विकासका लागि साझा प्रतिबद्धता आवश्यक

विकासका लागि साझा प्रतिबद्धता आवश्यक

नुमनाथ पौडेल

कुनै समयमा राजनीतिलाई समाजसेवा गर्ने एक सशक्त र स्वायत्त माध्यम मानिन्थ्यो । बिस्तारै समाजसेवा र राजनीतिको दूरी बढ्न थाल्यो । व्यक्तिगत प्रगतिको उद्देश्य र राजनीतिको उद्देश्यमा समीप्यता र समानता आउन थाल्यो । समाज सेवाका लागि गैरसरकारी संस्था चाहिन्छन् भन्ने सोच र विचारले कार्वान्वयनको धरातल पहिल्याउन थाल्यो । बिस्तारै राजनीतिसमेत पेशाको क्षेत्रमा कित्ताकाट हुन थाल्यो । त्यसपछि क्रमशः राजनीति छाया उद्योगको अनौपचारिक स्वरूपमा प्रकट हुन थाल्यो । तर जब कुनै फारमको पेशाको खण्डमा राजनीति उल्लेख गर्ने बेला आउँथ्यो, प्रायः नेताहरुको अगाडि अन्य पेशा लेख्ने विकल्पनै लोप हुँदै गएको देखियो ।

नेपालमा राजनीति पेशा आर्थिक मन्दी होस् या खडेरी, बाढी होस् या महाविनासकारी भूकम्प सधैँ प्रगतिपथमा लम्किँदै गयो । त्यसको परिणाम स्वरूप धेरैजसो राजनीतिज्ञहरुको व्यक्तिगत उद्देश्य धेरै हदसम्म हासिल भयो तर राजनीतिको उद्देश्य चाहिँ भएन । अब राजनीतिलाई वैयक्तिक सत्ता र शक्ति प्राप्तिका स्वरूप प्रदान गर्ने र जनताको सेवाको अवसरको रुपमा पस्कन खोज्नेको बीच सामूहिक चेतना शक्तिको विभाजन हुने बेला आइसकेको छ । आगामी स्थानीय चुनाव पनि त्यसका लागि कारण बनिराखेको छ ।

गणतन्त्रपछिका चर्चित मन्त्रीहरुमध्ये गोकर्ण विष्टको पालामा विद्युतको बक्यौता नतिर्ने सरकारी निकायबिरुद्ध कारवाही हुँदा ठूलो स्याबासी दिइयो । डीभी र पीआर लिएका कर्मचारीविरुद्ध कारवाही गर्न आवश्यक कानुन प्रस्ताव गर्ने मन्त्री लालबाबु पण्डित एकाएक चर्चित भए । जनसमर्थन धेरै वृद्धि भयो । यी दुई उदाहरणमा कुनै आर्थिक मार्गचित्र या विकासको लक्ष्य थिएन । बारम्बार सत्तामा पुग्नेहरु दिशाहीन भएर हो या नियतवश, कुनै उल्लेख्य वा मापनयोग्य कार्यसम्पादन देखिएको थिएन । सत्ता सञ्चालन गर्नेप्रति जनताको विश्वास सबैभन्दा तल्लो स्तरमा खस्किसकेको थियो । केही नियमविपरीत काम गर्नेलाई कारवाही गर्दासमेत धेरै चर्चा र सम्मान पाउने अवस्था बनेकोबाट दण्डहीनता र राजनीतिक वितृष्णा कतिसम्म बढेको रहेछ भनेर सहजै भेउ पाउन सकिन्छ ।

परिणाम सर्वसाधारणले देख्ने गरी सामुन्ने नआएको भए पनि उद्योग मन्त्री नवीद्रराज जोशीको प्रयासलाई सराहाना गर्नै पर्छ । स्वास्थ्य क्षेत्रमा गगन थापाको नीतिगत सुधार र परिवर्तन अब देखिन थालेको छ । त्यो विरोधीहरुले समेत मन पराएका छन् । जलविद्युतका क्षेत्रमा जनार्दन शर्माको निर्णय क्षमता देखेर त त्यस क्षेत्रमा संलग्न लगानीकर्ताहरु नै अचम्म मानिराखेका छन् । अझ त्योभन्दा बढी लोडसेडिङ हटाउँदा कुलमान घिसिङको जयजयकार सबैले गरिरहेका छन् ।

साच्चिकै भ्रष्टाचाररहित विकास गरेर देखाउने कोही नेता प्रधानमन्त्री बनेमा नेपालीले भगवान् झैं मान्नेछन् । विगतका र भविष्यमा आउने मन्त्रीहरुको समेत मूल्याङ्कन गर्न नजिर देखाउने हैसियतका लालबाबु पण्डित, गगन थापा र जनार्दन शर्माहरु जस्ता प्रतिनिधि मन्त्रीहरुको समूहले कार्य सम्पादन गरेको निरन्तर हेर्न साझा राजनीतिक चेतना शक्ति सत्तामा पुग्न जरुरी छ ।

सहमतिपछि अन्तरिम संविधानको प्रारूपको लेखन करिब तीन घण्टामा ठूला दलहरुका विज्ञसहितको टोलीले सम्पन्न गरेको उदाहरण हाम्रोसामु छ । सामूहिक चेतना शक्ति स्वार्थले खण्डित भइसकेपछि संविधान लेखनलाई निर्माण या सहमति जे भने पनि, सभाकक्ष या दिल्ली जहाँ बैठक बसे पनि संशोधनको उपशीर्षक अन्तर्गत निष्कर्षमा पुर्याउन सम्भव भइराखेको छैन । संविधान र कानुन बारम्बार संशोधन गरिन्छत र राजनीतिक चेतना शक्ति नै संविधान र राजनीतिक शक्तिको भागबन्डामा खण्डित बनेर फँसेको अवस्थामा राजनीति स्वाभाविक हुन सक्तैन ? अब कानुनगत तथा अन्य निस्तेज विषयहरुलाई केन्द्र बिन्दुमा राख्नुपर्ने चेतनालाई चुनाव र विकासलाई केन्द्रविन्दु बनाउने साझा चेतना शक्तिमा रुपान्तरण गर्ने समय आएको छ ।

सबै राजनीतिक दलको विधान र घोषणापत्र सुन्दर र आकर्षक बनाउने कोसिस गरिन्छ तर व्यवहार र कार्यान्वयनमा अधिकांश राजनीतिक दल र शीर्ष पदाधिकारीहरु सधैँ चुकेका छन् । प्रायः दल जुनसुकै घटना र परिघटनालाई राजनीतिक रोटी सेक्ने अवसरमा परिवर्तन गर्न अग्रसर भएको देखिन्छ । चुनावमा कम खराब राजनीतिज्ञ को हो भनेर पहिचान गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ ।

अमेरिका, चीन, रसिया, भारत हरेक महादेशमा पुँजीवाद वा लोकतन्त्र वा कम्युनिज्म जे नाम दिए पनि लोककल्याणको काम र राज्यले जनताको हित सर्वोपरी राख्ने विषय नै प्राथमिकतामा परेको छ । सिद्धान्त, निर्वाचन र सरकारमा पुग्ने विधि, विधान र व्यवस्था फरक प्रदर्शित हुँदा पनि सरकारको प्राथमिक उद्देश्य प्रत्येक देशको वस्तुस्थिति अनुसार सारभूत रुपमा समान छ । सिद्धान्त पनि अधिकभन्दा अधिक रुपान्तरण, व्यावहारिक र सामूहीकरण हुँदै गएको छ । त्यसकारण पाठ्यक्रम र पठनपाठनबाहेक नेपालमा कतै काम नआएका सिद्धान्तहरुलाई रद्दीको टोकरीमा फाल्ने बेला आएको छ ।


अब सबै सिद्धान्तका सार तत्व वा भनौँ गुणहरुलाई अङ्गीकार गर्न सक्ने राजनीतिक शक्तिको उदय हुन अपरिहार्य भइसकेको छ । अब सामूहिक चेतना शक्तिलाई सिद्धान्तले विभाजन गर्ने होइन, सिद्धान्तलाई चेतना शक्तिले सामूहिक रुपमा एकीकृत गर्ने बेला आएको छ । तसर्थ, राजनीतिक पार्टीले देखाउने सिद्धान्त व्यवहारमा खोज्ने होइन, व्यवहार नै वास्तविक सिद्ध भइसकेको सिद्धान्तका रुपमा जानेर साझा चेतनाको प्रकटीकरण गर्ने मुहूर्त समेत आइसकेको छ ।

टाइपराइटरपछि कम्प्युटर, सफ्टवेयर, अनि कागजरहित हुँदै आजको युग कार्यालयरहित पनि भइसकेको छ । अब तस्करी, लागू पदार्थ र आपराधिक कार्यहरु फोन र सामाजिक सञ्जालबाटै सम्पादन हुन्छ । अवैध रुपमा आयात गरिएको सुनको मालिक होइन, गाउँको भरिया समातिन्छ । अधिकांश सभासद जनताहरु चुनावै गर्न नखोजून् भनेर चाहन्छन् । लाटा सोझा समर्थक धेरै भइदिए हुन्थ्यो भन्ने नेतृत्वको बाहुल्यता छ । कसैको फुर्सद नै हुँदैन भने कसैलाई राजनीतिको गन्जागोलमा हामफाल्न जरुरी नै नहुन सक्छ । त्यसैले पनि राजनीतिक विकारलाई न्यूनीकरण गर्ने अवसरको सदुपयोग गर्न तादात्म्यतायुक्त चेतना शक्तिको निर्माण गर्ने बेला आइसकेको छ ।

के काम र कसरी गर्नु पर्छ भन्ने विधि, विधान, प्रक्रिया, तरिका, समस्याको निदान आदि कुनै न कुनै कुरा धेरैलाई थाहा छ । तर यहाँ कार्यसम्पादन गर्ने सहजै भेटिन्न, भेटिए पनि गर्न दिइन्न । भ्रष्टाचार गर्न हुन्न भनेर निर्देशन दिएर नहुने हो र ? यहाँ कार्यादेश दिनेको होइन, कार्यान्वयन र कार्यसम्पादन गर्न सक्ने विशुद्ध चेतना शक्ति भएको नेतृत्वको अभाव छ ।

भनेका, सुनेका र देखासिकी गरेका कारण अहिलेको चेतना शक्ति विभाजित भइराखेको छ । स्वयंभन्दा अरुको चेतनामा निर्भर हुने आदतले हामीलाई आफ्नै क्षमताको समेत विस्मरण हुन्छ । सीताको खोजी गर्दैसमुद्र तटबाट लङ्कातर्फ जाने उपाय नदेखेर निराश हनुमानलाई समुन्द्र पार गर्न सक्ने आफ्नै क्षमता स्मरण गराएपछि आफ्नै बलले उफ्रेर सजिलै लङ्का पुगेको उदाहरण जस्तै प्रायजसोलाई कार्यसम्पादन गर्ने साझा चेतना विकासको लागि स्मरण गराइदिने सहपाठीको जरुरी भइराखेको छ ।

अधिक स्वतन्त्रताका कारण आएको विकृतिको परिणामस्वरूप नियम, कानुन, मूल्य, मान्यताको पालनामा कमी आएको र कसैले कसैलाई नटेर्ने प्रवृत्ति बढ्दै गएको छ । संविधानको समान हकको अर्थ दुरुपयोग हुँदै गएर चोर र साधुको समान अधिकार हुन्छ भन्ने अवस्थासम्म पुग्न सक्छ । प्रसिद्ध दार्शनिक रुमीको जुनसुकै चीज अधिक भएमा विष बन्न सक्छ भन्ने भनाइ यहाँ सान्दर्भिक देखिन्छ । धेरैभन्दा धेरै छुट दिँदा चोर या कैदी पनि उम्मेदवार बन्न पाउने, अनि अनेक हत्कण्डाबाट निर्वाचित भएको हेर्न बहुल जनसङ्ख्या बाध्य हुनुपर्ने लोकतन्त्रको चरम दुरुपयोग र विकृति हो । त्यसैले पनि सम्यक लोकतन्त्रका लागि सुसंस्कृत राजनीतिक आधार फैलाउनु जरुरी छ ।

शक्ति नयाँ र पुरानो भन्ने कुरा त्यसको सिद्धान्तभन्दा व्यवहारले तय गर्ने हो । उद्देश्य र दिशाहीन शक्ति नयाँ नै हो भने पनि ढिलो चाँडो पुरानो पनि होला । तर आदि कालदेखिको शक्ति चाहिँ सधैँ सत्य हुन्छ । प्रायजसो धर्मले पनि मनुष्य चेतना शक्तिको अस्तित्वलाई अनवरत शक्तिका रुपमा मानेको छ । अनात्मावादीहरुले पनि सामूहिक चेतना शक्तिलाई चाहिँ स्वीकार गरेकै छन् । खण्डित चेतनाले व्यक्तिगत साथसाथै सामूहिक विजय हासिल गर्न सक्दैन । त्यसैले हामीले पनि साझा चेतना शक्तिको मार्ग पहिल्याउनु जरुरी भइसकेको छ ।

राजनीतिज्ञ र राजनीतिकर्मीको सामूहिक प्रयासले चाहेको राजनीति किन सम्भव हुन सकेको छैन ? हामीले विकास चाहेका छौँ, तर खोजेको विकास किन भएको छैन ? हामीले आर्थिक समृद्धि चाहेका छौँ तर त्यो निकट भविष्यमा आउने देखिएको छैन । हामीले शान्ति र स्थायित्व चाहेका छौ, हामी नै बेला बेलामा बिगार्न पालै पालो कसिन्छौँ ।

हामीले नसोचेको र नखोजेको नतिजा हामी सबै मिलेर निकालेको छौँ, किनकि हाम्रो राजनीतिक शक्ति खण्डित छ । अब यसलाई परिष्कृत गर्न र हामीले खोजेको लक्ष हासिल गर्न साझा चेतनाको शक्ति चाँडै तयार हुन जरुरी छ ।

अस्थिर सरकार र बारम्बार हुने राजनीतिक परिवर्तन नेताहरुको असन्तुलित विचार शृङ्खलाको परिणाम हो । अस्थिर सरकारले स्वयंको अस्तित्वको सङ्घर्षमा ऊर्जा नष्ट गरेको छ । यसकारण नयाँ नेपाल निर्माणको प्रयास फगत पुरातन र जनताबाट बहिष्कृत महत्वाकांक्षीहरुको सपना सुकाउने राजनीतिको मैदान बनेर रहन नदिन साझा प्रतिबद्धताको हस्तक्षेप अपरिहार्य छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल