श्रीमती जागिरे होस्, घरको काम मै गर्छु

-  |   यमुना अर्याल

श्रीमती जागिरे होस्, घरको काम मै गर्छु

मङ्सिर अर्थात् लगनको महिना आउँदैछ । धेरै नवजोडी यो लगनमा सँगै जिउने मर्ने कसम खाँदै आफूहरू एक भएको उद्घोष गर्ने छन् । मेरो जीवनसाथी यस्तो होस्, उस्तो होस् बिहे नहुन्जेलसम्म धेरैको मनमा प्रश्न, कौतुहलता र जिज्ञासा खेल्ने गर्छ । आफ्नो हुनेवाला जीवनसाथी कस्तो होस् भन्ने चाहना राख्छन् त आम युवती ?yamuna-aryal

पक्कै हेर्दा लायकको, पढे–लेखेको, आफ्नो खुट्टामा उभिएको, झट्ट हेर्दा सबैले वाहवाह भन्ने खालको आदिआदि । यसको ठीक विपरीत युवाहरू कस्ती युवती आफ्नो जीवनसाथी होस् भन्ने चाहन्छन् होला त ?

झुलुक्क हेर्दा चट्ट राम्री, शरीर मिलेकी, गोरो अनुहार भएकी, फलानोकी श्रीमती त यति राम्री भन्ने खालकी ……..तर यति मात्रै होइन । अहिले हेर्दा अनुहार मात्र राम्रो भएकी गोरी युवतीभन्दा पनि आत्मनिर्भर युवती खोज्ने पुरुषको सङ्ख्या बढ्न थालेको छ । रूप गौण क्षमता प्रधान हुनथालेको छ ।

केही दिनअघिको कुरा हो, एक जना आफन्त बिहेको लागि केटी हेर्न गए । केटीको घरपरिवार, आफन्त सबै राम्रा थिए, खोट लगाउने ठाउँ कही थिएन । युवती पनि उनले चाहेको भन्दा धेरै राम्री थिइन् तर पनि उनी बिहेको लागि राजी हुन सकेनन् । अरू सबै ठीकै रहेछ तर केटीले जागिर खाएकी रहिनछ, अनुहार मात्र हेरेर के गर्नु, रूप होइन आफ्ना खुट्टामा उभिएका केटी पाएमात्र बिहे गर्ने भनेर हुनेवाला बेहुला बाहिरिए ।

केटीका आफन्तलाई केटीले कहीँ कुनै संस्थामा जागिर खाएकी छ छैन ? भन खुसुक्क सोद्धा केटीका आफन्त आपसमा कानेखुसी गरेको पनि सुने उनले । जागिरे हुँ भन्छ पाल्न नसक्ने भए किन बिहे गर्न आँट्नु नि ? सिधै केटी जागिरे हो कि होइन भन्छ बा केटीकी फुपुले साउती गरेको उनले सुनिहाले । अहिलेको यो महँगीको जमानामा एक जनाको कमाइले केही चल्दैन, पुग्दैन त्यसैले एक वर्ष ढिलो होस् तर आफ्नो खुट्टामा उभिएकी केटी पाएपछि मात्र बिहे गर्ने निर्णय छ उनको । यी आफन्त मात्रै होइन, अहिलेका अधिकांश दुःख गरेर सहर छिरेका युवाको चाहना आत्मनिर्भर सहयात्री रोज्नेतर्फ नै देखिन्छ । आर्थिक रूपमा मात्रै होइन, सामाजिक र पारिवारिक रूपमा पनि यो रोजाइले धेरै फरक पारेको छ । दुवै जना जागिरे भएकालाई हेर्ने नजर र श्रीमान्को कमाइ खाएर बसेका श्रीमतीलाई हेर्ने नजरमा धेरै फरक छ ।

अलि राम्रोसँग पढ् है नानी हो, अहिलेको जमानामा राम्रोसँग पढिएन भने जागिर पाइँदैन, जागिर नभएका केटीलाई कसैले बिहे गर्दैन । भर्खर आइकम पढ्दै गर्दा डिल्लीबजार कन्या क्याम्पसमा गुरुले सिकाएको यो वाक्य कानमा अहिले पनि घन्किरहन्छ ।

सरले किन यस्तो भन्नुभयो होला भन्ने लाग्थ्यो, अर्काको घर जाने जात हो, पाल्न सक्नेले लगिहाल्छ नि सर एक जना साथीले बीचैमा कुरा खुस्काउँदा सरले दिएको लामो लेक्चर निकै रोचक लाग्छ अहिले पनि । यही सोचाइका कारण तिम्रा आमा हजुरआमाहरू पछि परे, राजधानीमा पढ्न आएका छोरीमा समेत त्यही गुण छ, कमसेकम श्रीमान्ले मलाई पाल्ने होइन, म श्रीमान्लाई पाल्न सक्छु भन्ने आँट त गर न सरको यो वाणी कहिल्यै बिर्सन सकिँदैन । श्रीमान्ले खल्तीबाट पैसा निकालेर यति पैसाले पुराउनु मसँग धेरै पैसासैसा छैन, जसरी चलाउनुपर्छ चलाउनुभन्दा मनमा इख आउँछ कि आउँदैन ? भोलि मैले यसैगरी कमाएर श्रीमान्को हातमा यति पैसा छ जे मन लाग्छ किनेर लगाउनु भनेर दिँदाको अनुभव कस्तो होला ? सोच त ? सरको यही वाक्यले आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ सिकायो र आत्मनिर्भर भएपछि कसैसँग हेपिनुपर्ने रहेनछ भन्ने ज्ञान पनि दिलायो ।
एकजना आफन्तको घरमा छोराको बिहेको चर्चा चलेको तीन वर्ष पुगसक्यो तैपनि लगन जुरेको छैन । यसपटकको मङ्सिरमा जसरी पनि जेठी बुहार भिœयाउने आमा बुवाको रहर र दबाब दुवै छ छोरामाथि । छोरा सरकारी जागिरे हुन प्राविधिक लाइनका अफिसर स्तरका ।

आमाबुवाले दर्जनभन्दा धेरै केटीका कुरा ल्याइसके होलान् तर पनि उनलाई चित्त बुझेको छैन । रूप हेरेर राम्रो नराम्रो भएकोले होइन, प्राविधिक कारणले उनले आफन्तसँग सधैँ यही भन्ने गरेका छन् । जस्ता केटीका कुरा ल्याउँदा पनि हुँदैन भन्छ, अब कस्ता खोज्ने होस् आफैँ खोज बा–आमा उनीसँग झर्किन थालेका छन् । आफैँले कतै मन पराएको छ कि भन्दा छैन भन्छ, आमा बुवाले आफन्तले कुरा ल्याएको ठाउँमा कहिल्यै हुन्छ भन्दैन, आमाबुवाको एउटै गुनासो तीन वर्षदेखि दोहोरिएको छ । उनले आमाबुवालाई धेरै सम्झाएका छन्, राजधानीको ठाउँ, एउटाको कमाइले केही पनि हुँदैन, महँगीले आकाश छोइसक्यो ।

दुई जनाको कमाइ भयो भने कमसेकम जीविका चलाउन त कठिन पर्दैन । जागिरे केटी होस्, आफ्नो खुट्टामा उभिएकी बरु घरको सबै काम मै गर्छु, अहिले पनि काठमाडौँमा बस्दा आफ्नो कोठाको सारा धन्दा भ्याएकै छु, मलाई केही फरक पर्दैन । घरको काम गर्नको लागि बिहे गर्ने होइन, जीविका सजिलोसँग चलाउनको लागि सहयात्री खोज्ने हो । घरको धन्दा अहिले गरेकै छु, भोलि पनि गर्छु तर आत्मनिर्भर केटी चाहिन्छ । अनुहार राम्रा भएका र अर्काको कमाइमा रमाउने कथित सहरीया केटी बिहे गरेर मैले फेसन सोमा भाग लिन पठाउनु छैन, आफ्नै खुट्टामा उभिएका र केही गर्छु भन्ने आँट भएकी युवती मात्र आफ्नो लाग योग्य ठहरिन्छे, त्यो नपाएसम्म बरु यत्तिकै ठीक छ ।

उनको यो भनाइमा आमाबुवा धेरै खुसी छैनन् । सोझा केटी बिहे गर्नुपर्छ, आफूले भनेको मान्छन् भन्दा छोराले टेर्दैनन् । अहिले जागिरे केटी खोज भोलि त्यही जागिरेवालीले दबाएर राख्छे थाहा पाउलास् उनलाई आमा दिदीहरूले प्रायः यसै भन्ने गरेका छन् । जागिर खाएकी बुहारी घरमा भित्रिइ भने उसले आाफ्नो छोरो, भाइलाई दबाएर राख्छे, आफ्नो बसमा चलाउँछे, जोइटिङ्ग्रे बनाउँछे भन्ने मानसिकताले ती युवाका आफन्तलाई पोलिरहेको छ । आत्मनिर्भर केटी खोज्ने छोरोले दुई जनाको जागिर भयो भने जीविका चलाउन सहज हुने सोच्नु र सोझी केटीलाई बुहारी बनाउन पाए छोराले सुख पाउँथ्यो, हेपिदैनथ्यो, सासु–ससुराको राम्रो स्याहार हुन्थ्यो भन्ने आमाबुवाको चाहनाको बीचमा के अन्तर देखिन्छ ? सहजै अनुमान लगाउन सकिन्छ ।

छोरो गाउँ छाडेर सहरमा छिर्यो, आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने पाठ सिक्यो, उसलाई महिला र पुरुषले यो गर्नुहुन्छ हुँदैन भन्ने मतलव छैन ।

उसलाई सहर खर्चिलो छ, यहाँ टिक्नको लागि महिला पुरुष दुवैले सङ्घर्ष गर्नुपर्छ, एकल कमाइबाट जीवन धान्न मुस्किल पर्छ भन्ने कुरा राम्रोसँग थाहा छ र त ऊ आत्मनिर्भर केटी आफ्नो जीवनसाथी होस् भन्ने कल्पना गर्छ तर गाउँका सोझा आमाबुवाको लागि घर लिपपोत गर्ने, गोठको धन्दा गर्ने, मेलापात गर्ने, सासु–ससुराको स्याहार सुसार गर्ने सोझी बुहारीको चाहना हुन्छ । यसलाई अन्यथा मान्न सकिँदैन, समयको सवक पनि हो । हाम्रा आमा हजुरआमाले जे सिक्नुभयो, त्यही कुरा हामीलाई सुनाउनु हुन्छ, उहाँहरूका सबै कुरा हुबहु लागू गर्नैपर्छ, हुनैपर्छ भन्ने पनि केही छैन । मनन गर्ने र निर्णय लिने फरक कुरा हो । परिआएको खण्डमा जे पनि गर्न सक्नुपर्छ, त्यस्ता युवती र युवालाई आफ्नो जीवनसाथी बनाउने धेरैको कल्पना हुन्छ । कतिपयको वास्तविकतामा परिणत हुन्छ, कतिपयको कल्पनामै सिमित हुन्छ ।

बुहारीको कमाइ खाँदा मख्ख पर्ने सासु–ससुराको मुहारमा अर्कै चमक देखिन्छ । बुहारीले कमाएर दिएको छोराले दिएको भन्दा बढी मूल्यवान हुँदोरहेछ यो स्वयम् आफ्नै अनुभवले सिकाएको पाठ हो । मेरा सासु–ससुराले कहिल्यै पनि बुहारीले जागिर नखाओस् भन्नुभएन । अझ असी वर्ष उमेर पुगेकी हजुरआमाले जाँचको बेलामा घरधन्दा आफूले गरेर पढ्न समय दिनुहुन्छ ।

श्रीमान्बाट कहिल्यै दबाब आएन र अहिलेसम्म आफू हेपिनुपरेको पनि छैन । सबैका घरपरिवारले यस्तै स्वच्छ चाहना राख्ने हो भने महिलाले म श्रीमती हुँ, म बुहारी हुँ, बुहारी भएकोले यो गर्नुहुन्छ गर्नुहुन्दैन भन्ने भावना आउने थिएन । आत्मनिर्भर श्रीमती, आत्मनिर्भर बुुहारी बनाउनेतर्फ घरपरिवारले सहयोग गर्ने हो भने घरपरिवार चलाउन मात्रै होइन, परिवार खुसी राख्न पनि सजिलो हुन्छ, हिंसा पनि कम हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल