धर्मनिरपेक्षता र धर्म परिवर्तनका कारणहरू

धर्मनिरपेक्षता र धर्म परिवर्तनका कारणहरू

सञ्जय ज्ञवाली

हिन्दू धर्म संसारको सबैभन्दा पुरानो धर्म हो । यो धर्म कुनै व्यक्तिको उपदेश, विचार आदिका आधारमा विकसित भएको धर्म होइन । जसरी क्रिस्चियन, बुद्धिस्ट, स्लामिकलगायत अन्य धर्मको विकास भयो । हिन्दू धर्म सनातन धर्म हो । जसको अवलम्बन मानव विकासको क्रममा भारत वर्षमा सुरु भएको मानिन्छ ।

नेपाल अहिले धार्मिक स्वतन्त्रतासहितको धर्म निरपेक्ष राज्य हो । जुन २०६२÷६३ को जनआन्दोलन पूर्व हिन्दू राज्य थियो । धर्म निरपेक्षताले देशमा धर्म परिवर्तनको दरलाई बढाएको र देशको पहिचानका लागि भन्दै हिन्दू राज्य कायम गरिनुपर्ने माग राप्रपा नेपालले धर्म निरपेक्षता लागू भएसँगै गर्दै आइरहेको छ । यसलाई हिन्दू धर्मसँग सम्बन्धित सङ्घसंस्थाले समेत साथ दिएका छन् । उनीहरुले उक्त एजेन्डालाई जनमत सङ्ग्रह मार्फत् फैसला गर्नुपर्ने तर्क पेश गर्दै आएका छन् । राप्रपा नेपालले दोस्रो संविधानसभामा समानुपातिकतर्फ ल्याएको मत उसको मुख्य रुपमा हिन्दू राज्य र राजतन्त्र पुनस्र्थापन गुर्नपर्ने ऐजेन्डाको कारक तत्व थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

हिन्दू राज्य
नेपालको प्रमाणिक इतिहास सुरु भएदेखि नै अर्थात लिच्छवी कालदेखि नै नेपालमा सनातन हिन्दू धर्म अनुसार शासन सञ्चालन हुन्थ्यो । यसलाई तत्कालीन समयमा हिन्दू वर्ण व्यवस्थाको सुरुवात हुनु, हिन्दू धर्मसँग सम्बन्धित विभिन्न मन्दिरहरु जस्तैः पशुपतिनाथको मन्दिर, उपत्यकाका प्रसिद्ध चार नारायणहरुको निर्माण, तत्कालीन शासकमार्फत् हुनु आदिले पुष्टि गर्दछन् । मध्यकालीन राजा जयस्थिति मल्लका पालामा हिन्दू समाजमा जारी वर्ण व्यवस्थालाई थप सुदृढीकरण गरी शासन र न्याय प्रणाली हिन्दू धर्मशात्र अनुसार हुन थाल्यो । नेपालको शासन प्रणालीमा मुख्य रुपमा पृथ्वीनारायण शाह र उनी पश्चात् निरन्तरता पाएको एकीकरण अभियानले पूर्वका किराँत राज्यहरु र विविध धर्म अँगाल्ने अन्य केही २२ से २४ से राज्यहरुलाई हिन्दू धर्म अवलम्बन गर्ने गोरखा राज्यमा विलय गराएसँगै हिन्दू राज्य नेपाल स्थापनाले गति लियो ।

राणा शासन सुरु हुनुभन्दा पहिला राज्य सञ्चालनसम्बन्धी कुनै लिखित कानुन थिएनन् । जङ्गबहादुरले सर्वप्रथम लिखित कानुनका रुपमा मुलुकी ऐनजारी गरे । यो हिन्दू धर्मशास्त्रअनुसार निर्मित थियो । तत्कालीन शासन सोही कानुनअनुसार सञ्चालित थियो । नेपाल अधिराज्यको संविधान, २०१५ ले संवैधानिक रुपमा प्रथम पटक हिन्दू अधिराज्यको रुपमा नेपाललाई स्थापित गर्यो । त्यसलाई नेपालको संविधान, २०१९ र नेपाल अधिराज्यको संविधान, २०४७ ले निरन्तरता दिए । वि.संं.२०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाले जनआन्दोलनमा उठान नै नभएको विषयमा प्रवेश गरी देशमा धर्म निरपेक्षता लागू गर्यो । नेपालको अन्तरिम संविधान, २०६३ ले राजतन्त्र र हिन्दू राज्य दुवैलाई संवैधानिक रुपमाबिदा गर्यो । धर्म निरपेक्षतासम्बन्धी विषयलाई वर्तमान संविधानमा केही घुमाउरो भाषा प्रयोग गरी यथावत राखियो । नेपालको इतिहासलाई हेर्दा हिन्दू धर्म र राजतन्त्र एक सिक्काका दुई पाटाको रुपमा शताब्दियौँसम्म रहे । हिन्दू धर्ममा राजालाई विष्णुका अवतारको रुपमा लिइने हुँदा हिन्दू धर्मकै आडमा राजतन्त्र स्थापित भयो र धर्म निरपेक्षता लागू भएसँगै राजतन्त्रको समेत अन्त्य भयो ।

धर्म परिवर्तन
नेपालमा धर्म परिवर्तन र विस्तारको सन्दर्भ सँगसँगै समाजमा परम्परादेखि अवलम्बन गरिएका धर्महरु त्याग्ने र क्रिस्चियन धर्म अँगाल्ने विषयले प्राथमिकता पाउँछ । नेपाली समाजमा हिन्दू धर्म त्यागेर बौद्ध धर्म अँगालेको, परम्परादेखि नै बौद्ध, किराँत र अन्य धर्म मान्नेहरु हिन्दू धर्म संस्कृति अनुसारका चाडवाड अनुसरण गरेको समाजमा देखिए पनि त्यसले प्रथमिकता र चर्चा भने पाइरहेको हुँदैन । इसाको सुरुवातसँगै स्थापित क्रिस्चियन धर्म हाल विश्वका अधिकांश देशहरुमा क्रमशः बढ्दै गइरहेको छ । यो नेपाली सन्दर्भमा मात्र लागू नभै विश्वका अन्य देशहरुमा समेत मेल खान्छ । अझ भन्नु पर्दा कमजोर आर्थिक अवस्था भएका देशहरुमा ज्यादा पाइन्छ । क्रिस्चियन धर्मका अनुयायीहरु आफ्नो धर्म प्रचार गर्न अनेक तिकडम प्रयोग गरिरहेको कुरालाई प्रष्टै देख्न सकिन्छ ।

क्रिस्चियनहरुको धर्म प्रचारको सुरुवात दक्षिण एसियाली देशहरुमा युरोपियनको प्रवेश पश्चात् सुरुवात भयो । नेपालमा मल्लकालमा व्यापारिक प्रयोजनार्थ ल्याइएका प्रथम पटक क्रिस्चियन पादरीहरु र मुस्लिमहरुको प्रवेश गरेको यदाकदा इतिहासका किताबहरुमा पढ्न पाइन्छ । उपनिवेशकालीन समय भारतका ब्रिटिसहरुको शासनकालमा क्रिस्चियन धर्म प्रचार तीव्र भए पनि तत्कालीन राणा शासन कालमा अवलम्बन गरेको बन्द राजनीतिको कारण त्यसले नेपालमा खासै प्रभाव पार्न सकेन । वि.सं. २००७ को प्रजातन्त्रको प्राप्ति पश्चात् नेपालले खुल्ला राजनीति अवलम्बन गर्यो जसले क्रिस्चियन धर्म प्रचारका लागि केही हदसम्म अनूकूल वातावरण सृजना गर्यो । वि.सं. २०१५ र तत् प्रश्चत जारी भएका संविधानले हिन्दू अधिराज्य नेपाल भनी घोषण गरे पनि सानो सङ्यख्यामा अन्य धर्म त्यागी क्रिस्चियन धर्म अँगाल्नेको सङ्ख्या क्रमशः बढ्दै गएको थियो ।
विगतका ७ वटा जनगणना अवधिका तीन धर्मावलम्बीहरुको तुलनात्मक सङ्ख्या तालिका

वि.सं. २०४७ को प्रजातन्त्र पुनः प्रप्तिपछि अवलम्बन गरिएको खुल्ला राजनीतिले धर्म परिवर्तनको दरलाई सघाउ पुर्याएको यथार्थलाई जनगणना २०४८ र २०५८ बीचमा क्रिस्चियन धर्मावलम्बीको जनसङ्ख्यामा भएको गुणात्मक वृद्धिले प्रष्ट्याउँछ । सोही अवधिमा अन्य हिन्दू रबौद्ध धर्मावलम्बीको जनसङ्ख्या वृद्धि प्रतिशत भने सामान्य रहेको तथ्याङ्कले देखाउँछ । त्यसैगरी जनगणना २०५८ देखि २०६८ बीचमा क्रिस्चियन धर्मावलम्बीको जनसङ्ख्या १,०१,९७६ बाट ३,७५,६९९ पुगेको छ । यस अवधिमा बौद्ध धर्मावलम्बी घटेका छन् भने हिन्दूको जनसङ्ख्या सामान्य रुपमै वृद्धि भएको छ । तथ्याङ्कमा क्रिस्चियन धर्मावलम्बीको सङ्ख्यात्मक जनसङ्ख्या हिन्दू र बौद्ध धर्मावलम्बीको तुलनामा सामान्य देखिए पनि यसको वृद्धि प्रतिशत असामान्य छ । जनआन्दोलन २०६२÷६३ पश्चात् अवलम्बन गरिएको धर्म निरपेक्षता र सङ्क्रमणकालीन परिस्थितिमा क्रिस्चियन धर्म वृद्धिको दर आगामी जनगणना अवधिमा कति पुग्ने हो हेर्न बाँकी नै छ ।

किन हुन्छ धर्म परिवर्तन ?
अमेरिकी र युरोपेली देशहरु धर्म निरपेक्ष देशको रुपमा आफूलाई चिनाए पनि राज्यका कतिपय शासकीय कृयाकलापमा क्रिस्चियन धर्मलाई नै मान्यता दिन्छन् । जस्तैः अमेरिकामा राष्ट्रपतिले शपथ लिँदा बाइबलमा हात राखी क्रिस्चियन धर्मगुरुको अगाडि शपथ लिने चलन छ । क्रिस्चियनहरु रोमन क्याथोलिक भ्याटिकन चर्चका पोपलाई भगवान नै मान्छन् । उनीहरु चर्चका पादरीहरु समेतलाई भगवान सरह नै मान्छन् । उनका आदेश पवित्र मानिन्छन् । क्रिस्चियन धर्म अवलम्बन गर्न उनीहरु स्वतन्त्र भए पनि आफ्नो धर्मप्रति उनीहरुको अधिक विश्वास हरेक कृयाकलापहरुमा देख्न सकिन्छ । क्रिस्चिन धर्म त्यागी उनीहरु अन्य धर्म अवलम्बन गर्दैनन् । बरु अन्य धर्मावलम्बीबीच आफ्नो धर्म प्रचार गर्न विश्वभर पुगेका छन् ।

जनआन्दोलन–२ पूर्व हिन्दू अधिराज्य नेपालमा राजतन्त्रसहितको हिन्दू अधिराज्य थियो । हिन्दू परम्पराअनुसारका संस्कारलाई शासकीय प्रणालीमा समेत त्यसैगरी प्राथमिकता दिइन्थ्यो जसरी अहिले युरोपियन र अमेरिकीहरु धर्म निरपेक्ष भए पनि क्रिस्चियन धर्मलाई दिन्छन् । कैयौँ हिन्दूहरु राजालाई विष्णुका अवतार मान्दथे जसरी भ्याटिकनका पोपलाई क्रिस्चियनहरु मान्दछन् । विगतमा राज्यले नै प्रश्रय दिएको, सनातनदेखि नै अवलम्बन हुँदै आएको हिन्दू धर्म त्याग्दै क्रिस्चियन धर्म अवलम्बन गर्नुका पछाडिका कारणको सही पहिचान भए मात्र धर्म परिवर्तनको दरलाई कम गर्न सकिन्छ । क्रिस्चियनहरुको धर्म प्रचार र आर्थिक प्रलोभन मात्रै धर्म परिवर्तनको मुख्य कारण भए पनि एक मात्र कारण पक्कै होइन । कतै हाम्रै हिन्दू धर्मभित्र रहेका खास कमजोरीका कारण उनीलाई आफ्नो धर्म प्रचारमा फाइदा पुग्न गएको वा धर्म परिवर्तनलाई उत्प्रेरक स्रोतको रुपमा काम पो गरिरहेका छन् कि ?

कारण १ कुनै पनि विचारको विस्तारका लागि प्रचार नै मुख्य आधार हो । क्रिस्चियनले आफ्नो धर्म विस्तारका लागि सोही रणनीति निकै पहिलेदेखि नै विश्वभर अवलम्बन गरिरहेका छन् । उनीहरु आफ्नो धर्म प्रचारका लागि नेपालमा अनेकन योजना लिएर केही दशक अघिदेखि नै परिचालित छन् । यसक्रममा समाजमा उनीहरु सामाजिक कल्याणकारी कामहरु शिक्षा, स्वास्थ्य र अन्य सामाजिक सेवाका क्षेत्रहरुमा अग्रसरता लिई त्यसको आवरणमा आफ्नो धर्म प्रचार प्रसार गरेको देखिन्छ । क्त्। ह्बखष्भचुक, क्त् ःबचचष्भक स्कुल र कलेजहरु, हाल परिवर्तित अवस्थामा रहेका पाटन अस्पताल र पाल्पामा मिसन अस्पताललाई उदाहणका रुपमा लिन सकिन्छ । स्थापना कालमा यी अस्पतालको सञ्चालन क्रिस्चियन मिसिनरिजले सामाजिक कल्याणकारी कार्य मार्फत् धर्म प्रचारकै लागि प्रयोग गरेकाथिए । अझै पनि पाल्पास्थित मसिन अस्पतालका भित्ताहरुमा ‘हामी उपचार गर्छाँै, यसु यहाँलाई निको पार्नुहुन्छ’ भन्ने लेखिएको स्पष्टै देख्न सकिन्छ । २०४७ सालको प्रजातन्त्र प्राप्तिपछि अवलम्बन भएको उदार र खुल्ला राजनीतिपछि समाज सेवाका नाममा थुप्रै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको स्थापना भयो । यसले समाज सेवासँगै धर्म प्रचारमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गरिरहेका छन् । यति मात्र नभै उनीहरु सडक र घरघरमा क्रिस्चियन धर्म प्रचारसम्बन्धी नेपाली भाषामा लेखिएका बाइबल, अन्य पुुस्तक, पर्चा निःशुल्क वितरण गरिहकेका हुछन् ।
कारण–२ धर्म परिवर्तनको अर्को मुख्य कारण आर्थिक प्रलोभन हो । यस विषयलाई राजनीतिक दलका कतिपय नेताहरुले सार्वजनिक समारोहमै अभिव्यक्त गर्ने गरेका छन् । गरिब तथा सुकुम्बासी बस्तीहरुमा चर्चहरुको निर्माण हुनुले यस कुरालाई थप पुष्टि गर्दछ । आर्थिक रुपमा कमजोर नेपाललगायत दक्षिण एसियाली देशहरु यसबाट मुख्य रुपमा प्रभावित छन् । जबसम्म अर्थिक रुपमा देशलाई सबल बनाउन सकिँदैन । यस कारणलाई न्यूनीकरण गर्न सकिए पनि पूर्णरुपमा हटाउन भने सकिँदैन । वर्तमान संविधानको धारा २६(३) ले धर्म परिवर्तन गराउनेलाई दण्डनीय हुने संवैधानिक व्यवस्था गरे पनि यसको रोकथाम गर्न प्रमाण अभावमा हो या अन्य कुनै कारणले हो कुनै कानुनी बाटो अवलम्बन गरिएको एउटै पनि उदाहरण पाइएको छैन । तर धर्म परिवर्तन गराउने र गर्ने दर भने बढेको बढ्यै छ ।
कारण–३ नेपालको सन्दर्भमा धर्म परिवर्तनको मुख्य मार हिन्दू धर्ममाथि परेको छ । हिन्दू धर्मभित्रकै खराबी धर्म परिवर्तनका लागि उत्प्रेरक स्रोतको रुपमा काम गरिरहेको छ भन्ने हिन्दूहरु पनि कम छैनन् । तर यसलाई सार्वजनिक बहसमा भने ल्याइँदैन । सर्वप्रथम हिन्दूहरु क्रिस्चियनहरुलाई गाली गर्नुभन्दा पहिला आफ्नो कमजोरी सुधार गर्नेतर्फ लाग्नु बुद्धिमतापूर्ण कार्य हुनेछ ।

क्रिस्चियन धर्मलाई दैनिक जीवनमा अवलम्बन गर्ने विषयमा सामयिक सुधारहरु भएका छन् । यसले उनीहरुको धर्मलाई अवलम्बन गर्न सरल र सहज तुल्याइदिएको छ । हिन्दू धर्ममा पनि धर्मलाई दैनिक जीवनमा अवलम्बन गरिने विषयहरुमा सामान्य सुधारहरु भए तापनि समय सापेक्ष सुधार भएका छैनन् । अझै पनि वर्ण व्यवस्थाअनुसार विविध जात जाति बीच भेदभाव कायमै छ । दलितले बनाएको मूर्ति पूजा गर्नेले त्यही मूर्ति राखिएको मन्दिरमा दलितलाई अझै पनि प्रवेश गर्न स्वतन्त्रता दिइँदैन । धर्मलाई गलत व्यख्या गरी नारीपुरुषबीच भेदभाव जारी नै छ । नारीलाई अझै पनि विवाहमा दान दिन वस्तु सरह नै व्यवहारगरी ‘कन्यादान’ गर्ने भन्ने शब्दावली प्रचलित नै छ । श्राद्धलागायतका अन्य कर्मकाण्डहरुमा दान दिने वस्तु पितृले प्राप्त गर्ने, दान गर्ने स्वर्ग जाने, धर्म प्राप्ति हुने जस्ता अपव्याख्या जारी नै छन् । मानिसको जन्मपूर्व र पश्चात् गरिने कर्मकाण्डहरु खर्चिला हुँदै गैरहेका छन् । यीलगायत अन्य हिन्दू धर्मभित्रका नकारात्मक विषयहरुमा सामयिक सुधार हुनु जरुरी छ ।
क्रिस्चियनहरुले चर्चमा सङ्कलन हुने रकमलाई धर्म प्रचारका लागि नेपाल जस्ता देशहरुमा सामाजिक सेवाका क्षेत्रहरुमा खर्च गर्दछन् । यसले अप्रत्यक्ष रुपमा अन्य धर्मावलम्बीलाई क्रिस्चियन धर्मप्रति आकर्षित गर्न मद्दत पुर्याइरहेको छ । तर हिन्दू धार्मिक केन्द्रहरुमा सङ्कलन हुने रकम, दान र भेटी सामाजिक क्षेत्रमा खर्च हुँदैन । त्यो सबैजसो रकम पुजारी हरुको खल्तीमा जान्छ । सम्पूर्ण हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको दान र भेटी रकम सार्वजनिक हुन थालेको त मात्र केही वर्षभएको छ भने अन्य मन्दिर र शक्ति पीठहरुमा सङ्कलन हुने भेटी रकमको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । मन्दिरहरुमा सङ्कलित दान र भेटी रकममा पारदर्शिता कायम गरी समाज सुधारका कार्यहरुमा खर्च गर्नेतर्फ ध्यान पुर्याउनु जरुरी छ । विदेशी चर्चमा सङ्कलित रकमबाट नेपालमा धर्म प्रचार गर्न खर्च भइरहेको वर्तमान अवस्थामा आफ्नै मन्दिरहरुमा सङ्कलित रकम सामाजिक कल्याणकारी क्षेत्रमा खर्च गर्न ढिला भइसकेको छ ।

अन्त्यमा
संविधानमा ‘हिन्दू धर्म राष्ट्र नेपाल’ लेखिँदैमा नेपालमा हिन्दू धर्म परिवर्तनको दर घट्ने हुँदैन । किनभने जनगणना वि.सं. २०४८ देखि २०५८ अवधिमा नेपाल राजतन्त्रसहितको हिन्दू अधिराज्य थियो । जब कि सोही अवधिमा क्रिस्चियन धर्मावलम्बीको सङ्ख्या गुणत्मक रुपमा बढ्यो । बरु धार्मिक स्वतन्त्रतासहितको राज्यको निर्माण, सनातनदेखि मानिँदै आएको धर्मको ग्यारेन्टी, कुनै प्रलोभन वा त्राशका आधारमा धर्म परिवर्तन गराउनेलाई दण्डनीय व्यवस्थासहितको संवैधानिक व्यवस्था र सोको सही परिपालनतर्फ सबै राजनीतिक दलहरुले गहन रुपमा सोच्ने बेला आएको छ । यसले नै सबै धर्महरुलाई समान हैसियतमा राख्ने र परम्परादेखि मानिआएका धार्मिक मान्यताहरु पालना गर्दै जान पाउने अधिकारको सुनिश्चिता र संरक्षण गराउन सक्छ ।

जसरी मध्यकालको अन्त्यतिर युरोपेली समाजमा पुनर्जागरण र धर्म सुधार आन्दोलनहरु भएक्रिस्चियन धर्मभित्र रहेका कमी र कमजोरी हटाउन सोही धर्म अवलम्बन गर्ने दार्शनिकहरु मार्टिन लुथर र जोन क्याल्भिन लगायतले धर्म सुधार आन्दोलन चलाए त्यसैगरी हिन्दू धर्म र संस्कृतिका विद्ववानहरुले पनि हिन्दू धर्ममा पुनर्जागरण ल्याउन धर्म सुधार आन्दोलन गर्नु जरुरी छ । यसले परम्परादेखि चल्दै आएका धर्मलाई सरलताकासाथ अवलम्बन गर्न मद्दत पुर्याउने छ । हामी सबै हिन्दूहरु हाम्रो धर्मभित्रका असामयिक संस्कारहरुलाई सुधार गर्दै अगाडि बढ्न आवश्यक छ । ताकि नेपालमा प्रचलित परम्परागत धार्मिक मान्यताहरुको नकारात्मक पक्षहरुको कारण कसैले पनि धर्म परिवर्तन गराउने र गर्ने मौका नपाओस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल