अक्सिजनसँगै जहर निल्दैछन् राजधानीवासी

अक्सिजनसँगै जहर निल्दैछन् राजधानीवासी

केदारनाथ नेपाल (निश्चल)

वायु प्रदूषणका कारण नेपालमा प्रतिलाख ३६ जनाले ज्यान गुमाउनु परेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विभिन्न स्रोतहरुले पनि नेपालको राजधानी ‘काठमाडौँ’लाई एसियाको पहिलो र विश्वको तेस्रो प्रदूषित सहर भनेर पुष्टि गरेका छन् ।

धुवाँधुलोले देशको झण्डै एक तिहाइ जनसङ्या रहेको काठमाडौँलाई प्रदूषित मात्र बनाएको छैन, आम सर्वसाधारणको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ । बढ्दो अव्यवस्थित शहरीकरण, पुराना सवारीसाधन, इँट्टाभट्टा, विभिन्न कलकारखाना र मेलम्चीे खानेपानीको पाइप विछ््याउँदा अव्यवस्थित तरिकाले खनेका कारण उत्पन्न भएको धुवाँधुलोले राजधानीमा स्वास प्रश्वासका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । रहरले भनौँ या बाध्यताले देशभरिका मान्छेहरु यति प्रदूषित हुँदा पनि दैनिकी चलाएर बसिरहेका छन् । केही समयअघि काठमाडौँ छेउछाउमा देखिने हरियाली ठाउँमा अहिले घना बस्तीले ढाकिसकेको छ । खेतीयोग्य जमिन समेत प्लटिङ गरी घर, हाउजिङ निर्माण गरिएपछि पहिले हरियाली भएको ठाउँमा धुलो र धुवाँ बाहेक केही देख्न पाइँदैन ।

चैत पहिलो साता मिडियामा एउटा विषयले निकै चर्चा पायो । चैत एक गते मात्र औपचारिक रुपमा उद्घाटन गरिएको रत्नपार्कको वायु गुणस्तर मापन यन्त्र एक हप्ता नबित्दै बिग्रियो । उपत्यकाभित्रको वायु यति बढी मात्रामा प्रदूषित रहेछ कि, मापन गर्ने यन्त्रको फिल्टर एकहप्ता नबित्दै बिग्रन पुगेको थियो । यसबाट उपत्यकाको वायुमण्डल कति प्रदूषित रहेछ पनि पुष्टि हुन्छ ?
बिहान उठेदेखि बेलुकासम्म धुलो धुवाँमै हिँडडुल गर्न बाध्य छन् उपत्यकावासी । बिहानदेखि बेलुकासम्म सडकमा हिँड्नेदेखि लिएर, मोटरसाइकल गाडी प्रयोग गर्नेहरुले समेत माक्स प्रयोग गरिएको देखिन्छ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौँका विभिन्न स्थानबाट सडक फराकिलो पार्ने कामको सुरुवात भएको थियो । अझै पनि त्यो काम निरन्तर जारी छ । ठेकेदारहरुले समयमा काम सम्पन्न गर्न सकेका छैनन् । अझ पछिल्लो समय मेलम्चीको पानी काठमाडौँमा वितरण गर्न पाइपलाइनका लागि खनिएका सडकहरुमा उडेको धुलोका कारण राजधानीबासीले अक्सिजनसँगै जहर निलिरहेका छन् । खानेपानी वितरणको लागि खनिएको सडक स्थायी रुपमा पिच गर्नुको सट्टा अस्थायी समाधानको लागि पानी खन्याउने प्रवृत्तिले पनि समस्या समाधान गर्नेभन्दा बढाउने काम गरिरहेको छ । सडकमा जताततै खाल्डाखुल्डी बनेको छ । त्यसमाथि धूलो कम गर्ने उद्देश्यले खन्याइएको पानीका कारण हिलोमा चिप्लिएर कतिपय स्थानमा दुर्घटनासमेत हुने गरेको छ ।

यतिबेला काठमाडौँ थप प्रदूषित शहरका रुपमा परिवर्तन हँुदै गइरहेको छ । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । जाडो महिनामा सडक छेउका खालि ठाउँमा पार तापेर बस्नेहरुले पनि यतिबेला निकै असजिलो महसुस गर्न थालेका छन् । अझ दिनरात नभनी सडकमा ड्युटी गर्ने ट्राफिक प्रहरी धूलोको समस्याबाट सबैभन्दा बढी पीडित बनेका छन् । एकैछिन बस्यो भने धूलोले पूरै ढाकेको देख्न सकिन्छ । मुख्य बाटो नजिक पसल गर्ने व्यापारीहरु पनि यसबाट पीडित छन् । सडकको धूलो पसलसम्म आइपुग्दा बिक्री गर्नका लागि राखिएका सामान बिग्रिने गरेकाले उनीहरुलाई थप समस्या पर्दै आएको छ ।

सरोकारवाला निकायबीच समन्वयको अभाव, निर्माणको काम जिम्मा लिनेहरुले आफ्नो जिम्मेवारी बहन गर्न नसक्नुको कारण पनि काठमाडौँको सौन्दर्यता झन् कुरुप बन्दै गइरहेको छ । सडकविभागले भर्खरै निर्माण सम्पन्न गरेको ठाउँमा खानेपानी लिमिटेडले पानीको लागि सडक भत्काउने तर नबनाउने त्यो त हामीले देखे भोगेकै कुरा हो । अझ त्यसमाथि नेपाल टेलिकम, विद्युत प्राधिकरण र विभिन्न केवल कम्पनीहरुका कारण पनि सहरको सौन्दर्यता बिग्रँदै गएको छ । अव्यवस्थित रुपमा पोलमा झुण्ड्याइएको तारले शहरलाई कुरुप बनाएको छ । कुनै ठाउँमा त तारहरु भुइँसम्म लत्रिएको देखिन्छ । कतै सडक पेटीमा हिँड्दा टाउकोसम्म छुन आइपुग्छ ।

राज्यको नीति निर्माण तहमा बसेका कर्मचारीहरु आफ्नो जिम्मेवारीको कामको योजना बनाउनुपर्नेमा जाडो महिनामा घाम तापेर बस्ने, गर्मीमा एसी चलाएर तास खेलेर कोठाभित्र बस्ने गरेको समाचार पनि बेला बेलामा सञ्चार माध्यमबाट सुन्न पाइन्छ । तर, आफ्नो जिम्मेवारी र जनताको हितका लागि कसैले चासो राखेको देखिएन ।

शहरको सौन्दर्यता बिग्रदै जानुमा सरकार र सरोकारवाला निकाय मात्र होइन, स्वयम् सर्वसाधारण पनि दोषी छन् । घरायसी फोहोर जथाभावी थुप्र्याउने, गुम्बा, मठ मन्दिर र सडकमा जथाभावी फोहोर मिल्काउने र फुटपाथमा व्यापार गर्नेहरुको कारण पनि शहर अव्यवस्थित र कुरुप बन्दै गएको छ । सडक छेउ वा आकाशे पुल खालि ठाउँ देख्नै हुन्न एउटा च्यादर ओछ्याएर फुटफाट व्यापार सुरु गरिहाल्छन् । अझ अव्यवस्थित पार्किङले त फुटपाथमा हिँड्ने हरुलाई समेत सास्ती हुनेगरेको छ ।

तसर्थ, शहर सफा र हराभरा व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो । बागमती सरसफाइ अभियान जस्तै अब शहर सरसफाइ अभियान मार्फत शहर सफा र हराभरा बनाउनुपर्ने दायित्व मेरो पनि हो, भन्ने कुरा सबै राजधानीवासीले महसुस गर्न सक्नुपर्छ । कुनै दिवस नै कुरेर झाडु बोकेर एक दिन शहर सफा गर्दैमा अब शहर सफा हुनेवाला छैन । सबैलाई फोहोर गर्नु हुन्न भन्ने चेतना नदिलाएसम्म र विकास निर्माणका कार्यलाई व्यवस्थित रुपमा समयमै सम्पन्न गर्ने दायित्व आफ्नो हो भन्ने कुरा सरोकारवालाहरुले मनन नगरेसम्म शहर सफा हुन सक्दैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल