प्रधानमन्त्रीज्यू मलाई हजुरको साथ चाहिन्छ

-  |   तुल्सी आचार्य (शीतल)

प्रधानमन्त्रीज्यू मलाई हजुरको साथ चाहिन्छ

11सम्माननीय प्रधानमन्त्रीज्यू,

कुशल छौँ, कुशलताको कामना गर्दछौँ । हाम्रो नेपालमा जनता कुशल हुन आवश्यक नै हुँदैन । नेताहरु कुशल भए पुग्छ । नत्र फेरि देशको ढुकुटी रित्तिन्छ । १० वर्षको जनयुद्धपछि जङ्गलबाट गाउँमा वा जनतासित घुलमिल हुन सक्नुभएको हजुरलाई भेट्न धेरै ठूलो प्रयास भयो । विडम्बना नसकेर आजै चिठीमार्फत भेट्ने आशा प्रकट गर्दैछु । पहिलोपटक हजुर प्रधानमन्त्री हुँदा मलाई आफ्नो मन खुशीले गद्गद भएर भेट्ने प्रयास गरेकी थिएँ । विडम्बना म एक गरिब किसानकी छोरी न पैँसा, न शक्ति खाली भेट्ने आशा र निरन्तर प्रयास रहिरह्यो । मेरो निरन्तर आशसँगै छिटो–छिटो प्रधानमन्त्री फेरिने क्रम पनि निरन्तर जारी रहिरह्यो । मलाई विश्वास थियो, हजुर फेरि प्रधानमन्त्री बनेर आउनुहुन्छ । अनि मैले अवश्य पनि भेट्ने मौका पाउँछु । आज त्यही दिन आएको छ । फेरि मेरा सपनाहरुलाई साकार पार्न समयले साथ दिएको छ ।
मलाई हजुरलाई लिएर नेपालका विकट जिल्लाहरु मुगु, जुम्ला, हुम्ला, डोल्पा आदि घुम्न जाने र त्यहाँका आमा बुवा भाइबहिनी र युवा वर्गहरुलाई भेट्ने इच्छा छ । अनि उनीहरुको पीडा र वेदना हजुरसँगै बसेर बुझ्ने र सुन्न मन छ । भेटपछिको हाम्रो फर्किने निर्णयमा भने ती साना भाइबहिनी र त्यहाँका युवा वर्गलाई राजधानीमा ल्याएर राजधानीका विद्यालयमा भर्ना गरी हजुरलाई चाहिँ कुटो र कोदालो थमाउने मन छ । मलाई यो पनि विश्वास छ वर्तमान प्रधानमन्त्री अवश्य पनि सक्नुहुन्छ कुटो र कोदालो गर्न । किनभने १० वर्ष जनयुद्ध त सफल पार्न सक्नुभयो भने कुटो र कोदाले तपाईंका लागि सामान्य हो । सत्य कुरा गरिरहँदा प्रधानमन्त्रीज्यूलाई आफ्नो खेदो खनेको आभाष हुन सक्ला । त्यस्तो नसोच्न आग्रह गर्छु । अन्यथा यसरी लिएमा सरकार जनताप्रति बफादार छैन भन्ने प्रमाणित हुने छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू मलाई विश्वास छ, हजुरलाई मसँग ती विकट जिल्लाहरुमा गएर कुना कन्दरामा अन्धकारको जालोमा रुमलिरहेका कलिला मुनाहरुलाई भेट्ने समय त पक्कै नहोला । किनभने त्यहाँ जान हजुरलाई भारतसँग सोधेर जानुपर्ने हुन्छ । के थाह भारतले नजानु पो भनिदिन्छ कि । त्यसैले मसँग जान अनुरोध गर्न सक्छु, अनिवार्य भन्न सक्दिँन ।

सम्माननीय प्रधानमन्त्रीज्यू मलाई हजुरको साथ चाहिन्छ । मलाई हजारौँ बच्चाको आमा बन्नु छ । त्यसैले यो देशका कुना कन्दरामा रहेका आमाबुवाको मायाबाट वञ्चित भएका ती कलिला मुनाहरुलाई आमाबुवाको मायाको अभावको आभाष हुन दिने छैन । हजुरले भन्नुभएमा आफ्नो ठाउँबाट उनीहरुलाई शिक्षाको ज्योतिले फैलाउने काममा सहयोग गर्न नितान्त जरुरी छ । त्यसो गर्नुभयो भने आजसम्म हजुरले गरेको गल्ती वा पाप त्यसैमा पखालिने छ ।

हजुरलाई पाप पखाल्न चार धाम गएर तीर्थ व्रत गर्नुपर्ने छैन । हजुरलाई थाह छैन होला फ्रान्समा चुनाव आउँदा सबै नेताहरु आफ्ना कार्यकर्तालाई पछाडि लगाएर व्यक्तिगत खर्च गर्दै भोट माग्न हिँडेका थिए, हाम्रो नेपालको जस्तै । तर एकजना भने आफ्नो पम्प्लेट बोकेर जनताको दैलोमा पुग्दै उनीहरुको हातमा पम्प्लेट थम्याउँदै हिँडिरहेको बेला एकजना साधारण व्यक्तिले भनेका थिए, ‘तपाईं एक्लै हिँड्नुभएको छ, आफ्नो भोटका लागि, किन तपाईंसँग तपाईंको कार्यकर्ता छैनन् ?’ उहाँले भन्नुभएको थियो ‘आज मैले कार्यकर्तालाई पछाडि लगाएँ भने मैँले पाल्नुपर्छ, त्यति गर्दा पनि मैले चुनाव जितिन भने मलाई पछुतो हुनेछ । यदि जिते भने पनि म भ्रष्ट हुनेछु ।’ त्यसैले यही कुरालाई मनन् गर्दै हजुरले ती अनाथ बालबालिकालाई सहयोग गर्नुभयो भने हजुर एक निष्ठावान् र सफल राजनेता हुनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ भेट र सहयोगको आशा प्रकट गर्दै निरन्तर चलिरहेको कलमको टुप्पोलाई विश्राम दिन्छु ।
सुर्खेत

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल