नेपालको चिनारीसँग जोडिएका विषयमा राष्ट्रपति भण्डारीको बेवास्ता किन ?

-  |   राज्यलक्ष्मी शाक्य

नेपालको चिनारीसँग जोडिएका विषयमा राष्ट्रपति भण्डारीको बेवास्ता किन ?

photo rajyalaxmi copyविदेशमा नेपाललाई चिनाउने वस्तु के हो भनेर विदेश यात्राबाट फर्किएकाहरूलाई सोध्दा पाइने एउटै जवाफ हुन्छ, नेपाली हस्तकला । नेपालको चिनारीसँग जोडिएको यही हस्तकलासम्बन्धी बृहत् प्रदर्शन भोलिदेखि चार दिनसम्मका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सञ्चालन हुँदै छ । यही प्रदर्शनीको शोभा बढाउनका लागि हस्तकला व्यवसायीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उक्त प्रदर्शनी उद्घाटन गराउने र यसले नेपालको हस्तकलाको प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका थिए । व्यवसायीहरूले आफ्नो पूर्वतयारीअनुसार प्रदर्शनीको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्न निकै ठूलो प्रयास गरे । तर व्यवसायीहरू निराश हुनुभन्दा अरु कुनै उपलब्धि हासिल हुन सकेन । राष्ट्रपति कार्यालयबाट प्राप्त जवाफले व्यवसायीहरूको उत्साहलाई निराशामा बदल्ने काम मात्र ग¥यो । एउटा सम्माननित संस्था जसलाई सबैले अभिभावक मान्छन्, त्यही संस्थाले राष्ट्रिय चिनारीसँग जोडिएको विषयमा बेवास्ता गर्दा व्यवसायीहरू निराश हुनु स्वाभाविक नै हो ।
मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ । राजा महाराजाहरूले अहमता देखाए, भनेरै जनतालाई सहज व्यवस्थाको आभास होस् भनेर गणतन्त्रको स्थापना गरिएको हो । त्यसमाथि मुलुकले धर्म निरपेक्षतालाई पनि अवलम्बन गरिरहेको छ । तर राष्ट्रपति धार्मिक कार्यक्रमहरूमा कतै नछुटाई महाराजकै शैलीमा दौडाहा गर्छन् । जस्तो हालैको एउटा उदाहरण नै पर्याप्त छ । पशुपतिको वनकालीमा पूर्वराजाले विश्व हिन्दू महासंघको कार्यक्रमलाई सम्बोधन गरिरहँदा राष्ट्रपतिले राजाकै शैलीमा टुडिखेलमा आर्यसमाजको कार्यक्रमलाई सम्बोधन गर्दै थिइन् । कम्युनिष्ट पृष्ठभूमिकी राष्ट्रपतिको धार्मिक कार्यक्रम त्यो पनि धर्मनिरपेक्ष मुलुकमा साच्चिँकै असुहाउँदो गतिविधि हो । तर त्यस्ता कार्यक्रमहरूमा छुुटाउनै नमान्ने राष्ट्रपति मुलुकको व्यापार तथा सँस्कृति र परम्परा प्रवद्र्धन गर्ने कार्यक्रममा सहभागी हुन अस्वीकार गर्नुले प्रष्ट हुन्छ राष्ट्रपतिलाई मुलुक, मुलुकको सँस्कृति, परम्परा र मौलिक कला सँस्कृतिप्रति गम्भीर छैनन् ।
आधा आकाश ढाक्ने महिलाहरूले पुरुषहरूसरह अधिकार पाउनुपर्छ भन्ने आन्दोलन सुरु भएको छोटो अवधिमै राज्यका प्रमुख अंगहरूमा महिलाहरूको सहभागिता हुनु नेपालका लागि सौभाग्यको कुरा हो । विश्वकै इतिहासमा सायदै राज्यका प्रमुख अंगहरूमा एकै पटक महिला सहभागीता जनाउने नेपाल नै पहिलो मुलुक होला । महिलाहरू पुरुषहरूभन्दा कुनै पनि कुरामा कमजोर छैनन् भन्ने उदाहरण पेश गर्न सफल भएको यही नेपालमा प्रमुख पदमा पुग्ने महिलाहरूको व्यवहार र अहम्ताले भने कहिलेकाही आफैँलाई ग्लानी महसुस गराउँछ । पंक्तिकार आफैँ पनि एक जना महिला उद्यमी भएको नाताले प्रमुख पदमा पुग्ने महिलाहरूले खुल्ला दिलले काम गरुन् र भावी दिनमा प्रमुख पदमा पुग्ने महिलाहरूले गरेको उत्कृष्ट कामले भावी दिनमा पनि ती पदहरूमा महिला सहभागितालाई टेवा पुगोस् भन्ने पंक्तिकारको अपेक्षा हो । तर महत्वपूर्ण पदमा पुग्ने महिला नेतृहरूले गर्ने व्यवहार र उनीहरूका गतिविधिहरूका कारण यस्ता अपेक्षाहरू केवल अपेक्षामै सीमित हुनुपर्ने हो कि भन्ने आशंकाहरू उत्पन्न हुन थालेका छन् ।
महत्वपूर्ण पदमा पुग्ने महिला होस् वा पुरुष, उसका आफ्ना केही मान्यता र अडानहरू हुन्छन् र हुनु पनि पर्छ । यदि आफ्ना अडान र मान्यतालाई स्वतन्त्रपूर्वक कार्यान्वयन गर्न नसक्ने हो भने महत्वपूर्ण पदमा पुग्नुको कुनै अर्थ रहँदैन । तर नेपालको हकमा भने यसको विपरीत महत्वपूर्ण पदमा महिलाहरू त पुगेका छन् तर उनीहरूको रिमोट कन्ट्रोल अरु कसैको हातमा रहेको उनीहरूले प्रदर्शन गर्ने व्यवहारबाट पुष्टि हुन्छ । यस्तो हुनु सम्पूर्ण महिलाहरूकै लागि विडम्बनाको कुरा हो । पछिल्ला दिनमा महत्वपूर्ण पदहरूमा पुग्ने महिलाहरूले देखाइरहेका व्यवहारले यसलाई पुष्टि गर्छ । जुन राष्ट्रपति विद्यादेवी भण्डारीमा अझ बढी लागू भएको देखिँदै आएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल