मन्त्री रमेश लेखकलाई कर्णालीपारिको पत्र

-  |   खेमराज अवस्थी

मन्त्री रमेश लेखकलाई कर्णालीपारिको पत्र

माननीय मन्त्रीज्यू
यहाँले मन्त्रालय सम्हाल्नुभएको धेरै भएको छैन । त्यसकारण तपाईंंलाई कार्णालीपारिको सुदूरपश्चिम र त्यहाँको संस्कारअनुसार हार्दिक बधाइ तथा सम्मान प्रकट गर्छु । माननीय मन्त्रीज्यू सुनेको छु– तपाईंं बैतडीबाट बसाइँ सरी कञ्चनपुर पुग्नुभएको हो रे । एकजना बाहुन जातिको छोरो देशको होनहार नेता हुनुहुन्छ । मेरो बुझाइ के हो भने सुदूरपश्चिममा शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, भीम रावल, तपार्इं (रमेश लेखक) र लेखराज भट्टप्रति यहाँका भोका, नांगा र कुनै परम्परावादी संस्कार तथा कुनै अवसर अभावले पिल्सिएका जनताको अलि बढी आशा र भरोसा छ ।
त्यसकारण तपाईंं नै मन्त्री बन्ने मेलोमेसो बनी पदबहाली गर्दा सबैले तपार्इंप्रति आशा अझ बढी फराकिलो बनाउनु अस्वाभाविक होइन । तपार्इंलाई राम्रै थाहा छ– दार्चुलाको कैलै लोहार होस् कि बैतडी तल्ली सोराडको दमाई, बैतडी आरूवाटाको बहादुर भूल हुन् कि डडेल्धुराको बेलापुरका काली लोहारकी अन्तिम श्रीमती रुपा, त्यसैगरी सुदूरपश्चिमका नौवटै जिल्लाका के दलित, के बाहुन, के क्षेत्री, के जनजाति सबै वर्गको एकमुष्ट आस तपाईंंको तर्क, क्षमता र कार्यकौशलताको आधारमा नभई केवल तपार्इं केही गर्न सक्ने ठाउँमा पुग्नुभएको छ भन्नेमा हो । तपाईंलाई थाहा छ सुदूरपश्चिम आसैआसमा बाँचेको क्षेत्र होे, जहाँ आफ्नै मौलिक संस्कार छ । पहिचान छ र मान्यता छ । जुन मान्यताअनुसारको परम्परा कालजयी छ ।
माननीय मन्त्रीज्यू,
तपाईं अहिले त्यस ठाउँमा पुग्नुभएको छ, जहाँ खेत खन्ने खेताला छैन तर योजना छ । जहाँ खेत खन्ने योजना छ तर समय छैन । जहाँ खेत खन्ने जिम्मा दिइएको छ तर किसानको मन पर्ने र आकार अनुसारको औजार छैन । तपाईं रोपाइँ गर्नुभन्दा केही पछि आउनुभएको छ तर अब रोपाइँ गर्ने तारतम्य तपाईं गर्न सक्नुहुन्न । यो वर्ष रोपाइँ गर्न सक्नुहुन्छ भने त्यो बर्खेबाली चिसोका कारण फल्छ कि फल्दैन आस गर्न गाह्रो छ । यदि सक्नुहुन्न भने एउटै मान्छेलाई पटक–पटक रोपाइँ गर्ने जिम्मा दिन हाम्रो तत्कालको संस्कारले र परिपाटीले मान्दैन । त्यसकारण तपाईंलाई अवगत रहोस् केवल जस र अपजसलाई लक्ष्य मान्ने हो भने त यो बेला भनेको न त रोपाइँ गर्ने बेला हो न त अर्को रोपाइँको तयारी नै । त्यसकारण सम्पूर्ण योजना प्रक्रिया तथा निर्णय गराइमा अहिले देशका भोका नांगाले तपाईंबाट अपेक्षा गर्ने भनेको दीर्घकालीन सोच र निर्णय प्रक्रियामा उदारपनामात्र हो, जहाँ देशलाई आगामी वर्ष तपाईंले सम्हाल्नुभएको मन्त्रालयअन्तर्गत बनाउनुपर्ने नीति नियम र योजना एउटा अटल पद्धतिको आडमा अगाडि बढ्न सकून् ।
योजना निर्माण तथा स्रोत परिचालनले स्थायित्व पाउने आधार बनोस् । त्यसैले तपाईं अहिले यस्तो सहज स्थितिमा मन्त्री बन्नुभएको छ कि तपाईंलाई समय–सीमाअनुसार नयाँ गर्नुपर्ने काममा सबैभन्दा महत्वपूर्ण काम स्थायित्व विकासका लागि ऐतिहासिक योगदानबाहेक अरु दैनिक नियमनका काम मात्र अगाडि आएका छन् । तपाईंको बौद्धिक क्षमताले भ्याएसम्म निष्पक्ष भएर उक्त कार्य सम्पादन गरिदिनुभएमा मात्र पनि भौतिक योजना र यातायातको क्षेत्रमा हाम्रोजस्तो देशलाई पर्याप्त आधार तयार हुनेमा कुनै शंका छैन ।
माननीय मन्त्रीज्यू
तपाईंको जन्मथलोे सुदूरपश्चिमको पहाडी जिल्ला भए पनि हालको बसाइ तराईको कञ्चनपुर हो, जहाँ सुदूरपश्चिमका नौवटै जिल्लाबाट बसाइँ सरी आएका बासिन्दासँग सहजै पहिचान लिन सकिन्छ । त्यतिमात्रै होइन, तपाईं मन्त्री हुनुभएको समाचार सञ्चारमाध्यमबाट थाहा पाउनासाथ सबैले आ–आफ्नो पहाडी बस्तीसम्म पुर्याइसकेका छन् ।
तपाईं अहिले ठ्याक्कै सुदूरपश्चिमका जनतको आस गर्ने र भरोसा मान्ने मन्त्रालयमा हुनुहुन्छ भन्दा अन्यथा नहोला । किनभने तपाईंलाई विदितै छ– गत वर्ष दसैँ–तिहारको समयमा डोटीबाट आएको बस दुर्घटनामा पर्दा थुप्रै सुदूरपश्चिमेली दाजुभाइ तथा दिदिबहिनी हताहत भए र चाडको रमझमको बेलामा रमाउँदै बस्ने, साथीसंगी भेटघाट गर्दै भलाकुसारी गर्ने योजनामा रहेकाहरु मृतक, मलामी जान, किरियापुत्री बाध्य भए । हामी धेरैजसो काठमाडौँ तथा देश–विदेशबाट घर जाँदा, फर्कंदा अक्सर दसैँको समयमा नठगिएको यात्रा हँुदैन । जसको अनुभव तपाईं त्रिभुवन विश्वविद्यालय पढ्दा अहिलेको भन्दा बढी लिनुभएको छ होला । गत वर्ष डोटीमा जिप दुर्घटना हँुदा विश्वविद्यालयका प्राध्यापकसहित दर्जनाँै होनहार व्यक्ति हताहती सुदूरपश्चिमेली आमाले सहनुपर्यो । यी त प्रतिनिधि घटनामात्रै हुन् । यस्ता दर्जनौँ घटना सुदूरपश्चिमवासीका दिनचर्याजस्तै भएका छन् ।
मन्त्रीजू
तपाईंको कञ्चनपुरको क्षेत्र नम्बर ४ त झन यस्तो क्षेत्र छ, जहाँ सुदूरपश्चिमका नौ जिल्लामध्ये कुनै एकमा पनि अप्रिय घटना हुँदा त्यहाँका एक न एक परिवारको निकटतम व्यक्ति प्रभावित हुन्छन् र यहाँलाई पनि त्यो मर्का महसुस भइरहन्छ । त्यसकारण मन्त्रीज्यू देशको व्यवस्था प्रजातान्त्रिक र विकेन्द्रित रहे पनि शासकीय व्यवहार एकात्मक रहेको गोप्य रुपमा भए पनि मनन गर्दै हामी सुदूरपश्चिमवासीको दसैँ तिहारलगायतका चाडको चटारोलाई व्यवस्थित गराउन तत्काल पहल गरिदिनुहोला ।
यातायात प्रणालीलाई मजबुत बनाई यस क्षेत्रका जनताको जीवन रक्षा गर्न यतिन्जेल भएजत्तिका आवश्यक सबै नियमलाई कडा रुपमा कार्यान्वयन गर्ने निर्देशन जारी गरी भरपर्दो अनुगमन भएको खण्डमा हामी नौ जिल्लावासी यस वर्षका चाडबाड आफूले सोचेकै भूमिका निर्वाह गरी मनाउन पाउने थियाँै । बस यस वर्ष कर्णालीपारिवासीले तपाईंसँग तत्काल अपेक्षा गरेको यातायत व्यवस्था भरपर्दो होस् र हाम्रो ज्यान अकालमै नजाओस् अनि तपाईंहरु सबैलाई फेरि मतदान केन्द्रमा उपस्थित भई निसंकोच भोट हालेर निर्वाचित गर्ने अवसर हामा सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीले पाऊन् भन्ने हो । मलाई लाग्छ– समस्या समाधान विधिभित्र छ र विधिको प्रयोग गर्ने दायित्य तपाईंलाई बोध छ, जुन कुरा व्यवहारमा तत्काल रुपान्तरित होस् भन्ने अपेक्षा र सादर अनुरोध छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल