लोकतन्त्र भयो जोगीलाई हात्ती उपहार !

-  |   अनिल पाण्डे

लोकतन्त्र भयो जोगीलाई हात्ती उपहार !

20161110_085507-1वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले लोकमानसिंह कार्कीलाई काँध हालेका छन् । अख्तियार दुरुपयोग अन्सुन्धान आयोगका प्रमुख आयुक्त रहेका कार्कीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि उनले यसरी काँध थाप्नु अर्थपूर्ण छ । सत्ता साझेदार दलसँग छलफल नै नगरी महाअभियोग प्रस्ताव ल्याएको जिकिर गर्दै उनले प्रस्ताव पारित गराउन काङ्ग्रेसले सहयोग नगर्ने दाबी गरे पनि उनको दाबी कति पूर्ण हुने हो हेर्न भने बाँकी नै छ ।

मन्त्री भण्डारीले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल काङ्ग्रेसलाई महाअभियोग विरुद्धको प्रस्ताव दर्ता सम्बन्धमा सन्तुष्ट नगराएमा उक्त प्रस्ताव संसदमा विफल हुने चेतावनी दिँदै कुनै पनि कार्य अघि बढाउँदा सत्तामा रहेका दलहरुसँग संवाद एवं सहकार्य आवश्यक भए पनि त्यस अनुसारको कार्य नभएकोमा आपत्ति जनाएका छन् । काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री भण्डारीले यस प्रकारको अभिव्यक्ति दिएर लामो समयदेखि आलोचनाको केन्द्रमा रहेका व्यक्तिलाई काखमा मात्र राखेका छैनन् सत्तासाझेदार दलहरुबीच कायम रहेको चिसोपनालाई पनि बाहिर ल्याएका छन् । सबैभन्दा चोटिलो पक्ष त के भने, बहुदलीय लोकतान्त्रिक अभ्यासमा प्रधानमन्त्रीय शासन प्रणाली कायम हुनेगर्दछ । यस पद्धतिको उछित्तो काढ्ने काम भएको छ । सत्तामै रहेका बेला एक मन्त्रीले आफ्नै प्रधानमन्त्रीको यस प्रकारको आलोचनालाई लोकतान्त्रिक अभ्यासको बर्खिलाफ भन्न अलमलिनुपर्दैन ।

त्यसो त नेपालमा लोकतन्त्रको अवस्था दीनदुखी जोगीलाई हात्ती उपहार भएको छ । लोकमानसिंह कार्कीले ठूला तीन दललाई ठूलो रकम कोसेली दिएर अख्तियार प्रमुख भएको ‘ओपन सेक्रेट’ बनिसकेको छ । पार्टी र नेताहरु चन्दाको भाषा मात्र बुझ्ने र कर्मचारी घुस नभई जनताको फाइल नउठाउने अभ्यास मौलाइरहेका बेला परिस्कृत मानसिकताका नागरिकबीच मात्र मौलाउने लोकतन्त्र नेपालमा जोगीलाई हात्ती उपहार हुनु अस्वाभाविक होइन । पहिला हामी नै तयार हुनुपथ्र्यो, घरमा सोफा र दराज ल्याउनु अघि कोठा ठीक पार्नुपथ्र्यो । आज जबरजस्ती लोकतन्त्र खाँदखुँद पारेर अटाउन खोज्दा यसका छेउकुना भाँचिने काम भइरहेको छ । छेउकुना मात्र पनि होइन, नेपालमा लोकतन्त्रको त ढाड नै भाँचिएको छ । दुई ठूला छिमेकीलाई जोड्ने पुल हुने सपना देख्दादेख्दै नेपाल दुवै मुलुकको राजनीतिक क्रीडास्थल बनेको छ । त्यसैले पनि हामीमा ‘सेल्फसेन्सरसिप’ जागेको छ । हामी छिमेकी दुवै मुलुकका राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने भएका छौं । समानताको आधारमा रहनुपर्ने स्वतन्त्र मुलुकको परराष्ट्र सम्बन्ध छिमेकीहरुका लागि भिन्न हुन पुगेको छ । यसरी हेर्दा परराष्ट्र सम्बन्धमा नेपाल लोकतन्त्र आउनुपूर्व तुलनात्मक रुपमा सबल देखिन्छ, आज सशस्त्र सङ्घर्षबाट सत्तामा पुगेका प्रचण्ड प्रधानमन्त्री भएका समयमा होइन । जोगीले हात्ती थेग्न नसकेको योभन्दा ठूलो अर्को उदाहरण के हुनसक्छ ?

अख्तियार प्रमुख कार्की यतिबेला निलम्बित स्थितिमा छन् । कुनैबेला समानान्तर सत्ता चलाएका लोकमान जनता र राजनीतिक दलका नेताबाट एक्लिएका छन् । उनलाई काँध हालेर सक्तिशाली कुर्सीमा विराजमान गराउने तीन ठूला दललाई समय आएपछि जनताले अवश्य सजाय दिनेछन् । तर कुनै पनि कारणले कार्कीलाई सजाय दिने अवस्थामा ती दलहरु नै पुगेको र ढिलै भए पनि अलिकति पाप पखाल्न लागेका बेला केही व्यक्तिहरु कार्कीलाई काँध हाल्नपुग्नुभने आश्चर्यपूर्ण छ । त्यसो त अलिकति मात्र भए पनि पाप पखाल्ने अभ्यास जो देखिएको छ, त्यसका लागि पनि दलहरुको स्वार्थ नै प्रमुख कारण रहेको छ । कार्की बाघ बनेर दलहरुप्रति आक्रमण गर्नथालेकै कारण उनलाई दलका नेताहरुले काँधबाट बाहिर हुत्याइदिएका हुन् ।

भोक हड्तालका कारण चर्चामा आइरहने डा. गोविन्द केसीलाई कार्कीले पागल भनिदिए । डा. केसीलाई ‘पागल’ भनेर आक्रामक रुपमा विज्ञप्ति जारी गरेका कारण केही बाँकी रहेका समर्थकलाई पनि कार्कीले गुमाए । एमाले र गोविन्द केसीको लडाइँलाई लोकमानविरुद्ध गोविन्द केसीको विरोधका रुपमा अगाडि बढाइयो । केसीलाई पागल भनेर कार्कीले नागरिक समाजलाई विच्काएजस्तै लडाकूको फाइल खोलेर माओवादी केन्द्रलाई पनि आक्रोशित बनाए । सर्वोच्च अदालतले आफ्नो मुद्दा अघि बढाएको रिस फेर्न लोकमानले प्रधानमन्त्री प्रचण्ड भारतमा रहेका बेला लडाकुको फाइल खोल्ने काम गरे । लडाकुको फाइल खोलेर अदालतलाई दबाबमा राख्न खोजिए पनि त्यसको असर लोकमानका लागि प्रत्युत्पादक बन्न पुग्यो । त्यसैगरी हिन्दु धर्मका पक्षमा लबिङ गरेर धर्मनिरपेक्षताका पक्षमा उभिएका नेताहरुलाई पनि उनले त्रसित बनाए । अख्तियार प्रमुखको संवैधानिक जिम्मेवारीलाई समेत बिर्सेर हिन्दु धर्मको पक्षमा भित्री लबिङमा उत्रिएका कारण उनी शङ्काको घेरामा परे । त्यसैगरी सर्वोच्च अदालतले पुर्जी काट्दा संवैधानिक निकायको प्रमुखका हिसाबले उनले त्यसलाई सहज रुपमा लिएर लोकतान्त्रिक अभ्यास, कानुनको सर्वोच्चतालाई स्वीकार गर्नुपथ्र्यो । तर म्याद नबुझ्ने र सरकारी कर्मचारीसमेत प्रयोग गरेर गुण्डागर्दी गर्ने काममा लोकमानले भूमिका खेलेका कारण सबैखाले व्यक्ति लोकमानको विरुद्धमा उभिए । आफ्नै कार्यालयभित्र आयुक्तहरुलाई अपमान गर्ने उनको प्रवृत्तिले पनि उनलाई कसैले लोकतन्त्रमा मिल्ने व्यक्तिका रुपमा पहिचान गर्न सकेन । विदेशबाट फर्किएपछि एमालेका नेताहरुमाथि आक्रमण गर्ने उनको योजना पनि सफल हुनसकेन । बरु, उनको यस नियतको पर्दाफास अगाडि नै भयो, अन्ततः एमाले र माओवादी केन्द्र मिलेर उनका विरुद्ध महाभियोग दर्ता गर्नपुगे ।

लोकमानका सम्बन्धमा गम्भीर पक्ष के छ भने उनी खरो मिजासका व्यक्ति हुन् । काम गर्ने क्षमता पनि राख्छन् तर उनको शैली लोकतान्त्रिक छैन । उनी जङ्गी शैलीका व्यक्ति हुन् । आफ्नै आयुक्तहरुलाई जानकारी दिएर काम गर्ने संस्कारसम्म उनमा विकास भएको छैन । उनलाई लडाकुको फाइल खोल्ने वा यस्ता गलत काममा हात हाल्न नदिने पार्टीहरु पनि ठीक होइनन् । के अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेताहरु त्यस्तो व्यक्ति चाहन्थे जो उनीहरुको भ्रष्टाचारलाई पर्दाहालिदेओस् ? सम्पूर्ण विवरणले यही तथ्याङ्क सावित गर्दछ । यी सबै तथ्य हेर्न लेखक यस बेला नेपालमै आएको छ । सबैतिरको विश्लेषणले नेपालमा लोकतन्त्र गरिबका लागि हात्ती भएको निष्कर्षमा पुगेको छ । सम्पूर्ण पक्षमा कमजोरी भए पनि कुनै स्वच्छ ठाउँ रहोस् भनेर यसले नेपाल पत्रकार महासङ्घसँग मिलेर लैङ्गिक समानता पत्रकारिता पुरस्कार स्थापना गरेको छ । मिडियाकर्मी वा पत्रकार मात्र स्वच्छ रहेभने लोकमान र राजनीतिक नेताजस्ता नीतिनिर्माता भ्रष्ट भए पनि धेरै क्षति पु¥याउन सक्तैनन् भन्ने विश्वास छ ।
पूर्व पर्यटन दूत सनफ्रान्सिस्को

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल