बिजौरी हत्या काण्डका २२ वर्ष, यसरी भएको थियो घटना

  |   वर्षात भण्डारी

बिजौरी हत्या काण्डका २२ वर्ष, यसरी भएको थियो घटना

२०५१ साल कार्तिक १७ गते करिब पौने पाँच बजेतिर देश पूरै चुनावमय थियो । कार्तिक २९ गतेका लागि तोकिएको निर्वाचन प्रचारप्रसारमा दलहरू कम्मर कसेर लागेका थिए । त्यो माहोल दाङमा पनि थियो । साम, दाम, दण्ड, भेठ लगाएर भए पनि चुनावी परिणामा आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र त्यसका केही उम्मेदवार लागेका थिए । सरकार काँग्रेसकै भएका कारण डाडु पन्यु उसकै हातमा थियो । राज्य सत्ताको दुरूपयोग गरेर विपक्षीलाई सिध्याउने ध्याउन्नमा काँग्रेस रहेको बूढापाकाहरू अहिले पनि बताउँछन् ।barshat-bhandari

२०४८ सालमा काँग्रेसलाई बहुमत प्राप्त भएपछि त्यसबेला काँग्रेसीहरूमा एक किसिमको उन्मात चढेको विश्लेषकहरू बताउँछन् । आफ्नो पार्टीभित्र पनि कुनै फरक मत राख्छ भने उसलाई राजनीतिक वा भौतिक रूपमै सिध्याउन पछि नपर्ने गरी २०५१ को निर्वाचनमा काँग्रेस होमिएको थियो । विपक्षीलाई गोली ठोक्नु त काँग्रेसका केही उम्मेदवारलाई सामान्यजस्तै थियो । त्यसमा तत्कालीन यातायात मन्त्री खुमबहादुर खड्का एक नम्बरमै थिए । अनि त्यसबेला दाङ क्षेत्र नम्बर तीनका काँग्रेसका उम्मेदवार वर्तमान काँग्रेसका केन्द्रीय सदस्य एवं सिँचाइ मन्त्री दीपक गिरी पनि जल्दाबल्दा युवा नै थिए । एमालेबाट पनि प्रखर वक्ता शङ्कर पोख्रेल चुनावी मैदानमा थिए ।
पार्टीले दीपक गिरीलाई उम्मेदवार बनाएको खुमबहादुरलाई चित्त नबुझेको एकथरिको बुझाइ छ । एकथरि मानिस भने खुमबहादुरले दाङका सबै निर्वाचन क्षेत्र जितेर केन्द्रमा अझै बाघ बनेर जाने ध्याउन्नका कारण घटना घटाएको बुझाइ छ । गिरीलाई जसरी भए हराउन भित्री रूपमा खुमबहादुरले खेल रचेका अहिले पनि चर्चा हुने गर्छ । यसैका कारण खुमबहादुरको प्रत्यक्ष निर्देशनमा गोली चलाइएको काँग्रेसका केही बूढापाका दाबी गर्छन् । हत्या काण्डकै कारण काँग्रेसका उम्मेदवार गिरीले एमालेका उम्मेदवारसँग पराजय भोगको पनि काँग्रीसीहरू दाबी गर्छन् । त्यसदेखि यता दीपक गिरी र खुमबहादुर खड्काको पानी बाराबारको अवस्था छ । ६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचनका बेला पनि गिरीलाई हराउन खड्का लागेको चर्चा हुने गर्छ तर पछि खुमबहादुर भ्रष्टाचारको आरोपमा जेल गएपछि ७० को चुनावमा दीपक गिरीले दाङ क्षेत्र नम्बर ५ बाट चुनाव जिते । अहिले उनी मन्त्री पनि छन् ।
कसरी भयो घटना
एमालेको चुनावी जुलुस लगाउँदै बिजौरीबाट अगाडि बढिरहेको थियो । घोराही तुलसीपुर सडकखण्डको मानपुर कुलोनेर पुग्दा प्रहरीको सहयोगमा हातहातमा लाठी बोकेका काँग्रेसीहरू जुलुसलाई गन्तव्यतर्फ जान नदिने उद्देश्यले रोक्न आइपुगे तर छिटो दुधार पुगी चुनावीसभा गर्ने अभिलाशा बोकका एमाले नेता कार्यकर्ता रोकिएनन् र विपक्षीलाई पेल्दै जुलुस अगाडि बढ्यो ।
यत्तिकैमा जुलुस रोक्न नसकेका विपक्षी एमालेको त्यो जुलुसमा ढुङ्गा प्रहार गरे । अति भएपछि जवाफमा एमालेका कार्यकर्ताले पनि ढुङ्गाको बदला ढुङ्गा प्रहार गरे । केहीबेरको ढुङ्गा हानाहानपछि बिजौरी आर्युेवेद अस्पतालको अगाडि आँपको बगैँचा, दक्षिणतर्फको बार अनि काँग्रेस पार्टी कार्यालय अगाडि सडक पेटीबाट एकाएक गोलीको वर्षा भयो ।
एमालेका नेताकार्यकर्ताहरू एकाएक ढले । केहीबेर अघिसम्म हसिया हतौडा र सूर्यका झण्डा फहराइरहेका एमालेजन रक्ताम्य भए । भागाभाग गर्न बाध्य भए । एमालेका आधादर्जन कार्यकर्ता ठाउँको ठाउँ ढले । ढिकपुर सेवारका नारायण चौधरीको शहादत त्यसै दिन भयो । गम्भीर घाइते पुष्प घिमिरे, कृष्ण चौधरी, शिवराज गौतम, श्रीमणि आचार्य, ठगेन्द वली, कमल डिसी, खगेश्वर भण्डारी लगायतकालाई नेपालगञ्ज हुँदै काठमाडौँ लगियो । पुष्प घिमिरे र कृष्ण चौधरीको उपचारकै क्रममा २० गते वीर अस्पतालमा शहादत भयो । शवलाई खुला मञ्चमा श्रदाञ्जलिका लागि राखियो ।
नेकपा एमालेका नेताहरू र काठमाडौँवासी सारा जनताले श्रदाञ्जलि दिएपछि दाहसंस्कार गरियो । सोही घाटमा कुटपीटबाट थलिएका मानपुर लक्ष्मीपुरका फर्साराम देवकोटको थलिएरै केही समयपश्चात् निधन भयो । त्यस घटनामा शरीरभरि लागेका गोली निकाल्न नसकेर शरीरभरि गोली लिएर दङ्गाली कम्युनिस्टका धरोहर लोकप्रिय नेता श्रीमणि आचार्यको शरीरमा रहेका गोलीका कारण क्यान्सर भएर २०६४ पुष ३ गते निधन भयो ।
यसरी उक्त हत्याकाण्डमा नारायण चौधरी, पुष्प घिमिरे, कृष्ण चौधरी, फर्साराम देवकाटा, श्रीमणि आचार्य र शिवराज गौतम गरी छ जना होनहार नेता कार्यकर्ताले जीवन गुमाएका छन् ।
दाङ जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका युवा नेताका शङ्कर पोख्रेललाई विजयी बनाएर त्यहाँका  जनताले हत्यारालाई गतिलो झापड दिए । पैसा, गुण्डा र हतियारले मात्र चुनाव जितिदोरहेनछ भन्ने प्रमाणित जनताले गरिदिए ।
मध्यावधि निर्वाचनपश्चात् नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नेपालको इतिहासमा पहिलो पटक कम्युनिस्टहरूको सरकार बन्यो तर विडम्बना त्यस सरकारले हत्याराहरूलाई कारबाहीको दायरमा ल्याउनका लागि कुनै ठोस पहल गरेन । हत्यारालाई कारबाही र पक्रने त परैको कुरा सहिद परिवारलाई समेत एमालेले राम्रोसँग हेर्न नसकेको सहिद परिवारजन र कार्यकर्ताहरूको गुनासो छ । बिजोरी हत्याकाण्डलाई नेकपा एमाले दाङले वर्षको एकपटक औपचारिक कार्यक्रम गरी सम्झने गरेको छ । त्यसमा पनि नेताहरूले एक अर्कालाई आरोप प्रत्यारोपमै खर्चने गरेका छन् । यसले गर्दा बिजौरी गोलीकाण्डमा मारिएका कार्यकर्ताको के साँच्चिकै सम्मान होला । नेकपा एमालेका दङ्गाली नेता कार्यकर्ताले एक पटक छातीमा हात राखेर सोच्ने बेला आएको छ ।

एमाले ५१ सालपछि पनि पटक–पटक सरकारमा गएको छ तर पनि बिजौरी हत्याकाण्डका लगायत अन्य विभिन्न रहस्यमय घटनाबाट हत्या गरिएका एमालेका नेता कार्यक्रताको छानबिन गर्न सकेको छैन । जसले गर्दा एमालेका सच्चा नेता कार्यकर्ताको मन रोइरहेको छ । पहुँच भएका सहिद परिवारलाई एमालेले केही रूपमा हेरे पनि सोझा सहिद परिवारलाई खासै उल्लेख्य सहयोग नगरेको एमाले कार्यकर्ताको दुखेसो छ ।
कुनै पनि बहानामा मान्छे मारिनु ठीक होइन । राजनीतिक प्रतिशोधमा हाम्रो नेपालमा धेरै हत्या भएका छन् तर दोषी राजनीतिक आडमा खुलेआम हिँडिरहेका छन् । पछिल्लो समय एमालेका स्थानीय नेताहरू एक आर्कामा झगडा गर्ने, गलत क्रियाकलाप गर्नेहरूलाई संरक्षण गर्ने काममा लाग्दा सच्चा एमालेका कार्यकर्ताको मन झनै रोएको छ । पार्टीप्रति वितृष्णा बढेको छ । पार्टी बनाउने भन्दा पनि आफ्ना मान्छेहरू बनाउने गलत क्रियाकलापले गर्दा एमाले दाङ लामो समयसम्म अस्तव्यस्त बन्यो ।
केही समयअघि मात्र नेकपा एमाले दाङको १२औँ अधिवेशन सकिएको छ । यो अधिवेशनले केही असन्तुष्टिलाई संशोधन गरे पनि पूर्ण रूपमा विवादलाई साम्य पार्न खोजेको छैन तर पनि अहिलेको नेतृत्वलाई एक त्यागी, इमानदार र सर्वहाराको रूपमा लिइएका कारण एमाले दाङ राम्रो बन्ने आशङ्काका किरण पलाएको छन् तर पनि यो नेतृत्वलाई असफल पार्नका लागि केही नवधनाड्य र बोक्रे डनहरू कम्मर कसेर लागेका छन् । उनीहरूले विभिन्न व्यक्तिलाई, पार्टीलाई अस्तव्यस्त बनाउन परिचालित गरेका छन् । एमालेका कार्यकर्ताको नाममा त्यस्ता व्यक्ति खानपानमा लिप्त भई पार्टी हित विपरीत काम गरिरहेका छन् । पार्टीमा भाँडभैलो मच्चाएर धमिलो पानीमा माछा मार्ने हेतुले आफ्नो पार्टीका गोप्य निर्णय पुस्तिका समेत आम सञ्चार माध्यमबाट सार्वजनिक गरिनुले पनि यो कुरा प्रस्ट हुन्छ ।
यस्ता हर्कत देख्दा फेरि पनि एमाले दाङमा उस्तै भाँडभैलो आउने हो कि भन्ने आम कार्यकर्तालाई सताउने गरेको छ तर पनि नेतृत्वले कसैको प्रभावमा नपरी पार्टीलाई एकढिक्का बनाएर छोड्ने दाबी गरेको छ । अनि गलत तŒवलाई पार्टीबाट फ्याँकेरै छाड्ने प्रतिबद्धता जनाएको छ ।
यस्ता कुरा विगतमा पनि नभएका होइनन् । विगतमा जस्तै फेरि पनि कसैको व्यक्तिगत स्वार्थका लागि एमाले दाङको नेतृत्व लाग्यो भने सहिदहरूको सम्मान हुनेछैन । उनीहरूको रगतले दाङलाई पोल्नेछ । अनि विगतका दुई वटा निर्वाचनमा जस्तै एमालले सजाय भोग्नुपर्ने बाध्यता हुनेछ । त्यसैले तपाईं हामी सबै कार्यकर्ता एमालेलाई फुटाउन होइन जुटाउन लागौँ ।
विभिन्न एमाले काँग्रेसका नेताका कुरा र विभिन्न किताबको अध्ययनमा आधारित रहेर ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल