सत्ता छाड्न नदिने प्रतिपक्षी !

सत्ता छाड्न नदिने प्रतिपक्षी !

– वसन्तप्रकाश उपाध्याय

संसदीय राजनीतिमा एउटै परिदृश्य देख्न बाँकी थियो । जुन हिजो देखियो । सत्तालिप्सा भन्दा फरक सहज ‘कुर्ची’ हस्तान्तरण गर्न खोज्दा प्रतिपक्षीले ‘भाँजो’ हाल्यो । पद छोड्न चाहने ‘प्रचण्ड’को वाहवाहीभन्दा भाँजो हाल्ने ओलीको चर्को कुरा सुनियो । संरचनामा एमाले नामक पार्टीका जहिलेसुकै प्रतिपक्षीमा रहँदा यस्तै ‘हर्कत’हरु देख्न पाइन्छ ।

सत्तारुढ पार्टीहरुले प्रतिपक्षी ‘हर्कत’विरुद्ध यिनीहरु अन्तरपार्टी विष्मय र विग्रहमा देखा परे । प्रतिपक्षीको भन्दा ठूलो बहस पेरिसडाँडा र सानेपातिर देखियो । एकाध ठाउँको ‘तालमेल’ले अनेकन् अफवाह सिर्जित भए । जसलाई उनीहरुले समयमा नै चिर्न सकेनन् ।

जे होस्, पहिलो चरण निक्कै रस्साकस्सी र उतारचढावमा सकियो । हार–जीतका अनेकौं अनुमानबीच विस्तारै समीक्षा हुँदैछ । वास्तवमा ‘चुनावमा ‘हारेर’ र चिप्लोमा ‘लडेर’ कहिल्यै कसैको बेइज्जत हुँदैन । ‘हार–जीत’ चुनावको निचोड हो । एकले जित्दा धेरैले हार्छन् । जित्नेमाथि सबैको दायित्व थपिने हो, र जित्नेले हार्नेहरुको मन जित्ने काम गर्नुपर्ने हो । तर हामीकहाँ यो प्रचलन र स्वभाव छैन । हामी चुनावलाई प्रतिष्ठा बनाउँछौं । साम, दाम, दण्ड र भेदको चतुर्भुजीय कोणमा उभिन चाहन्छौं । जसका कारण धेरै ‘गन्दा’ धन्दा भए चुनावताका ।
चुनाव सुरु भएदेखि आजसम्म सबै–सबैले चुनावी विषयवस्तुमाथि विचारको–बौद्धिकता प्रकट गरिरहेछन् । सधैं पार्टी ! पार्टी !! भनेर ‘बुद्धि–विलास’ देखाउनेहरु ‘आत्मघाती–संस्कृति’मा जेहाद छेडिरहेका छन् । पक्ष–प्रतिपक्ष स्वभावतः विचार मन्थनको एउटा ‘इकाई’ हो । तर यतिखेर एउटा वडा र एउटा ‘मेयर’ पदको समर्थन–विरोधमा मान्छेहरु ‘सत्तोसराप’ गरिरहेछन् । दुःख लाग्छ, मान्छेहरुले एउटै ‘डुँड’मा मिलेर पानी खाने पशुहरुभन्दा पनि निस्कृष्ट स्वरुपमा टीका टीप्पणी गरेको देख्दा ।
‘जयनेपाल–वृत्त’मा यसका क्रियाशील सदस्यहरुले तथानाम गाली गरे पार्टी र नेतृत्वलाई । पार्टी–आदर्श ‘स्वाहा’ पारिएको भन्दै कैयौंले आग्रह–पूर्वाग्रहको ‘पीण्ड’ पकाए । सानेपा बसेर आफ्ना ‘बा’ले टिकट वितरण गर्दा लगाएको ल्याप्चे बिर्सेर होनहार ‘सुपुत्र’ले गरेको ‘चिन्तन’ पनि देखियो । ‘चितवन–कांग्रेस’ बूढानीलकण्ठको विर्ता होइन, यो सबैलाई थाहा छ । तर त्यही चितवन पार्टीलाई आफ्ना नाममा कुनै व्यक्तिविशेषले नामसारी गर्न पाइन्छ कि पाइँदैन, यो मन्थन भएन । गज्जब लाग्छ – सिद्धान्त र सैद्धान्तिक शिष्य नभएको पार्टीमा काम गर्नेले आदर्श–अवलम्बनको घुर्की गरेको सुन्दा ।
क्यान्सर हस्पिटल छेउछाउ बस्थे– एकताका ‘बखान बा’ । बखानसिंह गुरुङको समर्पण र सन्ततिमा हुर्केको वटवृक्षले त्यसपछि सामाजिक न्यायको छहारी दिएको देखिएन । खै, संसार बुझ्ने र बुझाउन सक्ने ती जनहरुले कहिल्यै देखेनन्– विचरा अंकल लज चलाएका संस्थापक कोषाध्यक्ष नरेन्द्र रेग्मी ‘बा’को पीडा । अहिले पनि चितवनको मेडिकल कलेजमा वर्षौंदेखि अनेकन् पीडाले छटपटाएर बसिरहेकी छिन् तिनै संस्थापक कोषाध्यक्षकी धर्मपत्नी । कति कांग्रेस त्यहाँ पुगेका छन् ? कतिले त्यो मर्मबोध गरेका छन् ? आक्रोश देखाउँछन् बरु उनीहरु । राजनीति पटियाला होटलमा देखाउने तिघ्राजस्तो अथवा भेटघाट रेष्टुरेण्टमा खोलिने र बगाइने वियरको ‘फिंज’जस्तो छिट्टै ‘उम्लने’ खालको हुनुहुन्न । यत्ति भन्नैपर्छ ।
धेरैका लागि दोस्रो घरजस्तो हो– चितवन । धेरैको नसनातो र मित्रजनको फैलावट छ त्यहाँ । ‘मुलुक’ अटाउने चितवनमा यसपटक त्यहींकी ‘रेणु’लाई अलि बढी खेदियो । ‘प्रचण्ड पुत्री’ यो हामीले थमाइदिएको पगरी थियो । अन्यथा हज्जारौं उमेदवारजस्तै उनी त्यहाँ मतको ‘भिक्षाटन’का लागि गएकी हुन् । मुलुकका ठूला नेताहरुले आफ्ना ‘श्रीमती सभासद्’ बनाएका एक होइनन् ‘अनेक’ उदाहरण छन् । छोराछोरीलाई माया नगर्ने कुन बाउ–आमा यहाँ छन् ? मौकापरस्त अझ नारी–पीडामा ‘काव्य’ लेख्ने र छोरी–सपना पूरा गर्न सर्वस्व सुम्पने आफ्ना संस्कृति बिर्सेर एकोहोरो हामीले प्रचण्डलाई लाचार र निर्मम प्रहार गर्नु कति न्यायिक थियो यसको हिसाब किताव भएन ।
सबैलाई थाहा छ, बन्दसूचीमा नाम पारेर उस्तै परे फरेन एफियर्स मिनिष्टर भएको स्वप्न पूरा गर्न कुनै आइतबार कुर्नु पर्दैनथ्यो– रेणुलाई । ‘वेनिटी–व्याग’ बोकेर ‘गुच्ची’को कालो चश्मा ढल्काउँदै कुन चाहिं ठूलाबडाका छोराछोरी यहाँ हिंडेका छैनन् ? मौका पर्दा ‘दर्शन–दिज्यू !’ गर्छाैं हामी त्यस्ता प्रवृत्तिलाई । नदेखेको र नचिनेको ‘नयाँ–मुलुक’ हो र यो ! हो, तालमेलमा आक्रोश छ कसैको र सत्तासँग अहोरात्र घृणा पाल्ने लघुताभास छ हामीसँग भने हामीले त्यहाँ सत्ताको दुरुपयोग भयो कि भएन ? त्यो खोज्नुपर्दथ्यो । ‘गोप्य’ छ मतदान । त्यो कोही–कसैलाई नदिन पाइन्छ । तर पार्टीसँग आबद्धता जनाएर त्यही चौवन्नी सदस्यतामा धाक, धम्की र धन्य भएको संस्कार देखाउनेहरुले त्यसलाई खरानी बनाउन किमार्थ मिल्दैन ।
धेरै ‘ताण्डव’ हेरियो । अनेकौं ‘तालमेल’ देखियो । नारायणी किनारको सौन्दर्यमा स्वप्न प्रवाह बगेको बग्गै छ । हिजो ‘टाप्री घारी’ थियो भरतपुर । अहिले उत्कर्ष आकर्षणमा छ । बिर्सनु हुन्न विगत । सिंगो पार्टीको फैलावट र मापन ‘क्याम्पा चौर’ हेरेर मात्रै हुँदैन । जसले जे भनोस्, पुल्चोकतिर चलाइने ई–रिक्सादेखि सौराहा कुद्ने टाटा सफारी राजनीतिजस्तै परिवर्तित–व्यवसायिक स्वरुपमा विवेच्य छ । चित्त बुझ्दैन– बेग्लै कुरा हो । मिलनबाबुले नाम नपर्दा सहेकै थिए । अरुले त के–के गरे, गरे ! थाहा छैन । तर रेणुसँग लंकुमा प्रचारमा गएकी पार्वतीलाई ‘क्रिश्चियन’ भन्दै लखेट्न लगाउने लगायतका ‘ लायन्स–दिनेशको मनोवृत्ति’लाई नहेरीकन ‘सांगोपांगो’ र सबै हिसाब निस्कंदैन ।
पौडेलजीका सम्धी हुनुहुन्छ– वामदेव गुरु । नामी दामी अर्का कांग्रेसी छन् सुवास प्रधान । अनि ‘चुके’ परिवारको शानसौकत बोक्ने चिनिएका युवा छन्– दिनेश चुके । अरुले के गरे, यिनीहरुले मिल्दैनथ्यो आफ्नै दायित्वको प्याज छोडाउन । नेतृत्वसँग हुने आक्रोश विर्सेर समग्र पार्टीको नीतिमाथि झटारो प्रहार गर्नुहुँदैनथ्यो । भन्नेहरु भन्छन्ः सत्तासीनको आतुरताले कुरा बिग्रेको हो । तर, राजनीति त्यही सत्ताको सट्टेबाजी स्वरुप हो । जहाँ कुर्चीमा बसिन्छ, ‘काठ’को मोह पालिँदैन ।
धेरै कुरा सुनियो र सुनिंदैछ– ‘यतिखेर प्रचण्डको । रौतहटे–माधवको सत्ताघर कसले बनाइदिएको हो ? अथवा इलामे खनालजीको सत्ता वरण्डामा दरिलो–ढलान गर्ने तिनै प्रचण्ड होइनन् ?! अनि बिर्सन मिल्दैन बालकोटको सत्ता कौसीमा बसेर ‘आँप’ चुस्दा उनै भ¥याङ बनेका होइनन् ?! बल्खुका तिनै संस्करणको न्वारान र पास्नी गरेको विगत बिर्सेर एकथरीले प्रचण्ड विरुद्ध आगो त लगाए, लगाए – उल्टो भरतपुर परिवेशले त्यसमा ‘घ्यू’ थपेर आगो बढाउने काम भयो ।
जे होस्, ‘हुने–हुनामी’ नै हुने हो । उमेदवार नै नभएको चिन्हमा ‘भोट’ हालेर र आआफ्ना वैयक्तिक आस्था–निष्ठा र सिद्धान्तको छहारी कल्पेर मन ‘शीतल’ त बन्ला । तर त्यसले हामीमा विद्यमान राजनीति र घात–प्रतिघातलाई प्रष्ट्याउँछ । हुन त सन्त किसुनजी विरुद्ध विद्या–वृक्ष रोप्न किञ्चित र हठात् नधकाउने मनोवृत्तिबीच यी कुरा गर्नु बेकार छ । भाषा, शैली र शब्दले जसलाई जे–जसरी गाली गरे पनि राजनीतिक सिद्धान्तले भन्छ ः ‘जोगी हुनलाई कसैले राजनीति गर्दैन । शायद यही दर्शनले हामी सबैलाई ‘भोगी’ हुन प्रेरित गरेको छ । र, हामी आआफ्ना ‘भोगाइ र बुझाइ’मा मदमस्त भएर ओकलिरहेका छौं – ‘शब्दवाण’ र देखाइरेका छौं– ताण्डव ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल