यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

जेठ २७, काठमाडौं –  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।  आजको नयाँ पत्रिकामा खबर छ ।

सरकारको आदेशसँगै निर्वाचित भएका र अब निर्वाचित हुने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत सम्पूर्ण प्रतिनिधिको जिम्मेवारी स्पष्ट भएको छ । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेशमा जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार स्पष्ट हुन नसक्दा उनीहरू कामविहीन हुँदै आएका थिए । पहिलो चरणको निर्वाचनबाट २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ जनप्रतिनिधि आइसकेका छन् । १४ असारमा हुने दोस्रो चरणको निर्वाचनबाट झन्डै २५ हजार जनप्रतिनिधि चुनिनेछन् ।

आदेश कामचलाउ
स्थानीय तहबाट हुने सेवा प्रवाहलाई निरन्तरता दिन सरकारले आदेश जारी गरेको हो । स्थानीय तहको शासन सञ्चालनसम्बन्धी ऐन जारी नहुँदासम्मका लागि मात्रै सो आदेश जारी गरिएको स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।

नगर प्रमुख र गाउँपालिका अध्यक्षका काम, कर्तव्य

-सभा र कार्यपालिकाको बैठक बोलाउने र अध्यक्षता गर्ने
-सभा र कार्यपालिकाको बैठकको कार्यसूची पेस गर्ने गराउने
-गाउँपालिका वा नगरपालिकाको आवधिक वा वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेस गर्ने
-कार्यपालिकाको निर्णयबाट सभाको अधिवेशनको आह्वान र समापनको घोषणा गर्ने
-उपाध्यक्ष-उपप्रमुख वा सदस्यहरूलाई गाउँपालिका र नगरपालिकाको कार्यविभाजन नियमावलीअनुरूपको विषयगत कार्यजिम्मेवारी बाँडफाँड गर्ने
-निर्णय कार्यान्वयन गराउने तथा अनुगमन, मूल्यांकन र समीक्षा गर्ने
-कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने
उपाध्यक्ष-उपप्रमुख तथा सदस्यलाई काजमा खटाउने
-गाउँपालिका वा नगरपालिकाको चल–अचल सम्पत्तिको हेरचाह गर्ने
-विकास कार्यक्रमको अनुगमन गर्ने, प्रभावकारी बनाउने
-गाउँपालिका वा नगरपालिकाको भूउपयोग नीति गुरुयोजना वा कानुनले तोकेबमोजिम पूर्वस्वीकृति नलिई कुनै व्यक्ति, संस्था वा कम्पनीले -जग्गा प्लटिङ वा प्लानिङ गरेको पाइएमा कारबाही गर्ने
-प्रचलित कानुनबमोजिम प्रमाणित वा सिफारिस गर्ने
-गाउँपालिका वा नगरपालिकामा विषयगत विभाग, महाशाखा, शाखाको रेखदेख र नियन्त्रण गर्ने
-गाउँपालिका वा नगरपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमको गुणस्तर कायम गर्ने
-अन्य स्थानीय तह, प्रदेश एवं संघीय तहस“ग समन्वय गर्ने
-गुनासो सुुनुवाइ गर्ने
-विपत् जोखिम व्यवस्थापन गर्ने
-गाउँपालिका वा नगरपालिकाले सम्पादन गरेका कार्यको मासिक प्रगति विवरण तयार गरि कार्यपालिकाको बैठकमा पेस गर्ने
गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र आपूर्ति हुने वस्तु वा सेवाको सहज आपूर्ति भए–नभएको यकिन गरी आपूर्ति व्यवस्था मिलाउने र नियमित बजार अनुगमनको व्यवस्था मिलाउने
-गाउँपालिका र नगरपालिका क्षेत्रभित्र कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका क्रियाकलापको नियमित अनुगमन र नियमन गर्ने
-गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने कार्यको स्थानविशेषका आधारमा लागत कायम हुने गरी निर्माण सामग्री तथा ज्यालाको दररेट निर्धारण गर्ने
-गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने
-सरकारी वा सार्वजनिक ऐलानी, पर्ती जमिनमा भएको अतिक्रमण हटाउने र त्यस्ता जमिनको संरक्षण गर्ने
-राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्था र निजी क्षेत्रबीच आपसी समन्वय, सद्भाव र सामञ्जस्यता कायम गर्ने
स्थानीय तहको सभा र कार्यपालिकाबाट भएका निर्णयहरू सार्वजनिक गर्ने–गराउने
-गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रभित्रका विषयमा संघ, प्रदेशबाट प्राप्त नमुना कानुनका आधारमा कानुन बनाई लागू गर्ने
-गाउँपालिका र नगरपालिका तहमा प्रतिस्पर्धा कायम गर्न जुनसुकै स्वरूपमा गरिने सिन्डिकेट, कार्टेलिङ, कालोबजारीजस्ता कार्य हुन नदिने
संघ, प्रदेशबाट प्राप्त कानुन, नीति–नियम, कार्यविधि, आदिका आधारमा उपयुक्त नीतिगत एवं कानुनी व्यवस्था गरी कार्यान्वयन गर्न गराउन अग्रसरता र नेतृत्व लिने
-स्थानीय तहमा देखिने सांस्कृतिक तथा आर्थिक विचलन, सामाजिक कुरीतिजस्ता कार्य नियन्त्रण गर्ने
-गाउँपालिका वा नगरपालिकाको आफ्नो आन्तरिक आयस्रोत बढाउने कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने
-गाउँपालिका वा नगरपालिकाको आफ्नो आन्तरिक आयस्रोत बढाउने कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने
-गाउँपालिका वा नगरपालिका तहमा सुशासन कायम गर्न सदाचारसम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने
-गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतको दिगो संरक्षण र उपयोग गर्ने
-चौमासिक प्रगति सार्वजनिक गर्ने तथा वर्षभरिमा सम्पादन गरिएका कामकारबाहीबारे वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गर्ने
-अध्यक्ष–प्रमुखले तीन दिनभन्दा बढी समयका लागि आफ्नो गाउँपालिका वा नगरपालिका क्षेत्र छाडी बाहिर जानुपर्दा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार सुम्पी जानुपर्नेछ ।
-सभा वा कार्यपालिकाको तोकेको अन्य काम गर्ने

यस्ता छन् वडाध्यक्षका कामहरू

-वडासँग सम्बन्धित कामका लागि समन्वयकर्ताको रूपमा रही काम गर्ने
-वडा समितिका सदस्यहरूलाई कामको बाँडफाँड गरी
-परिचालन गर्ने
-कार्यपालिकाको सदस्यको कार्य गर्ने
-वडा समितिको योजना तथा बजेट तयार गर्ने
-आफ्नो वडाभित्र घरधुरीको क्षेत्रगत तथ्यांक संकलन गरी अभिलेख राख्ने
-सार्वजनिक सम्पत्तिको लागत राख्ने
-वडाभित्र रहेका बजार केन्द्रहरूको अनुगमन गर्ने
-प्रचलित कानुनको प्रक्रिया पुर्याई वडा समितिबाट गर्नुपर्ने विभिन्न प्रमाणित र सिफारिस गर्ने

-सचिवालयमा बाहिरबाट नियुक्त गर्न नपाइने
-सरकारद्वारा जारी आदेशमा निर्वाचित भएका जनप्रतिनिधिले निजी सचिवालयमा बाहिरबाट कसैलाई पनि नियुक्त गर्न नपाउने व्यवस्था गरिएको छ । आदेशअनुसार अर्को व्यवस्था नभएसम्म स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखको निजी सचिवालय सञ्चालनका लागि विद्यमान स्थानीय तहका कर्मचारीमध्येबाट व्यवस्थापन गर्नुपर्नेछ ।

पदाधिकारीको  सुविधा सम्बन्धमा
स्थानीय तहका पदाधिकारीको सुविधा स्थानीय तह सञ्चालनसम्बन्धी ऐनबमोजिम हुनेछ । सो ऐन बन्ने क्रममा छ । सो ऐन नबन्दासम्म सरकारले स्वीकृत गरेबमोजिम सीमाभित्र रही सम्बन्धित स्थानीय तहको सभाबाट निर्धारण भएबमोजिम सुविधा प्रदान गर्न सकिने व्यवस्था आदेशमा गरिएको छ ।

आर्थिक प्रशासनबारे
संविधानको धारा ५९ (७) अनुसार वित्तीय अनुशासन कायम गर्न स्थानीय तहले कानुन, नीति, योजना, तथा कार्यक्रम प्रतिकूल नहुने गरी सरकारको दायित्वभित्र रहेको सामाजिक सुरक्षा भत्तालगायतका राष्ट्रिय कार्यक्रमद्वारा निर्धारित गरिएको रकममा वृद्धि हुने गरी कुनै निर्णय गर्न पाइनेछैन ।

काजमा खटाउने अधिकार दुरुपयोगको सम्भावना
उपप्रमुख–उपाध्यक्ष र वडाध्यक्षलाई नगर प्रमुख–अध्यक्षले काजमा खटाउन मिल्ने अधिकार दिइएको छ । यो अधिकारको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै छ । प्रमुख–अध्यक्ष अल्पमतमा पर्ने अवस्थामा तथा उपप्रमुख–उपाध्यक्ष र वा वडाध्यक्षबाट असहयोग हुने देखिएमा प्रमुख–अध्यक्षले उनीहरूलाई काजमा पठाएर आफूअनुकूलको निर्णय गर्ने जोखिम पनि छ । यसअघि पनि स्थानीय निकायमा यस्ता समस्या देखिएका थिए । अहिले पनि स्थानीय तहमा प्रमुख–अध्यक्षलाई त्यस्तै अधिकार दिइएकाले दुरुपयोगको सम्भावना पनि उत्तिकै छ ।

उपप्रमुख–उपाध्यक्षलाई न्यून अधिकार
नगरपालिका र गाउँपालिकाको उपप्रमुख-उपाध्यक्षलाई अत्यन्त कम जिम्मेवारी तोकिएको छ । प्रमुख-अध्यक्षले जिम्मेवारी नदिएको अवस्थामा उनीहरूले खासै काम गर्न पाउँदैनन् । उनीहरूलाई न्यायिक समितिको संयोजक भई काम गर्ने अधिकार छ । त्यस्तै, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा कार्यबाहक भई काम गर्ने व्यवस्था छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल