स्व. डाक्टर चित्र वाग्ले, सुजाता र कर्णालीवासी !

-  |   दीपक घिमिरे

स्व. डाक्टर चित्र वाग्ले, सुजाता र कर्णालीवासी !

dipak ghimireकेही वर्ष पहिले डा. चित्र वाग्लेको बारेमा धेरै सुने । उनी यस्ता समाजसेवी, उस्ता समाजसेवी भनेर, चर्चा गर्न लायक मान्छे पनि हुन् उनी । उनको बारेमा हामी चर्चा मात्र सुन्छौँ तर उनले सेवा दिएका जिल्लावासी उनलाई भगवान्कै रूपमा लिन्छन् । कारण डाक्टरलाई भगवान् मान्ने एक किसिमको विचार नेपाली समाजमा व्याप्त छ । सुगमको राम्रो कमाइ छाडेर दुर्गममा गरिबको सेवा रुचाउने डाक्टर चित्र वाग्लेलाई दैव लाग्यो । धार्मिक मान्यताअनुसार राम्रो सामाजिक मान्छेको अकल्पनीय र अल्पायुमै हुने मृत्युलाई हामी दैव लाग्यो भनेर मन बुझाउँछौँ ।

गरिबको सेवामा जीवन अर्पण गर्न चाहने चित्र वाग्लेलाई क्यान्सर भयो । महँगो उपचार गरे निको हुने क्यान्सरको उपचार गर्न सबैतिरबाट सहयोगको अपेक्षा परिवारजनले गरे । चित्र वाग्लेलाई चिन्नेले हैसियतअनुसार सहयोग रकम जम्मा गरे अनि नागरिक समाजका अगुवाहरू सरकारलाई दबाब दिन थाले, डाक्टर चित्र वाग्लेलाई बचाउन । दानी मन भएकाले आफैँ सहयोग गरे, पहुँच भएकाले सरकारलाई दबाब दिए, आखिर बाच्नुपर्ने मान्छे थिए डा. चित्र वाग्ले ।

मृत्यु नजिकिँदै गर्दा पनि सरकारले चित्र वाग्ले बचाउने दायित्व सम्झेन । जनताको दबाबलाई सरकारले टेरेन, नेपाली गरिब र बिरामीप्रति उनले लगाएको गुण सरकारले देखेन । जीवनमा धनलाई भन्दा समाजसेवालाई प्राथमिकतामा राखेका चित्र वाग्ले उपचार रकमको अभावमा मरे । राष्ट्रले एउटा सेवक गुमायो, जनताले एउटा राम्रो डाक्टर गुमायो, गरिबले एउटा भगवान् गुमायो तर सरकारले केही गुमाएको महसुस गरेन ।

चौतर्फी दबाब हुँदा समेत चित्र वाग्लेको उपचारको लागि ढुकुटीको ताला खोल्न डराएको तत्कालीन सरकारले वाग्लेको उपचारको लागि पाँच लाख दिएको पछि सुन्न पाइयो । कार्यालय समयमा निजी क्लिनिक धाउने स्वार्थी डाक्टरहरूको एक हप्ताको कमाइ नै पाँच लाखभन्दा माथि हुन्छ तर वाग्लेले त्यो कमाइको आशा कहिले गरेनन् । कार्यालय समय बाहेकको छुट्टीमा समेत बिरामीको उपचारमा तल्लिन रहने वाग्लेको योगदानका बारेमा जुम्ला, हुम्ला र अर्घाखाँचीका बासिन्दालाई सोधे हुन्छ, सरकारले त्यसको मूल्याङ्कन गर्न सकेन ।
आज मैले उठाएको विषय वाग्लेको कहानी होइन, विषय त देशका लागि योगदान दिनेहरू उपचारको अभावमा या भोकै मर्ने तर देश लुटेर खान पल्केकाहरूलाई देशको ढुकुटीबाट किन दान गर्ने भन्ने विषय हो । आज मैले डाक्टर चित्र वाग्ले र गिरिजा पुत्री सुजाता बीच तुलना गर्न खोजेको हुँ । हुन त म उनीहरूको हैसियत तुलना गर्न सक्ने मान्छे होइन तर आम नागरिकका दिमागमा उब्जेका प्रश्न केलाउँदै छु ।

जसले देशलाई गुण लगायो, जुन व्यक्ति देशको लागि आवश्यक छ, त्यसको लागि नेपाल सरकार किन मौन बस्छ ? अनि जो स्वार्थको राजनीति गर्छ, जसले नेपाल र नेपालीको विकासभन्दा पारिवारिक विकासमा बढी समय खर्चिन्छ, त्यस्ताको लागि किन सरकार खुला हातले अगाडि बढ्छ ? यी र यस्तै प्रश्न दिमागमा खेल्छन् अनि मन बिरक्तिएर नेतालाई गाली गर्न मन लाग्छ ।

हो कोइराला खानदानको योगदान छ नेपालमा । जहानिया राणा शासनदेखि पञ्चायती व्यवस्था अन्त्यका लागि कोइराला परिवारले गरेको योगदान हामी भुल्नु हुँदैन तर त्यसको श्रेय उनका नाति पुस्तासम्मले पाउनुपर्छ भन्ने सोच सामन्ती सोच हो । सुजाताको के योगदान छ र देशका लागि ? अनि के आधारमा उनले गरिब नेपालीको पसिनाको कमाइबाट तिरेको करबाट थुप्रिएको ढुकुटीबाट पैसा लाने के अधिकार ? के अधिकार प्रयोग गरेर सरकार सुजातालाई पैसा दिन्छ ?

राजखानदानसँग तुलना गरिन्छ कोइराला खानदानलाई । पक्कै पनि उपचार रकमको अभावमा सुजाताले धर्ती छाडनु पर्दैन । गिरिजाबाबुको एकलौटी सन्तान हुन् सुजाता । जवानीमा जर्मनी नागरिकसँग विवाह घरजम गरेर जर्मन बसेकी सुजाता पक्कै पनि चित्र वाग्ले जस्ती सर्वहारा होइनन् । देखिने नदेखिने अर्बौंको सम्पत्ति छ उनीसँग तर सरकारले तुलना चित्र वाग्लेभन्दा गरिबको गर्यो र हामीले तिरेको करबाट पचास लाख दियो । के हामी सहन सक्छौँ यस्तो कुरा ?

उपचार अभावमा कोही पनि मर्नु नपरोस्, सरकारले यो योजना अघि सार्नु राम्रो कुरा हो तर देशका लागि मर्नेहरू मरिराखून्, सत्ताका खेलाडीहरू मर्नु हुँदैन भन्ने सोच सरकारले पालेको छ भन्ने कुराको प्रस्ट बुझाइ यतिबेला देखियो । आवश्यकताको आधारमा राज्यकोषबाट पैसा बाँडिनुप्रति मेरो आपत्ति छैन तर पहुँच र हैसियतको भरमा जथाभावी पैसा दिने निर्णयप्रति म मात्र होइन सम्पूर्ण नेपालीको मतभिन्नता छ । अहिले सबैले सोचेको विषय हो सरकारले सुजातालाई किन पैसा दियो ?

देशका लागि योगदान दिनेहरूको उपचारको जिम्मा सरकारले लिनु स्वाभाविक हो तर कर्णाली लगायत विकटका बस्तीमा सिटामोल नपाएर मर्ने नेपालीको जिम्मा चाहिँ कसले लिने ? योगदान दिनेहरूको मागलाई बेवास्ता गरेर सत्ता टिकाउनकै लागि पहुँचको भरमा रकम बाँडिदा मन सबैको दुख्छ । सुजाताले पैसा लगिन भनेर डाहा गरेको होइन । किन अनावश्यक ठाउँमा राज्यकोष दोहन हुँदैछ भन्ने चिन्ता हो ।

उपचारको नाममा अहिलेसम्म बाँडिएको रकमले कर्णालीवासीले राम्रो अस्पताल पाउँथे होला । विकटमा पनि आवश्यकताभन्दा धेरै सिटामोल पुग्थ्यो होला तर त्यता सोच्दैन सरकार ।
नेपाली जनताले सुजाता उपचार नपाएर मरुन् भन्ने चाहँदैनन् । उनको राम्रो उपचार हुनुपर्छ, उनी बाच्नुपर्छ भनेर हामी सबैले कामना गरेकै हुन्छौँ तर अनावश्यक रूपमा लोभ गर्ने सुजाता प्रकरणकै कारण आज सामाजिक सञ्जालभरि सुजातालाई सराप्नेको कमी छैन । नेपाली राजनीतिमा यो राम्रो पक्ष होइन तर बुझ्ने कसले ?

स्तरीय डाक्टरको कमी छैन नेपालमा, अन्तर्राष्ट्रिय स्तरका अस्पताल खुलेका छन् नेपालमा तर राज्यकोषबाट पैसा माग्दै विदेशिने किन ? खाडीमा पसिना र जवानी बेचेर भित्रिएको रेमिट्यान्सबाट देश चलेको थाहा पाउने नेताहरू किन स्वदेशमा उपचार गर्न मान्दैनन् ? सर्वसाधारण नेपालकै उपचारले निको हुने तर नेतालाई सिङ्गापुर, थाइल्यान्ड या अमेरिका दौडिनै पर्ने ?

कर्णालीको व्यथा नबुझ्ने नेता, डाक्टर चित्र वाग्लेजस्तो नेपालीको छोरोलाई नचिन्ने नेताहरूबाट हामीले के आशा राख्ने ? सत्ता टिकाउनकै लागि कोइराला खानदान या काँग्रेसलाई खुसी राख्न खोज्ने वर्तमान सरकारको यो नीतिप्रति घोर आपत्ति प्रकट गर्छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल