कामरेड चाचाको सङ्घर्षमय जीवनका केही पाटा

(  |   गोपी ज्ञवाली

कामरेड चाचाको सङ्घर्षमय जीवनका केही पाटा

gopi-gyawali-2-1कम्युनिस्ट आन्दोलनका अविरल योद्धा भक्तिप्रसाद पाण्डे कमरेड चाचा अब हामीवीच रहनुभएन तर उहाँले कम्युनिस्ट आन्दोलनमार्फत नेपाली समाजलाई गरेको सेवाको महत्व हामी कहिल्यै विर्सने छैनौँ । कक्षा ८ मा पढ्ने अवस्थाको बाल्यकालबाटै समाज परिवर्तनका लागि तात्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्धको राजनीतिक सङ्गठनमा लाग्नुभएका चाचा जीवनभरी सत्यता र इमानदारीका साथ सामाजिक राजनीतिक आन्दोलनमा अविरल लागी जीवनको अन्तिम अवस्थासम्म अविचलित रहेर प्राण त्याग गर्नुभयो । उहाँलाई भावपूर्ण श्रद्धाञ्जली ।
२०११ साल पुसमा अर्धखाँचीको अर्घातोषमा जन्मनुभएका कमरेड चाचा कक्षा ८ मा पढदै गर्दाको बाल्यावस्थामा नै कम्युनिस्ट पार्टीमा आबद्ध भएर काम गर्न सुरु गर्नुभएको थियो । दोस्रो संविधान सभाबाट सभाषद हुनु भएका चाचाले दोस्रो संविधान सभामा सभाषद भएको भन्दा अन्य सरकारी लाभका कुनै पदमा कहिल्लै रहनुभएन । सङ्घर्षबाट अफनो जीवन र ५ जनाको परिवार सञ्चालन गर्दै राजनीतिक जीवनको ४० वर्षसम्म निःशुल्क सेवा गर्नुभयो । २०२७ सालमा अर्घखाँचीबाट एसएलसी पास गर्नुभएका चाचाले तत्कालीन क्रान्तिकारी पार्टीमा लाग्नु भई पुरानो बुर्जुवा शिक्षा नलिने निर्णयसहित विद्रोहमा लाग्नुभएको थियो । २०२९ सालमा सामन्त विरुद्ध भएको चर्चित हर्रेवर्रे काण्डको सैन्य दस्ताको कमाण्डर रहनुभएका उहाँलाई सामन्त विरुद्धको कार्वाही पछि घरमा बस्न नसक्ने अवस्था बनेपछि उहाँ भारतको आसाम जानुभयो । त्यो समयमा गाउँमा एसएलसी पास गर्नुभनेको ठूलो कुरा हुन्थ्यो । त्योभन्दा ठूलो राजाका विरुद्धमा बोल्नुहुन्थ्यो । हर्रेवर्रे काण्डपछि सोसँग संलग्न केही योद्धाहरुलाई प्रहरीले समात्यो तर चलाख र सावधान रहेका चाचालाई प्रहरीले समात्न सकेन । उहाँ त्यसपछि लामै समयसम्म भारतको आसाम लगायतका पूर्वी राज्यहरुमा निर्वासित जीवन बिताउनुभयो । नेपालमा उहाँहरुलाई समातेर जेल हाल्ने तात्कालीन राजाको ठाडो हुकुम रहेको पङ्क्तिकारसँगको कुराकानीमा कमरेड चाचाले आफै बताउनुभएको थियो । अर्घखाँचीमा बसेर एसएलसी दिँदा समेत उहाँले किताबहरुको बीचमा परिवर्तनकारी (राजा विरुद्धका) आनदोलनका पर्चा बोकेर एक स्थानबाट अर्को स्थानसम्म पर्याउने गरेका बताउनुहुन्थ्यो ।
आन्दोलन र परिवर्तनका लागि पुरानो शिक्षा नचाहिने तात्कालीन क्रान्तिकारी विचारबाट निर्णयबाट प्रेरित भएर आफनो पढाइलाई छाडेर क्रान्तिकारी आन्दोलनमा जीवन भरी निःस्वार्थ लागेका कमरेड चाचालाई गणतन्त्र आएपछि रुपन्देही क्षेत्र नक्बर ४ बाट सभासदको उम्मेदवार उठ्दा समाजका केही अवसरवादीले कम शिक्षित उम्मेदारको रुपमा प्रचार गरी हिलो छ्याप्ने कामसमेत गरेको पाइयो ।
बाल्यकालबाटै समाज परिवर्तन गरी समाजमा रहेका विभिन्न खाले विभेद अन्त्य गर्ने उद्देश्यले कम्युनिस्ट पार्टीमा लागेका कमरेड चाचाले २०२७ सालमा पुष्पलालको नेतृत्वको कम्युनिस्ट पार्टीको सदस्यता पाउनुभएको थियो । त्यो समयमा जसकसैले कम्युनिस्ट पार्टीको सदस्य पाउँदैनथे । लामो समयको परीक्षण काल पार गरेपछि माात्र कम्युनिस्ट पार्टीको सदस्यता पाइन्थ्यो र आफ्नै औँगुठा काटेर आएको रगतले हस्ताक्षर वा ल्याप्चे लगाएर मात्र कम्युनिस्ट भइने कडा नियम रहेको चाचाको भनइ थियो । चाचाकै भनाइअनुसार त्यो समयमा समाजमा रहेको विभेद अन्त्य गर्नका लागि कम्युनिस्ट हुने बाहुन परिवारका युवाहरुले अन्य तल्ला जाति भनिएका मानिससँगको समानता ल्याउनका लागि रक्सी पनि खानु पर्दथ्यो । बाहुन परिवारका युवाहरुले जनै चुडाउने, कथित दलित परिवार सदस्यसँग बसेर रक्सी पनि खाने, हलो जोत्ने लगायतका काम गर्ने क्रान्तिकारीहरुको चलन रहेको थियो । चाचाले ती सबै समाजमा समानता ल्याउनका लागि सचेतपूर्ण गरिकाले गरेको पङ्क्तिकारसँग बताउनु हुन्थ्यो ।

bhakti-prasad-pandey

पञ्चायती शासन द्धारा संरक्षीत सामन्तहरु विरुद्ध हर्रेवर्रे काण्ड घटाए पछि २०२९ सालदेखि २०३६ सालसम्म भूमिगत जीवन विताएका उहाँले २०३७ सालमा तात्कालीन क्रान्तिकारी पार्टी नेकपा (माले)मा संलग्न हुनुभयो । तात्कालीन माक्सवादी लैनिावादी (माले) पार्टीले क्रमशः क्रान्तिको लाइन छाड्दै गएको निष्कर्ष निकाल्दै २०४० सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)मा प्रवेश गर्नुभयो । २०४९ सालको स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट बुटवल नगरपालिकाको मेयरको उम्मेदवार हुनुभएको थियो । त्यही समयसम्म उता प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले दीर्घकालीन जनयुद्धको सुरुवात गरिसकेको थियो । मोहनविक्रम नेतृत्वको मसालले माओवादी जनयुद्धको विरोध गर्दै गएका कारण कमरेड चाचाले दिनानाथ शर्माको नेतृत्वमा २०५६ सालमा नेकपा (मसाल) छाडी जनयुद्ध सञ्चालन गरेको नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको थियो । २०६० सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य भई युद्धको काममा सक्रिय रुपमा लाग्नुभयो । माओवादी पार्टीले सञ्चालन गरेको जनयुद्धमा पार्टीले उहाँलाई युद्धको भीषण सङ्घर्षको समयमा युद्धमा चाहिने हाथ हतियार, गोलाबारुद, युद्धका लागि चहिने सञ्चारका साधनलगायतका युद्ध सामग्रीका अपूर्तिको जिम्मा लगाएको थियो । युद्धको अवधिमा माओवादी युद्धमा प्रयोग हुने हात हतियार मुख्य रुपमा दुई प्रकारबाट आउने गर्दथे सरकारी सुरक्षकर्मीबाट कब्जा गरेर वा किनेर र केही मात्रामा आफै बनाउने गरे पनि त्यो अत्यन्तै कम मात्रामा हुन्थ्यो । हतियार कब्जा गर्नेमा नेपालभित्र सरकारी सेनासँग लड्ने जनमुक्ति सेना हुन्थ्यो भने विदेशबाट हतियार किन्नेमध्येको महत्वपूर्ण भूमिकामा कमरेड चाचा रहनुभएको थियो । माओवादी शान्तिकालमा आउँदासम्म माओवादीलाई हतियार आपूर्ति गर्न देशबाहिर रहेर काम गर्ने महत्वपूर्ण काममा कमरेड चाचा सक्रिय रहनुभएको थियो ।
अफै एउटा रोचक र महत्वपूर्ण कुरा त के छ भने माओवादी पार्टीभित्र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई कारवाहीमा परी जनसेनाको नियन्त्रणमा रहँदा बाबुरामको पक्षमा खुलेर मिडियामा बोल्ने एक जना केन्द्रीय सदस्य मात्र चाचा हुनुहुन्थ्यो । तात्कालीन समयमा साप्ताहिकले हाम्रो पार्टीमा जनवाद त के बोल्ने अधिकार पनि छैन भन्ने सेन्सको चाचाको इन्टरभ्यु प्रकाशन गरेको थियो । बाबुरामको पक्षमा मिडियामा किन बोलेको भन्दै उहाँलाई पनि करवाही गर्नुपर्दछ भन्दै केही नेताले लविङसमेत गरे । त्यसको केही समयपछि बाबुराम कारवाहीबाट मुक्त भएको घटना अहिलेसम्म खासै बाहिर आएको छैन । यसरी कमरेड चाचा जीवनभरि नै सत्यको पक्षमा इमानदारिताका साथ निरन्तर लाग्दै र सङ्र्ष गर्दै आएका एक फलामे पुरुषको रुपमा उँहाँलाई इतिहासले सम्झिइ रहने छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल