उत्कृष्ट अर्थमन्त्री र नेपाली अर्बपतिको वास्तविकता के हो ?

उत्कृष्ट अर्थमन्त्री र नेपाली अर्बपतिको वास्तविकता के हो ?

निमकान्त पाण्डे

नेपाल वास्तवमै गज्जब शासन भएको बन्न पुगेको छ । यो देशका व्यापारीलाई, यो देशका नेतालाई विदेशका पत्रिकाहरूले अर्बपति र उत्कृष्ट भनेर उपाधि दिएपछि त्यसको वास्तविकतातर्फ न त नेपाल सरकार न नेपाली सञ्चारमाध्यम न नेपालको अन्य कुनै निकायले नै वास्तविकताको खोजी गर्न आवश्यक ठान्दछ । बेलायतको चर्चित म्यागेजीन ब्याङकरले नेपालमा ०७२ सालको वैशाख १२ मा गएको शक्तिशाली भूकम्पलगत्तै महत्वपूर्ण काम गरेको भन्दै डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको थियो ।

उत्कृष्ट अर्थमन्त्री घोषणा गर्नुका कारणमा भूकम्प लगत्तै उनले भूकम्प पीडितको पुनस्र्थापना तथा पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा विदेशी सहयोग जुटाउन सफल भएको भन्ने मूल्याकन गरिएको थियो । भूकम्प पछिको वास्तविकताको कुरा गर्ने हो भने भूकम्प गएको दुई वर्षसम्म पनि भूकम्प पीडितको राहत र पुनस्थापनाको राम्रो व्यवस्था अझै हुन सकिरहेको छैन । पुनर्निर्माणको कुरा त धेरै टाढाको विषय हो ।

भूकम्पपछि स्थापना गरिएको पुनर्निर्माण प्राधिकरणका सिइओ डा.गोविन्द पोखरेलको कुरा पत्याउने हो भने जुन विदेशी सहयोग जुटाउन सफल भएको भनेर महत उत्कृष्ट अर्थमन्त्री बने त्यो सहयोग अहिलेसम्म पनि आउन सकेको छैन । छिमेकी मुलुक चीन तथा भारतले त भूकम्पपश्चात् प्रतिबद्धता व्यक्त गरेको एक पैसा नदिएको तथ्यबारे स्वयं डा.महत अनभिज्ञ नहोलान् । कसैले हाम्रा अर्थमन्त्री विश्वकै उत्कृष्ट भनिदियो, हामीले पत्यायाँै । यसको सोध खोज र वास्तविकता पत्ता लगाउने प्रयास कहिल्यै गरेनौ र गर्दैनाँै पनि हामीले । बरु दुःख कष्ट सह्याँै, भूकम्प पछि हाम्रो अवस्था कस्तो छ भन्ने प्रमाण हामी आफै थियाँै र पनि त्यसलाई बिर्सिएर अरुको कुरा पत्याएर खुसी मनायाँै ।
त्यसैगरी विश्व चर्चित अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले नेपालका व्यापारी विनोद चौधरीलाई विश्वका अर्बपतिको सूचीमा राख्यो । केही वर्ष पहिले उक्त सुचीमा परेका उनलाई यसवर्ष उनको पुँजी वृद्धि भएको भन्दै अर्बपतिको सूचिमा माथि उकालिएको छ । चौधरी यस्ता व्यक्ति हुन् जसले दुई गैरआवासीय छोरा मार्फत पुँजी नेपालबाट बाहिर पठाइरहेका छन् । उनले चोरबाटोबाट पुँजी पलायन गराएको कुरा पंक्तिकारले मनमा लागेर लेखेको होइन, उनैले लेखेको आत्मकथामा आफूले कसरी होसियारीपूर्वक चोरबाटोमार्फत् पुँजी पलायन गराइरहेको भनेर उल्लेख गरेका छन् ।
नेपालमा रोजगारी तथा आर्थिक अभाव भोगेर लाखाँै नेपालीहरूले साउदी अरबको तातो घाममा मेहनत गरेर पठाएको रेमिट्यान्सको भरमा मुलुक सञ्चालन भइरहेका बेला आफूलाई विश्वको धनाढ्य दावी गर्ने व्यक्तिले खुल्लमखुल्ला पुँजी पलायन गराइरहेको छ । हामी भने उनलाई नेपालका अर्बपति भनेर गर्वसाथ छाती चौडा बनाउँछाँै । राज्यको त के कुरा गर्नु ? राज्यले विनोद चौधरीको हैसियतबारे बुझ्न ठानिरहेको छैन । परन्तु विनोद स्वयंले नेपाली अर्बपतिको आवरणमा विश्वका धनाढ्य व्यक्तिहरूसँग सम्बन्ध विस्तार गरिरहेका छन्, तर नेपालभित्र भने उनले नेपाली श्रमिकहरूको पारिश्रमिक समेत नदिएर शोषण गरिरहेका छन् भन्ने कुरा अमेरिकाको फोब्र्स पत्रिकालाई के थाहा ?
त्यसैगरी निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चारप्रदायक कम्पनी एनसेलले लाभकर दिने भन्ने विषयमा कुनै विवाद छैन । तर त्यो कर कसले दिने भन्ने विषयमा हामी निर्णय गर्न सक्दैनाँै । नेपाललाई केन्द्र बनाएर कारोबार गरिरहेको विदेशी कम्पनीले ठूलो परिमाणमा मुनाफा आर्जन गरिरहेको छ । तर जब त्यसको स्वामित्व परिवर्तन वा लाभकर राज्यले पाउने कुरा आउँछ, कानुनी कुरा देखाएर वा विदेशी कम्पनी भनेर हामीले उन्मुक्ति दिन्छाँै ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक अर्बाैको सुन तथा बहुमुल्य वस्तुको तस्करी हुन्छ । तर हामी भने झुक्किर पक्राउ परेको केही किलो सुनको असली तस्कर को हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि थाहा नपाएजस्तो गरेर अध्ययन, अनुसन्धान गरिरहेको नाटक गर्छाै ।
माथि उल्लेख भएका पात्रहरूसँग पंक्तिकारको व्यक्तिगत रूपमा कुनै वैमनस्यता वा विवाद छैन । तर हामीले कस्तो किसिमको प्रवृत्तिलाई अवलम्बन गरिरहेका छौँ भन्ने कुरामा गम्भीर आपत्ति हो । किनभने हामीले जसलाई राम्रो भनेर गर्व गरिरहेका छाँै, वास्तविकता त्यसभन्दा निकै फरक देखिन्छ । क्षणिक सुखमा रमाउने नेपालीहरूको जन्मजात विशेषता नै बनिसकेको छ । तर यसको दुरूपयोग गरेर कतिपयले व्यक्तिगत फाइदामा प्रयोग गर्ने गरेका छन् । माथि उल्लेख भएका पात्र र प्रवृत्ति त्यसैका ज्वलन्त उदाहरण हुन् ।
केही सीमित व्यक्तिहरू मोटाइरहँदा आम नेपालीहरूको अवस्था तथा समग्र मुलुककै अवस्था दयनीय र संकटतर्फ ढकेलिदै गइरहेको छ । गलत प्रवृत्तिले व्यापक रूपमा मौलाउने अवस्था सिर्जना हुँदाहुँदै पनि राज्यको भूमिका झन् पछि झन् निरीह हुँदै गइरहेको छ । यसले नेपाललाई कहाँ पु¥याउँछ ? आम नेपाली नागरिकले राज्यबाट कस्तो अपेक्षा गर्ने ? राज्य सिमित व्यक्तिको हितमा प्रयोग हुने कि समग्र नागरिकहरूको पक्षमा काम गर्ने ? गलत प्रवृत्तिले राज्यमाथि नागरिकका तर्फबाट प्रश्नचिन्ह खडा गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । यस्तो प्रवृत्तिलाई चिर्नका लागि राज्यले समयमै पहल गर्न सकेन भने नागरिक मात्र होइन समग्र मुलुक नै असफल मात्र होइन अस्तित्व नै समाप्त हुने अवस्था आउन सक्दछ । त्यसैले मुलुक भित्र भइहेका गलत प्रवृत्ति र गलत चरित्र भएकाहरूलाई समयमै लगाम लगाउन आवश्यक छ । यस्ता विषयलाई गम्भीर ढंगले चिन्तन–मनन गरेर समस्या समाधानको दिशातर्फ अघि नबढेमा पश्चातापबाहेक भविष्यका लागि केही बाँकी हुनेछैन । नेताजीहरूलाई चेतना भया !

(यो लेखकको निजी विचार हो)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल