राष्ट्रपतिलाई पूर्वराजाले सम्मान गर्दाको अवस्था

राष्ट्रपतिलाई पूर्वराजाले सम्मान गर्दाको अवस्था

–निमकान्त पाण्डे–
२ सय ४० वर्षसम्म शासन गरेका नेपालका शाहवंशीय राजाहरूको शासनकाललाई राजनीतिक शब्दमा सामन्तवादी शासन व्यवस्था भनेर बुझ्ने गरिन्छ । राजसंस्था यथार्थमा देशीय सामन्तवादको प्रतीक मानिन्छ ।

वर्तमान परिवर्तित राजनीतिमा राजसंस्थाले कुनै स्थान नलिएको अवस्था छ । यसर्थ पूर्वराजा नागरिकमा रूपान्तरित पनि भइसकेको मान्न सकिन्छ । परन्तु पूर्वराजा जता निस्किन्छन् उतै उनको पक्षमा नारा लाग्न थाल्छ, यो अवस्थाले गर्ने संकेत के हो ? गणतान्त्रिक व्यवस्थामा जिम्मेवारी पाएका नेताहरूले गम्भीर भएर बुझ्नुपर्छ भन्ने यो पंक्तिकारलाई लाग्दछ ।

पंक्तिकार विद्यार्थीकालदेखि नै कम्युनिष्ट विचारधाराबाट प्रभावित र प्रशिक्षित भएकाले राजसंस्थाको पक्षधर हुने कुनै कारण छैन । यो पंक्तिकारजस्तै गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी पनि कम्युनिष्ट विचारधाराबाट प्रभावित र प्रशिक्षित हुन् । उनले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरिन् र पूर्वराजाले पनि निमन्त्रणालाई स्वीकार गरेर विवाह कार्यक्रममा सहभागिता जनाएका थिए ।

पूर्वराजा, अर्थात् विद्या भण्डारीले राजनीति सिक्दा र उनी नेतृ बन्न पुग्दाको अवस्थासम्म ‘सामन्तवादको प्रतीक’लाई आमन्त्रण गरिएको छोरीको बिहेको कार्यक्रममा भन्दा पूर्वराजा ज्ञानेन्द्रको नातिको ब्रतबन्धको कार्यक्रम धेरै नै समावेशी भन्न लायकको देखियो । विद्या भण्डारीको छोरीको बिहेको कार्यक्रममा आफ्नो आसेपासे र उच्चपदस्थ व्यक्तिहरूलाई मात्र निमन्त्रणा थियो भने पूर्वराजा ज्ञानेन्द्रको नातिको ब्रतबन्धको कार्यक्रममा राजसंस्थालाई नै विस्थापित गरेर नयाँ व्यवस्थामा राष्ट्राध्यक्षको भूमिकामा रहेकी राष्ट्रपतिदेखि ७५ रै जिल्लाका सबै जातजातिका नागरिकहरूलाई निमन्त्रणा गरिएको पाइयो ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाति हृदयेन्द्रको ब्रतबन्धको उपलक्ष्यमा आयोजना गरिएको दिवाभोजमा यो पंक्तिकार पनि आमन्त्रित गरियो । पूर्वराजासँग पंक्तिकारको कुनै सम्बन्ध छैन । उनी सामन्तवादका प्रतीक थिए भने पंक्तिकार सामन्तवादको अन्त्यका लागि विद्यार्थीकालदेखिकै आन्दोलनमा सक्रिय राजनीतिकर्मी हो ।

पूर्व राजाले पंक्तिकारलाई नातिको ब्रतबन्धको भोजमा सम्झना गर्नुपर्ने कुनै कारण हो भने त्यो पंक्तिकारको पेशा पत्रकारिता हो भन्ने मलाई लाग्दछ । यो पेशाप्रति राष्ट्रपति विद्या भण्डारीको भन्दा पूर्वराजाको विशेष श्रद्धा रहेछ भन्ने कुरा पूर्वराजाले निमन्त्रणा गरेका पत्रकारहरूको बाक्लो उपस्थितिले पुष्टि गर्दछ ।

राजसंस्था ढलेपछि राजाको ठाउँमा राष्ट्रपतिलाई निर्वाचित गराएर राजाबाट हुने गरेका कामहरू भइरहेका छन् । राजाबाट हुने कामहरूको निरन्तरताबाहेक राष्ट्रपतिबाट कुनै पनि नयाँ काम हुन सकेको छैन । यो काम चाहीं राष्ट्रपतिले राजाको भन्दा फरक गरे भनेर बुझिने गरी कुनै काम राष्ट्रपतिबाट भएका छैनन् । प्रथम राष्ट्रपतिले समेत गरी नेपालको राष्ट्राध्यक्षको कार्यभार सम्हालेको पनि ९ वर्ष बितिसकेको छ ।

यस अन्तराल पूर्वराजा ज्ञानेन्द्रले आफूलाई पूर्णरूपले नागरिकमा रूपान्तरण गरेका छन् । राजाले शासन गर्दा मुलुकमा सामन्तवादी शासन व्यवस्था भनिन्थ्यो भने अहिले राजाको ठाउँमा बसेर राष्ट्रपतिबाट भइरहेका समानखालका गतिविधिलाई सामन्तवादी शासन व्यवस्था भन्न छोडिएको छ, फरक यत्ति मात्र हो । वंशजको नाताले राष्ट्राध्यक्ष हुने परम्परालाई अन्त्य गरेर चुनावमार्फत राष्ट्राध्यक्ष निर्वाचित गरिन थालिएकाले सामन्तवादको अन्त्य भएको निष्कर्षमा राजनीतिक दलहरू पुगेका होलान् भनेर बुझ्न सकिन्छ ।

देशको शासन व्यवस्थामा देखिएको रूपान्तरण र राजनीतिक दलहरूको बुझाइका आधारमा समाप्त भयो भनिएको ‘सामन्तवाद’ले भने जनताको जय–जयकार पाउनु राजनीतिक दलका नेताहरूका सामु ठूलो चुनौती हो । सामन्तवादको अन्त्य भइसक्यो भनेर पुँजीको संग्रहमा तल्लीन भएका हाम्रा कम्युनिष्ट आवरणमा सजिएका नवसामन्तहरूको कार्यशैलीले नै ‘सामन्तवाद’लाई टाउको उठाउने अवसर दिइरहेको छ ।

सामन्तवादको अन्त्य भयो भनेर प्रचार गर्ने तर सामन्तवादी शैलीमै आफ्ना क्रियाकलापहरू प्रदर्शित गरेर जनतालाई कम्युनिष्ट नेतृत्वप्रति घृणा पैदा गराउने काममा हाम्रो देशका कम्युनिष्ट नेताहरू नै लागिपरेका छन् ।

राजसंस्था अन्त्य हुँदैमा सामन्तवादको अन्त्य हुन्छ भन्ने निष्कर्षमा पग्नु नै दलहरूको गलत विश्लेषण हो । केन्द्रीय शासनबाट राजसंस्थाको अन्त्य भए पनि राजाभन्दा पनि बढी सामन्तवादी सोच र शैलीमा राजनीतिक दलका नेताहरूलाई जनताले देख्नु परिरहेको आजको यथार्थ हो । नेपालका राजनीतिक दलका नेताहरूमा सामन्तवादी प्रभाव अत्यन्त बलियो रूपमा परेको छ भन्ने उदाहरण यदाकदा देख्न सकिन्छ । नेताहरूमा देखिने परिवारमुखी कार्यशैली र विलाशितापूर्ण जीवनशैलीले नै सामन्तवादको झलक दिन्छ । राजाले जनमुखी काम गर्छन् भने त्यसलाई सामन्तवाद नै भनेर धारेहात लगाइरहनुपर्ने कुनै कारण हुँदैन ।

नेपाल राष्ट्रको हितमा नसोच्ने र नेपाली जनताको जीवनस्तर माथि उठाउने सोचाई पटक्कै बनाउन नसक्ने तर आफ्नो जीवनशैलीलाई धनाढ्य व्यक्तिको रूपमा रूपान्तरण गर्ने नेताहरूलाई नै बरु सामन्तवादी भन्नु पर्दछ भन्ने पंक्तिकारको मत छ ।

राजाले देशको हितमा चिन्तन गर्छन् र जनताको हितमै सोच्छन् भने त्यस्ता राजालाई सामन्तवादी नै भनेर अपमानित गर्नुपर्छ भन्ने कुनै राजनीतिक दर्शन छै्रन । हुन त नेपालका राजाहरूले राष्ट्रहित र जनहितका निम्ति काम नगरेकैले राजसंस्था ढल्न पुग्यो । राजसंस्था ढालेर राजाकै विरासतमा पाइला चालिरहेका नेताहरूलाई पनि जनताले काँध थापेर कतिसम्म पो साथ देलान् र !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल