भत्किएको मेरो देश

  |   सागर राई

भत्किएको मेरो देश

म यो देशमा जन्मेको नेपाली नागरिक हुँ । मसँग नेपाली नागरिकता छ । मेरो देशको आफ्नै भाषा, संस्कृति र मौलिकता छ । म यो देशको प्रतिनिधि नागरिक बनेर केही मेरो देशको तथ्य कुरा गर्न चाहान्छु ।sagar
मेरो देश यस्तो छ जहाँ पान पसलमा कन्डम पाइन्छ । फास्टफुड र ब्युटी पार्लरमा यौन व्यवसायी पनि भेटिन्छ । विभिन्न पार्क र रेस्टुरेन्टहरुमा शरीरको मोल मोलाइ हुन्छ । सहरको गल्लीहरुमा वर्षौंदेखि एउटा वर्ग हात थापेर लडिरहन्छ । कृषि प्रधान देश भएर जहाँ खेतीयोग्य जमिनहरुमा कङ्क्रिट रोपेर घर फलाइन्छ, जमिनको मूल्य बढाएर रातारात लखपति र करोडपति बनाइन्छ । अन्न फलाउने किसानलाई विस्थापित गरिन्छ, बरु नक्कली किसानहरुलाई स्थापित गरिन्छ ।
मेरो देशमा वर्षमा ५ लाखको हाराहारीमा युवा काम गर्न सक्नेगरी उत्पादन हुन्छन् तर ५ प्रतिशत युवाले आफ्नै देशमा रोजगारी पाउँछन् भने दैनिक लगभग १६०० युवाले प्रतिदिन वैदेशिक रोजगारीका लागि वैधानिक बाटोबाट सस्तो मूल्यमा बेचिनुपरेको छ । अर्कोतर्फ अवैधानिक बाटोबाट प्रतिदिन ३००० को हाराहारीमा वैदेशिक मुलुकमा बेचिनु परेको तथ्य हो । त्यसैले आज नेपालमा उत्पादनका लागि मुख्य गरी मानव संसाधन युवाशक्ति शून्यतातर्फ उन्मुख भइरहेको छ । त्यसैले आज गाउँहरु शून्य हुँदैछन्, सहरहरु खचाखच छन् । गाउँको खेतीयोग्य जमिन बाझिने अवस्था जारी छ । त्यसैगरी उत्पादन पनि घट्ने क्रम जारी छ ।
२००७ सालपछि नेपालमा राजनीतिक दलहरु उदाएको पाइन्छ । राजनीतिक दलहरु उदाएपछिका केही कुरा गर्न चाहान्छु । राजनीति दलहरु उदाउनुको मुख्य कारण जनताले जनताकै प्रतिनिधि छान्न पाउने व्यवस्था अर्थात प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि स्थापित भए । त्यसैले जनतामा पर्याप्त मात्रामा राजनीतिक चेतना र परिवर्तन त छायो तर आर्थिक, सांस्कृतिक अधिकार महशुस गर्न नपाउनु नै आजको दुर्भाग्य हो भन्दा फरक नपर्ला । बरु २००७ साल पछि मुलुकमा सञ्चालित करिब ३००० उद्योगहरु बन्द भए कैयौँ नेपाली प्राकृतिक स्रोत र साधनहरु विदेशीलाई बुझाइयो । मुलुकमा विभिन्न समयमा विभिन्न राजनीतिक घटनाहरु भए थुपै्र नेपाली वीर सहिदहरुले प्राणको आहुती दिए । कैयौं नेपाली नागरिक घाइते, अपाङ्ग र बेपत्ता परिवारका रुपमा परिचित हुनुपर्यो । उनीहरुका एउटै स्वार्थ थियो ताकि मुलुकमा राजनीतिक स्थायित्व आओस, सांस्कृतिक परिवर्तन आओस र समृद्ध मुलुक बनोस् । तर उनीहरुको चाहाना, उनीहरुको स्वार्थ पूरा हुन सकेन, यो नै दुर्भाग्य हो । बरु यो देशमा राजनीतिक दल र तिनका नेताहरु पार्टीगत, गुटगत, पारिवारिक र व्यक्तिगत स्वार्थमा लिप्त भएभन्दा अनुचित नहोला । किनभने देशको आर्थिक उत्पादनमा ह्रास आउँदै गर्दा राजनीतिक उद्योगहरु पर्याप्त मात्रामा खोलिँदै गए । खोलिने क्रम जारी नै छ । बरु भ्रष्टाचार मौलाएको छ, अराजकताले हरेक मानिसको मानसपटलमा जरा गाडी सकेको छ । ताकि एक व्यक्तिले अर्को व्यक्तिलाई मान्ने स्थिति छैन । एक निकायले अर्को निकायको आदेश मान्ने अवस्था छैन । त्यसैले त सरकार, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, अख्तियार अनुसन्धान आयोग आदि संवैधानिक निकायहरु बीच चर्को टकराव नाङ्गो रुपमा देखा पर्दछ । यसलाई सांस्कृतिक र आर्थिक अधिकार जनताले नपाउनु नै देशको मुख्य कारण हो भन्न सकिन्छ ।
त्यसैले यो देशमा २६ वर्षमा २३ वटा सरकार परिवर्तन हुन्छन उक्त सरकारहरुले मुलुकको प्राकृतिक स्रोत र साधनहरु विदेशीलाई बुझाउँछन् । आफू सरकारमा रहँदा सस्तो लोकप्रियताको लागि सरकार प्रमुखले नै मनोमानी तरिकाले जे पनि बोल्छन् र गर्छन् अनि प्रमुख प्रतिपक्ष सरकारको चरम विरोधमा कराइरहन्छन् तर छिमेकी मुलुकले नाकाबन्दी लगाउँदा यो नाकाबन्दी होे भन्न न सरकारल सक्छ न प्रतिपक्षले । जनता अभावमा छटपटाइ रहन्छ तर राजनीतिक दलहरु मुखमा बिर्को लगाएर बस्छन् । यो यो देशको विडम्बना हो । यी यस्ता कारण नेपालका राजनीतिक दलहरु स्खलित हुने क्रमहरु जारी छन् । तर बिग्रिएको संस्कार मौलाएको अराजकता र स्वार्थपूर्ण राजनीतिक मानसिकताले नयाँ बन्ने दलहरु पनि भेष परिवर्तन गरी आएका जोगीभन्दा कम देखिँदैनन् । किनभने विचार राम्रा हुन्छन्, एजेन्डा राम्रा हुन्छन् तर व्यवहार जस्ताको त्यस्तै । यो पनि आर्थिक र सांस्कृतिक परिवर्तन हुन नसक्नुकै उपज हो । यी यस्ता कारणहरुले गर्दा नेपाली राजनीतिमा कुनै समयमा स्थापित राजनीतिज्ञहरु विस्थापित भएको पर्याप्त प्रमाणहरु छन् । जब राजनीतिज्ञहरु असफल हुँदै जान्छन् निश्चित समयका लागि विभिन्न पेसाकर्मी, कर्मचारी, कलाकार आदि समेत प्रत्यक्ष रुपमा देखापर्दै आएको पनि तथ्य हो । तथापि राजनीतिक आर्थिक र सामाजिक स्थायित्वका लागि अन्ततः राजनीति दलहरुबाट नै सम्भव भएको पनि तथ्य हो । जबसम्म कुनै पनि मुलुकमा राजनीतिक व्यवस्था स्थायित्व कायम गर्नका लागि आर्थिक र सामाजिक परिवर्तन हुन उत्तिकै महत्व राख्दछ । त्यसैले यो देश अस्थिरताले छाएको देश, यो देश यस्तो देश जहाँ उत्पादन घट्ने क्रम जारी छ । विदेशीको गुलाम बनेर विप्रेषणले धानेको देश, जहाँ प्रतिव्यक्ति आयभन्दा प्रतिव्यक्ति खर्च लगभग दोब्बर हुन्छ । त्यसले कालाबजारी, महँगी, भ्रष्टाचार मौलाइरहने देश, विदेशीसँग ऋण र अनुदानको हात थापेर आधा पेट भर्नुपर्ने देशका रुपमा चिनिन पुग्यो । यो देशमा नागरिक जन्मन्छन्, हुर्कन्छन् अनि काम गर्न सक्ने हुन्छन् तब आफ्नो भविष्य यो देशमा देख्दैनन् र विदेश पलायन हुनु यो देशको यथार्थता हो । अनि उसलाई अन्योलताले सताउँछ । यो देशको आफ्नै भाषा, संस्कृति र मौलिकता छ तथापि आफू आधा नेपाली र आधा विदेशी भएझैं अनुभूति गर्दछ । यो पनि यो देशको यथार्थता हो । उसले काम गर्न सक्ने उर्वर क्षमतावान समय विदेशीको काम गरेर बिताउनुपरेको छ ।
त्यसैले यी यस्ता समस्याहरुमा गुज्रिरहेको मेरो देश वार्षिक प्रतिव्यक्ति आय ६८९.६९ डलर भएको देश १८७ डलर प्रतिव्यक्ति आय भएको मुलुक सोमालिया बन्न नपुगोस राजनीतिक रुपमा स्थिर, आर्थिक र सांस्कृतिक विकासले तीव्र गति पाओस् । हरेक नेपालीले आफ्नै मुलुकमा उज्ज्वल भविष्य महशुस गर्न पाइयोस् । अन्य समृद्ध मुलुकहरु जस्तै नेपाल पनि बनोस् भन्ने हरेक नेपाली नागरिकको साझा भावना हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल