कमाउने उद्देश्यले सडकमा मनपरी गर्नेको नाममा

-  |   अधिकारी रवीन्द्र

कमाउने उद्देश्यले सडकमा मनपरी गर्नेको नाममा

काठमाडौँका साँघुरा बाटा त्यसमाथि अनियन्त्रित सङ्ख्याका सवारी साधन, आफ्नै सुरमा हिँड्ने बेखबर पदयात्री, सडक दायाँ र बायाँ साइकल र मोटरसाइकल पार्किङ, अनि असरल्ल सामान बिस्कुनझैँ सुकाएर व्यापार गर्ने फुट्पाथ पसलेहरू र तिनका पसल । Author_Adhikary Rabindra
यो दृश्य असन इन्द्रचोकको मात्र नभई सम्भव भएसम्म सबैतिर यस्तै हो र बढ्दो बजारीकरण तिर उन्मुख प्रत्यक टोल, चोक र सहरको हालत यस्तै हुँदैछ । कारण, सबैको आफ्नो–आफ्नो धन्दा चलेकै छ । अनादिदेखी चल्दै आएको चलन फेरि दुई–चार जनाले बोलेर वा गरेर केनै होला ? सहनु सहयो, बेहोर्नु बेहोर्यो अनि आफ्नो बाटो लाग्यो । अनि कामना गर्यो भगवान् यो बाटो त कहिल्यै आउनु नपरोस् । आउनै परे विभिन्न वैकल्पिक बाटो अपनाउने मान्छे पनि व्याप्त छन् । कल्पना गरौँ, आधा करोडभन्दा बढी जनसङ्ख्या बोकेर बसेको काठमाडौँमा यो समस्या दैनिक कति जनालाई पर्ला ? सडक सानो छ ठीक हो, यो कुरा हल हुन समय लाग्छ तर विचार गरौँ कसै न कसैको गल्तीले यी समस्या बढिरहेका छन् र आफू आफूबाट सजकता अपनाए यी समस्या धेरै हदसम्म कम हुन्छन् । बोनी गर्न जोडतोडले कराइरहेको फुट्पाथेलाई जाम गर्यो भनेर सराप्ने चालकले गाडी वा बाइक रोक्दा सडक छेउ अन्धाधुन्द पार्किङ गरिदिन्छ । यसले ऊ पछि आउने कति जनाले कति सास्ती भोग्नुपर्छ, विचार गरेर यथोचित ठाउँमा पार्किङ गरिदिए कति जाती हुन्थ्यो ।
एउटा चालकले बाटोको दुरावस्थाले गर्दा वा कसै न कसैको असावधानीले करिब दैनिकजस्तो केही न केही लफडा बेहोर्नु परेकै हुन्छ । बाटोको खाल्डोमा घच्याक्क पर्दा अगाडिको कारलाई चुसुक्क छोएर कार धनीले ‘लौ कोरियो रङ गर्नुपर्छ पैसा तिर्छस् कि पुलिसथाना गएर कुरा मिलाउने ?’ भनेको कुरा कुनै मोटरसाइकल चालकलाई नौलो नहोला । कतिपटक मोबाइलमा कुरा गर्दै कालो चस्मा लगाएर निस्फिक्री आकाशमा हेरी बाटो काटिरहँदा कुहिनुमा छिसिक्क मोटरसाइकलले छोइ मोबाइल खसेर मोबाइलको हर्जाना त ठीकै हो, एक्स रे मात्र नभई सिटी स्क्यान र एम.आर.आइ. समेत गर्न लगाउने र वर्षौं अघिदेखिको पित्तथैलीसम्मको रोगको पूर्ण उपचार गराउन लगाउने भद्रभलादमीहरू पनि दैनिकजस्तो सडकमा भेटिन्छन् ।
चालकको पीडा हो यो कि कारणवश मोटरसाइकल लड्यो भने लिफ्ट माग्दै पछाडि बसेकाको पनि उपचार गरिदिनुपर्ने । लिफ्ट नदियो भने पनि छुच्चो होइने र अकल्पनीय निन्दाको शिकार हुनुपर्ने, दियो भने दुर्घटना नहुने मौन ग्यारेन्टी पनि साथमा दिनुपर्ने । अर्थात् मोटरसाइकलमा लिफ्ट माग्न हात हल्लाइरहेको कुनै सर्वसाधारणलाई देखेर मोटरसाइकल रोकिन्छ भने याद गर्नुस् गन्तव्यमा नपुगुन्जेल तपाईंले उसको स्वास्थ्य बीमाको ठेक्का लिनुभयो । नियममा के छ थाहा छैन तर चलनमा यस्तै छ ।
ताजा प्रसङ्ग जोडौँ । हिजै बिहान चापागाउँमा एउटा च्याँसे कुखुरा काल खोज्दै मोटरसाइकलको चक्का मुनी आएर मर्यो । मुस्किलले आधा केजी पनि अझै थिएन होला १५ सय तिर्नुपर्यो । मेरो जीवनले देखेको सबैभन्दा महँगो कुखुरा थियो त्यो तर हुलमूलमा कुखुरा पनि उनीहरूले नै राखे । घर सडक नजिक हुनेहरूको त यो गतिलो कमाई खाने भाँडो हँुदो रहेछ । कुखुरा–सुखुरा पाल्यो अनी बाटोमा छोडिदियो । कसैले किचेपछि सातो जाने गरी हर्जाना तिरायो अनी मासु पनि आफैँले खायो ।
बेलुका फर्किदै गर्दा थसिखेल आसपासको सहायक गल्लीमा एउटा स्यान्ट्रोले हाँस किच्यो, म त्यही स्यान्ट्रोको पछाडि क्लच दाबेर ढ्वार्र ढ्वार्र पार्दै थिए । स्यान्ट्रो चालक जगल्टे रहेछ, बाहिर निस्कियो र धुकधुकी बाँकी नै रहेको हाँस उचालेर हावामा हल्लाउँदै सोध्यो, ‘यो हाँसको धनी को ?’ उभिएका दुई–चार जनाबाट एउटा अध्बैँसे पुरुष नगद पुरस्कार पाइने आशामा खुसी हुँदै ‘म’ भन्दै अगाडि आयो । जगल्टेले बन्नाएर एक झापड गालामा हान्यो । ऐया नि भनेर गाला सुमर्दै त्यो पुरुष थुचुक्कै पेटीमा बस्यो । जगल्टे थप उफ्रियो, ‘बाटामा हाँस छोड्ने, हँ ? अब हाँस किचेपछि मेरो जीवनमा के अनिष्ट हुन्छ त जिम्मेवार हुन्छस् ?’
हाँस किचेपिछ किच्ने मान्छेलाई ठूलै दुर्भाग्य निम्तिन्छ भन्ने अन्धविश्वासबाट प्रेरित रहेछ ऊ । प्रायले त्यसैभन्दा पनि रहेछन् । पछाडि बस्ने एउटा केटो करायो, ‘यति बिस्तारै हिँड्ने हाँस जाबोलाई छलाएर हिँड्न नसक्ने सिकारु ड्राइभर रहेछ अनि के–केमा ठोक्कौदै हिँडेपछि अनिष्ट त उतिकै भइहाल्छ नि ।’ हुल केही तात्तिन आट्यो । उनीहरू पैसा तिराउने ताकमा थिए । अगाडि गएर जगल्टेको सपोर्टमा म बोले, ‘ठीकै छ, यो बाटोमा हाँस चराउने अनुमती उहाँले कसरी पाउनुभो ? यसको लालपुर्जा देखाउनुहोस् मागेजती हर्जाना तिर्न तयार छौँ ल, कि कसो दाजु ?’ स्यान्ट्रो चालकको रिस केही साम्य थियो, उ मौन नै बसिरह्योे । आखिरमा हाँस त्यही साहुको घरतिर फालेर हामी लाग्यौँ । बिहानको पन्ध्र सयको मार खेपेको अहिले केही शीतलता पनि प्राप्त भयो ।
हुन पनि हो, कुखुरा, हाँस, पाठा, कुकुर आदि इत्यादि पालेर बाटामा निर्धक्क छोडिदिने अनि घटना घटिसकेपछि मौका छोप्न आउनेलाई पैसा हैन गालामा चड्कन रन्थनिने गरी नै दिनुपर्छ । कुनै गतिलै पुरुषार्थ गरेझैँ नगदी इनाम थाप्न आउने मदहोस पशुसाहुलाई सवक सिकाउने योभन्दा ठूलो इनाम अरू के होला ? सार्वजनिक स्थल त्यहाँमाथि बाटो जस्तो अति संवेदनशील ठाउँमा यस्तो गतिविधि गर्नु अपराध नै हो । यसले निरीह पशुपक्षीको ज्यान अकालमा त जान्छ नै साथमा सडक दुर्घटनाका कारण सवारी चालक तथा यात्रुहरूको पनि ज्यान खतरामा पारिरहेका हुन्छन् ।
यस्तै गरेर सवारी चालकले मात्र हैन सामान्य सडक शिष्टाचार सबैले सिक्न र सिकाउन जरुरी छ । बाटामा जथाभावी नहिँड्ने, सतर्कतापूर्वक सडकपेटीबाट मात्र हिँड्ने, मन लाग्दी बाटो नकाट्ने, राम्रोसँग हेरेर जेब्रा क्रसिङबाट मात्र काट्ने, बच्चाहरूलाई खेल्न वा साइकल चलाउन बाटोको प्रयोग गर्न नदिने, साना बच्चाहरूलाई बाटामा डोर्याएर हिँड्दा बाटोतिर हैन छेउ वा भित्तोतिरको हातले समाएर हिँड्ने, बाटो छेउमा घर हुनेले आफ्नो वा आफूले पालेको पशुपक्षीको क्रियाकलापले सडक आवगमनमा पार्न सक्ने प्रभावका बारेमा सदैव हेक्का राख्नुपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल