माओवादी–राप्रपा मुद्दाका पोषक काङ्ग्रेस–एमाले

माओवादी–राप्रपा मुद्दाका पोषक काङ्ग्रेस–एमाले

शिवशरण ज्ञवाली

मुलुक स्थानीय चुनावको सँघारमा उभिएको छ । विभिन्न दलले आआफ्ना राजनीतिक एजेन्डा अघि सारेका छन् । यसको मुख्य अग्रपङ्क्तिमा अग्रगामी पार्टी भनिएको माओवादी केन्द्र र पश्चगामी भनिएको राप्रपा रहेका छन् । उनीहरुका मुद्दा नै स्थानीय चुनावका मुख्य मुद्दा बन्न पुगेका छन् भने त्यसको पक्षपोषकका रुपमा काङ्ग्रस र एमाले छन् ।

क्षेत्रीयतावादी चिन्तन र व्यहारका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पुरानो पार्टी काङ्ग्रेसको साख अझै गिराएका त हुन् । धुलीसात पार्ने कार्यको सुरुवात भने पदका लागि विचार तथा सिद्धान्त प्रचण्डका पाउमा चढाएर पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले नै गरेका हुन् । त्यही कारण मुटु निचोर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले जीवनका उतराद्र्धका काङ्ग्रेस छाडे । आज काङ्ग्रेसको अमूर्त मुद्दा बनेको छ, प्रजातन्त्र । उसका कार्यकर्ताको मुखमा यही झुण्डिएको छ ।

उनीहरु भन्छन्, काङ्ग्रेसको प्रजातन्त्रको मुद्दामा सबै आए । बीपी पुत्र सशांकले आफ्नो काकाको गल्ती सच्चाउने अवस्थामा आइपुग्दा मुलुकको गति अर्कै हुने निश्चित छ । मुद्दाका हिसाबले आज काङ्ग्रेसभित्र पनि माओवादी र राप्रपा नेपाल दुवै छन् । एकातिर आदिवासी, जनजाति, महिला, अपाङ्ग, दलित, पिछडिएकालाई स्थान दिन ऊ बाध्य छ । यो माओवादी केन्द्रको मुद्दा हो किनभने २०४६ देखि ०६२÷६३ सम्म काङ्ग्रेसमा यी कुनैलाई स्थान थिएन । सम्मान थिएन बरु तिरस्कार थियो । जातीय राजनीति भनेर खुङ्खार विरोध गर्ने काङ्ग्रेस आज त्यही जातीय राजनीति गरिरहेछ, नभए उसको भविष्य छैन । हिजोसम्म यी सीमान्तकृतहरु काङ्ग्रेसको केवल भोट ‘ब्याङ्क’का रुपमा उपयोग भएका थिए । अर्कोतिर सशांक खुमबहादुरले हिन्दू राज्यको मुद्दा उठाइरहेका छन् । तर त्यसलाई अटल रुपमा निरन्तर उठाउने काम राप्रपा नेपालले मात्र गरिरहेछ ।

इतिहासमा सधैँ ढुलमुलेको आक्षेप झेल्दै आएको एमालेसँग पनि आज अमूर्त र खोक्रो राष्ट्रवाद छ । उसको राष्ट्रवाद पनि काङ्ग्रेसको जस्तै अमूर्त नै छ । अरु मुद्दा उससँग छँदै छैनन् । वृद्धभत्ताको ब्याज कहिलेसम्म खाने ? २०४६ देखि ०६२÷६३ सम्म ऊ काङ्ग्रेसको पछिपछि थियो । सीमान्तकृत आदिवासी, जनजाति, महिला, दलित उपेक्षित र तिरस्कृत नै थिए ।

तिनीहरु काङ्ग्रेसमा जस्तै केवल भोट ‘ब्याङ्क’का रुपमा प्रयोग हुन्थे । अध्यक्ष केपी ओली स्वयं आजका मुद्दाका पक्षधर होइनन् । त्यहीकारण कहिले गणतन्त्रको कुरालाई बयलगाडा चढेर अमेरिका पुगिने कुरासँग तुलना गर्दथे भने कहिले सङ्घीयता बाध्यतात्मक परिस्थितिमा स्वीकारेको फुत्काउँछन् । सङ्घीयतासँगै जोडिएको समावेशीले एमालेलाई बाध्यात्मक स्वीकारोक्तिमा पुर्यादियो । बाहुनहरुको पार्टी भनेर खेपेको आक्षेप छँदै थियो । पछिल्लो समयमा आएर उसले सीमान्तकृतलाई आरक्षित गर्यो, यो माओवादीको मुद्दा हो । राष्ट्रवादको मुद्दामा ऊ निकै मच्चिएको छ तर यही मुद्दामा मधेशीलाई तिरस्कार गरिरहेको छ । उसको राष्ट्रवाद कतिसम्म खोक्रो रहेछ भन्ने कुराको उदाहरण अघिल्लो वर्षको नाकाबन्दीलाई हेरे पुग्छ ।

विद्युत प्राधिकरणको तस्करी रोकेको भए काठमाडौंका जनता नाकाबन्दीका बेला भोकै मर्नुपर्ने रहेनछ । आम जनताले खाना पकाएर खान पाउने थिए । विद्युतीय गाडी चढ्न पाउने थिए । तर बिजुली चोरहरुलाई उसले रोक्न सकेन । हुँदाहुँदाको स्रोतमाथि भइरहेको बदमासी रोक्न नसकेर बरु उल्टो हावाबाट बिजुली निकाल्ने गफ दिएर राष्ट्रवादी नारा दियो । ०५२ सालमा सत्ताको स्वाद चाखेदेखि एकदुई वर्ष सत्ता बाहिर बसेको एमालेले एकातिर गणतन्त्र, सङ्घीयता, समावेशीलगायतका मुद्दा स्वीकारेको छ, त्यसकारण उसमा पनि माओवादी हावी छ भने तिनलाई बाध्यता पनि भन्दै छ त्यसकारण त्यहाँ राप्रपा नेपाल पनि छ ।

मुलुक एकातिर तेस्रो शक्ति माओवादी केन्द्र र अर्कोतिर चोथौ शक्ति राप्रपा नेपालका मुद्दामा विभाजित छ । माओवादी मुद्दा केन्द्रमा छन् भने राप्रपा नेपालको मुद्दा किनारामा । काङ्ग्रेस र एमाले बीचमा छन् । लडाइँ आज पनि प्रचण्ड र कमल थापाकै हो । अन्य त साक्षी मात्रै हुन् । अल्पकालीन रुपमा विजयी भएका प्रचण्डले आफूलाई दीर्घकालीन रुपमै विजय गराउँछन् वा गराउँदैनन्, त्यो हर्न आगामी महिनाको चुनावी परीक्षासम्म कुनैपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल