जव चोट पुर्रायो ‘भारतीय हो ?’ भन्ने शब्दले

-  |   राघबेन्द्र मिश्र

जव चोट पुर्रायो ‘भारतीय हो ?’ भन्ने शब्दले

धेरै भाग्यमानी हुन्छन् मनका पीडालाई शब्दमा कोर्न सक्नेहरू । मैले पनि केही दफा प्रयास नगरेको होइन, कहिले फेसबुक कहिले ट्वीटर तर अनपेक्षित वादविवादले हरेक पटक मेरा केही राम्रा साथीहरूको मप्रतिको दृष्टिकोणमा बदलाव आउन जान्थ्यो । मेरो पीडाको विषय नै त्यो हो, जसमाथि चर्चा हुँदा कैयौँको मगज तात्तिन्छ ।

मेरो कथाको सुरुवात काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा घटेको एउटा घटनाबाट गर्न चाहन्छु । घटना २०७१ साल तिरको हो । मेरो एकजना दाइ बिरामी परेर भर्ना हुँदा म केही दिन कुरुवा बस्नुपरेको थियो । बिरामी भएको बेला पनि फुर्तिले भरिएको हट्टाकट्टा शरीर, गोरो मंगोल बनोटको अनुहार भएको मेरो दाइलाई हेर्दा कसैले मधेसी मूलको मान्छे भनेर अड्कल गर्न सक्दैन तर जिब्रो चलाउँदा व्याकरण शुद्ध भए पनि लवज भने उहीँ मधेसी स्टाइलको निस्किने ।

उनी पनि कम्ताकी राम्री थिइनन् । तिखा काला आँखा, गुलाफी ओठ, चम्किला बाल । उनलाई हेरि तेज नधड्किने मुटु कसैको छैन होला । नर्सिङजस्तो आकर्षक पेसा अँगालेकी उनीप्रति बढ्नै लागेको मेरो आकर्षण एक्कसी कम भयो जब उनले मेरो दाइलाई प्रश्न सोधिन ‘तपाईं इन्डियन हो ?’

नेपाल सरकारको स्थायी जागिरको नियुक्ति पाएपछिको पहिलो तालिममा सहभगी हुँदा त्यसै तालिममा सहभागी एकजना वयस्क उमेरकी महिलाले मतिर देखाउँदै मेरो एकजना साथीलाई प्रश्न गर्नुभएको थियो ‘त्यो भाइ इण्डियन हो ?’

आफ्नै देशमा म पनि यही देशकै नागरिक हँु भनी प्रमाणित गर्न नागरिकता देखाउन पर्नुको पीडा सायद अरू कसैले बुझ्दैनन् होला । मलाइ चोट ‘भारतीय हो ?’ भनी गरिएको प्रश्नले पुर्याएको होइन तर जब यो प्रश्न पढेलेखेका व्यक्तिहरूको समूहबाट आउँछ, मेरो मन रुन्छ । नेपालमा भारतीयहरूको उपस्थितिले मधेसीहरूले येस्तो प्रश्न खेप्नुपरेको हो भन्ने तर्क कतिको होला र यो सत्य पनि हो तर चाहिएकै जानकारी प्राप्त हुने गरी यही प्रश्नलाई ‘तपाईंको घर कहाँ हो ?’ भनी सोध्न सकिन्थ्यो । अनुहार या लवजको अधारमा भारतीय र नेपाली छुट्टयाउनेहरूले आफूलाई नेपाली नभनेकै बेस । नेपालको भौगोलिक, सामाजिक बनोटको सामान्य ज्ञान पनि नभाएको कुनै व्यक्तिले आफूलाई नेपाली हँु भन्न कदापि सुहाउँदैन ।

दोस्रो प्रसंग २०७२ सालको नाकाबन्दीको बेलाको हो । मधेसी दलहरूले आफूले नाकाबन्दी गरेको बताउँदै थिए, आन्दोलन चल्दै थियो । कहिलेकाहीँ हामी कर्मचारीबीच समसामयिक विषयमा गफसफ हुने गथ्र्यो । त्यस्तै गफसफकै बेला एउटा ट्रेड युनियनको भाइटल पोष्टमा रहनुभएका एकजना आदरणीय दाइले मलाई प्रश्न गर्नुभएको थियो, ‘भाइ, मधेसीहरूमा अलिकति पनि राष्ट्रियता हुँदैन ?’
मैले प्रतिप्रश्नमा ती आदरणीय दाइलाई राष्ट्रियता परिभषित गर्न अनुरोध गरे ।

एकछिन वार्तालाप चल्यो त्यसपछि हासोठट्टा । मैले आफ्नो राष्ट्रियता प्रमाणित गरिछोडे तर त्यो वार्तालापले मलाई पीडा दिएकै थियो, स्वाभाविकै हो । आफ्नो राष्ट्रियता माथि प्रश्न उठ्दा पनि चोट नपुग्ने मुटु नेपाली हुनै सक्दैन ।

‘मैले भोगेको नेपाल’ मा मैले दुई किसिमको अनावश्यक राष्ट्रियता देखे । एकथरिकाले हाम्रा पुर्खाले नेपाललाई कसैको दास हुन दिएनन् भनी आफ्नो राष्ट्रियता प्रमाणित गर्न खोज्छन् । यस्ता जमातले सप्तरी झडपपछि मधेसीमा राष्ट्रियताको भावना देख्न थालेका छन् र अर्को भारतविरोधी राष्ट्रियता । दोस्रोथरिको राष्ट्रियतावाला नेपालीको जमात पनि ठूलै छ । मलाई कसैले कसैको विरोध गरेकोमा टाउको दुखाइ छैन तर यस्तो किसिमको राष्ट्रियताले मलाई पनि असर पार्ने गरेको छ । कुनै पनि भाषामा जति धेरै शब्द हुन्छन्, भाषा त्यति नै धनी मानिन्छ । यस अर्थमा हिन्दी भाषा एक धनी भाषा हो । यही कुराभन्दा मतिर हेर्दै गरेका कतिपयको आँखाको नानी साङ्गुरिएको देखेको छु मैले । यसलाई दोस्रोथरिको राष्ट्रियताको उपज मान्छु म तर मेरो सोचमा यी दुवै किसिमका राष्ट्रियता आजको युगमा अर्थहीन छन् । दौरा सुरुवाल (अझै पनि धेरैले राष्ट्रिय पोशाक मान्ने गरेका छन्) लगाएर भ्रष्टाचार गर्नेलाई पोशाककै भरमा राष्ट्रप्रेमी भनिन्छ आजकाल हाम्रो देशमा । आजको नेपालको आवश्यता हतियार लिई सीमामा लड्नु होइन, विकासका लागि काम गर्नु हो । तसर्थ राष्ट्रियताको परिभाषा पनि त्यही हुनुपर्छ । अतः सप्तरी झडपलाई मधेसीको राष्ट्रियताको सूचक नमानियोस् ।

मधेसी, स्याङ्जाली, जुम्ली, झापाली आदि विशुद्ध कुनै व्यक्तिको बासस्थान बोधक शब्द हुन । यी शब्दलाई व्यक्तिको चरित्रबोधक शब्दका रूपमा प्रयोग गर्ने गरेका छौँ हामी नेपालीले । यी शब्दहरूले व्यक्तिको ठेगाना मात्र जनाउन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल