भारतीय राष्ट्रपतिको रहस्यमय भ्रमण !

-  |   अमरदीप मोक्तान

भारतीय राष्ट्रपतिको रहस्यमय भ्रमण !

amardeep-moktanभारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण सम्पन्न भएको छ । नेपालका सत्तासिन नेताहरुले भारतीय राष्ट्रपतिको भ्रमण सम्पन्न भएकामा सन्तोषको सांस फेरेका होलान । भारतीय राष्ट्रपतिको भ्रमणप्रति नेपाली जनतामा त न कुनै हर्ष थियो न उमङ्ग नै । भारतीय राष्ट्रपतिको भ्रमणमा नेपाल सरकारले सुरक्षा व्यवस्थाको नाममा लगाएको अघोषित कर्फ्युले नेपाली जनता भारतले लगाएको नाकाबन्दी स्मरण गर्दै त्रसित हुन पुगे । राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण राजनीतिका साथ धार्मिक भ्रमण जस्तो पनि देखियो तर विचारणीय प्रश्न के छ भने उहाँले पशुपतिनाथ, जानकी मन्दिरमा पूजा दर्शन गर्नलाई प्राथमिकता दिए तर बौद्धनाथ, स्वयम्भुनाथ, लुम्बिनीलाई किन प्राथमिकतामा राखेनन् ? भारतीय राष्ट्रपतिले भ्रमणको क्रममा मोदी सरकारको जस्तै संविधानको विषयमा गम्भीर चासो व्यक्त गरे ।

छिमेकी मित्र राष्ट्र भारतले नेपालको विषयमा चिन्तन गर्नु विल्कुलै नराम्रो होइन तर जहाँ ‘अति’ त्यहाँ ‘खति’ अर्थात् भारतले नेपालको अन्तरिक मामिलामा अति चासो खतिको सङ्केत हो भनी बुझ्न जरुरी छ । नेपालका राष्ट्रपतिले भारत भ्रमणका क्रममा गोर्खाल्यान्ड राज्य निर्माणको सम्बन्धमा जानकारी लिन खोजे भारत सरकार को के प्रतिक्रिया हुने थियो ? पाकिस्तानका राष्ट्रपतिले भारत भ्रमणको क्रममा कस्मिरका आन्दोलनकारीसँग भेटघाट तथा भारत सरकारसँग कस्मिरका विषयमा कुरा उठाए भारतको के प्रतिक्रिया हुने थियो ? गत वर्ष पाकिस्तानको स्वतन्त्रता दिवसमा पाकिस्तानी दूतावासले कस्मिरी आन्दोलनकारीलाई निम्तो दिएकामा भारत रुष्ट भएको थियो । कस्मिरी आन्दोलकारी नेतालाई पाकिस्तानी दूतावासमा आउन नै दिइएन । कटु सत्य के हो भने भारतले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा अहिलेसम्म स्वीकार नगरेको स्पष्ट देखिन्छ ।

भारतीय राष्ट्रपतिको भ्रमणसँगै अन्य भ्रमण पनि कम रहस्यमय छैनन् । जस्तो कुनै न कुनै बहानामा परराष्ट्रमन्त्री प्रकाशशरण महतको निरन्तर भारत भ्रमण, गृहमन्त्री बिमलेन्द्र निधिको निरन्तर भारत भ्रमण, त्यसैगरी नेपाली काङ्ग्रेसका अध्यक्ष शेरबहादुर देउवाको भारत भ्रमण देख्दा नेपाल एक राष्ट्र न भई नेपाल भारतको एक प्रान्तमा परिणत भएको प्रतीत हुन्छ । नेपालमा समस्याका थाँती छन् । संविधान कार्यान्वयनमा अवरोध कायम छ । तीन तीनवटा चुनाव गर्नुपर्ने छ तर त्यस्ता महत्वपूर्ण कामप्रति बेवास्ता गर्दै जहिले पनि जस्तो सुकै कार्यक्रममा भारतले बोलाएको बेला नेताहरु दौडिहाल्ने कारण बुझ्न सकिएन ? याद राख्नुपर्ने कुरा के हो भने यस्तो प्रकारको बाक्लो भारतको बोलाहट र नेताको दिल्ली दौडाहा सुखद् सङ्केत होइन ।

भारतीय राष्ट्रपतिसँग भेट गर्न लाम लगेर नेताहरुको अनिवार्य उपस्थिति र राष्ट्रपति प्रणव मुखर्जीले सबैसँग छुट्टाछुटै भेटघाट तथा जानकारी लिएको देख्दा नेपाली जनताले अपमानित महशुस गरेका छन् । राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउन नेपाल राष्ट्र भनेको नेपाली नेता मात्रै हुन् जस्तै गरी प्रचण्ड सरकारले नेपाली जनतालाई बहिष्कार गरेको, बन्धक बनाएको र हेप्ने कार्य गरेको छ । नेपाल भारत सम्बन्धमा आएको चिसोपनलाई मथ्थर पार्न भारतीय राष्ट्रपतिको भ्रमण विल्कुलै होइन । उपलब्धिविहीन प्रचण्डको भारत भ्रमण नेपाललाई चक्रव्यूहमा फसाउन प्रायोजित थियो । त्यस्तै प्रकारले भारतीय राष्ट्रपतिको भ्रमण कुनै न कुनै उद्देस्यका लागि बनाइएको प्रायोजित भ्रमण मात्र हो । नेपाली जनता भारतीय राष्ट्रपति प्रणव मुखर्जीको रहस्यमय भ्रमणप्रति सशङ्कित छन् ।

भारत जस्तो शक्तिशाली विशाल राष्ट्रका राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा प्रायजसो भारतीय सञ्चार माध्यम मौन देखिनुले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण रहस्यमय बनेको छ । सानो विषयलाई ठूलो बनाएर प्रस्तुत गर्न महारत हासिल भएको भारतीय भारतीय सञ्चार माध्यमले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको समाचारलाई प्राथमिकता किन दिएनन् ? जबकि भारतीय राष्ट्रपतिको नेपालबाहेकका देशमा भ्रमण गर्दा भारतीय सञ्चार माध्यमद्वारा जोरतोडले प्रसारित गर्ने गरिन्छ ।

नेपालमा भारतद्वारा अघोषित नाकाबन्दी लगाउँदा नेपालका ‘मधेस जल रहा है’ शीर्षकका साथ मधेसवादीले गरेको आन्दोलनलाई ठूलो बनाएर प्रस्तुत गर्ने त्यस्तै गरी नेपाल चीनबीच भएको सन्धिले गर्दा भारत घेरिएको भारतको सुरक्षा खतरामा परेको भनी ठूलो बनाएर प्रस्तुत गर्ने भारतीय सञ्चार माध्यम भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणप्रति मौनताले पनि भ्रमण रहस्यमय बनेको छ । नेपालमाथि अमानवीय तरिकाले अघोषित नाकाबन्दी गरेको भुलको पश्चाताप गर्न भारत नेपालबीच सम्बन्धमा चिसोपनलाई मथ्थर पार्न सुमधुर बनाउन राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण भएको हो भनौँ भने त्यो पनि देखिएन । बरु नेपालको संविधानमा भारतले चाहेको जस्तो संशोधन होस् भनी सरल तथा मीठो भाषामा सङ्केत दिएको जस्तो प्रतीत भयो । भारत र चीन नेपालका छिमेकी मित्र राष्ट्र हुन् । नेपालको लागि दुवै मित्र राष्ट्र समान हुन् । नेपालका नेताद्वारा चीनतर्फ ढल्केर भारत गुमाउनु हुँदैन भने त्यसैगरी भारततर्फ ढल्केर चीन गुमाउनु हुँदैन भन्ने विषयमा गम्भीर हुन अत्यन्त जरुरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल