राजनीति त गर्ने तर कसरी ?

-  |   मनोविज्ञान शर्मा

राजनीति त गर्ने तर कसरी ?

युवाले देश बनाउँछन् । युवा परिवर्तनका सम्वाहक हुन् । बूढाखाडाले छाडे देशमा कायाकल्प हुन्थ्यो । साँच्चै ? के नेविसंघ महाधिवेशनले त्यही देखाउँछ ? हजारिया केन्द्रीय सदस्यको नौटंकीले नयाँ नेपाल निर्माणका लागि आशा जगाएको छ ? बूढाहरुको पुच्छर बनेर प्रस्ट दुई खेमामा बाँडिएर चुनाव भिड्ने साथीहरुले देशको यो समयलाई आफ्नो मुट्ठीमा लिन सक्लान् ? कलेजमा समकालीन साथीहरुमा बढ्दै गएको राजनीतिक रौनकले विभिन्न प्रश्न सिर्जना गर्छ । आफूलाई राजनीतिमा होम्न भित्रैदेखि तयार भएर राजनीति गरेरै केही गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्छु । तर, दिमाग त्यतिबेला सड्िकन्छ तर कसरी गर्नेको प्रश्नले ।manobigyan sharmaa
हजारियाको भीडमा हेलिन जाऊँ ? एउटै संगठनमा काम गरेका साथीलाई हानाहान गरिरहेकाबीच प्रजातान्त्रिक बन्न पुगुँ ? वा मदनको जवज भजाउँदै केपी ओली र माधव नेपालको सुरूवालको इँजार समात्न पुगूँ ? आखिर राजनीति गर्ने कसरी ?
डाक्टर बन्ने पहिलो खुड्किलो एमबीबीएस परीक्षामा उत्तीर्ण हुनु हो । सरकारी जागिर खान, लोकसेवा पास गर्नुपर्छ । विभिन्न पद र ओहोदामा बस्न योग्यता र क्षमता चाहिन्छ भनेर संविधानमै उल्लेख छ । तर, ती सबै निकायलाई सञ्चालन गर्ने राजनीतिकर्मीको योग्यता क्षमता के ? राजनीति गर्नलाई विश्वविद्यालयको परीक्षा उत्तीर्ण गरेको कागज हुनुपर्छ भन्ने छैन । तर, के राष्ट्रका लागि काम गर्नेले समाज र राष्ट्र चिनाउने थोरै हैसियत राख्नु पर्दैन ? नैतिकता, नेतृत्व, क्षमता र समाजको अध्ययनविना कोही राजनीतिमा आउन सक्छ ? आए पनि के उसले समाज र राष्ट्रका लागि काम गर्ला ?
तर, यो सबै सिक्ने र जान्ने ठाउँ कहाँ छ ? राजनीति गर्नलाई मूलतः दुई÷तीन कुरा सिक्नैपर्छ । पार्टीको नेताले यो खड्छ है भनेर देखाउनेगरी चर्काे नारा लगाउनु ,नेताको विश्वासिलो पात्र बन्न उसको चाकडीमा उसैको वरिपरि घुमिरहनु दिन रात भृकुटीमन्डप र बानेश्वरतिर दुई÷चारजनालाई भेला गरेर गुठी चुटिरहनु बस तत्पश्चात् तपाईं खाँटीको नेतामा गनिनुहुन्छ ।
म कुन सिद्धान्तको जगमा कस्तो विचार वकालत गर्न, राजनीति गरिरहेछु, मैले राजनीति गरिरहँदा कुन वर्ग समुदायलाई ध्यान दिनुपर्ने हो ? भन्ने जस्ता आधारभूत कुरा मजस्ता बिस्तारै राजनीति गर्न अग्रसरता देखिरहेका युवालाई कसले भन्दिन्छ ?
अन्याय र अत्याचारविरूद्ध अन्तिमचोटि युद्ध गर्नुपर्ने हुंकार दिने विप्लवलाई पछ्याउने कि यस्तै रहेछ, यहाँको चलन भन्दै प्रजातान्त्रिक खेमामा समाहित हुने ? वा बाहिर क्रान्ति–क्रान्ति भन्दै भित्रभित्रै कांग्रेस भर्सन–२ बनेका दललाई अँगाल्न पुगुँ ? जब म तीन ठूला दलदेखि विरक्तिन्छु । डाक्टर साबको सदस्यता काटँु–काटँु लाग्छ । फेरि वाइवाइ बेचेजसरी पार्टी चलाउन खोजेर केही विकास र स्थायित्व ल्याउन सकिएला र भन्ने सोच पनि पलाइहाल्छ ।
त्यसैले आफूले आफैँलाई प्रतिक्रियावादीको ट्याग भिराउन मन लाग्छ । आखिर किन नहुनु त प्रतिक्रियावादी ? घन्टा–घन्टामा फेसबुक र ट्वीटरमा प्रतिक्रिया दिइरहनुपर्ने पुस्ताको एक अम्मली युवा हुँ म । राजनीति, साहित्य, कला, विज्ञानदर्शन सबै कहीँ न कहीँ ठोक्किन आएरहन्छ दैनिकजसो ।
दुई पानाभन्दा बढी भयो भने पढ्न अल्छी गर्ने युवा जमात हिजोआज सबै कुरामा छोटो, छिटो र मीठो खोज्छ । सिद्धान्त, विज्ञान र दर्शन चिहाउन फुर्सद उसलाई कहाँ छ ? ६४ शब्दको घेरामा कसिएको जो छ, मदनको जवज भनेको के भन्दा ९० प्रतिशतको जवाफ जनताको बहुदलीय जनवादबाट अघि कनी–कनी पनि बढ्न सक्दैन तर जननेता जिन्दावादको नारासहित मदनको फोटो प्रिन्टेड टी–सर्ट उसले छाडेको हुँदैन । यसरी सारको अन्तर्वस्तु छाडेर रुपवादी उडानमा युवापुस्ता दगुर्दै छ । जसलाई राजनीतिमा चासो छ, जो राजनीति गर्न चाहन्छ, ऊ पञ्चप्रजा शैली दोहोर्याउँदै नेताको घर–घर चहार्दैमा ठिक्क छ । जो राजनीति बुझ्दैन वा राजनीति बुझ्न खोज्दैन उसका लागि देशप्रेम पारसको ब्याटिङ र जुमनुको पेनाल्टीमा मात्र जाग्ने गर्छ । बाँकी पुस्ता जो राजनीति बुझ्न खाज्दै छ र केही गरुँ भन्छ, ऊ राजनीतिको प्रवेशद्वार देखेरै निस्सासिन्छ । जो साथीहरु राजनीति राजनीति भनेर जुन हर्कत देखाउँदै छन्, उनीहरु सँगै मिलेर कस्तो खाका बनाएर कस्तो काम गर्ने भन्नेमै उल्झन छ ।
सबैभन्दा तल्लो निकायदेखि सर्वोच्च निकायसम्म एउटाले अर्काेलाई सकाउने खेलमा सबै तल्लीन भएको देख्दा एउटा ऊर्जाशील, अध्यनशील र जुझारु युवा जमात राजनीतिबाट टाढा रहन बाध्य छ ।
तसर्थ, राजनीतिको मुख्य तहमा रहेका विभिन्न पार्टीका नेताले आ–आफ्नो पार्टीको राजनीतिक संस्कार सांगठनिक ढाँचा र कार्यशैलीमा परिवर्तन ल्याउँदै सचेत पुस्तालाई राजनीतिमा थप आकर्षित गर्नुपर्ने देखिन्छ । देशले काँचुली फेर्न कोसिस गरिरहँदा जुन पार्टीले सिर्जनशील र परिवर्तनशील युवाको भावना बुझ्दैै आफ्नो पार्टीको रुपरेखा र कार्यशैलीमा फेरबदल ल्याउँछ । उसको राजनीतिक भविष्य पक्कै उज्जवल हुनेछ र देशले पनि सकारात्मक परिवर्तनको महसुस गर्नेछ । अन्यथा परिवर्तनको आधी ती सचेत युवा आफैँले ल्याउनेछन् । किनभने देशले खेल्न गइरहेको संविधान जारी भएपछिको दोस्रो इनिङ अब पुनश्च अराजकताबाट सुरू हुन अब यो युवा जमातले पक्कै दिने छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल