भैरहवामा एनआरएनसँग नियमका कुरा र पत्रकारसँग भनसुनका कुरा

-  |   सुधिरमान सिंह बि.के.

भैरहवामा एनआरएनसँग नियमका कुरा र पत्रकारसँग भनसुनका कुरा

sudhir-manराजधानीमा विगत छ वर्षदेखि एउटा ट्रष्ट उन्मुख कलेजमा अध्यापन र आफ्नै निजी व्यवसाय भएकाले यसपालि पनि अष्टमीदेखि पूर्णीमासम्म भैरहवा बसाइँ रह्यो । पूर्णीमा लगतै स–परिवार काठमाडौँ फर्किन पर्यो तर काठमाडौँ फर्किएको ठीक चार दिनपछि नेकपा एमाले रूपन्देहीको आठौँ जिल्ला अधिवेशनको छेको पारेर पुनः भैरहवा फिर्ने अवसर जुर्यो । तीन दिन (कात्तिक ६–८) सम्मको अधिवेशन पाँचौँ दिनसम्म लम्बिदा काठमाडौँबाट श्रीमतीले कहिले फर्कने हो भनेर बारम्बार प्रश्न गरिरहिन् ।

कात्तिक १० गते, भैरहवाको पुरानो र प्रसिद्ध पत्रिका पसल ‘हाम्रो पसल’ अगाडि निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीबारे अखबारमा छापिएको लेख पढिरहेको थिए । सोही बखत एक परिचित स्वर दाई नमस्ते भन्दै मेरो कानमा गुन्जियो । ओहो ! भैरहवाका युवा पत्रकार पो रहेछन् । जसले रा.स.स लगायत स्थानीय पत्रिकाको लागि कलम चलाउँछन् । जमकाभेटकै क्रममा उसले चियापसलमा जलपानको लागि अनुरोध गर्यो र मैले सहर्ष स्वीकार गरेँ । हामी दुई भैरहवास्थिति अमृत मिष्ठान भण्डारतर्फ लाग्यौँ ।

पत्रकार साथीले हामी दुवैका लागि चिया परोठा अर्डर गर्यो । दुवैले सेतो चियाको पहिलो चुस्कि लिँदै थियौँ । मेरो मोबाइलमा एकाएक घण्टी बज्यो । फोन उठाउँदा एक एनआरएन साथीले मलाई कहाँ छौ भनि सोध्यो । मैले आफू अमृत मिष्ठानमा रहेको जानकारी दिएँ । उ पाँच मिनेटभित्रै हाम्रो चिया गफमा सामेल हुन आइपुग्यो । दुइ वर्ष अगाडि क्यानाडाको पि.आर पाएर क्यानाडा पुगेको साथी दसैँ तिहार मनाउन स–परिवार नेपाल फिरेको रहेछ । क्यानाडा देशबारे मेरो जिज्ञासामा उसले एक–दुई सटिक उत्तर दियो । नियम कानुनबमोजिम चलेको देश । साना ठूला सबैका लागि समान नियम लागू हुने देश । यतिमात्र उसले के भनेको थियो मिष्ठान भण्डार बाहिर त ट्राफिक प्रहरीको निलो भ्यान र केही ट्राफिक जवान सिटी फुक्दै गरेको दृश्य देखा पर्यो । बाहिर रहेको कार निषेधित क्षेत्रमा पार्कीङ गरिएको रहेछ । ट्राफिक प्रहरी उक्त कारको ड्राइभरको खोजीमा रहेछ । लौजा ! गाडी त मेरै पत्रकार साथीको पो रहेछ । अलिक अप्ठ्यारो महसुस गदै उ बाहिर निस्कियो । त्यसपछि ट्राफिक भ्यानभित्र बसेका ट्राफिक अधिकृत छेउमा गयो । ओहो ! सर तपाईं भन्दै हात मिलायो । कति मज्जा ! ट्राफिक अधिकृत त उसै चिनजानको मान्छे परेछ । ती अधिकृतले आफ्ना जवानहरूलाई बोलाएर भने “हिँड् जाऊ केटा हो, गाडी आफ्नै मान्छेको रहेछ ।”

पत्रकार साथी हर्षित मुद्रामा पुनः चिया गफमै सामेल भयो । यदि उसकोे स्थानमा कुनै सामान्य नागरिक भएको भए ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा जरिवाना तिर्नुपर्ने थियो । ट्राफिक नियम उल्लङ्घनकै प्रसङ्गमा एनआरएन साथीले क्यानाडामा ठूला–साना सबैका लागि एकै नियम भएको र उल्लङ्घनकर्ता जो कोही सजायको भागिदार हुने कुरा अवगत गरायो । उसले आफू क्यानाडा छँदा त्यहाँको हस्पिटल परिसरमा पाँच सेकेण्डमात्र ढिला गाडी पार्किङ गर्दा जरिवाना तिर्नुपरेको कुरा स¬(विस्तार बतायो ।

चियागफकै क्रममा २÷४ वर्षमा मेरा दौतरीहरू घर–जग्गा व्यवसायबाट रातारात करोडपति बनेका र अत्यन्त महँगा सवारी साधनका धनी भएको प्रसङ्ग मैले उप्काए । यसै प्रसङ्गमा हाम्रा दौतरीहरू नव धनाढ्य भएकोमा खुसी हुनुभन्दा ती धनाढ्यद्वारा सरकारलाई तिर्नुपर्ने कर, भ्याट तिरेका छन् वा छैनन् भन्ने जिज्ञासा क्यानेडियन साथीले राख्यो । क्यानाडामा नागरिकले सरकारलाई कर तिर्ने कुरा प्राथमिकतामा पर्दो रहेछ न कि कुन व्यक्तिले कति धन सम्पत्ति जोडेको छ ।
विडम्बना नै भनौँ, नेपालमा कुन व्यक्तिले कति धेरै धन सम्पत्ति, गाडी–घोडा जोडेको छ भनेर बहस हुन्छ । उसले आर्जन गरेको सम्पत्तिकै आधारमा उसलाई समाजले मान सम्मान दिन्छ तर उक्त धन सम्पत्ति आर्जन कर्ताले राज्यलाई तिनुपर्ने अनिवार्य कर तिरेको छ वा छैन भन्ने विषयमा बिरलै छलफल हुन्छ । राज्यको साधन स्रोत प्रयोग गरेर नागरिक धनी भइरहने तर उसले राज्यलाई तिर्नुपर्ने न्यूनतम कर पनि छलि गर्ने प्रवृत्तिले नेपाललाई भविष्यमा मध्यम आय भएको देश होइन, अल्पविकसित देशकै भुमरीमा अल्मल्याउँछ । यस्तो परिस्थिति यथावत् रहेसम्म देश कहिले उँभो नलाग्ने निष्र्कषसहित हाम्रो चिया गफको अन्त भयो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल