प्रधानमन्त्री प्रचण्डलाई खुलापत्र

  |   केदारनाथ नेपाल

प्रधानमन्त्री प्रचण्डलाई खुलापत्र

 

सम्माननीय प्रधानमन्त्री ज्यू
नमस्कार,
म एक सर्वसाधारण नागरिक हुँ । थाहा छैन तपाईंलाई एक नागरिकको हैसियतले पत्र लेख्न मिल्छ या मिल्दैन । तैपनि आफ्नो मनमा लागेका धारणाहरु लेख्दै छु । तपाईंको दोस्रो प्रधानमन्त्री कार्यकालले सय दिन पार गरेको समय मिलाएर ।img_20160915_212306

हिजो काङ्ग्र्रेस एमालेले सत्तामा रजाइँ गरेर देश बर्बाद बनाए । देशमा भएका प्राकृतिक स्रोत साधन कौडीको मोलमा बेचियो । देशका कलकारखाना कि निजीकरण गरियो कि पूर्ण रुपमै बन्द गरियो । देशलाई परनिर्भर बनाइयो । तपाईं बेला बेलामा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा यस्तै भनिरहनु हुन्छ । बाँकी भएका उद्योग पनि पछिल्लो समय आफ्ना कार्यकर्ता भर्तीकेन्द्र भएको छ । त्यसै कारण केही कलकारखाना बन्द हुने अवस्थामा छन् । ठीक दुई दशकअघि तपाईंहरु जनवादी क्रान्ति भन्दै जङ्गलतिर लाग्नुभयो । जनयुद्ध मार्फत मुलुकमा क्रान्तिकारी परिवर्तन ल्याउने भन्दै तपाईंले जुन सपना देखाउनु भएको थियो ती दिन बितेको पनि वर्षौं वर्ष भइसक्यो । प्रधानमन्त्रीज्यू खै तपाईंले देखाउनुभएको सपना अनि नयाँ नेपाल कहाँ छ ? अनि हिजो बाँड्नुभएको स्विजरल्यान्डको सपना ? आज मैले मात्र हैन सारा नेपाली जनताले तपाईंलाई यही प्रश्न सोधिरहेका छन् ?

हिजो उज्ज्वल भविष्य र मीठो सपना देखाउँदै तपाईंले आफ्नै नेतृत्वमा दस वर्षे जनयुद्ध लड्नुभयो । त्यतिबेला जनयुद्ध लड्ने मेरै उमेरका युवायुवती थिए । जनसेनाको सुरक्षा घेराभित्र रहेर जनतालाई आफ्नो अधिकार प्राप्तिका लागि भन्दै तपाईंहरु आदेश दिइरहनुभएको थियो । आफ्नो ज्यान हत्केलामा राखेर आदेश दिनु र त्यसको नेतृत्व गर्नु पनि चानचुने कुरा थिएन । जनयुद्धको नेतृत्व गरेकै कारण राज्यले तपाईं लगायत पार्टीका नेताहरुको टाउकाको मूल्य तोकेको थियो । हो तपाईंले भनेजस्तै त्यसबेला राज्य एकात्मक थियो, सामन्ती थियो । त्यसैलmे आफ्नो अधिकार प्राप्तिका लागि लडाइँ आवश्यक पनि थियो । तपाईंहरुले राख्नु भएको माग जायज देखेर नै जनताले साथ दिएका थिए । उनीहरुको साथ पाएर नै दस वर्षमा तपाईंहरु जङ्गलबाट महलमा पुग्नुभयो ।

आज तपाईं सरकार चलाउँदै हुनुहुन्छ । काङ्ग्र्रेस एमाले सत्ता र व्यक्तिगत स्वार्थमा अल्झिए । जनताका लागि केही गरेनन् भनेर जनताले विश्वास गरेर नै पहिलो सम्बिधान सभामा ठूलो पार्टी बनाएर पठाए । तर तपार्इंहरु जनभावना बमोजिम अघि बढ्नु भएन । सत्ता पाएपछि एकआपसमा लड्नुभयो, विभाजित हुनुभयो । त्यसैको फल दोस्रो संविधान सभामा तेस्रो स्थानमा झनु भयो । कहिलेकाहीँ सम्झँदै घृणा लागेर आउँछ ।
प्रधानमन्त्रीज्यू कुनै बेलामा म पनि तपाईंमाथि धेरै आशा गर्थें र भन्थें देशमा कसैले जनताका लागि केही गर्छ भने प्रचण्ड र उनले नेतृत्वले गर्छ । त्यो आशा त अझै मरेको छैन ।
हिजो मात्र पूर्व लडाकुले माओवादी पार्टी कार्यालय घेराउ गरे । दुःख लाग्यो जसले आफ्नो ज्यानको बाजी लगाएर जनताको मुक्तिका लागि तपाईंहरुलाई यो अवस्थामा पुर्याए आज तिनीहरुलाई त न्याय गर्न सक्नुभएन भने आम सर्वसाधारणलाई कसरी न्याय गर्न सक्नुहोला ? हिजो तपार्इंको एक आदेशमा आफ्नो ज्यान बलिदान दिनेले तपार्इंबाट के आशा राख्ने ? सम्झनुस् प्रधानमन्त्रीज्यू हिजो नेतृत्वको रक्षाका लागि छातीमा तातो गोली थाप्न तयार हुनेका लागि तपाईंले सरकारमा पुगेर के गर्नुभयो ?
प्रधानमन्त्रीज्यू जनताले तपाईंबाट धेरै अपेक्षा गरेका छन् । तपाईंसँग हजारौँ सहिदहरुको सपना गाँसिएको छ । पहिलो प्रधानमन्त्री कालमा अनुभव कम भयो होला तर दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । अझै पनि जनताको आशाको केन्द्र भनेको तपाईं नै हो । यसपटक पनि केही गर्न सक्नुभएन भने हामीले कोबाट अपेक्षा गर्ने ? राजा, काङ्ग्रेस वा एमालेबाट ? अहँ तपाईंले नै यही प्रधानमन्त्री कालमा जनताले महसुस गर्ने गरी काम गरेर देखाउनुपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल