प्रधानमन्त्रीलाई पुल पीडितको पत्र

प्रधानमन्त्रीलाई पुल पीडितको पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू
विषय : अरुण पुल पीडितको क्रन्दनका बारेमा

महोदय,
प्रधानमन्त्रीज्यू नमस्कार, म भोजपुरबाट अरुण पीडितका समस्या यहाँ समक्ष पेश गर्दैछु । तपाईंले मङ्सिर १ गते मात्रै खोटाङ ओखलढुङ्गा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

त्यस विषयले मलाई खुसी लागेको छ । किनभने जाम भएर बसेको विकास खोल्ने काम गर्नुभएको छ । तपाईं यो मुलुकको दोस्रो पटक प्रधानमन्त्री हुँदैगर्दा तपाईंले आफ्नो हितमा भन्दा पनि देश र जनताको हितमा रहेर काम गर्नुहुन्छ भन्ने आसा मैले लिएको छु ।suresh-lamshal

मैले जति नै फूलबुट्टा भरेर चिठी लेखे पनि कुरा विकासकै हो । तपाईंले लामो समयदेखि निमार्ण सम्पन्न हुन नसकेको खोटाङ ओखलढुङ्गा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो तर त्यस्तै अर्को पुल छ भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा निमार्ण हँुदैगरेको तर हाल बेवारिसे बनेको पक्की पुल । जुन ठेकेदारको चरम लापरबाहीले गर्दा बेवारीसे बन्न पुगेको छ । आज नेपालको पहिलो महिला राष्ट्रपति भोजपुरको हँुदैगर्दा सो क्षेत्रमा पुल नभएकै कारणले नागरिकले चरम समस्या भोगेका छन् भन्न नसुहाउँदो होला तर विकासका लागि वास्तविकता मैले प्रधानमन्त्रीज्यूसमक्ष राख्नै पर्ने भयो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०६८ मङ्सिरमा शीलान्यास भएको सो पुलको निमार्ण कार्य ५ वर्षमा २० प्रतिशत पनि भएको छैन । ‘तुम्लिङ्टार लम्छुवा दिङ्ला’ जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि आज सङ्खुवासभा र भोजपुरका ३० हजारभन्दा बढी नागरिक प्रत्यक्ष समस्यामा परेका छन् । पुल निमार्णकै लागि विनियोजित भएको १४ करोड बढी रकम बालुवामा पानी हाले सरह भएको छ । यो देख्दा मलाई दुःख लागेर आएको छ । हामी समृद्ध नेपाल निमार्णको अभियानमा जुट्दै गर्दा कैयौँ वर्ष एउटै पुल सम्पन्न गर्न लाग्छ । त्यही पुललाई राजनीति गर्ने ठाउँ बनाउने र विकासलाई अगाडि बढ्न नदिने जस्ता अभिप्राय आज ‘तुम्लिङ्टार लम्छुवा दिङ्ला’ जोड्ने पक्की पुल निर्माण कार्यमा देखिएको छ ।

हामी आम नागरिकहरु एउटा दुर्गम ठाउँदेखि आन्दोलन गर्नकै लागि काठमाडौं आउन सक्दैनौँ । तर आज मैले हजारौँ नागरिकको प्रतिनिधित्व गर्दै यो पत्र लेखेर पठाएको छु । आसा छ तपाईं एक विकास प्रेमी प्रधानमन्त्री भएकै कारण मैले वर्षौैदेखि अलपत्र परेको पुल र जनताले त्यसबाट भोग्नुपरेको दुःख सुनाउन पाएँ । पुल नबनेकै कारण कैयौँ विद्यार्थी विद्यालय जानबाट वञ्चित भएको अवस्था छ । विद्यालय जाँदा पनि तीन घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था छ । यस्ता कैयाँै समस्या लिएर हामीले सडक डिभिजन कार्यलय तुम्लिङटारमा समेत एक महिने अल्टिमेटम दिएका थियौँ तर त्यसले पनि सुनुवाइ नभएपछि तपार्इंमाझ यो पीडा सुनाउन बाध्य भयौँ ।
पुल अभावले हरेक महिनाजसो सुत्केरी महिलाको मृत्यु हुने गरेको छ ।

यस बेवारिसे पुललाई तत्काल सम्पन्न गर्न तपाईंले चाँडै निर्देशन दिनुहुनेछ र काम नगर्ने ठेकेदारलाई कारबाही गरी पुल निर्माण कार्य तदरुकताका साथ अगाडि बढाउन पहल गर्नु हुनेछ भन्नेमा मैले विश्वास लिएको छु ।

उही भोजपुरे पुलपीडित नागरिक

सुरेश लम्साल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल