चुनावी आशा र विकेन्द्रीकृत सोच

चुनावी आशा र विकेन्द्रीकृत सोच

रमेश भट्टराई ‘सहृदयी’

देश निर्वाचनमय बनेको छ । एउटा त्यही लहर जहाँ चुनावी माहोलमा नेताजीहरू भोटका निम्ति हात जोड्नुहुन्थ्यो । जितेर पदमा पुगेपछि जनताले माग र समस्या बोकेर नेताजीका ढोकामा लामै समय धाउनुपथ्र्यो ।

जनतामा परिवर्तनको आशा जागेको छ । उम्मेद्वार छनोट, मतदाता बहस अनि पार्टीका चुनावी प्रचारसँगै आआफ्ना दलीय समस्या र एजेन्डामा आखिर देश तातेको छ । देश बनाउन कति कठिन छ तर बन्द, हड्ताल, चक्काजामको बाघचलमा भासिँदै जाँदा न राजनीति गर्ने खुशी छ न राष्ट्रको उन्नति फस्टाउन पाउँछ ।

बुद्धभूमिको देशमा दशौँ वर्ष सङ्क्रमणको घाउ नपुरिएको इतिहास बनिसक्यो । लगभग १९औँ वसन्तपछि मुलुकले स्थानीय चुनावको रेखाचित्र कोर्ने जमर्को गर्दै छ । सत्तामोहको साङ्लोमा देखिँदै आएका भड्किला घटनाले निम्त्याएका कहालीलाग्दा नरसंहारसँग नेपाली मन युगौँदेखि हैरान छ । संविधान निर्माण भयो तर कार्यान्वयनमा सत्तादाउको चक्रसँगै अप्ठ्यारा सङ्क्रमणका पीडा छँदै छ । जनविश्वासका आकाङ्क्षाले नेतृत्वलाई आआफ्ना हठमा त्यागको मध्यमार्गसँग हातेमालो गर्न मार्गमा आग्रह गर्दै छ ।

अब अप्ठ्यारा तगारा नथपिउन्, जनभावना वन्दनीय छ । स्थानीय निर्वाचनसँगै संविधान कार्यान्वयनको लोकतान्त्रिक चरणले नाता गाँस्न चाहेको छ । टुसाएको यो आशाले हुर्कन पाउनु सबैको हितकारक पनि छ । संविधान कार्यान्वयनको मूल बाटोमा मानव अधिकारले हुर्कन पाउने आशा गाँसिएको छ । शान्तिको भावनामा क्षेप्यास्त्र प्रहार भए परिणाममा द्वन्द्वको मुसल चल्ने भय बढ्छ । कतिले बिहान बेलुकाको छाक टार्न नपाएर भोकभोकै मर्नुपरेको पीडा होला तर भन्नै लाज लाग्छ, दशौँ वर्ष देश– घटना जन्माउने, बहस गर्ने, सत्ता टिकाउने, सत्ता ढाल्ने, घुक्र्याउने, सरकार बनाउने, विपक्षीको राम्रै काम भए पनि कमजोरी खोजेर बज्र हान्दै भद्रगोलको चक्रव्युहमा सीमित छ । भड्किएका साम्प्रदायिक सद्भावसँगै दण्डहीनता बढेमा जनआशा र अपेक्षा बाइपास हुने खतरा छ । कुर्सीको खेलमा जनतालाई ढाल र तरबार बनाएर जनताकै सिकार हुनुमा हाम्रै सूक्ष्म सोचले भूमिका खेल्दो रहेछ ।

भारत र चीन दुवै छिमेकी राष्ट्रमा समदूरी भावको आफ्नै स्पष्ट नीति नहुँदा आज एककाँधे सम्बन्धको चोट र दलनको सिकार बन्नुपरिरहेको छ । फलतः भारतीय सैनिकको ज्यादतिले कञ्चनपुरमा गोविन्द गौतम सहिद बने । सदियौँदेखि सीमाक्षेत्रमा बन्दुक बोकेर दशगजा मिच्ने, हैकम जमाउने, रातारात सैनिक दमन गर्ने, नेपालीका घरमा छिरेर जथाभावी कुटपिट गर्ने गरेका कर्तुतको सिकार बनेको भारतीय निर्ममतासँग नेपाल र नेपालीको मन साँच्चै कुँडिएको छ । कोही भौतिक, कति मानसिक त कति नैतिक रुपमा भारतीय दादावादको सिकार बनेका अनि नराम्ररी हेपिएका समाचार पुराना होइनन् ।

अङ्ग्र्रेजको गोला बारुदसँग नझुकेको नेपाली वीरतामा मानवता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका आफ्नै इतिहास छैनन् र ? तानाशाही निरङ्कुश दमनकारी कुकृत्यका सिकार बनिरहने सीमावर्ती नेपाली जनताको सुरक्षा र सीमा रक्षाका विषय दुर्घटनापछिका दुईचार दिन पर्दामा आएर अर्को घटनाको पर्खाइमा सीमित नरहोस । मानवअधिकारको रक्षा नै पो कहाँ भएको छ र ? भन्ने चिन्ता आम जनतामा छ । यसर्थ बोलीले स्वाभिमान जोगिँदैन । अब सीमामा प्रवेशाज्ञा लागु होस्, सीमाङ्कनको रेखा आधुनिक म्यापका आधारमा तय होस् । देशमा आन्तरिक सबलता नहुँदाको फाइदा उठाउँदै हेपिएका कारण बाह्य क्षेत्रबाट आन्तरिक मामिलामा चासो राख्दै आएका घटनाले परनिर्भरताको लाचारी भावलाई बुझाउँछ । हामी आफ्नो कमजोरी पक्ष पस्किरहँदा दया गर्नुपर्ने हेपिएको मुलुक बन्नु आपैmँमा नालायकपन बन्न जान्छ ।
घर झगडामा नै रगतको होली खेलिएको देखेपछि बाह्य शक्तिले बन्दुक चलाउन कति सहज ठान्यो । हामी घरमा अब पनि सहमतिका बाटामा जानुको साटो आआफ्नै हठमा अड्किरह्यौँ भने देशले चाहेको उपलब्धि निरर्थक नबन्ला पनि त भन्न सकिन्न । नेतृत्वको पछाडि लागेर आक्रोस, अडान र हुलमुलको जत्थामा एउटै झण्डाको कदर गर्ने हामीले आफ्नै परिवारमा राँको जलाएको लामो इतिहास हामीसामु छन् ।

तेस्रो बाह्यशक्तिको ज्यादतीमा एकढिक्का भएर न्यायको झोली थाप्ने बेलामा आफ्नैसँग आरोप–प्रत्यारोप गर्दै आपैmँले सास्ती जन्माएर आपैmँ त्यसको पीडा सहेर गाँड कोराकोर गरेको लामो विगतले हामीलाई गरिबी, बेरोजगार र अभावको झोला भिराएको पनि धेरै भइसकेछ । कार्यकर्तालाई बलिको बोको बनाउने अभियानमा होम्न जान्ने तर विकासको महायज्ञ र शान्तिको रङ्गमञ्चमा तरङ्गीत बनाउन नसक्ने विसङ्गतिको मुस्लोले प्रायः कुनै राजनीति अछुतो छैन । प्रत्येक घटनाको सम्बोधनका लागि सडकमै उत्रिनुपर्ने संस्कार र बाध्यता बनिरहेको छ, देशमा । जनता पार्टीका पछाडि लाग्न बाध्य छन्, पार्टीको पछाडि लागेमा मात्र न्यायालयको ढोकामा पुग्ने आधार बनेको छ । तर निमुखा जनताका आवाज खोलाको गीत बन्ने गरेका पीडादायी गुनासाहरु धेरै छन् । डाडुपुन्युँ आपैmँसँग बोकेर पाकेको भातमा बेकारको किचलो गर्दैगर्दा अर्कैले पेट भर्ला र भोकै पेट ग्यास्टिकको सिकार बन्ने अवस्था नआउला भन्न पनि त सकिँदैन । यसर्थ भाषणका सैद्धान्तिक खोक्रोपनभन्दा अब मुलुकको परिवर्तनका लागि विकासका बाटामा मतभेदको अन्त्य गर्नु आवश्यक छ । सहमतिको सुमार्गमा सम्पूर्ण जनता, दल र देश एक ढिक्का हुनुको अर्को विकल्प भेटिँदैन । व्यक्ति र पार्टी दह्रो हुन वैज्ञानिक विकासका जनमुखी कार्यक्रम तय हुनु मात्र होइन लागू गरिँदै जानु लाभप्रद होला ।

हामीले देशमा थुप्रै लोककल्याणकारी भाषण सुन्दै आएका छौँ अनि यसैमा विचार र बहस गर्दै आएका छौँ । समाज परिवर्तन र विकासको ढोल पनि पिटिएकै हुन्छ । शीतयुद्धको घेरासँग राजनीतिक–साम्प्रदायिक जटिलता चुलिँदै जाँदा भावनात्मक एकताका तर्क फोस्रा बन्दै छन् । आखिर के हुँदै छ, के पाइँदै छ र वास्तवमै चाहिएको के हो ? के हामीले भन्दै गरेका, मागिएका सबै कुरा पाएपछि हामी सन्तुष्ट बन्न सकौँला ? आज हरेक नागरिक राजनीतिक सोचसँग किन वितृष्ण छ, अनि किन नेतृत्वलाई गाली गरिरहन्छ– चोकमा, सडकमा, चियाको चुस्कीसँगै क्याफेमा ! हिजोका कैयौँ युद्धजन्य पासोबाट बल्लतल्ल उम्केको विचार नसङ्लिँदै दलदलतिर भासिएका तीता सत्यबाट सिङ्गो मुलुक आक्रान्त छ । भूराजनीतिको ध्रुवीय सत्तायात्राका महायज्ञबाट चुलिएको विकेन्द्रीकृत सोचको बेमेलमा कस्तो शान्तिको उद्घोष छ ? संविधान निर्माणको सफलतामा जुटेको सबल दलीय एकताको उदाहरण मकाउनु कुनै एक दलको असक्षमता पनि त होइन । लोकतन्त्र, गणतन्त्र या आजसम्म भनिएका उपलब्धिबाट कति प्रतिशत जनता लाभान्वित भएका होलान् ? आखिर हिजो बगेको रगत र आजको रगतमा के फरक छ र ? के देशले हिजोका युद्ध र द्वन्द्वका लागि प्रायश्चित गर्न सकेको छ त ? नेपाल आमाका सन्तानलाई दुख्ने घाउ आज मधेसका माटोमा, रङ, रुप, सीमाना अनि पार्टीको पोल्टामै खन्याइएका विकेन्द्रीकृत भावनामा कस्तो राष्ट्रवादी सरोकार जोडिएको होला । सिङ्गो देशको आवाजलाई एउटा पार्टीको चौघेराभित्र राखेर विश्लेषण गर्दै जाँदा विकेन्द्रीकृत सोच झागिँदै छ, जनतामा भावनाको दूरी बढ्दै छ । हाम्रा शिष्ट, सभ्य राजनीतिक आदर्शका पानाहरू दोबाटोमा बलात्कृत भइरहेका छन् । चुनावी माहोलभन्दा आज हरेक नेतृत्वले भिरेको पार्टी मात्रको विकेन्द्रित कुभावनाका अङ्कुरले सिङ्गो देशको आवाज छायाँमा पर्नु घातक हुन्छ । चुनावी चर्चामा प्राचीन परम्पराको चक्र नचलोस्– जनता विनित छन् ।

सीमाङ्कन, नागरिकता र संविधान संशोधन क्षेत्रीय भावनामा नअड्कियोस् । हामीलाई नेपाल, विकास र शान्ति अमन चैनको वातावरण चाहिएको हो । निषेधको राजनीति र साम्प्रदायिक दुर्भावनाको सोच त्यागेर वार्ता, सहमति र सहकार्यबिना नेपाल आमाको आशाको दियो जल्ने सम्भावना देखिँदैन । कैलालीको टीकापुरजस्ता घटनामा नेपाल आमाकै आँशु बग्यो । परदेशमा केही दाजुभाइ हाम्रै लागि पसिना बगाइरहँदा केही दाजुभाइ यहाँ मारामार गर्दै घरभित्र निर्दयी असचेत स्वार्थका पोका बोकेर दौडिएका छौँ । चुनावी माहोलमा विकास र रोजगारको आवश्यकता जोडियोस; देशलाई शान्ति र सुव्यवस्थाको पाटोमा राखेर लैजाने द्रुतमार्गतिर पाइला चलोस् । अतः जनतामा हिंसात्मक भावले चिसिएको दूरीलाई जोड्ने भावनात्मक एकताको आवश्यकता छ । सहिदको सपनाका गफ केवल भाषणका लागि होइनन् । लामो समयको प्रतिफल पस्कन समय आएको छ ।

हामी नेपालमा नेपाली हौँ तर पश्चिमी विचारका ठेलीलाई लाद्ने सपनामा खेल्छौँ । पश्चिमी सभ्यता पढ्नु, जान्नु र बुझ्नु अवश्य ज्ञानात्मक कसीमा सराहनीय होला तर के हाम्रो पहिचानबाटै हामी बाँच्न सक्दैनौँ ? अलिकति खारेर, अलिकति तिखारेर अलिकति आधुनिकतामा बढेर अनुशासित भएर हाम्रो देश चल्न सक्दैन र ? शान्तिप्रेमी बुद्धका वाणीमा भन्दा पश्चिमी मोडलको आधुनिकीकरणका विचारले देशमा प्रश्रय पाइरहेको भान हुन्छ । राजर्षि जनकको इतिहासबाट सिक्नुपर्ने राजनीतिभन्दा हामीलाई पश्चिमी संस्कारका द्वन्द्ववादप्रति दिलचस्पी छ । सीताको आदर्शमा प्राचीन बुर्जुवापनाको संज्ञा दिन्छौँ । हिंसा, युद्ध, द्वन्द्व यी घटनाका प्रत्येक सिँढीले आखिर हामीमा कति खुशी दियो ? के मारेर या मरेर पाइएको उपलब्धि मात्र हाम्रो सबल इतिहासको दृष्टान्त हो । हाम्रा तमाम दुर्घटनातिर फर्किँदा प्रजातान्त्रिक सोचमै खिया लागेको प्रतीत हुन्छ । हामीले सहिदको नामसँग जुन विषय जोड्छौँ, त्यहाँ अमानवीय अशान्तिका लप्का छन् । धर्मनीति, अर्थनीति र राजनीतिमा विज्ञ विदुरको धर्मसङ्कटमा राष्ट्रियताको बचाउ अनि भिष्मपितामहको माटोको कसममा सत्यता जति सम्मानजनक छ त्यति धृतराष्ट्रको महत्वाकाङ्क्षा र कौरवको कपटी राजनीति निन्दनीय छ । रामको आदर्श नीतिका धनी हामीलाई भोल्टेयर, रुसोको विचारमा गर्व हुन्छ । आखिर हामै्र आफ्नापनमा हामी कति बाँच्दै छौँ ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल