तिहार बिशेष: अमेरिकामा १२ बर्ष देखि बेख़बर भएको भाइको दिदीलाई धरधरी रुवाउने पत्र

  |   सरगम भट्टराई

तिहार बिशेष: अमेरिकामा १२ बर्ष देखि बेख़बर भएको भाइको दिदीलाई धरधरी रुवाउने पत्र

:

दिदी ! म यसकारण बेख़बर भएँ….


प्यारी दिदी ‘प्रिया’
सप्तरंगी माया सहित अन्तरंगी ढोग ।

unnamedसंचै छौ, छैनौ भनेर सोध्ने पनि अधिकार छ जस्तो लाग्दैन यतिका बर्ष सम्म बेखबर भएको मान्छेले !  तर दिदी ! तिमी मान या नमान  दिन रात तिम्रै याद साँचेर निरस जिन्दगी बाँचेको छु ।

तिमीले अनलाईनमा लेखेको खुला पत्र  गह भरि आँशु लिएर पढेँ,एक चोटी मात्र हैन धेरै चोटी पढेँ।  ढुंगाको मुटु बनाउँछु भनेर किन हुन्थ्यो र ? धेरै पटक भक्कानिएर रोएँ तर मेरा आँशुले मलाई नै गिज्याए । टेबलमा रहेको कागजको रुमालले आँशु पुछेर फोहरको डब्बामा के फ्याकेको थिएँ: तिमीले चिच्याएर ‘भाइ’ भनेको सुनेँ ।

मैले यता उता हेरेँ: कतै तिमी आयौ कि भनेर । यति टाढा अमेरिका त कसरी आउँथ्यौ र ? तर मेरो  मनले मानेन, झ्याल खोलेर हेरेँ, ढोका खोलेर बल्ल बल्ल बाहिर निस्केर हेरेँ : यता उता कतै देखिन । मैले आँखा हेरेको हेर्यै सपना देखेछु दिदी ! धेरै पछि मलाई यस्तो भयो ।

हो दिदी ! यो समाजले मलाई र तिमीलाई कति फरक बनाएछ है ! यतिका बर्ष म बेख़बर हुँदा पनि समाजले मलाई अमेरिका पुरुषार्थ गर्न गएको छ भनेर गर्व गरेको होला तर मलाई सम्झना छ तिमी बाटुली दिदीको  घरमा एक रात बस्दा छिमेकी काकीले गाउँ भरि कुरा काटेको, अनि आमाले तिमीलाई धेरै दिन सम्म घर बाहिर जान नदिएको मैले भुलेको छैन । कति बेमेल नियम छ है दिदी !

हो दिदी ! आई. ए पास गरेपछि मैले पखेटा हालेँ, किनकी मलाई यो समाजले स्वतन्त्र छाडिदिएको थियो, बुवा आमाको सम्पत्तिमा पनि मेरै हक़ लाग्ने रहेछ, त्यसैले घरखेत बेचेर अमेरिका पढ्न आएँ,  अहिले आएर बुझ्दैछु तिमी महान रहेछौ, म स्वार्थी रहेछु ।

हेरन साँच्चै ! बुढेसकालको लौरो बनेर बा आमाको सहारा बन्ने बेलामा म अमेरिका भाँसिए, तिम्रै भरमा छोडेर भनौँ या मतलब नै नगरेर । तिमीले बा आमाकै लागि बिहे नगरी बस्ने प्रतिज्ञा गरिरहँदा म चाहिँ बिद्द्यार्थी बनेर आएर कसरी अमेरिकाको ग्रीन कार्ड पाईन्छ भनेर यता उता छमर्को हेरिरहेको थिएँ ।

तिमीले बा आमाको बचन राख्न बिहे गरिछौ दिदी ! अति राम्रो गरिछौ, मैले तिम्रो गोडाको जल खान पाईन, तिमीलाई बोकेर डोली सम्म चढाउन पाईन, भाग्यमा नलेखेपछि नपाईने रहेछ ! मलाई  बिश्वास छ तिमीले बिहे गरेपनि बा आमाको ख्याल राखेकै छौ । मैले त अमेरिकाको भूत बाहेक अरु केहि देखिन, यहाँ आएपछि पाएको सास्ती देखेर बल्ल जीवन र जगत बुझेको छु ! मैले चाहेर पनि ती पुराना दिन फिर्ता ल्याउन सक्दिन, धेरै ढिलो भईसकेछ दिदी !

बुढ़ा भएका बा आमालाई एक मुठी पानी तताएर औषधि खुवाउने बेला म अहिले पनि यहि सेरोफेरोमा अल्झेको छु,  बुवा आमा हरेक साँझ मेरो बाटो हेर्नु हुन्छ होला तर म कसरी भनौँ उहाँहरुको दाग बत्ती दिन समेत मलाई आउन कठिन छ ! असाध्य कठिन छ । चाहेर पनि नेपाल आउन सक्दिन ! थाहा छैन अझै कति भाइटीकामा  मेरो घाँटीमा सजाउन तिमीले उनेको सयपत्री त्यसै ओईलाउने हो पत्तो छैन ! भाग्य भनौँ या नियति यस्तै रहेछ दिदी !

दिदी ! मलाई माफ गर है ! म बेख़बर हुनुको कारण मैले तिमीलाई सुनाउन सकिन । जानाजान बेख़बर बनेर म दिनरात कति रोएर बसेको छु म कसरी बताउँ तिमीलाई ? मेरो यो खबरले डाँडा माथिका जून बनेका बा आमालाई हृदयघात हुनेछ, सुन्न सक्ने छैनन् दिदी मेरो दर्दनाक खबर । बिन्ती छ दिदी ! मुटु दह्रो गराएर सहेर  बा आमालाई नभन्नू है । आज तिमीलाई सुनाएर मन हल्का पार्नुछ ।

anjali-maskey-3

तर दिदी ! म अमेरिकामा कहिल्यै बरालिएर हिडिन, कहिल्यै बार र क्लब धाईन, मलाई बा आमा र तिमीले सिकाएको संस्कारको राम्रो हेक्का थियो, त्यसैले मेरा आफन्त र समाजलाई नपच्ने काम मैले कहिल्यै गरिन ।

अमेरिका आएको तीन बर्ष सम्म हाम्रो सम्पर्क भएकै हो नि है ! त्यो बेलाको संघर्षको कथा मैले तिमीलाई केहि पनि भनिन, किनकी मैले त्यहाँ तपाईहरु सबैलाई रुवाउन चाहिन । शुरुका दिनमा कलेज जाने दौड़धूप हुन्थ्यो, केहि महिनामै कलेज फ़ी को जोहो गर्नु परेको थियो तर त्यो बेला बिद्यार्थी भएकोले कसैले मलाई काम दिएन । त्यो बेला अमेरिकामा चलेको आर्थिक मन्दीले गर्दा मैले काम पाईन ।

चारैतिर हिउँ परेर सेताम्मे भएको बेला म हरेक स्टोरका ढोका ढकढकाउन गएँ, घरपट्टीले भाडा नदिएकोले निकालिदिए पछि मेरो बास पुल मुनि भएको थियो, म रोएको आँशु भुईँमा खस्न नपाउँदै जमेर हिउँ हुन्थ्यो ! धेरै दिन म त्यहि हिउँ खाएर जीउँ धानेको कथा तिमीले सुन्न सक्थिन्यौ त्यसैले म बेख़बर भएँ दिदी !

सबै दुखहरु लेखुँ भने त पुरै लामो आत्मकथा नै बन्छ ! त्यहाँ तिमीले सुनेको र मैले भोगेको अमेरिका  एउटै रहेनछ, मान्छेहरुको भीडमा हराएको मान्छे म कति पटक मरेँ भन्ने म आफैलाई हेक्का छैन ! म आफैलाई हेक्का छैन । मेरो आँशु हेर्ने पनि कसलाई फ़ुर्सद होस् र यहाँ ! हो दिदी !सबैको आफ्नै आफ्नै ब्यस्तता रहेछ यहाँ ।

कलेजलाई  फ़ी तिर्न नसकेपछि म अवैधानिक भएँ, त्यसपछि म टिपनटापन बाहिरका कुल्ली काम गर्न थालेँ,  मैले जति बेला काम पाएँ, त्यति बेला सम्म जिन्दगीका सबै रंगहरु उडि सकेका थिए । फर्कूँ भने त्यत्रो ऋण थियो नफर्कू भने पाउनु सम्म दुख पाएँ मैले । छ महिना पछि  एउटा भारतीयको रेष्टुरेन्टमा भाँडा माझ्ने काम पाएँ, त्यहिँ मेक्सिकनहरु संग कोचिएर बस्ने कोठा पनि पाएँ । मान्छेहरुको सपनाको देश अमेरिकामा मेरो जिन्दगी भने भेँडा बाख्राको जस्तो थियो ।

मेरै अगाडि तिर मान्छेहरु मर्सिडिजमा कुकुरलाई म्वाईँ खाँदै लिएर गुडिरहँदा मैले धेरै पटक सोचेँ: अहा ! बरु  म पनि यस्तै कुकुर भएर जन्मेको भए….

एक बर्ष जति काम गरेपछि म छुट्टै कोठा लिएर बस्न थालेँ । जागिर पनि अर्कै गर्न थालेँ । त्यति बेला सम्म अमेरिकाको जिन्दगीको बारेमा अभ्यस्त भईसकेको थिएँ । घर छोड्नुको पीडालाई काम गर्दाको दुख र काम नपाउँदा पाएको दुखले बिषयान्तर गरेका थिए । यस बिचमा धेरै घरबार बिहीन अमेरिकनहरुको बारेमा देख्न जान्न पाएँ। तिमीलाई थाहा छ त्यहि बिचमा ऋण पनि त तिर्यौँ हामीले ।

हो दिदी !  घरदेशमा सबै वातावरण नमिलेर परदेशिए पनि मन त सबै त्यतै नै थियो मेरो, एउटा यस्तो रात छैन कि त्यहाँको सपना नदेखिएको होस, एउटा धड्कन पनि छैन कि तिमीलाई नसम्झेर नधड्केको होस्, हरेक दिन कोही मरेको देख्छु,घर पहिरोले बगाएको देख्छु एक्लै रुने र एक्लै आँशु पुछ्ने भाइलाई तिमीले निष्ठूरी भनेकी हौली  ! तर सबै कुरा थाहा पाएपछि तिमी पीडाले चिच्याउनेछ्यौ  दिदी ! हो ! तिम्रा आँशु रोकिने छैनन् ।

मेरो ज़िन्दगीमा ठूलो हुरी आईदियो दिदी ! धेरै पैसा कमाएर तपाईहरुलाई अमेरिका घुमाउने सपनाले गर्दा दिन रात मेहनत गरिरहेको थिएँ , नेपालमा राम्रो घर जग्गा जोड्ने सपना देखेको थिएँ । एउटा पाकिस्तानीको स्टोरमा दिनमा १६ घन्टा सम्म काम गर्दा कति थकाई लाग्थ्यो कति, तर त्यो सुन्दर मिलनको मिठो कल्पनामा म हराएपछि सबै पीडा भुल्थेँ !

जति जति राम्रा ठाउँ देख्थे ती सबै तिर तपाईहरुलाई घुमाउने सपना सजाएर राखेको कुरा मैले कसैलाई भनिन ! म आफैलाई मात्र थाहा थियो । यहाँको झट्ट हेर्दा स्वर्ग लाग्ने जीवन देखाउन देँखाउन लालायित थिएँ म ।

एक दिन थकित भएर काम बाट फर्कदै थिएँ, एकान्तको ठाउँमा बाटो काट्छु के भनेको थिएँ: अकस्मात् पछाडिबाट केही चिजले ठक्कर दियो ! त्यसपछि के भयो मलाई केहि थाहा भएन, तीन दिनपछि होशमा आउँदा म अस्पत्तालमा थिएँ, मेरो घुँडा देखि तल दुईवटै खुट्टा थिएनन् । मेरो देब्रे हातका दुई वटा औला थिएनन् ।

म छाँगा बाट खसे झैँ भएँ, मेरा खुट्टाहरु हैन सपनाहरु भाँचिएजस्तो लाग्यो, पलाउन लागेका खुशीहरु फेरि भाँचिए,  यस्तो हालतमा किन बाँचे हूँला जस्तो लाग्यो तर बिस्तारै जिन्दगी प्यारो लाग्ने रहेछ, सहनै पर्ने रहेछ …,

म कति रोएँ, त्यसको लेखा जोखा थिएन, त्यसबेला सम्म मेरो ग्रीन कार्ड बनेको थिएन, हेल्थ ईन्सुरेन्स नभएकोले कमाएको पैसा उपचारमा खर्च भयो, बाँच्न त बाँचे तर मूढ़ों जस्तो शरीर लिएर ।

म ह्विल चेयरमा हिडडुल गर्ने भएँ, छ महिना सम्म अस्पत्तालमै थिएँ त्यसै बिचमा मेरो ग्रीन कार्ड पनि आयो, मैले केहि काम गर्न सक्ने कुरा भएन , सरकारले दिएको सागुरो फ्ल्याटमा एक्लै बस्न थालेँ, साथी भाइहरु पनि खासै थिएनन्, त्यस्तो दुखमा पर्दा त कोहि भेट्न आएनन् मलाई । साँच्चै पैसाको अगाडि मानवता मर्ने रहेछ। तपाईँहरुलाई यस्तो समाचार म कसरी सुनाउन सक्थेँ ? म खबरले बेहाल भएर पनि बेखबर रहने निधो गरेँ ।

१२ बर्ष देखि दिन दिनै बा आमा र तिम्रो फोटो हेरेर रुन्छु, बा आमाले सुईय सुस्केरा हालेको जस्तो लाग्छ, मेरै बियोगमा राति कहराएको सपना देख्छु । साथी भाइ सबैले देउसी भैलो खेल्दा मलाई नै सम्झेको देख्छु !

 थाहा छ अहिले सबैलाई तिहारको चटारो छ,  तिम्रा बगिरहेका आँशु यहिँबाट देखेको छु तर मेरो यो दशा तपाईहरुलाई देखाउन मेरो हिम्मत छैन, यो सबै पीडा सुनाउन पनि मेरो हिम्मत छैन, म संग आधा शरीर र पूरा सम्झना बाँकी छ । मेरा लागि फूलेका ती मखमली र सयपत्रीका  माला ढोकामा झुण्ड्याएर राख्नू है ! कुनै दिन नियतिले कोल्टो फेरेछ र जादूमय परिवर्तन भएछ भने यहि हालतमै भएपनि म आउनेछु । नआएर म कहाँ जाउँ र आखिर मेरो आफ्नो भन्ने त हजुरहरु त हो नि हैन र ?

दिदी ! म आएँ भने सबै बिगतलाई माफ गरेर तिम्रो भाइलाई ह्विल चेयरमै भए पनि गाउँ भरि डुलाउनू है ! मलाई फेरि देउसी भैलो भट्ट्याउने मन छ,बिन्ती छ  दिदी ! बा आमालाई मेरो कारुणिक कथा नसुनाईदिनू । म निरीह छोरो भन्दा तिमी धेरै गुना महान छौ । बा आमाको राम्रो ख़्याल राख्नू है ! एउटा बेकामे छोरोले भन्दा तिमीले धेरै गुना माया गरेर पाल्नू है !

अहिले म केहि कमाउन सक्दिन, अरुकै भरमा मृत्यु कुर्ने बाहेक मेरो कुनै बिकल्प छैन । सके म यहि जुनीमा आउनेछु नसके अर्को जूनीमा म यसरी बिदेशिने छैन फेरि पनि तिम्रै भाइ भएर जन्मी तिम्रै हातको सप्तरंगी टीका लगाउन पाउँ, तिम्रै हातले उनेको सयपत्री लगाउने धोको छ दिदी !

बिन्ती छ दिदी ! मलाई प्रायश्चित्त गर्न देऊ ! मलाई तिम्रै भाइ बनेर फेरि जन्मने आशिर्वाद देऊ ।

तिम्रो बेख़बर भाइ:
प्रितम( वास्तविक घटनामा आधारित काल्पनिक पात्र)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल