बेरोजगारी समाधानको उपाय

-  |   जीएन पाण्डे

बेरोजगारी समाधानको उपाय

जीवन निर्वाहका लागि जब व्यक्तिले कुनै काम, पेसा वा व्यवसाय पाउँदैन अनि ऊ बेरोजगार हुन्छ । नेपालमा बेरोजगारी समस्या एउटा प्रमुख समस्या हो । व्यक्तिमा काम गर्ने इच्छा र योग्यता हुँदाहुँदै पनि काम नपाएर त्यसै बस्नुपर्दा हाम्रो आर्थिक प्रगति ऋणात्मक भएको छ । पहिला एसएलसी उत्तीर्ण व्यक्ति कमै मात्र बेरोजगार हुन्थे भने अहिले स्नातकोत्तर उत्तीर्णले पनि रोजगार पाउन सकेका छैनन् । सबैभन्दा विचारणीय कुरा त के छ भने शिक्षित युवाहरूले देशकै उद्योगमा रोजगार पाउन सकेका छैनन् । कसैले पाए पनि अत्यन्त न्यून तलब र तल्लो तहमा काम गर्न बाध्य छन् । देश बाहिरबाट आएका व्यक्तिहरुले ठूलो तलब भत्ता र राम्रै तहमा काम पाउन सफल छन् । जसका कारण नेपालबाट प्रत्येक दिन एक हजारदेखि पन्ध्र सयसम्म शिक्षित युवा जनशक्ति कामको खोजीमा मलेसियालगायतका खाडी देशहरुमा जाने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । अझ त्यसमाथि मित्र राष्ट्र भारतसँग रहेको हाम्रो खुल्ला सिमानाका कारण सिमाना पार गरी कति युवा, युवती भारत गएका छन् भन्ने कुनै लेखाजोखा छैन । विदेशिएका युवा, युवतीले कठिन, फोहोर र खतरनाक कामहरुमा संलग्न हुँदा उनीहरुमा शारीरिक तथा मानसिक रूपमा समस्या पर्दै गएको छ । अझ त्यसमाथि दैनिक रूपमा नेपाली युवायुवतीले ज्यान गुमाउनु परेको स्थिति छ ।
हजारौं शिक्षित युवा, युवती कुलतमा फस्नु, चोरी, डकैती कार्यमा संलग्न हुनुलगायत विभिन्न आपराधिक घटनाहरु बढ्दै जानुको प्रमुख कारण बढ्दो बेरोजगारी नै हो । मानिस काम नपाएर बेरोजगार हुन्छ ऊ स्वतः यस्ता गतिविधिमा संलग्न हुँदै जान्छ । शिक्षित युवा युवतीले काम गर्ने अवसर नपाउनु नै ठूलो समस्या हो । आफ्नै घरमा सबै स्रोत, साधन हुँदाहुँदै पनि घरका सदस्यले प्रयोग गर्न नपाउनु जस्तो ठूलो समस्या अरु केही हुँदैन ।
नेपालको श्रम बजारमा बर्सेनि कामका लागि तयार हुने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख युवा विदेश जाने भएकाले पनि देशभित्रै रोजगार सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्व खासै जागरुक देखिँदैन । राजनीतिक अस्थिरता, भएका उद्योगधन्दा पनि बन्द हुँदै जानु, बन्द हड्ताल तथा विद्युतको अभाव जस्ता कारणले पनि रोजगारी सिर्जना हुन सकेका छैन । यसका लागि निश्चित समयको अनिवार्य रोजगारी उपलब्ध गराउने गरी राष्ट्रिय रोजगार नीतिको तर्जुमा गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउने, श्रमिकको हक अधिकारको संरक्षण तथा लगानीमैत्री वातावरणको सिर्जना गर्नुपर्छ । गन्तव्य मुलुकहरुमा सुमधुर श्रमसम्बन्ध स्थापना गर्ने र सीप तथा व्यावसायिक तालिमका अवसरहरु वृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी श्रमशक्ति विकास गर्ने रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ । कृषि व्यवसायलाई देशको अर्थतन्त्रको मेरूदण्ड मानिए पनि यस पेसाप्रति जनताको लगाव केन्द्रित गरी अदृश्य रूपमा रहेको बेरोजगारी समस्यालाई कम गर्ने कार्य कठिन र चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले सरकार तथा राजनीतिक नेतृत्वले यसप्रति गम्भीर भएर नसोच्ने हो भने यो अवस्था झन डरलाग्दो स्थितमा बढ्दै जाने स्थिति छ ।

कपिलवस्तु

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल