यी हुन् स्थानीय निर्वाचनमा युवाका चुनौती

यी हुन् स्थानीय निर्वाचनमा युवाका चुनौती

सीमा गिरी

देश स्थानीय तहको चुनावमा होमिएको छ । सरकारले चुनावको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु चुनाव केन्द्रित भएका छन् । संविधान सभाबाट संविधान घोषणा भएपछि जुन उत्साह नेपाली राजनीतिमा र आम जनतामा थियो त्यो दीर्घकालीन हुन सकेन । यसको कारण हो– राजनीतिक दलहरुबीच भएको सहकार्य टुट्नु । यसमा सबै राजनीतिक दलहरु सबै बराबर जिम्मेवार छन् । प्रमुख रुपमा नेपाली काङ्ग्रेस र नेकपा एमाले जिम्मेवार छन् ।
राजनीतिक दलहरुमा अथवा देशका तीन प्रमुख राजनीतिक दलहरुमा टुटेको सहकार्य जोडिन सकेको छैन । राजनीतिक दलहरु समस्या समाधान भन्दा पनि आरोप प्रत्यारोपमा लागेका छन् । सरकार र प्रतिपक्ष दलहरुमा पनि सहकार्य हुने पर्ने सक्रमणकालीन समयमा हुन सकेको छैन ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै पुनः राजनीतिक माहोल फरक रुपमा आएको छ । पहिलो पटक स्थानीय तहको निर्वाचन हँुदै छ । यो निर्वाचन पहिलाका निर्वाचन भन्दा फरक छ । नयाँ संविधान घोषणासँगै नयाँ अधिकार सहितको निर्वाचन हँुदैछ ।
यो निर्वाचनमा युवाहरुको आकर्षण बढी देखिएको छ । यसो हुनु स्वभाविक पनि हो । लामो समयसम्म स्थानीय तहमा कुनै पनि निर्वाचन नहुँदा धेरै राजनीतिक कार्यकर्ताहरुमा अहिले उत्साह छाएको छ । यसमा अहिले ४० वर्ष नाघेकाहरुले पनि सहभागी हुने देखिन्छन् । यदि समयमा नै निर्वाचन हुन सकेको भए अहिलेसम्म तीन पटक निर्वाचन भइसकेको हुन्थ्यो । तर हुन सकेन । यसमा पनि राजनीतिक कारण नै प्रमुख छ ।
अहिले राजनीति नयाँ अध्यायमा प्रवेश गरेको छ । संविधान नयाँ आएको छ । संविधानसहितको स्थानीय तहको निर्वाचन हुँदा राजनीतिक रुपम एउटा कोर्स पूरा भएको छ । तर अबको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने जनप्रतिनिधिहरु केवल जनप्रतिनिधि होइनन् । धेरै जिम्मेवारी पूरा गर्नुपर्ने छ । यसका लागि जनप्रतिनिधि प्रशासनिक, राजनीतिक, सामाजिक र अबको स्थानीय तह कस्तो बनाउने भन्ने भिजन भएको नै चाहिन्छ । जनप्रतिनिधिको हातमा स्थानीय तहका नागरिकको भाग्य र भविष्य जोडिएको छ । यो कुराको बोध गर्न सक्नु र त्यही अनुसारको काम गर्नु अहिलेका जनप्रतिनिधिको प्रमुख दाययित्व छ । स्थानीय तहमा भएका अधिकारहरुको प्रयोग गर्नु अर्को चुनौती छ ।
अधिकार भएर मात्र हँुदैन । ती अधिकारको सही प्रयोग हुन सक्नु नै अहिलेको चुनौती हो ।
संविधानले दिएका अधिकार नागरिकले प्रयोग गर्न पाएनन् भने संविधानमा जति राम्रा अधिकार लेखे पनि केही अर्थ हँुदैन संविधान नागरिकको जीवनमा देख्नु भनेको ती अधिकार नागरिकले कति प्रयोग गरेका छन् अथवा कति अभ्यास भएको छ भन्ने हो ।
यस प्रकारको संविधानको अभ्यास पहिलो पटक स्थानीय तहमा हुँदै छ । अहिले सिंहदरबारमा केन्द्रित रहेको अधिकारको अभ्यास स्थानीय तहमा हुँदै छ । यो अभ्यास सफल गराउन सके अहिलेका जनप्रतिनिधिको सफलता मापन हुने छ । निर्वाचन जित्नु ठूलो होइन । जितेको उद्देश्य पूरा भयो कि भएन । आफूले गरेका कामले जनजीवन कति परिवर्तन गर्न सके त्यही अहिलेको अवसर हो । यो अवस धेरै लामो समयपछि आउँछ । यो अवसर गुमाउनु हुँदैन । नगुमाउने नाममा यसको मजाक पनि हुनु हुँदैन । आफ्नो क्षमता र दक्षता देखाउन सक्नुपर्छ । स्थानीय तह पहिलाको निकायभन्दा निकै फरक छ । यसलाई सही तरिकाले सबै स्थानीय तहमा सफल गरी लागू गर्न सके नेपाल विश्वका लागि उदाहरणीय बन्ने छ । होइन भने स्थानीय तहको असफलतासँगै धेरै कुराहरु गुम्ने छन् । धेरेको त्याग तपस्या र बलिदानीबाट आएको गाणतन्त्रको सङ्घीय संरचनाको पहिलो खुड्किलो हो स्थानीय तह । यो सफल पार्न सके २०५२ सालको जनयुद्ध र ०६२–६३ को जनआन्दोलनको सार्थकता हुने छ । होइन भने अहिलेका परिवर्तन नचाहनेहरु पुनः टाउको उठाउने छन् ।
अब संविधानको कार्यन्वयनसहितको समृद्ध नेपाल बनाउनुपर्ने छ । यसको पहल हरेक स्थानीय तहले आआफ्नो ठाउँबाट गर्नुपर्ने । हरके स्थानीय तह समृद्धिको बाटोमा अगाडि बढेमात्र देश समृद्ध हुने छ । देश समृद्ध हुन सपना चाहिन्छ । सपनालाई कार्यन्वयन गर्ने अठोट पनि । यो लागूक गर्न सक्षम र कर्मठ टिमको आवश्यकता पनि हुन्छ । हरेक समस्या र चुनौतीसँग मुकाबला गर्न सक्ने टिम आजको आवश्यकता हो ।
कैयौँ राजनीतिक दलहरु अहिले पनि युवाहरुबाट भन्दा पनि पुराना राजनीतिक नेतृत्वहरुबाट अहिले स्थानीय तहको सञ्चालन गर्न सक्ने देख्छन् । अहिले संसार विज्ञान र टेक्नोलोजीमा धेरै फड्को मारिरहेको छ । यसको उपयुक्त प्रयोग गर्न नसकेमा स्वत धेरै कुरामा पछाडि परिने छ । त्यसकारण अहिले नेतृत्वमा ल्याउदा धेरै कुराहरुको सोचविचार गरेर ल्याउनुपर्छ ।
युवाहरुले पनि यस्तो अवसरलाई छोड्नु हुँदैन । काम गर्न सकिन्छ कि सकिँदैन भन्नुभन्दा पनि अवसरसहितका चुनौतीको सामना गर्ने क्षमता विकास गर्नैपर्ने हुन्छ । अहिलेसम्म जति पनि परिवर्तन भएका छन्, ती सबै युवाहरुको नेतृत्वमा भएको छ । त्यसकारण युवाहरुले यो अवसरलाई गुमाउनु हँुदैन । त्यसका लागि आफूलार्इं मानसिक र वैचारिक रुपमा तयार गर्नुपर्छ । अहिले भएको परिवर्तनमा पनि हजारौँ युवाहरुले नै बलिदानी दिएका छन् । यो बलिदानीलाई खेर जान दिनु हुँदैन ।
अहिलेको परिवर्तन नचाहनेहरु सलबलाइरहेका छन् । परिवर्तन प्यारो तर त्यही परिवर्तनका लागि आफ्नो जीवन न्यौछावर गर्नेका परिवारहरु र परिवर्तनको यात्रामा लागेकालाई समाज र राज्यद्वारा विभेद हुँदै छ । यो विभेदको अन्त्यका लागि पनि यो अवसर भनेको परिवर्तनका पक्षधरका लागि हुनुपर्छ ।
यो स्थानीय तहको निर्वाच परिवर्तनका पक्षधरहरुले जसरी पनि जित्नुपर्ने छ । यसका लागि पार्टीमा एकता हुन आवश्यक छ । कुनै व्यक्तिले आफूलाई केन्द्रमा राखेर होइन, पार्टीलाई केन्द्रमा राखेर काम गर्नु आजको आवश्यकता हो । व्यक्ति होइन पार्टी जित्नुपर्ने छ । हिजोको त्याग बलिदानको उचित मूल्याङ्कन हुन आवश्यक छ । यो निर्वाचनसम्म पुग्दा माओवादी पार्टी सजिलै पुगेको होइन । यसले हजारौँ नेता कार्यकर्ताहरु युद्ध मैदानमा गुमाएको छ । कैयौँले जेलमा ज्यान गुमाएको छन् । यसलाई सही व्यवस्थापन गर्नु नै अहिलेको आवश्यकता हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल