तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने ?

-  |   प्रदीप पंगेनी

तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने ?

pradip-pangeniकेही दिनदेखि देश विदेश र सामाजिक सञ्जालमा एउटा गजबको व्यङ्ग्य अथवा चर्चा भाइरल बनेको छ ‘तरकारीवाली’ हि हि … सुन्दा हास्यास्पद लाग्यो । किनकि म मुग्लानमा रगत पसिनासँग दैनिक तातो गर्मीमा श्रम बेचेर केही हदसम्म रेमिट्यान्सले देश धानेको छु । हो त्यही तातो रगत भएरै होला मनको कुरा लेख्ने जमर्को गरेँ । म पनि एउटा मिडियाकर्मी अथवा सञ्चारकर्मी हँु, अहिले युग नै सञ्चारको रहेको मान्नुपर्छ । तरकारीवालीजस्तै भाइरल र सरकारको नजरमा कहिले पर्ने हुन् त खाडीमा सडेका लासहरू ? कहिलेसम्म विदेशको कुना कुनाको अस्पतालको मुर्दाघरमा सडेर गुम्नाम रूपले बस्नुपर्ने हो ? आखिर कहिलेसम्म पर्ने हुन् त च्याउसरीका मिडियाको नजरमा खाडीका लास तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई ‘माझी औँलाको सलाम ।’

केही दिनअघि भाइरल बनेको गोरखाकी तरकारीवाली युवती कुसुम श्रेष्ठको तस्बिरले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण नै गुम्नाम पारिदिएको थियो । च्याउसरीका नेपाल तथा विदेशी छापावाला र विद्युतीय अनलाइन पत्रपत्रिकाले खुबै चर्चाको साथ प्रकाशित गरे । एउटा यस्तो नेपालको कुना कुनामा योभन्दा निकै दयनीय र कारुनिक रूपले आफ्नो जीवन धान्नकै लागि कलिला किशोर, किशोरी किन मिडियाको नजरमा पदैनन् । खासमा कुरा के हो ? तरकारीवालीको जवानी हो, कि अन्य कुनै कारण हो तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई ‘माझी औँलाको सलाम ।’

‘कपालको रौँ कालो छँदै एउटा झोलामा आफ्नो अनेक सपनालाई प्याक गरेर आकाशको बाटो हुँदै यो बिरानो मुलुकको भूमिमा ल्यान्ड गरेको प्रदेशीहरू कहिले पर्ने हुन् त तिमीहरूको नजरमा । गर्मीको चर्को घाम अनि उजाड भूमिमा आफ्नो निधारबाट तप्प–तप्प चुहिएको पसिनालाई आफ्नो पाखुरीले पुस्दा–पुस्दै कालो कपला कति खेर सेतो हुन्छ, उसलाई पनि पत्तै हुँदैन । अझ दिनभरिको चर्को घाममा काम गरेर राति सुतेको मानिस बिहान जिउँदै उठ्छ कि ? या सदाको लागि सुत्छ, त्यसको पत्तो नहुँदो रहेछ यो प्रदेशमा ।’ अनि यही मुग्लानमा ढलेको शरीर वर्षौ वर्ष सडेर बस्नैपर्ने हो र ? तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई ‘माझी औँलाको सलाम’ त्यस्तै नेपालका प्रत्येक गाउँहरूमा जाने हो र मिडियाको नजर पुग्ने हो भने कुसुम जस्ता हजारौँ युवती तरकारी मात्रै होइन, भारी बोकी रहेको पाउने छौँ । त्यति टाढा नजाउ मिडियाकर्मीहरू तिमीहरूको नजरले भ्याउँदैन ।

नेपाल एउटा कृषि प्रधान देश हो, हेक्का रहोस् ! प्रायः नेपालीहरू कृषिमा नै छन्, कोही विदेशमा रगत पसिना बेचिरहेछन् । तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई ‘माझी औँलाको सलाम ।’

अन्त्यमा मलेसिया र खाडीका सयौँ लास कहिले मिडिया र सरकारको नजर पर्ने हुन् त जान्न मन लाग्यो जवाफ दिने कुनै निकाय छ कि ? तरकारीवालीको कुरा त छँदैछ, त्यस्तै शैलीका चायवला, कपडावला भैँसीवाली त कोही दारुवाला भए जस्तै हामी खाडीवालालाई कहिले भाइरल बनाउने हो । दुःख गर्दा गर्दै विदेशमा रहेको लासबारे कुनै खबर नबोल्ने पत्रकार र मिडिया अनि विशेषतः सरोकारवालाको नाङ्गो खोल ओडेर दुलोभित्र बसेका निकायलाई कहिले भाइरल बनाउने हो, जवाफ छ । यदि छ भने लामो समयदेखि आफ्नो आफ्नतको लास कुरेर बसेका परिवारलाई जवाफ देउ युग तिमीहरूकै छ, जता जता जे गरे पनि होइन र ? तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई ‘माझी औँलाको सलाम’ अझै मलेसियाको अस्पतालमा महिनौँदेखि लास नेपाल लैजान किन सकिएन त यसलाई भाइरल बनाउ दुई हात जोड्ने छु म प्रदीप पंगेनी ? होइन भने व्यङ्ग्य तरिकाको तरकारीवाली देख्ने, खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई ‘माझी औँलाको सलाम’ मात्रै ल ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल