माओवादी आन्दोलनमा विस्तारित रोग

माओवादी आन्दोलनमा विस्तारित रोग

डा. ऋषिराज बराल

नेपालको माओवादी आन्दोलनभित्र यतिबेला सङ्गठन, नेता, कार्यकर्ता, पदोन्नति, योग्यता, क्षमताका साथै क्षेत्रीयतावाद, व्यक्तिवाद, गुटवाद, नातावाद तथा कृपावादका सन्दर्भहरू चर्चाको विषय बनेका छन् । क्रान्तिसम्बन्धी गम्भीर बहस ओझेलमा परेको र व्यक्तिवादी–अवसरवादी प्रवृत्ति हाबी हुन थालेको छ । आजको अवस्थामा कुन समूहले के गर्यो ? कुन समूहमा के भयो भन्दा पनि यहाँ सङ्गठन, योग्यता र पदोन्नतिसम्बन्धी वैचारिक कुरा उठाउनु आवश्यक ठानिएको छ ।

सङ्गठनको प्रश्न भनेको सामान्य ढाँचा अथवा स्वरूप मात्र होइन, यो भनेको कुन उद्देश्य पूर्तिका लागि कस्तो किसिमको सङ्गठन बनाउने भन्ने प्रश्न हो । उद्देश्यसित सङ्गठनको ढाँचा र कार्यशैली जोडिएको हुन्छ । योसित विचार, नेतृत्व, कार्यदिशा, नीति योजनाहरू घनिष्ठ रूपमा गाँसिएक हुन्छन् । जति राम्रो कार्यदिशा भए पनि त्यसलाई सही ढङ्गले लैजाने कार्यकर्ताहरू तथा सङ्गठन भएन भने अथवा सही किसिमले सङ्गठन परिचालन गर्ने नेतृत्वपङ्क्ति भएन भने त्यो अर्थहीन सावित हुन्छ ।

कम्युनिस्ट आन्दोलनमा सङ्गठन निर्माण र परिचालनको कुरा गर्दा लेनिनवादी सङ्गठनात्मक पद्धतिको कुरा निकै गर्ने गरिन्छ । स्टालिनले ‘ठीक मान्छे ठीक ठाउँमा’को नारा नै अघि सार्नुभएको थियो । कम्युनिस्ट आन्दोलनमा सङ्गठन परिचालनमा जनवादी केन्द्रीयतालाई आधार बनाइन्छ । जनवादी केन्द्रीयताले विधि र पद्धतिलाई जोड दिन्छ । प्रमुख कुरा त कस्तो सङ्गठन बनाउने र कस्ता पात्रहरूलाई महत्व दिने भन्ने हो । सङ्गठनका लागि सङ्गठन नभएर क्रान्तिका लागि सङ्गठन भन्ने कुराले विशेष महत्व राख्ने हुनाले त्यहाँ नेतृत्व तहमा पात्रहरूको चयनको अहम् महत्व हुन्छ । यो सोझै विचारसित जोडिएको प्रश्न हो । सैद्धान्तिक तहमा यसप्रति सबै नेताहरू प्रस्ट भएको जस्तो लागे पनि व्यवहारको तहमा भने यसमा निकै भद्रगोल र अस्तव्यस्तता देखिन्छ । वास्तवमा माओवादी आन्दोलनमा खास गररे कार्यदिशाको प्रश्नलाई भद्रगोल र लथालिङ्गको स्थितिमा पुर्याउने र अन्ततः विसर्जनवादी शून्यवादमा पुर्याउने प्रमुख कारकतत्वहरूमा सङ्गठन निर्माण तथा परिचालनसम्बन्धी गलत बुझाइ र सोचाइ पनि हो । यो रोगकै रूपमा नेपालको माओवादी आन्दोलनमा विस्तारित भएको छ । यो नेपालको माओवादी आन्दोलनको पछिल्लो चरणले देखाएको यथार्थ हो ।

पार्टीमा काम गर्नु भनेको जागिर खानुजस्तो हो भन्ने जब ठानिन्छ । काम गरे पनि नगरे पनि योग्यता र क्षमताको अर्थ छैन भन्ने कुरा जब देखिन्छ र बुझिन्छ र स्वतः प्रमोसनको चिन्तनपद्धति रीतिथितिकै रूपमा पार्टीमा स्थापित हुन्छ । पार्टीमा कामभन्दा अनुभव र योग्यता र क्षमताभन्दा ‘सम्बन्ध’ का विविध रूपहरू जब हाबी हुन्छन्, अनि सङ्गठनमा भद्रगोलले राज गर्छ । यस्तो बेला जागिरे मानसिकताका अनुभववादीहरू र नेताका आसेपासे, नातागोता र चाटुकारहरू माथिल्लो तहमा पुग्छन् र क्षमता र योग्यता पछि पर्छ । अनि एउटा सक्षम कार्यकर्ताले सारा सक्रिय अवस्था, ऊर्जाशील कालखण्ड अयोग्य र स्वतः प्रमोसनवाला अल्छे र निकम्मा नेतृत्वको सेवामा बिताउनुपर्ने अवस्था आउँछ । नेपालको माओवादी आन्दोलनको सङ्गठनात्मक क्षेत्रमा यो सबैभन्दा जटिल र गम्भीर समस्या हो । क्रान्तिको बाधक तत्वमध्ये एउटा तत्व यो पनि हो ।

युद्धकालमा एउटा गजबको सन्दर्भले विशेष चर्चा पाएको थियो । कोबाट र कसरी यो सन्दर्भ आयो भन्ने कुराले खासै अर्थ राख्दैन । जननयुद्धकालमै ‘पीबीएमकी श्रमिती सीसीएम र सीसीएमकी श्रीमती आरबीएम नहुँदा व्यवहार मिलाउन गारो पर्नेरहेछ’ भन्ने टिप्पणी जोडदार रूपमा उठेको थियो । यसले व्यवहारमा मान्यता पनि पायो । पछिपछि गएर यो माओवादी पार्टीको सङ्गठनात्मक दर्शन र पद्धतिकै रूपमा स्थापित भयो । ‘स्वतः प्रमोसन’ र ‘श्रीमती कमरेडहरूको प्रमोसन’ प्रकरणको सबैभन्दा पछिल्लो र प्रस्ट रूप वैद्य समूहले प्रकाशित गरेको ‘सेवा आयोग’को पछिल्लो परिणाममा देख्न सकिन्छ । क्रान्तिकारी पार्टीको स्थायी समितिमा केकस्ता नेताहरू हुनुपर्ने र स्वतः प्रमोसनले केकस्ता ‘नेताहरू’ पुग्दा रहेछन् भन्ने कुराको सुन्दर उदाहरण वैद्य समूहको पछिल्लो ‘सेवा आयोग’ को परिणामले प्रस्तुत गरेको छ । माओले यस्तालाई भुत्ते कर्दहरूको जमघटको संज्ञा दिनुभएको छ ।

यही कुरा नेतृत्व निर्माणमा पनि देखिएको छ । आफूलाई माओवादी भन्ने तर नयाँ नेतृत्व तथा उत्तराधिकारी निर्माणसम्बन्धी माओले अघिसारेका मान्यताहरू त्यसमा पनि ‘एकमा–तीन’ लाई महत्व नदिने प्रवृत्ति माओवादी आन्दोलनको गम्भीर समस्या हो । विभिन्न क्षेत्रसित सम्बद्ध क्षमता र प्रतिभाहरूको खोजी, पहिचान तथा प्रशिक्षण जस्ता कुरामा नेतृत्व तहमा पुगेका नेताहरूमा अलिकति पनि रुचि र चासो देखिँदैन । माओवादी आन्दोलनमा अध्ययन–चिन्तन गर्ने र गराउने तथा नेतृत्वको निर्माण गर्ने कुरा एकादेशको कथाजस्तो भएको छ । एकपल्ट टाउकोमा पुगेपछि जतिसुकै अयोग्य र नालायक भए पनि उसले तल झरेर काम गरेको इतिहास माओवादी आन्दोलनमा पाइँदैन र तल झरेर काम गर्नुपर्छ भन्ने संस्कृति पनि विकसित भएको पाइँदैन । अनि नेतृत्व तहमा अकर्मण्यतावादी र अनुभववादी फोहोरमैलाको डङ्गुर थुप्रिनु स्वाभाविक हुन्छ ।

हामी नेता हुनुमा गर्व गछौँ । आफ्नो आवश्यकताअनुसार माओले यसो भने र उसो भने भनेर खुबै अध्ययनशील भएको देखाउन पनि चाहन्छौँ । सत्य कुरा के हो भने चाहे युवा पुस्ता होस्, चाहे पाका र वृद्धहरूको जमात, अध्ययन चिन्तनमा हाम्रो रुचि घट्दै गएको छ, छँदै छैन भने पनि हुन्छ । झन् आजका युवा कार्यकर्ताहरूमा त अध्ययन चिन्तको प्रवृत्ति छँदै छैन भन्दा पनि हुन्छ । नेतृत्वप्रतिको दासत्व भाव र फेसबुके क्रन्तिकारिताले आजको युवा पुस्तालाई ध्वस्तै पारेको छ । त्यस्तै, समयसँगै र अध्ययन पनि अद्यावधिक हुनुपर्छ भन्ने बोध पुराना भनिएकाहरूमा पनि हराउँदैगएको छ । हाम्रा कतिपय नेताहरूको सम्पत्ति भनेको अनुभववादी व्यवहारवाद मात्र हो, समयको क्रममा तिनले अरू कुरा गुमाइसकेका छन् । नेताहरू अध्यन चिन्तनमा अल्छे भएपछि र सिर्जनशीलतामा बाँझो भएपछि यसको असर तलका पार्टी कमिटीहरूमा पर्छ नै । पार्टीको नेतृत्व तहमा पुग्नेहरूले, आफू नेता हुनुको दाबी गर्नेहरूले अरू केही नगरे पनि कम्तीमा पनि माओको रचना ‘नेतृत्वका तरिकाहरूसित सम्बन्धित केही प्रश्नहरू’ अध्ययन गरे मात्र पनि ठूलै कुरा हुन्थ्यो । तर माओवादी आन्दोलनको नेतृत्व तहमा पुगेकाहरू सदैब कुर्सी मोह र एउटा नजानिँदो आशङ्का र आतङ्कबाट ग्रस्त देखिन्छन् । त्यसले उनीहरूलाई गुटबन्दीमा फसाउँछ र क्रान्ति होइन, आफ्नै अस्तित्वका लागि चिन्तित तुल्याउँछ । यतिबेर नेपालका माओवादी पार्टीहरूका अधिकांश नेता यसै रोगबाट आक्रान्त देखिन्छन् ।

प्रचण्ड समूह नवप्रतिक्रियावादमा पतन भएकाले उसलाई माओवादी कित्तामा राख्नुको अर्थ छैन । यो भनेको हाटबजार पार्टी हो । प्रचण्ड समूह त रमाइलो मेलाको जमघट जस्तै हो । उसमा को केन्द्रमा गए, को के भए त्यसको अर्थ छैन । सङ्गठनात्मक समस्या विप्लव समूहमा पनि रहेको कुरा सतहमा आएका छन् तापनि यस मामिलामा वैद्य समूह सबैभन्दा अगाडि देखिन्छ । विप्लव समूहको थवाङ महाधिवेशनपछि नेताको कोटा अनुसार त्यसमा पनि चन्द र ठकुरी–क्षेत्रीले, पश्चिमकाले बढी अवसर पाए, आवश्यकता र क्षमता भन्दा पनि विप्लवको चाहना अनुसार केन्द्रमा लगियो भन्ने बजार चर्चा सुनिएको थियो । अहिले वैद्य समूहले केन्द्रमा ल्याएका केही मान्छेका विषयमा पनि यस्तै बजार चर्चा छ । विचार र क्षमताभन्दा क्षेत्रीयतावाद, व्यक्तिवाद र गुटवाद हाबी भएका ठाउँमा यस्तो हुन्छ । यो हामी सबैले भोग्दै आएको अनुभव हो ।

माओवादी सङ्गठन समाजमा रहेका सर्वोत्कृष्ट पात्रहरूको सङ्गठन मानिन्छ । यो योग्य कायकर्ता र नेताहरूको सङ्गठन मानिन्छ । प्रस्टसाथ भन्नुपर्ने हुन्छ, अनुभव र अध्ययनमा केही समस्या रहे पनि नेपालको माओवादी आन्दोलनमा नेताभन्दा कार्यकर्ता सक्षम छन् र ती हरेक मोर्चामा योग्य सावित भएका छन् । इतिहासले देखाएको तथ्य के हो भने माथिको कमिटीका भन्दा तलका कमिटीका कार्यकर्ताहरू क्रान्तिप्रति प्रतिबद्ध र इमानदार सावित भएका छन् । यसका सम्बन्धमा माओको भनाइ निकै सान्दर्भिक छः “एउटा महान् सङ्घर्षको सुरु, मध्य र अन्तिम चरणमा धेरैजसो स्थितिमा नेतृत्वदायी टोली सुरुदेखि अन्त्यसम्म एकदमै अपरिवर्तित हुन्छ भन्ने हुँदैन र हुन पनि सक्दैन । सङ्घर्षका क्रममा अघि बढ्ने सक्रिय पात्रहरूलाई, नेतृत्वदायी टोलीमा पहिलेदेखि रहिआएका तुलनात्मकरूपले तीभन्दा कम स्तरका सदस्यहरूको ठाउँमा वा भ्रष्ट भएका सदस्यहरूका ठाउँमा निरन्तर पदोन्नति गर्नैपर्छ ।” विडम्बनाको कुरा के छ भने नेपालका माओवादी पार्टीका नेताहरू यतिबेला फासिवादी सरकारका भ्रष्ट नोकरसाहहरू जस्ता भएका छन् । कार्यकर्ताको कुरा सही हो भने यो नोकरसाही प्रवृत्ति सबैभन्द बढी विप्लव समूहमा छ ।

वास्तवमा नेपालको माओवादी आन्दोलनको सङ्गठनात्मक पद्धति भनेको अयोग्य जति टाउकामा बस्ने र योग्यहरू तिनका कारिन्दा बन्ने सिद्धान्तमा आधारित भएजस्तो लाग्छ । अयोग्यहरूले योग्यमाथि हुकुम चलाउने, शासन गर्ने ‘जनवादी केन्द्रीयता’ नेपालको माओवादी आन्दोलनमा हाबी भएको देखिन्छ । न विचारले ऊर्जा दिन्छ न त नेतृत्वले नै दिशाबोध गराउन सक्छ । योग्यता र क्षमताका आधारमा भन्दा पार्टीभित्र विकसित कोटरीवाद र जोडघटाउका कारण टुप्पी समातेर उठाइएका टाउकाहरूले जब पार्टीको माथिल्लो तह भरिन्छ र योग्यहरू तल बसेर सबै टुलुटुलु हेर्नुपर्ने स्थिति आउँछ । पार्टीमा वैचारिक स्खलन र साङ्गठनिक अस्तव्यस्तताको आरम्भ पनि त्यहीँबाट हुन्छ र विद्रोहले बाटो खोज्छ । पार्टी, पार्टी नभएर त्यो अक्षम, कामचोर दासहरू, द्रव्यपिचास, सुतुवा र थाकेकाहरूको आश्रममा परिणत हुन्छ । नेपालको माओवादी आन्दोलनमा यो समस्याले क्यान्सरकै रूप लिएको छ ।

सङ्गठन परिचालन र नेतृत्व निर्माणका सन्दर्भमा हामी माओको नाम निकै लिन्छौँ । तर व्यवहार चाहिँ ठीक विपरीत गरिरहेका हुन्छौँ । वास्तवमा, नेपालको माओवादी आन्दोलन र सङ्गठनात्मक पक्षको रूपरेखा हेर्दा यो माओवादी मान्यताको ठीक विपरीत देखिन्छ । यहाँ लामो व्याख्या नगरी माओको भनाइ प्रस्तुत गर्नु बढी सान्दर्भिक हुन्छ ः

“केही कमरेडहरू ‘सम्पत्तिअनुसार पुस्ताको वर्गीकरण’ गर्नुपर्छ भन्ने सोच्छन् । उनीहरूले, अनुभवलाई मात्र ‘सम्पत्ति’ ठान्छन् । क्रान्तिकारी अनुभव निकै मूल्यवान वस्तु हो भन्ने हामी मान्छौँ । एउटा कार्यकर्तासँग अनुभवको यथेष्ट सम्पत्ति छ भने, सामन्यतः कार्यदिशाको प्रश्नमा उसको उच्च चेतना हुन्छ र काममा अझ धेरै अनुभव पनि । त्यसकारण, हाम्रो पार्टीले पुराना कार्यकर्ताहरूलाई मूल्यवान सम्पत्तिका रूपमा हेर्छ । परन्तु, हामीले एकातिर अनुभवको सम्पत्ति र अर्कोतिर प्रतिभा र योग्यतालाई तुलना गर्ने हो भने अघिल्लो चाहिँ दोस्रो उत्तममा पर्दछ । हामीले अनुभवलाई अति धेरै महत्व दिनु हुँदैन । यो क्षमता र योग्यताभन्दा माथि होइन । हामीले पुस्तालाई तिनीहरूको ‘सम्पत्ति’का आधारमा ‘वर्गीकरण’ गर्ने गर्छौं भने हामीले कार्यकर्ताको ‘क्षमता’ र ‘योग्यता’तिर होइन, बरु कार्यकर्ताको ‘सम्पत्ति’ र उनीहरू कुन ‘पुस्ता’का हुन् भनेर मात्र हेरिने छ र यसरी मजदुर र गरिब तथा निम्नमध्यम किसानको बीचबाट उत्कृष्ट पात्रहरूलाई चुन्न र तिनीहरूलाई नेतृत्वदायी पदमा राख्न असम्भव हुनेछ । धेरै प्रतिभाहरू निकम्मा हुनेछन् र पार्टीको उद्देश्यले धोका खाने छ । हामीले पुस्ताको ‘सम्पत्ति’का आधारमा ‘वर्गीकरण’ गर्ने गलत दृष्टिकोणलाई पूरै त्याग्नुपर्छ र साहसपूर्वक नयाँलाई प्रोत्साहित गर्नुपर्छ ।”

सङ्गठन निर्माण र परिचालन, क्षमता र योग्यताको मूल्याङ्कन र उत्तराधिकारी निर्माणका सम्बन्धमा अध्ययन गर्दा नेपालको माओवादी आन्दोलन माथिका भनाइको ठीक उल्टो दिशामा गएको बोध गर्न सकिन्छ । सरसरती हेर्दा यो प्रवृत्तिगत कुरा लागे पनि सारतः यो वैचारिक समस्या नै हो । यथार्थतः यो अनुभववादी गोलचक्करवाद र व्यक्तिवादको परिणाम हो । पार्टीमा आफ्नो स्थितिलाई लिएर नेतृत्वमा रहेकाहरू चौबीसै घण्टा आतङ्कित भएपछि हुने परिणाम भनेको भद्रगोल हो र यसले जन्माउने भनेको विसर्जन नै हो ।

अनुभववादी जडता र बूढाहरूले केही गर्दैनन् भन्दै अभ्यास गरिएको वितण्डावादी व्यक्तिवादी महत्वाकांक्षाले पुर्याउने ठाउँ भनेको विसर्जनवाद नै हो । पुग्ने ठाउँ अहिलेको ‘प्रचण्डथ’ नै हो । अनुभववादी अकर्मण्यताभन्दा पनि क्रान्तिकारी शब्दाडम्बरभित्र व्यक्तिवादी महत्वाकांक्षाको अभ्यास गर्नेहरूले बढी भ्रम दिएको यथार्थलाई आत्मसात गर्दै वैचारिक सङ्घर्षमार्फत माओवादी आन्दोलनलाई पुनर्गठित गर्नु आजको आवश्यकता हो । यसले मात्र माओवादी आन्दोलनलाई विसर्जन हुनबाट जोगाउँछ । आउनुहोस्, बहसमा सहभागी बनौंँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल