गणतन्त्रमा कानुनको पालना कहिलेदेखि

गणतन्त्रमा कानुनको पालना कहिलेदेखि

विजय ज्ञवाली

विश्व विख्यात समाजसेवी मदर टेरेसाको एउटा मूलमन्त्र आज पनि उत्तिकै मननीय छ । उनले भनेकी छिन्– “तिमी सफलताका लागि कति काम गर्छौ यो महत्वपूर्ण कुरा हुँदैहोइन, तिमी आफ्नो कामलाई कति प्रेमपूर्वक गर्छौ यही नै सफलताको मापदण्ड हो ।” उनको यही मूलमन्त्र र कर्मले गर्दा नै उनलाई विश्व विख्यात परिचित गराउन सफल भयो ।

उनको यस महान वाक्यसँग नेपालको राजनीतिलाई तुलना गर्ने हो भने कहीँकतै पनि उनको मर्मसँग मेल खाएको देखिँदैन । सफलता, विकास, शान्ति, विधिको शासन, कानुनको पालना, समानता एवं समावेशिताका कुराहरु त नेपाली राजनीतिमा बढो बेजोडका साथ उठ्ने गर्दछन् तर व्यावहारिक पाटो भने सधैँ उदाङ्गो हुँदै आइरहेको छ । त्यस्तै विश्वप्रसिद्ध पुस्तक ‘यु क्यान विन’ का लेखक एवं हावर्ड विश्वविद्यालयका प्रोफेसर डा. शिव खेराले भनेका छन् । “विनर डन’ त डु डिफ्रेन्ट थिङ्स, दे डु थिङ्स डिफ्रेन्टली” अर्थात विजेताहरुले कुनै फरक काम गर्दैनन्, उनीहरुले त्यही कामलाई फरक तरिकाले गर्दछन् । माथिका यी दुई उद्धरणहरुलाई नेपालको राजनीतिसँग जोडेर हेर्ने हो भने के निष्कर्षमा पुग्न सकिन्छ भने नेपालमा हरेक दशकको अन्तरालमा कुनै न कुनै राजनीतिक परिवर्तनहरु त अवश्य भएका छन् र ती परिवर्तनपश्चात पुरानो ढर्राको राजनीति छाडेर विल्कुलै नयाँ र फरक तरिकाले अगाडि बढ्ने प्रतिबद्धता त गरिन्छन् तर ती प्रतिबद्धताहरु समयक्रमसँगै प्रतिबद्धतामा मात्र सीमित पारिन्छ । व्यावहारिक पाटो भने उही पुरानै ढर्राको अवलम्बन गरिएको छ । तसर्थ काम उही भए पनि तरिका फरक नहुँदा नेपालको राजनीति र राजनीतिज्ञहरु दिनानुदिन असफलताउन्मुख हुँदै गइरहेका छन् । जिम्मेवारी बहन गर्न नजान्नु र पुरानो गल्तीलाई सच्याई नयाँ शिराबाट अगाडि बढ्न नसक्नु नेपाली राजनीतिज्ञको मूल कमजोरी रह्यो ।

१० वर्षे सशस्त्र जनयुद्ध अनि ६२÷६३ को जनआन्दोलनको जगमा निर्माण भएको सङ्घीय संविधान कार्यान्वयनको क्रममा छ । तर संविधान कार्यान्वयनको क्रममा देखापरेका कतिपय जटिलता, दाउपेच र स्वार्थको राजनीतिले संविधान पूर्णरुपमा कार्यान्वयन हुनेमा भने आशङ्का यथावते छ । विशेष गरेर २०७४ माघ महिनाभित्रै सम्पन्न गरिसक्नुपर्ने तिनवटै निकायको चुनाव सम्पन्न गर्नु नै मुख्य चुनौती रहिआएको छ । सङ्घीय संविधान कार्वान्यनमध्येको सबैभन्दा महत्वपूर्ण पाटो तीनवटै तहको निर्वाचनमध्ये यतिखेर स्थानीय तहको निर्वाचनको कसरतमा सरकारलगायत प्रायः सबै राजनीतिक दलहरु जुटेका छन् । कतिपय मधेसवादी दलहरुको सामान्य असन्तुष्टिका बाबजुद स्थानीय तहको निर्वाचन धेरै हदसम्म सफल हुनेछ भन्ने आमनागरिकको पनि आँकलन रहिआएको छ । यद्यपि प्रदेश नं. २ मा निर्वाचनसम्बन्धी जेजस्ता असहज परिस्थिति र गतिविधिहरु देखापरेका छन्, त्यस्ता समस्याहरुलाई सरकारले तत्कालै सम्बोधन गरेर निर्वाचनलाई राष्ट्रव्यापीरुपमा सफल बनाउनुको विकल्प रहन्न । यसैमा नै देश र जनताको दीर्घकालीन भलाइ हुने देखिन्छ ।

संविधान कार्वान्यन र निर्वाचनसम्बन्धी कानुन, विधेयक र आवश्यक नीतिनियमहरु त सरकार र सरोकारवाला निकाय सबैको सहकार्यमा सफल एवं सम्पन्न पारिएला, कतिपय व्यवधानहरुलाई थाँती राखेर निराकरण गर्दै गइएला तर यो लेखको मूल आशय विधिको शासन र कानुनको पालनाको सन्दर्भमा केन्द्रित छ ।

नेपालमा जति भोगियो त्यो हाम्रो स्वतन्त्रता अवश्य थिएन । केवल डर, त्रास, धम्की र जबर्जस्ती लादिएका नियमका उपज थिए । हामी गणतन्त्र भनेर खुबै उल्लास गर्ने गर्दछौँ तर साँच्चिकै हामीले के गणतन्त्रको रस्वादान गर्न पाएका छौं त ? एकपटक छातीमा हात राखेर सोच्नुहोस त गणतन्त्रमा हाम्रो अपेक्षा के थियो र परिणाम के निस्किरहेको छ । गणतन्त्रले हामीलाई कति कुरामा स्वतन्त्र छाडेको छ अनि कति कुरामा बन्देज लगाएको छ, ख्याल गर्नुभएको छ ? हामीले भनेका होइनौँ, गणतन्त्रपछि सबैलाई समान व्यवहार र सबैलाई समान कानुन लागू हुनेछ भनेर । तर तपाईं प्रतिप्रश्न गर्नसक्नुहुन्छ, हामीलाई कस्ने कानुनले के नेतृत्ववर्गलाई कसेको छ त ? अथवा नेपालका कहलिएका घरघरानालाई कस्न सकेको छ त ?

तपाईं सामान्य नागरिक हुनुहुन्छ, एउटा महत्वपूर्ण काममा सरकारी प्रशासनिक कामको सिलसिलामा घुस खुवाएरै भए पनि काम फत्ते गर्न चाहनुभयो भने तपाईंले सम्बन्धित कर्मचारीलाई आवश्यकताअनुसारको घुस अवश्य उपलब्ध गराउनुहुन्छ र सोही प्रकारको बानी परेका कर्मचारीले त्यो घुस सहजै स्वीकार गर्छन् । अनि मात्र काम फत्ते हुन्छ । यसमा तपाईं दोषी कि ती कर्मचारी ? यथार्थ भन्नुपर्दा तपाईं दुवै दोषी हुनुहुन्न । किनभने नेतृत्वले नै सञ्जाल त्यस्तै स्थापित गरेको छ त तपाईंको के दोष ? तर फरक कति छ भने तपाईंले अलिकति घुस लिनुभयो र दिनुभयो यसमा हाम्रो कानुनले दोषी देख्ने परम्परा छ । नेतृत्वका ठूला ठूला घुस काण्ड र भ्रष्टाचार कालान्तरमा फूलमाला र अबिरले जायज ठहर्याइन्छन् ।

गणतन्त्रमा हामीले यो कार्यलाई जायज ठानेका थियौँ र ? कदापि होइन । तर पनि पुरानै गल्ती दोहोर्याइरहेका छन् । ६२÷६३ को जनआन्दोलनपछि मुलुकले नयाँ कोर्सको आरम्भ गर्ने भनी दुई दुई पटक निर्वाचनमा सहभागी बन्यौँ । हाम्रो अपेक्षा थियो, यौटा स्थिर सरकार बनोस्, स्थायित्व कायम गरोस् अनि साँच्चिकै विधिको शासन र कानुनको पालनामा सबैलाई समान नियम लागू होस् । तर त्यो सम्भव भएन । नदी उहीँ पुरानै ढर्रामा उल्टो बग्दै गयो केवल बग्दै गयो । उल्टो नदीसँगै सती जानेहरु नवधनाड्यको वर्गमा देखापरे भने नदी आसपासका हामी निरिह जनता झन्झन् पछि पर्दैगयौँ ।

भ्रष्टाचार यति विधि छ कि सायद लेख्नै लाज हुन्छ । तर पनि कसैले भ्रष्टाचार गरेको स्वीकार गर्न तयार छैनन् । सबैका आफ्ना रेडिमेड जवाफ छन् । सत्ताको दुरुपयोग अनि शक्तिकेन्द्रको दुरुपयोग यस अवधिमा यत्ति धेरै बढेका छन् । नेपाल नै विश्वमा पहिलो मुलुक होला जहाँ भ्रष्टाचारीलाई जेलबाट निस्किनेवित्तिकै फूलमाला र अविरले स्वागत गरिन्छ, अनि हत्याको आरोप लागेकालाई सामाजिक सम्मान गरिन्छ ।
गणतन्त्र आकाशको फल
गणतन्त्र नेपाली जनतालाई आकाशको फल झैँ भएको छ । कहिल्यै स्थायित्व एवं सबल बनाउने कोसिस नै भएन । गणतन्त्रको प्रयोगको बाहानामा अनेक वाद एवं तन्त्रको गलत प्रयोगले लोकतन्त्रलाई नै शिथिल पारिएको तीतो यथार्थ हो । जनतालाई गुमराहमा पार्दै लोकतन्त्रको पर्दा पछाडि अनेकन चलखेलहरु नगरिएका पनि होइनन् ।

सत्तासमीकरणको बाहानामा कुनै पनि सरकारलाई स्थिर हुन दिइएन भने सत्ताको परिधिभित्र अनेकन बितण्डाहरु यस अवसरमा मच्चाइएको थियो । संसद भवनलाई सांसदहरु खरिदबिक्रीको खुल्ला बजार बनाइयो भने सरकारमा प्रवेशको खातिर साम, दाम, दण्ड, भेद सबैलाई तिलाञ्जलि दिँदै परनिर्भर राजनीतिको साहारा यस बखत खुबै लिइएको थियो ।

विकासको नाममा चरम भ्रष्टाचार र बेथिति मौलाएको त्यस कालखण्डमा विकास निर्माण पनि अति न्यून गतिमा भयो । तीमध्ये कतिपय पूर्वाधारहरु बीचैमा अलपत्र पारी राज्यको ढुकुटीबाट करोडौँ स्वाहा पार्ने प्रपञ्च रचियो । फलस्वरुप राज्य आर्थिक रुपमा जर्जर बन्दै गयो भने अन्तर्राष्ट्रिय समुदायबाट पनि विश्वास गुमाउँदै गयो ।

विभिन्न राजनीतिक दल र तिनका कथित भातृसङ्गठनको हालीमुहालीमाझ अलिकति स्थापित उद्योग कलकारखानालाई पनि धरासायी बनाउँदै लगियो । अराजक, जड्ता एवं अमर्यादित गतिविधिले मौलाउने मौका पाउनु र मुलुकलाई सधैँ अनिर्णयको बन्दी बनाउँदै जनतालाई गुमराहमा पारिराखेको कुरा यथार्थ हो । अब समयले १८० डिग्रीको फन्को मारिसकेको छ ।

हिजोको जस्तो सनातन एवं पुरातन शैलीको सत्ता समीकरण अब रहेन । २०६२÷६३ को आमूल परिवर्तनसँगै जनस्तरमा पनि व्यापक चेतनाको स्तर वृद्धि हुँदै गइराखेको छ भने केन्द्रीय शासन पद्धतिमा पनि ब्यापक समावेशीमूलक प्रक्रिया अवलम्बन गरिएको छ । जनआवाजलाई सोझै केन्द्रसम्म पुर्याउने अभ्यासको थालनी गरिएको छ । सबैभन्दा ठूलो कुरा सबै वर्ग, धर्म र समुदायलाई समष्टिगत रुपमा समेटेर एउटा सिङ्गो नेपालको समतामूलक सहभागिताको अभ्यास भइराखेको छ ।

विसङ्गति एवं भ्रष्टाचारले थलिएको हाम्रोजस्तो मुलुकमा सनातनी राजनीतिक अभ्यास भइरहनुले निश्चय पनि मुलुकको अग्रगामी विकाश एवं अपेक्षाकृत सुशासनको नेतृत्व त गर्न सक्तैन तर कुनै विकल्प नभइदिँदा ‘नहुनु मामा भन्दा कानै मामा नै बेस’ भनी चित्त बुझाउन बाध्य छौँ । तसर्थ राजनीतिले जनतामा नकारात्मक तथा घृणाको विजारोपण गरेको छ ।

भ्रष्टाचारले गाँजिएको हाम्रोजस्तो देशमा सुशासन भन्ने शब्द नै मजाक बनिराखेको छ । राज्यका हरेक निकायमा भ्रष्टाचार व्याप्त छ । कमिसन, घुस, घोटाला आदिले मुलुक जर्जर बन्दै गएको छ । स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रमा भ्रष्टाचारको जालो झन् विकराल छ । राज्यबाट अनिवार्य प्रदान हुनुपर्ने नागरिकताको सवालमा पनि टेबलमुनिबाट हात छिराउनुपर्ने अवस्था जहीँतहीँ भेट्न पाइन्छ । यस्तो अवस्थामा नेतृत्व विचलित भइदिँदा जनता झन् पीडित बनेका छन् । तसर्थ सुशासनसन कायम गर्न नेतृत्व वर्ग उच्च नैतिक चरित्रको हुनुपर्दछ । पार्टीले अवलम्बन गरेको राजनीतिमा यस्तो चारित्रिक अभ्यासले निकै भूमिका खेल्छ । समाजमा सुशासन कायम राख्न सफल भएपछि मात्र समृद्धि, समानता, सार्वभौमिकता, समानुपातिकता हुँदै समुन्नत समाजवादसम्म पुग्न पनि सहज हुनेछ ।

हामी नगरिक
हिजोका दिनसम्ममा हामीमा सञ्चार माध्यमको पहुँच थिएन । राजनीतिक चेतना थिएन, शिक्षा थिएन, आवश्यक जानकारी थिएन । जनतामाथि पूर्ण वाक स्वतन्त्रताको अधिकार थिएन । केवल ‘हो अथवा होला’को मात्रामा देश, जनता अनि सत्ता चलिरहेको थियो । तर हिजोको तुलनामा आज समय, प्राविधि र मान्छेको स्वतन्त्रता र चेतनाले १८० डिग्रीको फन्को मारेको छ । अब हामी के ठीक छ र के बेठीक भनेर स्वतन्त्र सोच्न सक्छौं । यस्तो सुवर्ण अवसरमा पनि हामी नागरिक र विशेष गरेर चेतनशील एवं ऊर्जावान मानिने युवापुस्ता सही नेतृत्व र दल चुन्न यसपालि पनि चुक्यौं भने साँच्चिकै इतिहासले हामीलाई धिक्कार्नेछ । हामी चेतनशील भनिँदै आइएका वर्तमान युवाहरु नै हो देश बदल्ने । तसर्थ देशलाई फास्ट ट्र्याकमा दौडाउने या पुरानै गोरेटोमा हिँडाइरहने त्यो जिम्मा अब हामी चेतनशील युवामा छ । यस्तो असल कुरा आफू पनि पालना गरौं र अरुलाई पनि पालना गर्ने प्रोत्साहन गरौँ । ताकि हामी युवाको जोडबलमा देशले एउटा सक्षम, विवेकशील अनि देशप्रेमी नेतृत्व प्राप्त गरोस् । यसको लागि हामी युवा सचेत हुनुपर्छ ।

अन्त्यमा

विसङ्गति एवं भ्रष्टाचारले थलिएको हाम्रोजस्तो मुलुकमा सनातनी राजनीतिक अभ्यास भइरहनुले निश्चय पनि मुलुकको अग्रगामी विकास एवं अपेक्षाकृत सुशासनको नेतृत्व त गर्न सक्तैन । तसर्थ तपाईंले छेड्नुभएको उल्टो दिशाको राजनीतिले आम जनतामा नकारात्मक एवं घृणाको बिजारोपण गरेको छ । यसले गर्दा आमनागरिक वृत्तबाट वैकल्पिक शक्तिको खोजी अवश्य हुनेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल