भीभीआईपीको नाममा राज्यकोषको दुरूपयोग कहिलेसम्म ?

-  |   राज्यलक्ष्मी शाक्य

भीभीआईपीको नाममा राज्यकोषको दुरूपयोग कहिलेसम्म ?

photo rajyalaxmi copyहालै मात्र नेपाल सरकारले नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचार गर्नका लागि भन्दै ५० लाख रूपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । गत आइतबारको मन्त्रिपरिषद्को बैठकले कोइरालालाई सो रकम दिने निर्णय गरेको हो । विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्बन्धी मापदण्डलाई पन्छाउँदै सरकारले ५० लाख दिने निर्णय गरेको हो । सरकारको यस निर्णयको सार्वजनिक रूपमा आलोचना पनि भइरहेको छ ।

पंक्तिकार सर्वप्रथम सुजाता कोइरालाको शीघ्र स्वास्थ्यलाभको काम गर्दछ तर भीभीआईपीको नाममा नेताहरूलाई लाखौँ रूपैयाँ दिने निर्णयको भने भद्र विरोध गर्न चाहन्छु । यद्यपि योगदानको कदर गर्दै नेताहरूको उपचारमा सरकारले सहयोग गर्नु आवश्यक छ । तर नेताहरूकै उपचारकै लागि सरकारी ढुकुटी रित्याउने जुन प्रवृत्ति देखिएको छ, त्यसको विरोध गर्नु सर्वथा आवश्यक छ ।

नेपालमा शक्तिको आडमा वर्षेनी करोडौँ रूपैयाँ नेताहरूको उपचारका लागि भनेर खर्च गरिने गरिन्छ । तर जनताको स्थास्थ्योपचारमा भने सरकारले लापरबाही देखाउँदै आएको छ । सरकारले सम्भ्रान्त मानिएकी कोइरालाका लागि ५० लाख छुट्याउन सक्ने तर दुर्गमका जनताका लागि सिटामोलको पनि व्यवस्था गर्न नसक्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो ।

गत वर्ष मेरा एक छिमेकीलाई क्यान्सर भएको पत्ता लाग्यो । आर्थिक अवस्था कमजोर भएका उनलाई सहयोग गर्न तत्कालीन स्थास्थ्यमन्त्री खगराज अधिकारीलाई निवेदन दिने काम भयो । आफ्नै हैसियतले क्यान्सरको उपचार गर्न नसक्ने भएपछि सहयोगका लागि मन्त्रालयमा निवेदन दिइएको थियो । तर आजको समयसम्म पनि उनलाई मन्त्रालयले सहयोग गर्न चासो दिएको छैन । क्यान्सरपीडित मेरा छिमेकीले जसोतसो पाँचवटा किमो गरेका छन् । यी त भए एउटा प्रतिनिधि पात्र । देशैभर क्यान्सरको उपचारको अभावले कतिले ज्यान गुमाउनु परिरहेको छ । कतिले सामान्य उपचार समेत पाउन सकेका छैनन् ।

सहयोग त्यहाँ गर्नु अर्थपूर्ण र आवश्यक हुन्छ, जहाँ त्यसको आवश्यकता हुन्छ । सुजाता कोइराला आर्थिक हिसाबले त्यति कमजोर व्यक्ति होइनन् । ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन् । उनले त्यतिबेला आफैं हस्ताक्षर गरेर ०६७ भदौ २३ गते सरकारलाई सम्पत्ति विवरण बुझाएकी थिइन् । जुन विवरणअनुसार उनका नाममा करिब २ अर्ब बराबरको जमीन रहेको छ । उनले आफ्नै अस्पताल सुस्मा कोइराला ट्रस्ट स्थापना गरेकी छिन्, जहाँ जर्मनीबाट लगानी गराउने तथा उपचारका नाममा लूट मच्चाउने सम्मका काम भएका छन् । तर उनै कोइराला भने यतिबेला नेपालमै उपचार सम्भव नभएझैँ सिंगापुरतिर हान्निसकेकी छिन् ।

उनको नेपालमै पनि उपचार हुनसक्थ्यो । यदि सम्भव नभए मात्र डाक्टरहरूको सिफारिसपश्चात् उनी विदेशमा उपचारका लागि जान सक्थिन् । अनि मात्र सरकारले आवश्यक सहयोग गर्ने विषय रहन्थ्यो । तर यी प्रक्रियाविपरीत सरकारले गरेको निर्णयले कसरी भीभीआईपी नाममा राज्यकोषको चरम दुरूपयोग भइरहेको छ भन्ने कुरालाई स्पष्ट पारेको छ । आखिर कहिलेसम्म भीभीआईपीका नाममा राज्यकोषमाथि यसरी ब्रह्मलूट मच्चिरहन्छ ? सरकारले यस प्रश्नमाथि गम्भीर हुन जरुरी छ । र, अर्को कुरा किन सर्वसाधारणको पीडामा सरकार मलम लगाउन चुकिरहेको छ ? मेरा ती छिमेकीको आँशु पुछ्ने आँट वर्तमान स्वास्थ्यमन्त्री गगन थापाले गर्न सक्लान् ? मन्त्रालयले किन त्यो निवेदनमाथि कुनै निर्णय गरेन ? के जनताको रोगचाहिँ रोग नै होइन ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल