के हो ‘पोलिटिकोफोबिया’ ?

-  |   मेघराज सापकोटा

के हो ‘पोलिटिकोफोबिया’ ?

अंग्रेजी शब्द ‘पोलिटिकोफोबिया’ को अर्थ राजनीति वा नेतादेखि डराउनु भन्ने हुन्छ । ग्रीक भाषामा पोली भन्नाले सरकार र फोबिया भन्नाले डर भन्ने बुझिन्छ । यो एक विशेष किसिमको बिमार नै हो । जुन वंशाणुगत पनि हुन्छ । पोलिटिकोफोबिया बिमार लागेको मान्छेमा व्यक्तिको स्वभाव, सोच र डरको मात्रा अनुसार फरक–फरक लक्षण देखापर्ने गर्छ । तथापि केही लक्षण जस्तैः छोटो श्वासप्रश्वास, छिटो छिटो श्वासप्रश्वास, मुटुको धड्कनमा गडबडी, पसिना आउनु, रिँगटा लाग्नु, मुख सुख्खा हुनु, रिस उठ्नु, बरबराउनु, शब्दहरूको पूरा उच्चारण हुन नसक्नु र जीउ थरथर काँप्नु आदि लक्षण यो बिमार लागेका मान्छेमा देखिन्छ । meghraj-sapkota
‘हेरिडिटी, जेनेटिक र ब्रैन केमेस्ट्री मान्छेको राजनीतिक जीवनको भोगाईमा फरकपना पर्न गए डर झन्झनै बढ्ने गर्छ र मान्छे स्वतन्त्र रूपले अभिव्यक्त गर्न सक्ने अवस्थामा भए उसले त्यो डर कहीँ न कहीँ पोख्ने गर्छ । अभिव्यक्त गर्न नसक्ने भए आफैँमा मुर्मुरिने, बर्बराउने र दिमागी सन्तुलन बिग्रनेसम्म हुन सक्छ । यही पोलिटिकोफोबियाले ग्रसित व्यक्तीहरू आजकाल सामाजिक सञ्जालमा अर्कालाई गाली गर्छन् र स्वतन्त्र रूपमा बर्बराउँछन् । उनीहरूको बर्बराहट अर्को व्यक्तिले गरेको कमेन्ट र लाइकले केही हदसम्म शान्त हुने गर्छ ।
प्रधानमन्त्री प्रचण्डले केही दिन पहिले अखिल क्रान्तिकारीका विद्यार्थीलाई सामाजिक सञ्जालमा पार्टी र सरकारको प्रतिरक्षा गर्न अनुरोध गरे । सरकारले गरेको राम्रो कामको प्रचारप्रसार गर्न निर्देशन नै दिए । उनले आफ्ना कार्यकर्तालाई बन्दुकको म्याग्जिन सकिएको जस्तो भनेर अब आक्रमक हुन आह्वान गरे । सामाजिक सञ्जालको प्रयोगमा विशेषगरी प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ता अगाडि देखिन्छन् । राम्रो कामलाई नराम्रो र नराम्रो कामलाई राम्रो भनी प्रचार गर्ने, फोटोसपमा जिउँदोलाई मरेको र मरेकोलाई भूत बनएर पोस्ट गर्ने, विभिन्न किसिमका छाडा शब्दको प्रयोग गरी सम्बोधन गर्ने, असभ्य कार्टुनहरू बनाई मानमर्दन गर्ने कार्यमा कार्यकर्ता परिचालित छन् । बरु नेपाली काँग्रेसका कार्यकर्ता धेरै हदसम्म संयमित देखिन्छन् । आजसम्म कुनै पनि पार्टीले आफ्ना कार्यकर्तालाई यस्तो गलत कार्य गर्नु हुन्न भनेर प्रशिक्षण दिने गरेका छैनन् । सरकारले त्यस्ता किसिमका गलत, असभ्य र कसैको मानमर्दन हुने किसिमको अनर्गल प्रचार र फोटोसपलाई कारबाहीको दायारामा ल्याउनको लागि अहिलेसम्म कुनै पहल गरेको पनि देखिन्न । यस्तो अवस्थामा आगामी दिनमा यस्ता गतिविधि अझ बढ्ने निश्चित छ ।
सामाजिक सञ्जालमा आजकल पोलिटिकोफोबिया लागेका व्यक्तिहरू धेरै भेटिन्छन् । उनीहरू कुनै अमूक दल वा नेतादेखि एकदमै रिसाउँछन्, गाली गर्छन्, बर्बराउँछन् र सामाजिक सञ्जालको भित्ताहरूमा स्टाटस लेख्छन् । जंगली, हत्यारा, खाते, लुटेरा, दलाल, लम्पसारवादी आदि उपनामसहित नाममा एकर (प्रचण्डे) लगाएर देशका सम्माननीय तथा माननीयहरूको फोटोलाई बिगारेर व्यक्तिगत स्टाटस बनाउने तथा ब्लग बनाएर ब्लगमार्फत सामाजिक सञ्जालमा पोस्ट गर्ने घृणित कार्यमा कार्यकर्ता परिचालित छन् ।
यस्तो बिमार पैदा गर्नमा हाम्रै राजनीतिक दलहरू जिम्मेवार छन् । आफ्ना कार्यकर्ताको दिमागमा जीवाणु प्रवेश गराएर अन्य पार्टीका नेता तथा कार्यकर्तालाई भरमग्दुर गाली गर्नु गराउनु नेपालमा देखापरेको यो बिमारको नयाँ लक्षण हो । कार्यकर्तालाई बदमासी गर्न उक्साउने र आफू त्यो बदमासी हेरेर मुसुमुसु रमाउने ती नेताहरू पनि कतै न कतै यही बिमारबाट ग्रसित छैनन् भन्न सकिन्न ।
नेपालको सन्दर्भमा राम्रोलाई पनि नराम्रो देख्ने यो बिमारको नयाँ लक्षण हो । यो बिमारले व्यक्तिको दिमागमै शंका भरिदिन्छ । डर लाग्ने र रिसले मुर्मुराउने यसका विविध लक्षणमध्ये शंका र घृणा जगाउनु नेपालमा मात्र पाइएको थप लक्षण हो । कार्यकर्तामा यो जीवाणु एक पटक घुसाइदिएपछि यसले आफैँ काम गर्छ, कसैले भनिरहनु पर्दैन ।
आलोचनालाई सकारात्मक रूपमा लिन सक्नुपर्छ । काम कारबाहीको आलोचना, नीति नियमको आलोचना, बजेटको आलोचना गर्नु सामान्य हुन् । यस्ता आलोचनाले नेत्रित्वलाई सच्चिएर अगाडि बढ्न प्रेरित गर्छ तर कसैको मानमर्दन गरेर जिउँदोलाई मरेकोसम्म भन्न सक्ने आलोचनालाई कारबाहीको दायारामा ल्याउन अत्यन्तै आवश्यक छ । ती आलोचना नेता, कार्यकर्ता, व्यक्ति, सरकारी अधिकारी उपर गरिएको गलत व्यङ्ग्य र फोटोसपबाट तयार गरिएको कार्टुन नै किन नहुन ।
फोबियाको पछिल्लो शिकार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बने । नेकपा एमालेको सरकारको पालामा ऊर्जा मन्त्री राधा ज्ञवालीले लिनदेनमा कुरा नमिलेपछि असक्षम भनेर जगेडामा राखिएका कुलमानले काठमाडौँ उपत्यकालाई लोडसेडिङ मुक्त घोषणा गर्दा पनि उनलाई आलोचना गर्न छोडिएन । बरु मर्न तयार छु तर जनातालाई उज्यालो दिएरै छोड्छु भन्ने एउटा असल राष्ट्रसेवक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा निषेध गर्ने सम्मको उक्साहट फोबिया उनकै कार्यालयका कर्मचारीले देखाए । उनी त भन्दै थिए, ‘छाप्रोमा बस्नेलाई लखपति बनाएँ, अब दुई वर्षमा हरेकको घरमा बत्ती बालेर देखाउँछु’ तर यो फोबियाले किन छाड्थ्यो र ?
चिलिमे जलविद्युत् आयोजनामा रसुवाका जनतालाई सेयर वितरण गरी धनी बनाएको भन्दै अब करोडपति बनाउने घोषणा पनि गरे । अहिलेको कर्मचारी बृत्तमा एउटा राष्ट्रसेवकले यसरी काम गर्छ र जनतालाई करोडपति बनाउने सपना देख्छ भने उसलाई प्रोत्साहन गरिनुपर्नेमा हतोत्साहि गरिन्छ भने त्योभन्दा दुःखद र लज्जास्पद के हुन सक्छ ? अझ हतोत्साहित गर्नेहरूमा तिनै कार्यकर्ता छन्, केही सामाजिक सञ्जालमा कोकोहोलो गर्छन् भने केही उनलाई कार्यालय प्रवेशमा निषेध गरेर ।
भरखरै मात्र घिसिङले करिब ७ सय मेगावाटको दूधकोशी हाइड्रोपावर अब तामाकोशीकै मोडेलमा नेपालीकै पैसाबाट बनाइने बताएका छन् । खोटाङका स्थानीय जनता र सबै नेपाली जनताको सेयर लगानीमा अघि बढाइने यो आयोजना निकै आकर्षक हुने घिसिङको दाबी छ । उनले दाबी त गरे तर बनाउन पाउने हुन कि सो अगावै उनलाई घोक्रेठ्याक लगाउने हुन हेर्न बाँकी नै छ । किन भने राधा ज्ञवाली जस्ती पोलिटिकोफोबिया बोकेका नेताहरू हाम्रो देशमा धेरै छन् ।
त्यस्तै पोलिटिकोफोबिया लागेका बिमारीका अर्का शिकार ऊर्जा मन्त्री जनार्दन शर्मा पनि बनेका छन् । नेत्रित्वले आफू मातहतका कर्मचारीलाई काम गर्न हौसला प्रदान गर्ने, नीति नियम बनाई काम गर्न सजिलो बनाइदिने गर्नुपर्छ । एमाले सरकारले जगेडामा राखिएका कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएर उनको क्षमताको असल परीक्षण गर्न सफल ऊर्जा मन्त्री शर्मा धन्यवादका असली पात्र हुन् । उनले विदेश बस्नेहरूको कमाईको १० प्रतिशत जलविद्युत्मा लगानी गर्नुपर्ने नीति बनाउने घोषणा गरे । जसले एकातिर देश उज्यालो हुने अर्को तिर वैदेशिक रोजगारको सामाजिक सुरक्षा र लगानीको ग्यारेन्टी तर विचरा मन्त्री पनि तिनै फोबियावालाका शिकार बने । गाली गर्नेले केही नभेटेपछि ती फोबियावाला बरु तै चुप मै चुप छन् तर मुखबाट राम्रो शब्दसहितको प्रशंसाको एक शब्द पनि खर्च गर्दैनन् । पोलिटिकोफोबियाको अर्को नयाँ लक्षण जुन नेपालमै पत्ता लागेको छ– गाली पनि नगर्ने, प्रशंसा त गर्दै नगर्ने बरु भित्र–भित्र मन कुड्याउँदै बस्ने ।
नेपालमा भने नयाँ लक्षणसहितको यस्तो फोबियाको पहिलो बिमारी पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली नै हुन् । जसले आफ्नो बिमारको जीवाणु कार्यकर्तासम्म सारे । अहिल यो रोगले पूरै पार्टी ग्रसित छ र बिस्तारै अन्य पार्टीका कार्यकर्तामा सर्ने बाध्यतात्मा परिस्थिति सिर्जना गर्दैछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल