विश्वमा नेपाललाई चिनाउन व्यवहार सुधार गरौं

-  |   राजकुमार देवकोटा

विश्वमा नेपाललाई चिनाउन व्यवहार सुधार गरौं

सुन्दर भविष्यको सपना बुन्दै घर छाडेर यूएई आउने प्रशस्त छन् । आफ्नो मातृभूमिलाई चटक्कै छाडेर मन भारी बनाउँदै यूएई भित्रिएका हामी नेपालीमध्ये केहीको सपना सोचेभन्दा बढी पूरा भएका होलान् । तर कसैको सपनाको त कुरा बिहान बेलुकाको छाक टार्न पनि गाह्रो भएको अवस्था छ । त्यसैगरी यहाँ बसेर आफूले दुःख गरेर कमाएको पैसाको सही तरिकाले उपयोग गर्न नजानेर पनि धेरैको बिचल्ली भएको छ । दुबई एउटा स्वतन्त्र घुमफिर गर्न पाइने देश भएकाले अधिकांश नेपाली आफूले कमाएको पैसा मनोरन्जमा खर्च गर्ने गरेका छन् । कतिपय त मनोरन्जनका नाममा यहाँको कानुन विपरीत काम गरेर पैसाका साथै आफ्नो मातृभूमि बेइजतसम्म गरेका छन् ।
यस देशमा अन्य मुस्लिम राष्ट्रभन्दा खुकुलो कानुन छ । यही खुकुलो कानुनको सही उपयोग गरेर अगाडि बढ्न सके धेरै इज्जत र सकारात्मक परिचय बनाउन सकिन्छ । तर कतिले त यहाँ आएपछि आफ्नो मातृभूमिको महत्वलाई बिर्संदा कठिन परिस्थितिको सामना गर्नुपरेको छ । अहिल यूएईमो पुरुष मात्र होइन महिलाहरु पनि प्रशस्त आएका छन् । विशेषत महिलाहरुका लागि यो देश सुरक्षित गन्तव्य भएकाले उनीहरुको उपस्थिति बाक्लो भएको हो ।
यूएईमा नेपालीहरुले गर्ने क्रियाकलापमध्ये अति खराब कार्य भनेको मदिरा सेवन हो । मदिरा सेवन गरेर आफ्नै साथीभाइसँग झगडा गर्ने, बाटोमा जथाभावी होहल्ला गर्ने कार्यले याहाँ नेपालीप्रतिको हेराइ नकारात्मक हुँदै गएको छ ।
अर्कोतर्फ यहाँ आउने केही महिला पनि आफ्नो परम्परा र इज्जत बिर्सेर विभिन्न विकृतिमा लागेका छन् । मदिरा पान गर्ने, धेरै पैसा कमाउने धुनमा यौन कार्यमा सम्लग्न हुने जस्ता कार्य गर्दै आएका भेटिन्छन् । यस्तो अवस्थामा कतिपय सोझा नेपालीले यस्तो गर्नुहुन्न भनेर सम्झाउँदा उल्टै पाकिस्तानी र बङ्गाली मान्छे लगाएर आक्रमण गराउँछन् । यो अति खराब कार्य हो ।

अतः विदेशी भूमिमा रहेर नेपालीले आफूलाई असल र इमानदार देखाउनु आवश्यक भएको छ । अर्काको भूमिमा नराम्रा क्रियाकलाप गर्नु कदापि राम्रो होइन । आफ्नो देशको मौलिक संस्कृति र सम्मान गर्ने परम्परालाई विदेशी भूमिमा पनि प्रस्तुत गर्न सकिन्छ । यस देशमा विश्वभरिका पर्यटकको आवागमन हुने हुँदा यसको सकारात्मक प्रभाव यूएई हुँदै सम्पूर्ण विश्वमा नेपालीले राम्रो परिचय देखाउन सकिने छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल