नेपालको पर्यटन नीति संशोधन आवश्यक

-  |   लक्ष्मीप्रसाद पंगेनी

नेपालको पर्यटन नीति संशोधन आवश्यक

laxmi-prasad-pangeniप्राकृतिक, भौगोलिक, सांस्कृतिक, पुरातात्विक तथा जैविक विविधताको दृष्टिकोणले नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेकोमा दुईमत छैन । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार नेपालमा वार्षिक करिब आठ लाखको हाराहारीमा विभिन्न देशबाट पर्यटक आउने र करिब दुई लाख नेपालीले पर्यटन क्षेत्रमार्फत प्रत्यक्ष रोजगारी पाएका छन् । पर्यटक नेपाल आएकै कारणले नेपाली हस्तकला तथा नेपाली उत्पादनले राम्रो बजार पाएको देखिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरको प्रतिवेदन अनुसार सन् २०१५ मा विश्वभरिबाट झन्डै १५० देशबाट पर्यटक नेपाल आएका छन् ।

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको औसत बसाइँ दिन १३.१६ रहेकोमा त्यो बढेर करिब एक महिना पुग्नुलाई सकारात्मक रूपमा लिन सकिन्छ । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले केही समय पर्यटन व्यवसायलाई असर पारे पनि क्रमशः पर्यटकको वृद्धि भएको र बेलायतको ‘रफ गाइड्स’ ले सन् २०१६ मा घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो स्थानमा राखेपछि पर्यटन व्यवसायीमा पुनः उत्साह थपिएको छ ।

विना प्रयास तथा प्रसारप्रसार पनि यतिका देशबाट पर्यटक आएका छन् भने अन्तर्राष्ट्रिय स्तरमा प्रसारप्रसार गर्ने हो भने अझै धेरै देशबाट धेरै पर्यटक अवश्य भिœयाउन सकिन्छ । त्यस्तै हिन्दु र बौद्ध धर्मावलम्बी अधिक भएका देशबाट धार्मिक पर्यटनको माध्यमबाट अभियानकै रूपमा गतिशीलता बढाउने हो भने पक्कै पनि अझ बढी पर्यटक नेपाल आउन सक्छन् तर नेपालमा पर्यटन व्यवसाय र पर्यटकको लागि सबै थोक भएर पनि सोचे अनुरूप पर्यटन व्यवसाय फस्टाउन र पर्यटकको आगमनमा वृद्धि हुन सकिरहेको छैन । यसको लागि हाम्रै छिमेकी देश भुटानको पर्यटन नीतिलाई विश्लेषण गर्न वान्छनीय देखिन्छ । क्षेत्रफलको हिसाबले भुटान नेपालभन्दा करिब चार गुणा सानो छ ।

भुटानको जी.डी.पी. मा पर्यटन क्षेत्रको करिब १७ प्रतिशत योगदान रहेको छ । भुटानको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान जलविद्युत्को छ भने त्यसपछि पर्यटन क्षेत्रको रहेको छ । सार्क राष्ट्रमा सबैभन्दा छिटो विकासको गतिमा अघि बढेको र एसियामै सुखी राष्ट्रको पहिचान बनाउन भुटान सफल भएको छ । भुटानको पर्यटन व्यवसाय बुद्धिष्ट संस्कृतिक एवं गुम्बामा आधारित छ । भुटानले ‘कन्ट्रोल टुरिजम’ को नीति लिएर पर्यटन क्षेत्रको विकास गरिरहेको छ ।

गुणस्तरीय पर्यटक अर्थात् धेरै खर्च गर्ने पर्यटक भिœयाउन भुटानले यस्तो नीति लिएको देखिन्छ । भुटान आउने विदेशी पर्यटकले सिजन (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) मा दैनिक दुई सय पचास डलर र अफसिजन (जनावरी, फेबु्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा दुई सय डलर अनिवार्य खर्च गर्नुपर्ने हुन्छ । सरकारले नै यस्तो नीति बनाएपछि पर्यटन व्यवसायमा संलग्न व्यवसायी थप हौसिएका छन् भने सरकारको यही नीतिको कारणले अन्तर्राष्ट्रिय ख्याति कमाएका चेन ब्रान्डका ताज, लि मेरिडियन अमनकोरा लगायतले भुटानमा होटल सञ्चालन गरिरहेका छन् भने सेराटन होटल जस्तो अन्तर्राष्ट्रिय ब्रान्डेड होटलले पनि भुटानमा लगानी गर्ने निश्चित भएको छ । भुटानले सिमित स्रोत र साधनबीच राम्रो योजना बनाएर राजनीतिक स्थिरता कायम गर्दै अगाडि बढेकोले पर्यटन क्षेत्रमा राम्रो सफलता प्राप्त गरेको हो ।

पर्यटकीय सम्भावनाको हिसाबले भुटानभन्दा नेपाल धेरै गुणा अगाडि रहे पनि नेपाली अर्थतन्त्रमा पर्यटनको योगदान २.५ प्रतिशतको हाराहारीमा रहेको छ । नेपालले ‘मास टुरिजम’ को नीति लिएको कारणले विदेशी पर्यटक नेपाल आए पनि कम खर्च गर्ने पर्यटक मात्र भित्रिने गरेको अध्ययनले देखाएको छ । संसारको अग्लो सगरमाथा, संसारको अग्लो स्थानमा रहेको तिलिचो ताल, हिमाल आरोहण, ¥याफ्टिङ, विविध धर्म संस्कृति, भाषा, वेशभूषा, ताल तलैया, सिमसार क्षेत्र, खोलानाला, पहाड, लोपोन्मुख जीवजन्तु, चराचुरुङ्गी, लालीगुराँस जस्ता कुराले नेपाल स्वर्गको देश भनेर चिनिन्छ ।

पर्यटन सम्बन्धी विज्ञहरूका अनुसार अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक अस्थिरता एवं सरकार र निजी क्षेत्रबीच समन्वयको अभावजस्ता कारणले पर्यटन क्षेत्रको आशातित विकास नभएको हो । भुटानमा एक जना विदेशी पर्यटकले चार जनालाई रोजगारी दिएको देखिन्छ तर नेपालको ‘मास टुरिजम’ नीतिले गर्दा सङ्ख्यामा पर्यटक धेरै आए पनि उनीहरूले कम खर्च गर्ने हुनाले धेरै नेपालीलाई रोजगारी दिन नसकिएको पर्यटक व्यवसाय सम्बद्ध व्यक्तिहरू बताउँछन् ।

बेलायतको प्रकाशन गृह ‘पेन्गुइन न्यान्डम हाउस’ को पर्यटकको लागि भ्रमण ‘गाइड बुक’ तयार पार्ने साहायक कम्पनी ‘रफ गाइड’ ले सन् २०१६ मा विश्वका घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पहिलो स्थानमा सूचीकृत गर्नुले वैशाख १२ गते र त्यसपछिका पराकम्प तथा भारतीय नाकाबन्दीले छियाछिया पारेको पर्यटन क्षेत्रलाई ठूलो राहत मिलेको छ । विश्वका उत्कृष्ट गन्तव्य स्थल कोलम्बिया, क्युवा, जोर्डन, अल्बानिया, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या, तथा श्रीलङ्का जस्ता स्थललाई उछिनेर नेपाल पहिलो पङ्क्तिमा पर्नु नेपालको लागि खुसीको कुरा हो भने यसबाट नेपाली पर्यटन क्षेत्रलाई दूरगामी सकारात्मक प्रभाव पर्ने निश्चित छ ।

यसबाट वैशाख १२ गतेको विनाशकारी भूकम्पले ‘नेपाल ध्वस्त भयो, भूकम्पले नेपाललाई कहिल्यै उठ्न नसक्ने गरी थिलोथिलो बनायो र नेपाल पर्यटकीय दृष्टिले असुरक्षित छ’ भनेर फैलिएको अफवाह तथा भ्रमलाई केही हदसम्म भए पनि चिर्न मद्दत पुगेको छ । यो अवसरलाई नेपालले कुनै पनि मूल्यमा गुम्न दिन हुन्न ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, सस्तो वस्तु तथा सेवा, सहयोगी संस्कृति, हिमालयको राजधानी, भौगोलिक विविधता, धार्मिक तथा सांस्कृतिक विविधता, सहासिक तथा पर्वतीय पर्यटन, वाइल्ड लाइफ अध्ययन जस्ता विशेषताले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएकोमा दुईमत छैन । नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकोले नेपाललाई ‘एन्थ्रोपोलोजिस्ट हब’ बनाएर नेपाली संस्कृति तथा परम्परा संसारले अध्ययन गर्ने बनाउन सकिन्छ ।

त्यस्तै सगरमाथा, कुमारी, बुद्ध जन्मस्थल, पशुपति, तिलिचो ताल, लोपोन्मुख जीवजन्तु जस्ता विषयमा नेपालको एकाधिकार रहेको छ । यो एकाधिकारबाट अधिकतम फाइदा लिनको लागि नेपालले भुटानको पर्यटन नीतिबाट पाठ सिक्नुपर्छ । नेपालमा भएको पर्यटकीय सम्भावनालाई नेसनल जिओग्राफी च्यानल जस्ता अन्तर्राष्ट्रिय टेलिभिजन तथा विदेशमा रहेका करिब ४० लाख नेपालीबाट व्यापक प्रचारप्रसार गर्न सक्नुपर्छ । त्यस्तै पछिल्लो समयमा ‘घरबास’ अर्थात् ‘होमस्टे’ पनि बाह्य तथा आन्तरिक पर्यटकको लागि निकै आकर्षक बन्दै गइरहेको छ । होमस्टेको मध्यमबाट पनि पर्यटक आकर्षित गर्न सकिन्छ ।

पर्यटकको वर्गीकरण गरी उनीहरूको रुचि अनुसार सेवा प्रदान गर्न सक्नुपर्छ । जस्तै कुनै पर्यटकलाई संस्कृति सम्बन्धी रुचि छ भने उसलाई जङ्गल वा पहाड घुमाएर कुनै अर्थ हुँदैन । पर्यटन व्यवसायी आफैँ पनि प्रचारप्रसारमा जुट्नुपर्ने देखिन्छ । भारतका कतिपय सहरमा पोखराका पर्यटन व्यवसायीले चलाएको ‘चलो पोखरा’ कार्यक्रमबाट देशका अन्य पर्यटन व्यवसायीले पनि पाठ सिक्न जरुरी छ । सार्क राष्ट्रबाट पर्यटक भिœयाउन सम्भव भएसम्म ती देशको प्रमुख सहरबाट सिधा नेपालसम्म सडक तथा हवाई यातायातको विस्तार गर्नुपर्ने हुन्छ । अर्कोतिर पर्यटन क्षेत्रको विकास एवं पर्यटकको आगमन त्यस देशको राजनीतिक अवस्थामा पनि निर्भर हुने विज्ञहरू बताउने गर्छन् । जबसम्म राजनीतिक स्थिरता कायम गरी नेपाल सुरक्षित छ भनेर आम पर्यटकलाई प्रत्याभूति दिलाउन सकिँदैन तबसम्म नेपालले सोचे अनुरूप पर्यटक भिœयाउन गाह्रो छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल