तीन दिनअघि बाढीको पूर्वसूचना पाउन सकिने : यसरी दिइनेछ पूर्वसूचना

तीन दिनअघि बाढीको पूर्वसूचना पाउन सकिने : यसरी दिइनेछ पूर्वसूचना

जेठ २१, काठमाडौं – सरकारले बाढी आउनुअघि पूर्वसूचना दिने प्रविधि सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि बाढी आउनुभन्दा तीन दिनअघि पूर्वसूचना दिने प्रविधिको सुरुवात भएको हो । यसअघि पूर्वसूचना दिने प्रविधि एकदमै छोटो थियो । तर, भविष्यमा ठूलो बाढी आई असर पार्ने देखिएमा तीन दिनअघि नै पूर्वसूचना पाइने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी जलाधार क्षेत्रमा परेको पानीको आधारमा बाढीको तीन दिनअघि पूर्वअनुमान गर्न सकिने जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले जानकारी दिए । ‘हामीले नदी वा खोलाको जलाधार क्षेत्रका ९० ठाउँमा वर्षा मापन गर्ने उपकरण राखेका छौँ,’ उनले भने, ‘सोही वर्षाको आधारमा बाढी कति ठूलोसम्म आउन सक्छ भन्ने अनुमान गर्न सक्छौँ ।’ बाढीले धेरै प्रभावित गर्ने नदी वा खोलाका जलाधार क्षेत्रमा वर्षा मापन केन्द्रले दिएको सूचनाका आधारमा तीन दिनअघिको सूचना दिइने भएको छ ।

 आगामी २७ जेठदेखि पूर्वसूचनाका लागि प्रविधि जोडिने
यस वर्षको मनसुन जुन १० (२७ जेठ) देखि सुरु हुँदैछ । सो समयअघि नै पूर्वसूचना दिने प्रविधि जडान गरिने पराजुलीले जानकारी दिए । सरकारले यस वर्ष कर्णाली नदी क्षेत्र, पश्चिम सेती, भेरी, दाङ बबई, नारायणी नदी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, बुढीगण्डकी, र त्रिशूली नदीमा बाढीको पूर्वजानकारी पाउन सकिने भएको छ । तर, पश्चिम राप्ती, कोसी नदीले असर गर्ने क्षेत्रको काम अन्तिम चरणमा पुगेको छ । अरु नदीमा पूर्वसूचना दिने प्रविधि अर्को वर्षदेखि सुरु गरिने पराजुलीले बताए । बाढीको तीन दिनअघि सूचना दिने प्रविधिले बाढीबाट मृत्यु हुनेको संख्या घट्ने अनुमान गरिएको छ । यस्तो खालको प्राविधिकले किसानको अन्नबालीसँगै पशु चौपाय जोगाउन सकिने पराजुलीको भनाइ छ ।

अरू नदीमा भने बाढी आउनुभन्दा आठ घन्टाअघि मात्र पूर्वसूचना दिन सकिने विभागले जनाएको छ । हिमालमा हिमताल फुटेमा पूर्वसूचना दिने प्रविधि जडान गरिएको छ । दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा बाढी आउनुभन्दा केही मिनेटअघि पूर्वसूचना दिने प्रविधि जडान गरिएको छ ।

बाढी आउन सक्ने नदीहरू
बाढीले सबैभन्दा धेरै तराईका जिल्लामा प्रभावित पार्ने गरेको छ । धेरै प्रभावित पार्ने नदीमा महाकाली, कर्णाली, बबई दाङ, पश्चिम राप्ती, नारायणी, पूर्वी राप्ती, बाग्मती, कमला नदी, कोसी र कन्काई छन् । मध्यम खालका नदीले पहाडी क्षेत्रमा धेरै असर गर्ने गरेका छन् । यसरी प्रभावित पार्ने नदीमा पश्चिम सेती, भेरी, मुगु कर्णाली, हुम्ला कर्णाली, कालीगण्डकी, बर्डिगार्ड, सेती, मादी, मस्र्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोसी, भोटेकोसी, दुधकोसी अरुण र तमोर नदी छन् ।

यस वर्षको मनसुनमा औसत वर्षा हुने
यस वर्षको मनसुन समयमा औसत वर्षा हुने भएको छ । पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा सरदर (औसत) वर्षा हुने अनुमान गरिएको हो । तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको समय भएकाले बाढीपहिरोको समस्या भने उस्तै हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसरी दिइनेछ पूर्वसूचना
बाढीको पूर्वसूचना दिन गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला मातहतको जिल्ला अपतकालीन कार्य सञ्चालन केन्द्रबाट स्थानीय रूपमा सूचना प्रवाह गरिने व्यवस्था छ । सरकारी कार्यालयबाट आमसर्वसाधारणलाई जानकारी दिने संयन्त्र निर्माण गरिएको छ ।

बाढीले प्रभावित गर्ने क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा सन्देश पठाउने व्यवस्था गरिएको छ । बाढी आउनु तीन दिनअघि मोबाइलमा सन्देश पठाउन सकिने पराजुलीले बताए । यस्तो खालको सन्देश नेपाल टेलिकम र एनसेलबाट दिइने छ । बाढीले धेरै प्रभावित पार्ने अवस्था आए मात्र मोबाइलमा सन्देश पठाइने उनको भनाइ छ । सेवा प्रदायकले बाढीको पूर्वजानकारी लिन निःशुल्क ११५५ नम्बर फोन गरेर जानकारी लिन सक्ने छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल