इतिहासका पानामा लोकतान्त्रिक गणतन्त्र

इतिहासका पानामा लोकतान्त्रिक गणतन्त्र

रमेश भट्टराई ‘सहृदयी’

समयको परिवर्तनसँगै सर्वदलीय एकताको फलस्वरूप जनमुखी नेपालको संविधान २०७२ निर्माण हुन सकेको रहेछ । जनताको स्वतन्त्रता तथा अधिकारको सुनिश्चितताका निम्ति भएका अन्य प्रयासहरु अझ सशक्त बन्छन् । १९९७ सालबाट सुरु भएको एकतन्त्रीय जहानियाँ राणा शासनका विरुद्ध विभिन्न कालखण्डमा नेपाली सपूतहरुले जेल, नेल र प्रवास मात्र हैन फाँसीसम्मका यातना भोग्न विवस बन्नुपर्यो । राजनीतिक परिवर्तनका उकाली ओरालीले प्रजातन्त्रलाई सकेसम्म विभिन्न रूपमा मलजल गर्न खोजे तर जनताले चाहेका अधिकार र आवश्यकतालाई राज्यले सही रूपमा सम्मान गर्न नसकेका गुनासा घट्दै छन् भनेर दाबी गर्नसक्ने अवस्था अद्यापि छैन तर आशा छ । प्रजातान्त्रिक व्यवस्थाकै उपज हुन्–२०३६, २०४६ र २०६२÷२०६३ का जनमुखी आन्दोलनहरु, जसले मुक्तिको बाटोमा घच्घच्याइरहे । १० वर्षे जनयुद्धका भयावह परिस्थितिले जनमानसको शान्तिसँग बस्ने आशामै कोर्रा लगायो । दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२÷०६३ को जगमा उभिएर गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गतेका दिन नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नामले घोषणा गर्यो– गणतन्त्र प्राप्तिको दिवसलाई । यसर्थ प्रजातन्त्र प्राप्तिका जगमा उभिएरै अन्य आन्दोलनहरु भएका छन् । यद्यपि यो अमर र अतुलनीय इतिहासलाई बिर्सेमा सहिदका रगतले हामीलाई धिक्कार्नेछ ।

गणतन्त्रको सम्मान गर्नुपूर्व विगतले कुत्कुत्यायो । एकछिन म सपनामा अल्झिएँ । अनि मनमा भावना खेल्न थाले– हो, समयले लामो कालखण्डसँग अनेकौँ आशाका पाना पल्टायो । युगान्तकारी परिवर्तनका सिँढीका उक्लिएको आभाष हुँदै छ । यही धारमा टेकेर लोकतान्त्रिक गणतन्त्रको नामले मुलुक लम्किँदैछ, आज पनि । कति विकासका ढोका खोलिए, कति गर्भमै अपेक्षा बोकेर आतुर छन् । जनचेतनामा परिवर्तित सोचले छलाङ मार्दै गएको अनुभूति पनि त हुँदैछ । तर, कोही अनायास सहिद बने । कति बेनामे सहिद होलान् त कति सहिदको लाममा राजनीतिको काखी च्यापियो । कति सत्य लेखिए कति शक्तिको उपासनामा नाम पुकारिए । बगाउनेले बगाएकै हो रगत, आखिर । उपलब्धिका आशामा निराशा जन्मिरहे । द्वन्द्वका घाउमा पिल्सिएका कैयौँ नेपालीका आवाज खोलाका गीत बनिरहँदा, त्यहाँ वितृष्णा भेटिन्छ । आखिर सुनौलो परिवर्तनको प्राप्तिका लागि रगत बगे । आज पनि दुःखद् संसारले बाटो मोडेको लाग्दैन अनि शक्तिको खेलमा दमित भावको कमी छैन । सहिदको रक्तरेखामा कोरिएको स्वतन्त्रताले तातेताते गर्न खोज्दा भेउ खोज्यो, मेसो पाएन । फेरि सहिदका सूची थपिँदै गए तर युगले शान्ति नै खोजिरहेको छ । समृद्धिको सुन्दर संसार नै रोजिरहेको छ । समाजले विभिन्न दिशाबाट मोडिन चाह्यो । परिस्थितिको ज्वरोले चाहनालाई कुण्ठित बनायो । अनि नाममा परिवर्तन भनियो, रोदनले बाटो फेर्नै सकेन । व्यवस्थाले स्वतन्त्रता माग्यो जनताले राजनीतिक खिचातानीलाई सत्तोसराप गरिरहनु पर्यो । विकासका लागि विनासको आगो दन्किरह्यो । आज सङ्घीयताले मोडिँदै गर्दा जनमस्तिष्कमा बल्ल आशाको किरणले आँखी झ्यालबाट डाक्दैछ, सङ्केत गर्दैछ– सायद म आइपुग्नेछु ।

बल्लतल्ल लोकतन्त्र, गणतन्त्रसँग आएर जनअपेक्षामा सुगन्धको लाली छर्दै छ तर बादल नलागोस् । अब समाजले नेतृत्वसँग विश्वास गर्न पाओस् । गाली गर्ने मुखले प्रशंसा गर्न थालून् भन्ने मनमा आशा जन्मिरहेका छन् । सायदै मुुलुकले त्यही बिहानीमा गणतन्त्रलाई डाक्यो तर आशा बाँकी नै छन् । महिलाका आवाज बुलन्द हुँदैछन् । नारीवादका नारा आज बल्ल जाग्दैछन् । अन्धविश्वासका ठेली बल्ल च्यातिन थालेका छन् । आखिर गणतान्त्रिक युगको चाहना भनौँ या परिवर्तनका आशामा हामी बाँचिरहेका छौँ । देशका लागि कालजयी सहिदले गरेको प्राणोत्सर्ग, बलिदानी र त्यागसँग हामीले झुक्न नजान्दा मातृभूमिले हामीलाई सराप्ला । देशप्रेमी भावसँग अब दूधको भारा तिर्न चाहने देशभक्तले मात्र देश बुझ्छ । तब देशले मुहारको घुम्टो खोलेर भन्दैछ– विकासमा लम्किने आधार हामीसँगै छ । गाउँ उठोस्, जनता जागून्, व्यवस्था आपैmँ सुध्रिन्छ ।

संसारले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिने प्रजातन्त्रलाई सर्वोत्कृष्ट शासन व्यवस्था मान्छ । समयका कालखण्डसँग सबल इतिहास अमर र व्याख्येय बन्दै जाँदोरहेछ । इतिहासको गुणात्मक उपादेयता र प्राप्तिलाई अनुभवले जोख्दोरहेछ । इतिहासमा जन्मने धेरै हुँदा रहेछन् तर इतिहास जन्माउनलाई कतिपय साहसीले त्याग गर्नै पर्दोरहेछ । प्रजातान्त्रिक, लोकतान्त्रिक या त गणतान्त्रिक इतिहास नबोलिकन आपैmँमा खँदिलो लाग्छ । भावनात्मक तरेलीमा भन्दा त मजति पुलकित बन्छु त्यति यसको उपलब्धिलाई भोगेर पाइएको प्राप्तिमा गौरव गर्न मन पराउँछुझैं लाग्छ । इतिहासका पिता हेरोडोट्स भन्नुहुन्छ ‘राज्यको सर्वोच्च सत्ता जनतामा रहने शासन व्यवस्था प्रजातन्त्र हो ।’ एकतन्त्रीय जहानिया राणा शासनको कालकोठरीबाट मुक्ति पाएको इतिहासलाई वर्तमान पुस्ताले हृदयको मैदानमा सजाउन कञ्जुस्याइँ गर्दैन । नेपाल र नेपालीका लागि सत्ताका पत्तामा रङ्गिएका प्रणालीको विकाससँगै व्यवस्थाले सम्मान पाइरहन योग्य छ । जब आदिम साम्यवादी सभ्यतामा हतौडा हान्दै दास युगले खराँटा मार्यो तब सामन्तवादी व्यवस्था हुँदै पुँजीवादी युगले सत्ता हत्यायो । तब त समाजवादी परिवेशसँगै वि.सं. २००७ फाल्गुण ७ गते नेपाल र नेपालीले चाहेको स्वतन्त्रताको आशारुपी प्रजातन्त्रले सजिलै सत्ता पाएको होइन रहेछ । सहिदका रक्त बलिदानी, त्याग र समर्पणको स्वप्नाले अङ्कुरित हुँदै गर्दा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता हुँदै मानव अधिकारले उठ्न र जुट्न पाए । आज हामी त्यसकै बटवृक्षको फलसँग झुत्ती खेलिरहेका छौँ, मानौँ ठूलो परिवारमा अभावको पीडा छ । १०४ वर्षे निरङ्कुश तानाशाहको जर्जर अवस्थालाई घुँडा टेकाउँदै प्रजातन्त्रसँगआज प्राप्त भएका लोकतन्त्र र गणतन्त्रका सङ्घीय सोचमा वंशज गुण अवश्य छ । स्वाभिमान, स्वतन्त्रता र निजी पहिचानका स्वर यसकारण जागिरहेका छन् किनकि मुलुकले जनप्रेमी शासनको स्वरूपमा मोडिन पायो ।

सङ्घीय गणतान्त्रिक मुलुक भइरहँदासम्म विमति तोडेर सहमति भए । अनेकतामा एकता भयो तब जनमुखी संविधानले कोरिन पायो । गणतान्त्रिक निर्वाचनका लामा बहस हुँदै छन् । परिणाम न त सिद्धान्तमा अड्किएर आउँछ न त अड्को थापेर पौँठा जोरीको जुहारीमा ।पिँजडामा कुण्ठित भएका शासनको दुश्चक्रमा मुख खोल्न आँट गर्ने सहिदको राष्ट्रिय समर्पणसँग पार्टीगत स्वार्थमा लिप्तताले अब टिक्दैनभैmँ लाग्दैछ । कर्मचारीतन्त्रको घुसखोरी नेतृत्वसँग प्राप्तिले पनि अस्तित्वमा नातो गाँस्न पाउँदो रहेनछ । इतिहास खोतल्दा राजनीतिक परिवर्तनमा तत्कालीन राजा त्रिभुवन, प्रजातन्त्रप्रेमी नेतासँग समर्पित राष्ट्रवादी एकताको भावमा समर्पित नेता र जनताको योगदानले युगान्तकारी घटनामा हस्ताक्षर गरेका हामीले अनुभूति गर्दै आइरहेकै छौँ ।

इतिहासलाई कोट्याउँदा आजभन्दा करिब २५०० वर्ष पहिला नेपालमा किराँतीहरुले राज्य गर्थे । यस पूर्व गोपाल र महिषपालले राज्य गरेका कुरा छन् तर प्रष्ट प्रमाण भने पाइन्न । सन् ४०० देखि ७५० सम्म लिच्छवीहरुले तत्पश्चात मल्ल कालीन राजाहरूले र शाहवंशीय राज्य भएका इतिहासलाई पढ्न पाइन्छ । राणाहरूले कतिपय राम्रा कार्य गरे पनि जनतालाई मानव अधिकारका पक्षमा दबाएकै कारण नेपालको इतिहासमा राणा शासन व्यवस्था निरङ्कुशताको कालोरूप बनेको हो । समग्रतः जनताले स्वतन्त्रता चाहन्छ, यो मानवीय अधिकारमा कुनै पनि तबरमा आँच आउन नदिनु अबका नेतृत्वको काँधमा अडिएको छ । प्रजातन्त्र वा गणतन्त्र दिवस राज्यको खुशी हो, देशको अमर इतिहासको सम्मान हो । यो जनताको जित र अन्यायको हार हो भने साथमा सहिदको त्यागको परिणाम हो । यो पुस्तालाई अवसर हो भने भावी पुस्ताका लागि चाहेको बाटोमा हिँड्न सिकाउने बलियो आधार पनि हो । युगान्तकारी परिवर्तन भएसँगै हामीले विभिन्न कालखण्डमा भोग्दै आएका राम्रा नराम्रा पक्षसँग वर्तमान राजनीतिको बनाउने सुन्दर इतिहाससँग संविधान कार्यान्वयनको पाटो गाँसिन्छ । सत्ता लिप्साको राजनीतिक बेमेलले प्रजातन्त्रको धज्जी उडाएको देख्दा राष्ट्रभक्तहरुको नयनमा वेदनाका आँशु खस्छन् । राष्ट्रको सेवा गर्ने बहानामा व्यक्तिगत लालचमुखी सोच हाबी बनेको देख्दा प्रजातन्त्रको उपहास भएको भैmँ लाग्छ । तसर्थ, लोकतन्त्रको उचित सम्मान र जनताको स्वतन्त्रताको रक्षा गर्ने हो भने आजको राजनीतिले निःस्वार्थ राष्ट्रिय स्वार्थमा समर्पित बन्न सक्नुपर्छ । प्रजातन्त्रको मर्म र भावनामा लोकतान्त्रिक गणतन्त्र दिवस जीवन्त बन्न दलीय निःस्वार्थ व्यवस्थाको विकास हुनैपर्छ । दलीय व्यवस्थाले जनतालाई विखण्डन हैन एकताको सूत्रमा बाँध्न सकेमा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको बिउले हुर्कने अवसर पाउनेमा आशा गर्न सकिएला ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल