सेक्स र स्वतन्त्रता !

-  |   तारामणि सापकोटा

सेक्स र स्वतन्त्रता !

फ्रान्सेली दार्शनिक रुसोले भनेका छन्– ‘मानिस जन्मदा स्वतन्त्र रुपमा जन्मन्छ तर पछि उसले बन्ध नै बन्धन पाउँछ ।’ हो, मानिस जति स्वतन्त्र रुपमा जन्मन्छ तर, उसले आफ्नो उमेरको वृद्धिसँगै आफ्नो स्वतन्त्रता गुमाउँदै जान्छ । संसारमा मानिसले स्वतन्त्रताका लागि ठूल्ठूला लडाइँ लडेका छन् । मूलतः राजनीतिक स्वतन्त्रताका लागि सङ्घर्ष, आन्दोलन, क्रान्ति र परिवर्तन भएका छन् । केही मात्रामा आर्थिक सामाजिक परिवर्तनका लागि पनि सङ्घर्ष भएका छन् । तर, दुनियाँमा सेक्स स्वतन्त्रताका लागि आन्दोलन, क्रान्ति र सङ्घर्ष भएका छैनन् । सेक्स सबैका लागि अतिप्रिय छ । तर, यौनकर्मी वा यौन पेशा अपनाउने महिलाले गर्ने सामान्य विरोधका कार्यक्रमबाहेक अन्य सङ्घर्ष हुँदैन । त्यसमा पनि यौनकर्मी वा यौनकर्मीका पक्षमा उभिने सीमित व्यक्ति वा समूहले यौनकर्मी माथि प्रहरी वा अन्य पक्षबाट हुने यौन शोषण र धरपकटको विरोधमा प्रदर्शन हुने गर्दछ । त्यस्ता प्रदर्शन सेक्स स्वतन्त्रताका लागि भएको सङ्घर्ष होइन ।

सेक्स महिलाका लागि मात्र हो भन्ने पुरुष धारणा नै गलत छ । सेक्स महिलालाई चाहिने पुरुषलाई नचाहिने भन्ने होइन । दुवैलाई त्यत्तिकै आवश्यक हुन्छ । अझ महिलाको निश्चित उमेरपछि सेक्स चाहना नहुन सक्छ वा कम हुन्छ । यो प्रकृतिक नियम हो । तर पुरुषमा वृद्ध अवस्थामा पनि सेक्स चाहना हुन्छ । यसर्थ सेक्स स्वतन्त्रता महिलाको मात्र विषय होइन । पुरुषका लागि पनि अनिवार्य छ ।

हाम्रो समाजमा सेक्सको कुरा गर्नु अपराध मान्ने चलन विद्यमान छ । खुल्ला रुपले सेक्सका सम्बन्धमा कुरा वा बहस कमै मात्र हुन्छ । पढेलेखेका बीचमा पनि सेक्सका विषयमा कम बहस हुन्छ । पुरुष–पुरुष वा महिला–महिला बीच सेक्सको बहस होइन, चर्चासम्म हुने गर्दछ । तर, सेक्स पनि मानिसको नैर्सगिक अधिकार हो भन्ने अर्थमा कमै मात्र बहस हुने गरेको छ ।

राजनीतिककर्मी आफूलाई स्वतन्त्रताको मसिहा भएको दाबी गर्दछन् । त्यसमा पनि लोकतान्त्रिक विचार बोक्ने दलले त सबै स्वतन्त्रताको ठेक्का लिएको दाबी गर्दछन् । तर, उनीहरु राजनीतिक र आर्थिक अधिकारभन्दा परको विषय सेक्स अधिकारको सन्दर्भमा चुँसम्म बोल्न चाहँदैनन् । पुरानो सोच र विचार भएका वा सेक्समा निर्लिप्त भए पनि समाजमा ब्रह्मचर्यता देखाउन चाहने ढोंगी व्यक्ति र नेताले सेक्स स्वतन्त्रताको कुरा गर्नु अपराध ठान्छन् । उनीहरु सेक्सको कुरा गरेर पुरातनपन्थहरु बीचको जनमत घटाउन चाहँदैनन् । सत्य कुरा गरेर जनमत घटाउनु राजनीतिक नेता वा कार्यकर्ताका लागि आत्मघाती कार्य हो ।

मानिसको जीवनमा सेक्स कति आवश्यक छ भन्ने प्रश्न राजनीतिक नेता, कार्यकर्ता, समाजका प्रतिष्ठित भनिएका पुरुष मात्र होइन, महिलालाई अलग–अलग प्रश्न गर्ने हो भने ‘यो प्राकृतिक कुरा हो, सेक्स जैविक आवश्यक्ता हो’ भन्ने उत्तर सजिलै पाइन्छ । तर, सार्वजनिक रुपमा वा सार्वजनिक समारोहमा यी वर्गका व्यक्ति सेक्स स्वतन्त्रताको पक्षमा उभिँदैनन् । यिनलाई के लाग्छ भने सेक्स मध्यरातमा श्रीमान–श्रमती वा कुनै महिला–पुरुषका बीच गोप्यरुपमा हुने कार्य हो । गोप्य पनि त्यस्तो गोप्य हो जुन सासले पनि आवाज निकाल्नु हुँदैन ।

नेपालमा २००७ सालमा भएको क्रान्तिले महिला तथा बालबालिका माथि हुने शोषण र थिचोमिचोको विरोध गर्यो । त्यस क्रान्तिले समाजका धेरै क्षेत्रमा एकसाथ परिवर्तन ल्यायो । बहुविवाह तथा बालविवाह अन्त्यका लागि आवाज उठाएको लामो समयपछि बहुविवाह तथा बालविवाहमा प्रतिबन्ध लाग्यो । बालविवाहमा प्रतिबन्ध लागे पनि त्यो अझै अन्त्य भएको छैन । समाजमा बालविवाह अझै कायमै छ ।

बहुविवाह खुला भएको समयमा त ७० नाघी डाँडामाथिको घाम भएका वृद्धले रजस्वला नभएकी बालिका विवाह गर्दथे । बाल्यकालबाटै विवाहका माधयमबाट सुरु भएको सेक्स यात्रा ती पुरुषका लागि जीवनभर खुला हुन्थ्यिो । आज पनि वृद्ध अवस्थाका त्यस्ता प्रतिनिधि समाजमा पाइन्छन् । हाम्रो समाजमा काका पुस्ताका ५० देखि ६० वर्ष उमेर समूहका अधिकांशले २० वर्षभित्रै विवाह गरे भने ४० देखि ५० वर्ष उमेर समूहका अधिकांशले २५ वर्ष ननाघि विवाह गरेका थिए । तर, त्यस पछिको पुस्ता ३०, ४० वर्ष पछि मात्र विवाह गर्न तयार भएका छन् ।

बालविवाह गर्ने पुरानो पुस्तालाई सेक्सको खासै तनाव भएन । किनकि, उनीहरुले सेक्सको पीडा र अभाव झेल्नुपरेन । भलै उनीहरुलाई नयाँपनका लागि धेरै महिलाको आवश्यकता भयो होला । त्यसैगरी त्यसपछिको पुस्ताले पनि २–४ वर्ष भन्दा बढी सेक्सको तनाव झेल्नु परेन । तर, २००७ सालका युवालाई पहिलो पुस्ता मान्दै अहिले विवाह गरेका र गर्न तयार भएको चौथो वा पाँचौँ पुस्ता, जसले ३० र ४० वर्षका उमेरमा विवाह गर्नुपर्ने भयो त्यो पुस्ताको सेक्स तनाव हामी कल्पना पनि गर्न सक्तैनौँ ।

बालविवाह वा बहुविवाह वैध भएका समयमा आजको जस्तो सेक्सको प्रचार–प्रसार वा कामुकताले व्यापकता पाएको थिएन । त्यस बेलाको समाजमा रोग, प्राकृतिक विपत्ति, जङ्गली जनावरबाट हुने आक्रमणबाट जोगिँदै बाँच्नका लागि अन्नपातको जोगाड गर्नु पहिलो कार्य हुन्थ्यो । त्यसबेला बाहविवाह र बहुविवाह हुने भएकाले सेक्सको चर्चा गर्नु पर्ने खासै आवश्यकता पनि पर्दैन थियो । मानिसमा जे चीजको बढी आवश्यकता पर्दछ, त्यसैको बढी चर्चा हुनु स्वाभाविक हो ।

तर, आजको पुस्ता बाह्य रुपमा सेक्सले आक्रान्त मात्र छैन् । चारैतर्पm सेक्सको घेराबन्दीमा परेको छ । घर, परिवार, समाज, विज्ञान, प्रविधि, पुस्तक, चलचित्र, विज्ञापन, समाचार, भेषभूषा सबै क्षेत्रमा सेक्स असरल्ल छ । आजको युवा सेक्सबाट यति प्रभावित छ कि ऊ मानिसक रुपमा विक्षिप्त हुने अवस्थामा छ । सेक्सको प्रभावबाट जति नै मुक्त हुने कोसिस गरे पनि त्यो सम्भावना न्यून छ । यसर्थ आजको नयाँ पुस्ताका लागि सेक्स अनिवार्य छ । सेक्सको तनावले युवा पुस्ता केही गर्नै नसक्न अवस्था पुगेको छ ।

राजनीतिक नेतृत्वमा रहेको अहिलकोे पुस्तामध्ये ६०–७० वा त्योभन्दा माथिको पुस्ताले सेक्सको तनाव त्यति भोगेको छैन । किनकि, त्यो पुस्ताले २० वर्षभन्दा कम उमेरमा विवाह गरेको थियो । उनको समयमा पनि सेक्स चर्चा गर्न नपर्ने विषय थियो । जसको कारण त्यो पुस्ता आज पनि सेक्सप्रति चर्चा गर्न चाहँदैन । यो पुस्ताले सेक्सको कुरै नबुझको भने होइन । तर, चर्चा गर्न भने पुरानो मान्यताले उनीहरुलाई दिँदैन । उनीहरु सेक्सका विरोधी पनि होइन् । तर ‘बिरालाको घाँटीमा कसले घण्टी झुण्डियाउने’ भने जस्तै भएको छ । कुनै समूह वा शक्तिले सङ्घर्ष वा विद्रोह गरेर खुला सेक्सको माग नगरेसम्म अहिलेको राजनीतिक पुस्ताले सेक्स स्वतन्त्रताको अधिकार दिनेवाला छैन ।

राजनीतिक परिवर्तनका लागि सङ्घर्ष, आन्दोलन र क्रान्ति गरेजस्तै सेक्स स्वतन्त्रताका लागि पनि सङ्घर्ष र क्रान्ति आवश्यक छ । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक क्रान्ति हुने तर सेक्स क्रान्ति नहुनुमा सेक्स दमनको सिद्धान्त मुख्य कारक हो । यो मान्यता नभत्काएसम्म सेक्स स्वतन्त्रता सम्भव छैन । यसको अर्को कारण पनि छ । राजनीतिका लागि सङ्गठन र पार्टी निर्माण भएका हुन्छन् । राजनीतिमा विजय प्राप्त गर्नेले राज्यसत्ताको शक्ति प्रयोग गर्न पाउँछ । तर, सेक्स क्रान्ति सफल भएमा आन्दोलनमा होमिनेले सेक्स स्वतन्त्रताबाहेक केही पाउँदैनन् । उनीहरुले राज्यको कुनै वैधानिक शक्ति पाउँदैनन् । बदलामा सेक्स स्वतन्त्रताका पक्षपातीले हाम्रो जस्तो समाजमा घृणा र अपहेलना बेहोर्नुपर्ने हुनसक्छ । त्यसैले शक्ति आर्जन नहुने सङ्घर्ष वा आन्दोलनको पक्षमा समाजका अगुवादेखि राजनीतिक दलसमेत उभिँदैनन् ।

मानव अधिकार भनेको बोल्न पाउने मात्र अधिकार होइन । समाजमा मानव अधिकारको पक्षमा वकालत गर्ने प्रशस्त भेटिन्छन् । तर, उनीहरु पनि सेक्सलाई अधिकारको रुपमा परिभाषित गर्दैनन् । मानव अधिकारको ठेक्का चलाउनेहरुका लागि सेक्स स्वतन्त्रता र अधिकार चर्चा गर्ने विषय नै होइन । अधिकारका नाममा सानातिना विषयमा राजनीति गर्ने, नारा जुलुस गर्ने, डलरको खेती गरे पनि सेक्स स्वतन्त्रतालाई अधिकारको रुपमा परिभाषित गर्न चाहँदैनन् ।

संसारका सबै मानिस शक्ति, सम्पत्ति र सेक्सका लागि सङ्घर्षरत छन् । तर शक्ति र सम्पत्ति पहिलो रोजाइ हो । सेक्स भने अव्यक्त हो । राजनीतिक नेता, समाजका अगुवाभन्दा कथित मानव अधिकारका ठेकेदार पृथक छैनन् । उनीहरु पनि शक्ति आर्जनको खेलमा संलग्न छन् । राजनीतिक तथा आर्थिक अधिकारको कुरा उठाउँदा सत्तामा धक्का पुग्छ । विरोधबाट सत्ता कमजोर हुँदा त्यो शक्ति आफूहरुमा केन्द्रित हुन्छ भन्ने मानव अधिकारवादीले बुझेका छन् । यसर्थ, राजनीतिक तथा आर्थिक अधिकार र स्वतन्त्रता उनीहरुको ठेक्काको विषय हो । तर, सेक्स अधिकारबाट कुनै शक्ति वा सम्पत्ति केही आर्जन नहुने भएपछि त्यसको पक्षमा वकालत गर्नुको कुनै तुक हुँदैन । मानवअधिकार राजनीतिक शक्तिको छाया हो । मानवअधिकारका अनेक रुप र स्वार्थ छन् । अलग–अलग शक्तिको पक्षपोषण र भक्ति उनीहरुको चरित्र हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल