हो । जनताका काम गरेर मन जितेर पहिलो पार्टी बन्नुभन्दा पनि काङ्ग्रेसले बीपीको व्याज, एमालेले मनमोहन र मदन भण्डारीको व्याज खाइरहने कहिलेसम्म ? यो सञ्चारले उल्लेख्य फड्को मारेको सन्दर्भमा बूढा बुबाको विचार झैँ सधैँ काग्रेस र एमाले भन्ने विचारले अब प्रश्रय पाउन सक्दैन । इतिहासमा कसैको पनि सदाबहार जित भएको पाइएको छैन भने १ शताब्दीसम्म हालीमुहाली नगरेका पार्टीहरु नेपालको राजनीतिमा सधैँ हालीमुहाली गर्दछु भनेर सोच्नु भनेको रुखको हाँगामा बसेर फेद काट्नु जस्तै हो । अवसर पाएको बेला हिजो गरेका प्रतिबद्धतालाई मनन गरेर जनताको हितमा काम गरेर अगाडि बढ्नु काङ्ग्रस मात्रै होइन, सबैको लागि सर्वोत्तम उपाय हो । नभए राणा शासन होस् वा राजतन्त्र सबै विलाएर गए भने अन्यको अस्तित्व हराउन धेरै समय लाग्दैन । यो कुरा नेपालका राजनीतिक दलहरु र नेतृत्वले बुझ्न विलम्ब गर्नु हुँदैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल