छुवाछूत अन्त्यका लागि दलहरुको भूमिका

छुवाछूत अन्त्यका लागि दलहरुको भूमिका

प्रमिला बानियाँ

घर नजिकैको काकाको छोराको उपनयन, त्यसमा मलाई पनि आमन्त्रित गरिएको थियो । अफिसको काम सकेर जानुपर्दा अरुभन्दा म ढिलै पुगेकी थिएँ । चार वर्षको मेरो छोरो मसँगै थियो ।

घरभन्दा ५० मिटर दूरीमा खानाको व्यवस्था गरिएको रहेछ । खाना खाने ठाउँमा अपुग भएमा थप्ने र काम गर्नेबाहेक खासै कोही थिएनन् । छोरा र म खाना हाँल्दै थियौँ, अर्का एक जना दिदी पनि प्लेट लिएर मेरो पछाडि बसिन् । हामी खाना लिएर बसेका मात्रै थियौँ, हामीले चिनेका एकजना दलित समुदायकी दिदी जसलाई म भउजू भन्ने गर्छु, उनी छोरो सँगै लिएर त्यहाँ आइपुगिन् । उनी खाना खाने ठाउँमा आउँदै गर्दा मेरा काकी पर्ने महिलाहरु टाढैबाट हल्ला खल्ला गर्दै आइपुगे ।

उनीहरुको आवाज सुन्दा केही अप्रिय हुन लागेको भान हुन्थ्यो । क्याटरिङका दाइहरुले खाना आफै हालेर खानुस् दिदी भन्दै थिए । ती दलित भउजू पन्छिदै थिइन् । आत्तिँदै आएका काकीहरु उनलाई छुन नदेऊ, खाना हालेर देऊ भन्दै कराउँदै थिए । केके न भयो भनेको त खाना छोएर बिटुलो होला भन्ने डरले उनीहरु आत्तिँदै आएका रहेछन् । त्यो दृश्यले एकछिन मेरो दिमाग नै रन्थनियो । व्रतबन्धकी आयोजक दिदीलाई बोलाएर भने तपाईं जस्तो बुझ्ने मान्छेले गरेको कार्यमा यस्तो विभेद हुन्छ भने अरुबाट के अपेक्षा गर्ने ?

केही समयअघि के भएको रहेछ भने त्यही दिदीले त्यही स्थानमा आयोजना गरेको कुनै एक कार्यक्रममा घर नजिकै कि अर्की एक दलित दिदी गैह्रदलितसँगै लाइन बसेर खाना खाइछन्् । उनले छोएको खाना खाएको देख्नेहरुले खानेकुरा नै बहिष्कार गरेछन् ।

पहिलेको घटना नर्बिसिएकी उनले व्रतवन्धमा दलित समुदायकी ती दिदीलाई सँगै बसेर खाना खाऊँ भन्न सकिनन् । तर उनी भेदभाव गर्ने पक्षमा थिइनन् । समाजले साथ नदिएपछि उनले त्यसो गर्न हुन्न भन्न सकिनन् ।

ती भाउजू हामीभन्दा केही पर छोरो लिएर खान बसिन् । एक त आर्थिक रुपले अति विपन्न त्यसमा पनि दलित ती भउजूले पनि के गरुन् ।

उनीमाथिको अपमान सहन नसकेर मैले उनलाई भउजू तपार्इंलाई मान्छेको जस्तो व्यवहार नहुने ठाउँमा किन आउनुहुन्छ भने । उनले भनिन्– हामीले छुन हुँदैन, छाडिदिनुहोस् नानी । तपाईंमाथि भएको विभेद विरुद्ध प्रहरीमा उजुरी दिनुहोस् भन्न आँट गर्न सकिनँ मैले । किनभने उनको रोजीरोटी तिनै काकीहरुले चलाइदिएका छन् । सबैको घरमा जान्छिन्, कपडा सिलाउँछिन् । वर्ष दिनमा बाली लिन आउँछिन्, हरेक चाड पर्व विवाह, व्रतवन्धमा उनका निम्ति भाग छुट्याइएको हुन्छ । दमाईको भाग भनेर छुट्याइन्छ । कति सहजै भन्ने गरिन्छ यस्तो काम । त्यहीे नाताले उनी त्यस भोजमा आमन्त्रित थिइन् ।
उनले प्लेटबाट गाँस टिपिरहँदा मेरो आँखा उनले सँगै ल्याएको उनको छोरोमा परिरहेकोे थियो । दलित भएकै कारण सहनु परेको विभेदलाई त्यो केटोले कसरी बुझ्दो हो । आफू बुझ्ने भएदेखि समाजले त दलित तैँले गर्न हुँने गर्न नहुँने, तैले जान हुँने तैले जान नहुँने, तैले यहाँ छुन हुने यहाँ छुन नहुँने भनेर कोरिदिएको सीमा रेखामा बाँचिरहँदा कस्तो महसुस गर्दो हो ।

मेरो छोरो भर्खर चार वर्षको भयो । छोरालाई यो नगरभन्दा किन ? भनेर प्रश्न गरिहाल्छ । दलितहरुको हकमा त समाजले नै उनीहरुलाई छुन हुने र नहुने भन्दै हरेक कुरामा पाखा लगाउँछन् । मेरो छोराजस्तै दलित समुदायका बालबालिका गैह्रदलितको घरमा पस्दा तिमी भित्र नजाऊ, तिमी त्यो नछोऊ, तिमीले छुनहुँदैन भन्दा उसको कलिलो मष्तिष्कमा नराम्रो छाप त पर्छ । साथीको घरमा जाँदा साथीको आमाले त्यो दमाईलाई घरमा किन ल्याइस् भन्दा उसका मनमा पक्कै पनि नराम्रो असर पर्छ । एउटा बालकले आमालाई मेरो साथी गएको घरमा म किन जान नहुने, मेरो साथीले छोएको चीज मैले किन छुन नहुँने भन्दा ती आमाले के उत्तर दिन्छिन् ।

यो राजधानीकै टोखा नगरपालिकास्थित बानियाँटारको घटना हो । यहाँ सत्ता रुढ दल नेपाली काङ्ग्रेसका जिल्ला सभापति सबुज बानियाँको स्थायी बसोबास छ । नेपालको प्रमुख दलको नेतृत्व गर्ने नेताको बसोबास भएको स्थानमा यस्ता घटना घट्छन् भने अन्य ठाउँमा जनताले के अपेक्षा गर्न सक्छ । जुन घटना मेरो आँखाले देख्यो, मेरो कानमा पर्यो के यो विषयमा उनी साँच्चै अनभिज्ञ नै हन् त ?

आफ्नै समाजमा हुने यस्ता विभेदको अन्त्य गर्ने दायित्व विभिन्न दलका नेतृत्वको जस्तै उनको पनि हो । कथित उच्च जातिका नेताले दलितलाई घरभित्र पस्न दिँदा, उनको भान्सामा बसेर खाना खुवाउँदा त्यो समाजमा हुने भेदभावमा पक्कै पनि केही परिवर्तन आउँछ । यस्ता सामाजिक कुसंस्कारलाई सबुज बानियाँ जस्ता नेतृत्व र उनका परिवारको उदार मनले सहजै परिवर्तन ल्याउन सक्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल