मधेसीबाट पीडित मधेस र उपेन्द्र यादव

मधेसीबाट पीडित मधेस र उपेन्द्र यादव

डा. बद्रीविशाल पोखरेल

उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम पार्टीले आन्तरिक रुपमा स्थानीय निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता र चुनाव चिन्ह लिएको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा)ले कडा विरोध गरेको थियो । यो विरोधको मूल कारण सारा मधेसी दल एकजुट भएर संविधानको विरोधका नाममा मागमाथि माग राख्दै आखिरमा नेपाललाई दुई राष्ट्र बनाउने दुर्नियत हो । उनीहरु नेपाललाई मधेस र पहाड गरी दुई राष्ट्र बनाउने दुराशय अन्तर्निहित रहेको जगजाहेर भइसकेको छ ।

त्यसैले सर्वाेच्च अदालतले पनि सरकारले असंवैधानिक तरिकाले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा स्थानीय तहको सङ्ख्या थप्ने निर्णय यथावत् राख्ने निर्णय गरेको छ । तर यसका विपरीत राजपाले अराजनीतिक रुपमा मागमाथि माग तेस्र्याइरहेको थियो । तर यादव नेतृत्वको पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने निर्णयले राष्ट्रिय जनता पार्टीमा ठूलो भुइँचालो गएको देखिन्छ ।

यादवले दोस्रो चरणमा हुने निर्वाचनमा पनि भाग लिन दुई हप्ता अघि दुई नम्बर प्रदेशका आम अगुवा कार्यकर्ताहरुको भेला र प्रशिक्षणमा सङ्घर्ष गरेर पाएको उपलब्धिको जगेर्ना गर्न पनि स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने कुरा बताए । उनले दीर्घकालीन राजनीति सदा आवेश र उत्तेजनामा मात्र नहुने बताए ।

पार्टी जीवनको सुरक्षा र संवर्धनका लागि पनि निर्वाचनमा सक्रिय सहभागिता अपरिहार्य रहेको स्वयं यादवले तथ्य, तर्क र प्रमाणका आधारमा उल्लेख गरेका थिए । यादवका अनुसार नै पनि राजनीति मार्गका धेरै घुम्ती मोड र फेरो हुन्छ । अहिले खोलिएका मधेस र मधेसी नामका पार्टी र तिनका नेतासित यादवको समान तुलना अनुचित देखिन्छ ।

ने.क.पा. माक्र्सवादी हुँदै पुष्पलाल समूह र एमालेपार्टीबाट राजनीतिक यात्रा सुरु र विकसित गरेर अनेक आरोह अवरोह व्यहोरेका यादव तत्कालीन पार्टी र तिनका नेता कार्यकर्ताहरुले यादवको भौतिक, बौद्धिक र वैचारिक उन्नयनमा भरपूर सहयोग गरेको त्यस बेलाका माक्र्सवादी नेता कार्यकर्ता हाल एमालेका तर्फबाट पूर्व सभासद् तथा वैकल्पिक केन्द्रीय सदस्य धर्मराज निरौला बताउँछन् । यादव सामाजिक, राजनीतिक तथा जागरण गर्ने र गराउने चेतका अगुवा पनि हुन् ।

उनी आफैँ पनि तल्लो वर्ग, तह र तप्काबाट उठेका नेता हुन् । उनमा अहिले पनि तराई–मधेस, पहाड र हिमालका आम श्रमजीवी तथा मिहिनेतको जनताको सेवा र स्वार्थलाई ध्यान दिन्छन् । किनकि बाख्रा वर्गले आफ्नै वर्गको हित र उत्थानको सवाललाई भित्री मनमा राखेको हुन्छ । बाघले बाख्राको हित गर्छु भनेर कसम खाए पनि बाघले बाख्रालाई सुमसुम्याउँदा मात्रै पनि बाख्राको आङ कोतरिन्छ । गोहीले माया गर्दा पनि अन्य जनावर र प्राणीको छाला ताछिन्छ र चिउँडो भत्किन्छ ।

त्यसैले यादवले आफ्नो वर्गीय चिन्तन, मान्यता र धरातललाई पार्टीको सैद्धान्तिक, साङ्गठनिक तथा कार्यक्रमिक तहमा रुपान्तरित गर्न सके भने यस पार्टीको भविष्य सकारात्मक देखिन्छ । २०६२, ०६३ पछिको पहिलो मधेस आन्दोलन यादवकै नेतृत्वमा भएको थियो । त्यति हुँदाहुँदै मधेस र मधेसी नाममा जातीय क्षेत्रीय सङ्कीर्णता उपेन्द्र यादव र उनले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरममा पनि देखिन्छ । जात, भात, क्षेत्र र भूगोलको सीमित घेरमा बाँधिएर कुनै पनि पार्टीको दीर्घजीवन सम्भव हुँदैन । तथापि अरु मधेसी दल जस्तो मधेसका ठालू, जमिन्दारहरुको वर्चस्व रहेको पार्टी फोरम होइन । यादव नेतृत्वको पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनमा सक्रिय रुपमा भाग लिने निर्णयले राजपा पार्टीलाई निर्वाचनमा आउन परोक्ष दबाब पर्न गएको देखिन्छ । यो चाहिँ यादवको फोरम पार्टीको सकारात्मक प्रभाव हो ।

यही कारण सरकारसित जेठ ३१ गते हुने निर्वाचन आगामी असार ९ गते सार्नुपरेको स्पष्ट हुन्छ । यो सहमतिलाई पनि राजपा पार्टीले अनेक बहानामा उल्लङ्घन गर्यो भने यो पार्टी राजनीतिक पार्टीको दृश्य पटलबाट ओझेल पर्ने निश्चित देखिन्छ । कहिलेकाहीँ एकअर्का राजनीतिक पार्टीका सकारात्मक मात्र होइन, जण्डिसजस्ता नकारात्मक रोग हेर्दाहेर्दै पनि सर्छ । त्यसैले अन्य मधेसी दलका सङ्गतले गर्दा पनि फोरम पार्टी भारतेली शासक र नेताका पाउमा लम्पसार परेको दर्दनाक दृश्य देख्नुपर्यो । भारत बिहारका नेता लालु यादवका घरकटेरामा मधेसी नेताकै लस्करमा उपेन्द्र यादवको उपस्थिति टिठ लाग्दो देखियो । आफ्नो खुट्टा टेकेर उठ्न सकियो भने मात्र अग्रगति गर्न सकिन्छ ।

पार्टी सञ्चालन र परिचालन गर्ने कुरा पनि त्यस्तै हो । सदा अरुकै आदेश, निर्देश, आग्रह र अनुकम्पाका भरमा कसैको पनि दीर्घकालीन भविष्य हुनसक्तैन । उचालेको कुकुरले मृग मार्र्दैन । सिनेमामा प्यादाले राम्रो काम गरे पनि काम बिगारे पनि त्यसको अन्त्य भएको देखिन्छ । काम सर्यो भाँडो आफल तेरो ठाँडो भनेझैँ राजनीतिमा पनि राजनैतिक डनले लाए अह्राएको र आदेश अनुसार काम सफल पारे पनि काम बिगारे प्यादाको समाप्ती अपरिहार्य हुन्छ । काम सफल पार्दा डनले आफूलाई जित्ने हो कि भनेर र काम बिगार्दा पोल खुल्छ भनेर प्यादाको इहलीला समाप्त भएको देखिन्छ ।

त्यसैले राजनीति गर्दा यस्ता विषयमा झन् धेरै विचार पुर्याउनुपर्छ । राजनीतिक आन्दोलन गर्दा सबका सब माग तत्काल पूरा हुन सक्तैनन् । तर प्राप्त उपलब्धि जतिसुकै होस् भनेर निरन्तर आन्दोलन र आन्दोलनका लागि आन्दोलन भन्ने कुराले दीर्घकालीन राजनीति हुन सक्तैन । हरेक राजनीतिक पार्टीले आफैँले पनि ठोस परिस्थितिको ठोस विश्लोषण नगरी बाहिरी र भित्री सक्तिका इसारामा मात्र चल्ने हो भने त्यसले देशकै प्रतिष्ठामा पनि गम्भीर नकारात्मक असर पार्छ । त्यस्तो राजनीति पानीको फोका झैँ फुट्छ र समाप्त हुन्छ । पार्टीका कार्यकर्तामा सदा निराशा मात्र सञ्चार हुन गयो भने तिनको मनोबल उठाउन सकिन्न । कहिलेकाहीँ खासै उपलब्धि नहुँदा पनि त्यान्द्रो उपलब्धिलाई आधार बनाएर दूरदर्शी नेतृत्वले समग्र पार्टीमा आशा, उत्साह र भरोसा सञ्चार गर्ने गर्छ । जिन्दगी सदा एकनास हुँदैन । सदा जित र सदा हार मात्रै पनि हुँदैन ।

त्यसमा पनि एमाले पार्टीले देशव्यापी रुपमा निर्वातनको माहौल जबर्जस्ती बनाएकै हो । फोरमसहितका पार्टीहरुको आन्दोलन र सङ्घर्षका कारण लोकतन्त्र, गणतन्त्र, सङ्घीयता तथा धर्म निरपेक्षता जस्ता उपलब्धिहरु प्राप्त भएका छन्. । अझ अहिलेको नेपालको संविधानमा तर्रा–इमधेससहित आम देशबासीको हितका खातिर बहुआयामिक तथा विशिष्ट महत्वका विषयहरु लिपिबद्ध गरेको छ । यस अवस्थामा केही राष्ट्रिय जनता पार्टीमा आबद्ध पार्टी नेताहरुले दोस्रो चरणको पूर्वसन्ध्यामा संविधान सशोधन र मधेसमा स्थानीय तहको सङ्ख्या सरकारले असंवैधानिक रुपमा बढाए भन्दा अझै बढाउनुपर्ने सर्वोच्च अदालतको फैसला विपरीत बखेडा मुद्दा उठाएर निर्वाचन भाँड्न उद्यत देखिन्छन् । एकपछि अर्को मुद्दा उठाएर आखिरमा मधेस विखण्डन गर्ने दुर्नियति राजपा पार्टीभित्रका केही मधेसी नेताको रहेको स्पष्ट हुन्छ । यही जेठ १३ गतेको एक पत्रिकामा पत्रकार जगत नेपालको लेखमा नेपाली काङ्ग्रेसका नेता तथा जननायक बी.पी. कोइरालालाई भारतीय पक्षले नेपालको राष्ट्रपति बनाइदिन्छौँ भनेर नेपाल हडप्ने दुर्नियति राखेको खुलासा गरेका छन् । अहिले त नेपालको स्वाधीनता, अखण्डता, स्वअस्तित्व र सामाजिक सद्भाव समाप्त पार्न राजनीति, पत्रकारिता, स्रष्टा र लेखक आदि अनेक क्षेत्रमा नेपाली लेन्डुपहरुको लस्कर लागेको देखिन्छ ।

आगामी निर्वाचनमा यादव र विजय गच्छदारको पार्टीले भाग लिएपछि राजपाले पार्टीगत राजनीतिको स्थायित्वका लागि पनि दोस्रो चरणको निर्वाचन भाग लिनु अनिवार्य हुन्छ । यादव र गच्छदारको पार्टीले आगामी निर्वाचनामा सहकार्यको प्रस्ताव राखेको थियो तर राजपा स्वविवेकमा चलेको जस्तो लाग्दैन । मौका आउँछ पर्खदैन, बगेको खोला फर्कँदैन । यादवसहित नेपालको प्रमुख पार्टीहरु निर्वाचनमा सक्रिय सहभागी हुँदा मधेसमा व्याप्त निर्वाचनको वातावरणमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । मधेसी पार्टीका नाममा सदा नेपाललाई अस्थिर, अराजक र अन्यौल बनाउन उद्यत पार्टीको आखिरमा सर्वनाश निश्चित देखिन्छ । राजपाका केही नेतालाई पार्टी निर्माण गरेर देश र देशवासीको भलो सोच्ने र गर्नेभन्दा मालिकको इसारामा नेपालको बर्बादी गर्नु मात्र ध्येय रहेको तथ्य उजागर भइसकेको छ ।

राजपा पार्टीका कतिपय नेता मधेस र मधेसी मसिहाका नाममा नेपालको राष्ट्रवादी चिन्तन, चरित्र, नेता, नेतृत्व, वैभव, विभूति र सुकृत्यलाई बदनाम गर्न र गराउन कसम खाएर लागेको देखिन्छ । ने.क.पा. एमाले अध्यक्ष तथा पूर्वप्रधान मन्त्रीलाई पहाडी, खोक्रो, उग्र, सामन्ती राष्ट्रवादी भनेर गोयबल्स शैलीमा फतुर आरोप लगाउनु यिनको पाखण्डी धर्म नै बनेको देखिन्छ । ओली अडानमा आम नेपाली जनताको दृढ समर्थनका कारण भारत प्रायोजित अमानवीय नकाबन्दी नाकाम भएको स्पष्ट छ । भारत प्रयोजित नेपाल नाकाबन्दी सफल पार्न भारतीय भूमिमा बसेर उतैको खाना, नाना र छानामा बसेर देश, जनता विरोधी कृत्य गर्नेहरुसित ओली राष्ट्रवादका बारेमा बोल्नेसम्म नैतिक अधिकार छैन । तिनले ओलीको मधेस र मधेसीका उत्थान र विकासमा ल्याएका तमाम योजनाहरु आफैँले प्रत्यक्ष देखे भोगेर पनि कसरी अनर्गल आरोप लगाउँछन्, अचम्म छ ।

निर्वाचनमा नेपालको तराई मधेसका तमाम श्रमजीवी तथा मिहिनेती जनताहरु उच्च वर्गका तथा ठालु प्रवृत्तिका केही मधेसी नेताहरुबाट चौतर्फी रुपमा पीडित बनेका छन् । यिनै ठालु प्रवृत्तिका मानिसले मधेसका निम्न र निम्नतम तहका तमाम मधेसी जनतालाई हेला होचो, उपेक्षा र अपमान गरेको जग जाहेर छ । पानीको धारो र कुवा छोएको नाममा डुमबस्तीका मधेसी जनताहरु ठालू मधेसीबाट घोर अपमानित भएका छन् । तल्ला तह र वर्गका महिला र पुरुषलाई राजेन्द्र महतोलगायत ठालू मधेसी नेताहरुले खुल्ला रुपमा गोडा धुवाँएको दुनियाँले देखिसकेको छ । बोक्सीका नाममा यही मधेसमा आमाहरुलाई दिसा खुवाइन्छ ।

दाइजो नल्याएको निहुँ झिकेर आम मधेसी दिदी, बहिनी र चेलीहरुलाई जिउँदै जलाइन्छ । मानव विकासको सूचकाङ्कका दृष्टिले मधेस नै सबैभन्दा पछि परेको छ । झोले विद्यालयहरु बढीभन्दा बढी यही २ नं. प्रदेशमा हुनुमा कथित मधेसी नेताहरुमा कुनै पश्चात्ताप देखिन्न । भारतीय शासकको नेपालको दक्षिण सीमावर्ती क्षेत्रमा सीमा मिचिँदा, मधसी जनताहरु तिनबाट पीडित र प्रताडित हुँदा कथित मधेसी ठालू नेता बोल्दैनन् ।

तिनलाई तमाम पीडित र उत्पीडित मधेसी जनताको स्तरोन्नतिको कुनै वास्ता देखिन्न । तर यस कुरालाई जबर्जस्त व्यावहारिक रुपमा तोडेर फोरम पार्टी अघि बढ्नुपर्छ । यसो गर्दा यो पार्टी क्षेत्रीय रुपमा मात्र होइन, राष्ट्रिय रुपमा अगाडि बढ्ने स्थिति देखिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल