साझा पार्टीका समस्या

साझा पार्टीका समस्या

मिलनकान्छा किराँती

नेपाली राजनीतिमा पछिल्लो चरण वैकल्पिक शक्तिको निकै चर्चा छ । आम जनता पुराना पार्टीहरुको चिन्तन–व्यवहारले आक्रान्त मात्रै छैनन् उनीहरुबाट देश नबन्ने सङ्केतसमेत पाइसकेका छन् । तसर्थ, विकल्प खोज्न थालिएको छ ।

राजनीतिक क्षेत्रमा क्रियाशीलहरु मात्रै नभएर गैह्र–राजनीतिक पृष्ठभूमि भएकाहरुसमेत विकल्पको पार्टी निर्माण गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ कम्मर कसिरहेका छन् । देश विषम परिस्थितिमा गुज्रिरहेको छ ।

विधि–पद्धति, पारदर्शिता र इमानको खडेरी परेको छ । यस्तो बेला परिस्थितिले विकल्प खोज्दछ । तर विकल्प नहुँदासम्म पुरानाभित्रको धेरै खराबहरुमध्ये कम खराबलाई विश्वास गर्नुपर्ने आमजनताको बाध्यता रहेको छ । यसको पुष्टि पहिलो चरणको स्थानीय निर्वाचनको रोचक मत परिणामले दिइसकेको छ । विकल्प खोजिए पनि विकल्प दिनका लागि त्यति सजिलो छैन । विधिवत रुपमा मेहनत गरे असम्भव पनि छैन । वैकल्पिक शक्ति निर्माणको महत्वकाङ्क्षा बोकेर केही दलहरु जन्मिसकेका छन् । जन्मदै छन् । यस क्रममा साझा पार्टीको नाम पनि त्यो लाइनमा आइसकेको छ ।

पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेका साझा पार्टीले जनताको मन कतिसम्म जित्न सक्छ, त्यो भविष्यले बताउने छ । उनले तत्काल अवलम्बन गरेका नीति अन्तर्गत चार खम्बाको चर्चा थोरबहुत भए पनि सारमा स्पष्ट हुन अझै बाँकी नै देखिन्छ ।

पङ्क्तिकारको समेत सदभाव रहेका कारण समूहमा रहेर वैचारिक, साङ्गठनिक मनोदशा बुझ्न धेरै समय कुर्न परेन । सुरुआतमा भनिएको परोपकारी लोकतन्त्र सहभागीतामूलक लोकतन्त्रसम्म आइपुग्दा थोरै फरक स्वाद र आशा भरिए पनि दुनियामा भए–रहेका वाद र विचार प्रत्येक भूगोलको विविधताअनुसार तात्कालिक परिस्थितिको ठोस विश्लेषण गर्ने हो भने कुनै पनि गलत हुँदैनन् भन्ने हो ।

त्यसर्थ, नेपालमा सहभागीतामूलक लोकतन्त्रले अब उप्रान्त सबै राजनीतिक दलको दस्तावेजमा दर्ज हुनु नौलो कुरा मानिदैन । उदारवादी खुल्ला अर्थतन्त्रबारे हाल जारी संविधानले नै नेपाली माटोलाई सुम्पेको नयाँ कार्यभारको एक पहिलो अंश हो ।

कल्याणकारी अर्थनीतिको उद्देश्यभित्र संस्थागत सामाजिक दायित्व पूरा गर्न व्यक्तिगत सामाजिक दायित्व बहनको निम्ति नागरिकमा अनुभूति जगाउन प्रोत्साहनको प्रस्ताव अघि सार्नु अस्वभाविक होइन । विशेषगरी राज्यलाई करको दायरा र दायित्वको बोध गराउने कुरा नौलो नभए पनि नवीनतम विधि उल्लेख नहुनु स्वभाविकै हो । कुरा जति चर्का गरे पनि आफूले भोगेको अनुभव, अध्यायनको परिधिभन्दा पर कोही पुग्न सक्दैनन् । सुधारवादी वैचारिक धरातललाई सुसंस्कृत बनाउन ढिलाइ हुनगए त्यसको रुप पुनरुत्थान जस्तो देखिन पुग्दछ । त्यो सारमा जतिसुकै राम्रो, गुणी भए पनि समाजले निरुत्साहित गर्दै लगिदिन्छन् ।

यसले गर्दा असफलताको शृङ्खलाहरु सामना गर्न तयार हुनुपर्ने बाध्यत्मक परिस्थिति आइदिन्छ । उदारवादी अर्थतन्त्रको अन्तरसम्बन्ध निजी क्षेत्रको सृजनशीलतासँग मात्रै जोडेर हेरिनु कत्तिको उचित होला ? सामाजिक सुरक्षा, न्यायोचित वितरण र शास्त्रीय पुँजीवादका अवधारणाहरु विश्वका महारथी मुलुकहरुमा कुन सन्दर्भ र परिस्थितिमा लागू भए गरेका थिए ? कल्याणकारी कार्यक्रमको अप्लाई सम्भव हुनको कारण वस्तुनिष्ठ भएर गहिराइमा पुग्न नसकेसम्म विषयलाई जबर्जस्ती बहसमा ल्याउनु वुद्धिमताभित्र पर्छ जस्तो लाग्दैन । हरेक देशको ढुङ्गा–माटोको स्वरुप उस्तै देखिन्छन । तर फरक–फरक हावापानी र वातावरणले सिञ्चित भएको कुरा भुल्नु हुँदैन । नेपाली माटोको मनसुनी हावापानीलाई युरोप, अमेरिका र अन्य कुनै पनि मुलुकसँग दाँजेर कपी, पेष्टको सजिलो सूत्र अपनाउन सोचिएको हो भने समयमै सेफल्यान्ड खोज्नु पर्दछ । समयले अनियन्त्रित उचाइ लिएपछि अवतरण त परैको कुरा होला ।

थोरै ओर्लन पनि जोखिमपूर्ण हुन सक्दछ । डेनमार्कलगायत नर्डिक मुलुकहरुले अपनाएका लोककल्याणकारी राष्ट्रिय पेन्सन, बिरामी बिमा, दुर्घटना बिमा, वृद्ध भत्ता, बालबालिका, अपाङ्गता भत्ता जस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरु लागू गरेका बखत औद्योगीकरणको प्रारम्भिक चरणमा रहेका कारण आर्थिक रुपमा गरिब भए पनि उनीहरुको इन्फ्रास्ट्रक्चरको स्थिति हाल नेपालको अवस्था, समय र मौलिक माटोसँग दाँज्न वैज्ञानिक हुन्छ कि हुँदैन भन्ने सवाल नै मुख्यात अगाडि आउँछ ।
‘आर्थिक समृद्धि र समताको एजेन्डालाई सँगसँगै अघि बढाउँदा नीतिगत लक्ष्य र नतिजाको समानतालाई मध्यनजर गर्दै अवसरको समानतालाई जोडदिने हुनुपर्दछ । तर, अवसरको समानतालाई जोड दिँदा सीमान्तकृत र अति पिछडिएकाहरुका लागि कल्याणकारी उपायहरु अवलम्बन गरिएन भने समाज समतामूलक र न्यायपूर्ण बन्नै सक्तैन ।’ यसरी संश्लेषण गरिरहँदा के भुल्न हुँदैनभने नेपाली मात्रै नभएर विश्व मानव समुदाय फगत पेट पाल्नको लागि मात्रै बाँचेको हुँदैन ।

आर्थिक सम्पन्नताले जुन तहसम्म उसको स्तर उठाइदिन्छ । त्योभन्दा कैयौं गुणा माथिको स्तर उसले आफ्नो अस्तित्व, इच्छा–चाहना र आकाङ्क्षाको हो भन्ने बुझेको हुन्छ । एउटा कुशल उत्पादक उही हुन पुग्दछ, जो उपभोक्ताको इच्छा–चाहना बमोजिमको वस्तु उत्पादनपूर्व यही हो भन्ने दृढ किटान गर्दछ । साना–साना सुधारको पाटोलाई मध्यनजर गरेर चालिएका अभियानलाई तात्कालीन कार्यदिशा मान्ने हो भने यसको दीर्घकालीन वैज्ञानिक कार्यदिशा के हुने ? विचारका डिम्वाशयलाई रौँ चिरा गरेर हेर्ने हो भने उदारवादी, नव–उदारवादीहरु एकाएक पुँजीवादी र समाजवादी धारमै गएर अन्ततः मिल्नु परेको दृष्टान्त छन् । यसलाई उपभोक्तावादी समाजले सिर्जना गरेको बाध्यत्मक परिस्थिति भनेर औँल्याउन सकिन्छ । बाटोहरु जति घुमाउरो, बाङ्गाटिङ्गा र लामा भए पनि गन्तव्यको टुङ्गो हुनुपर्दछ । यसो नभएसम्म यात्रीहरुमा उर्जा भरिँदैन । सुधारका कार्य सकारेपछि अरु के गर्ने भन्ने निक्र्यौल अहिले गर्न नसक्नु त्योभन्दा अगाडि बढ्ने क्षमताको विकास गर्न नसक्नु हो । समयलाई सँगसँँगै डोर्याउने हो भने धेरै समस्याहरु समयले नै हल गर्दछ । थोरै मात्र हामीले प्रयास गर्ने हो ।
विचारलाई सघन रुपमा बहसमा ल्याएर ठोस निष्कर्ष निकाल्दै ग्रासरुटमा डेलिभरी गर्ने बेलासम्म बहस नै सुरुआत भएको पाइँदैन । साङ्गठिक संरचनाको वैज्ञानिक पद्धति नै अवलम्बन भएको छैन । भावनात्मक सम्बन्ध कायम गर्न धेरै सजिलो मान्ने हो भने त्यो पनि राम्रोसँग वृहत्तर हुन सकेको छैन । प्रथमतः सङ्गठन कि संरचना बन्छ ? यस्ता विषयहरुको उल्झनहरु गोलचक्करमा फस्ने सङ्केतहरु हुन् । यसो हँुदा पार्टी नबनेर पार्टी बन्न पुग्दछ । पार्टीको विधि, पद्धति र तहगत नियन्त्रण भएर विचारले सुशोभित भई जुनसुकै बेला सङ्गठनमा आइपरेको समस्या समाधान गर्न र नेतृत्वको कार्यक्रम कार्यान्वायन गर्न सहज हुन्छ, सफल हुन्छ । तर, पार्टीको विशेषता भनेको धर्मशाला पाटी–चौतारीमा चोर, दलाल, बदमास, बुद्धिजीवी, पेसाकर्मी मजदुर, भरिया बटुवाहरु सबै बस्न आइपुग्छन । आआफ्नै कुरा सुनाउँछन् । कसैले कसैलाई सुन्दैनन् । पत्याउँदैनन् ।

एक–अर्कामा शिष्टाचारसमेत हँुदैन र अन्त्यमा आआफ्नै बाटो लाग्छन् । उनीहरुको जमात निकै ठूलो देखिए पनि अन्तर्यमा कुनै उद्देश्य नै नभएका कारण सङ्गठित भएको मानिँदैन । ती भिन्न–भिन्न प्रकृतिका विचारहीनहरुको हूल क्षणिक मात्रै देख्न सकिन्छ ।

जीवनमा कति पटक आँखा झिम्क्याइयो । सायद कसैले पनि यसको तथ्याङ्क राखेको हुँदैन । एउटा पार्टीको जीवन पनि त्यस्तै प्रकृतिबाट निर्वाचनसँग जोडिएर गुज्रिन्छ । आन्तरिक, बाह्य, स्थानीय, क्षेत्रीय, केन्द्रीय विभिन्न किसिमका निर्वाचनहरु भाग लिनु अनगिन्ती आँखा झिम्क्याइए जस्तै हो । यसको खास हिसाब हुँदैन । तसर्थ, आँखा झिम्क्याउने बहानामा काम नै गर्न छाड्नु बुद्धिमत्ताभित्र पर्दैन ।

कहिलेकाहीँ खिर पकाउँदा खोले हुनु स्वभाविक हुन्छ । तर, संसार बदल्ने कुरा मात्रै गर्ने र आफू कहिल्यै नबद्लिने हो भने परिवर्तनको सुगा रटान व्यर्थ हुन्छ ।

सुगा कराउँदैमा मुलुक बन्ने भए थुप्रैको थुप्रैखाले स्वर जनताले सुनि सके । आश्वासनका कुराले अघाइसके । कुनै पनि समस्याको हल विधिबाट हुन्छ । सूत्रबद्ध हुन्छ । सबैलाई मौका एकपटक आउँछ । साझालाई पनि मौका एकपटक नै हो । पद्धति, पारदर्शिताको परिभाषा आफ्नो अनुकुल व्यख्या गर्ने हो भने परिस्थितिले कुनै बेला लोप्पा ख्वाइदिन्छ । बेलैमा सचेत हुने कि ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल