झुक्याएर मितद्वारा भीमदत्त पन्तको हत्या !

-  |   करन ताम्राकार

झुक्याएर मितद्वारा भीमदत्त पन्तको हत्या !

karan tamrakarभारतीय स्वतन्त्रता आन्दोलनका सेनानीसमेत रहेका सहिद भीमदत्त पन्तले भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका कारण १८ महिना कठोर कारावास सजायसमेत भोगेका थिए । बदलामा स्वतन्त्र भारतका शासकले राजा, कांग्रेस, राणा र भारतबीच भएको दिल्ली सम्झौता र नेपालमाथि भारतीय फौजको हस्तक्षेपविरूद्ध बोलेका कारण तत्कालीन कांगे्रस सरकारसँग मिली संयुक्त रुपमा नेपालभित्र सैनिक अप्रेसन गरे । भारतीय स्वतन्त्रताका लागि आफ्नो ज्यानको बाजी लगाउने नेपाली योद्धा जब आफ्नो मातृभूमिको अस्मिता रक्षाका लागि आवाज उठाउँछ, तब ती मित्रद्रोहीको भारतीय शासकले हत्या गर्न खोज्छ । के यस घटनाले भारतीय शासकको चरित्रलाई उदांगो पार्दैन त ?

२००७ को क्रान्तिमा सुदूरपश्चिमबाट क्रान्ति हाँक्ने कांग्रेसका कमान्डरसमेत रहेका व्यक्तिलाई क्रान्तिपछि आफ्नै पार्टीको सरकारबाट कम्युनिस्ट बन्यो भनेर भीमदत्तको २८ वर्षको कलिलो उमेरमा हत्या गरियो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र बीपी कोइराला गृहमन्त्री रहेको बेला आफ्नै पार्टीको तर्फबाट सुदूरपश्मिका कमान्डर भई क्रान्तिको नेतृत्व गर्ने व्यक्तिको हत्या गरिनुले नेपाली कांग्रेसको नियतमा प्रश्नचिह्न उब्जेको थियो । भीमदत्त पन्तले थालेको क्रान्तिलाई आज नेपाली जनसमुदायले पूरा गर्न भीष्मप्रतिज्ञा गर्नुपरेको स्मरणार्थ क्रान्तिकारी योद्धाको जीवनका केही झलक प्रस्तुत गरेको छु ।
संवत् १९८३ मंसिर १० गते डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–३ कारीगाउँमा आमा सरस्वतीदेवी र बुवा तारानाथ पन्तको कोखबाट भीमदत्तको जन्म भएको थियो । पाँच वर्षको उमेरमा ममतामयी आमाको मृत्यु भएपछि सात वर्षको उमेरमा पढाइका लागि भारतको लखिमपुरको एक विद्यालयमा भर्ना भई १९९८ मा भारतको सिंघाइबाट उनले म्याट्रिक पास गरे । शिक्षाविना मानवीय चेतना विकास हुन नसक्ने ठानी सर्वप्रथम डडेल्धुराको रुपाल बिरखम र बैतडीमा संस्कृत पाठशाला स्थापना गरे । २००१ मा पुनः भारत पढ्न गएका भीमदत्त अंग्रेजविरोधी आन्दोलनमा सहभागी हुँदा १८ महिना इलाहावाद जेल परेका थिए । जेलजीवनपछि २००३ मा नेपाल फर्केर राणाविरोधी आन्दोलनमा सहभागी गौरीलाल, रुपसिंह, शेखर शर्मासँग जोडिएर सुदूरपश्चिमका आदिवासी राना थारु, दलित, गरिब किसानलाई संगठित गर्दै आन्दोलन अगाडि बढाए ।
२००६ मा गरिबी मुक्तिको अपेक्षा गर्दै कांग्रेसको सदस्यता लिए । २००७ को जनअन्दोलनलगत्तै डडेल्धुराको प्रशासक भई आफ्नो नेतृत्वमा सात सदस्यीय कामचलाउ सरकार गठन गरे । २००७ मा जहानियाँ राणा शासन अन्त्यपछि पनि कांग्रेसबाट गरिब शोषित जनताले गरेको अपेक्षा पूरा नहुने देखेर पार्टी परित्याग गरे । २००८ मा महाकाली क्षेत्रमा समानान्तर सरकारको गभर्नर रहँदा उपचार नपाएर जेठा छोरा प्रेमराजको मृत्यु र आठ दिनपछि लगत्तै छोरी र केही समयपछि कान्छो छोराको समेत मृत्यु हँुदा परिवारिक शोकभन्दा शोषक सामन्तीको क्रूर पन्जाबाट गरिब जनतालाई मुक्ति दिन लागिपरे । भारतीय माक्र्सवादी चिन्तक कृष्णास्वामी एड्गरलाई भेटेपछि उहाँ कम्युनिस्ट सिद्धान्तप्रति आकर्षित हुनुभयो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टीका पुष्पलालसहितका नेतालाई भेटेपछि पूर्णतः कम्युनिस्ट कार्यकर्ता भएर किसान फाँटको जिम्मेवारी लिइ काम गर्न थाल्नुभयो । २००७ को दिल्ली सम्झौताविरूद्ध भैरहवा र नेपालगन्जमा चलेका आन्दोलन दबाउन संयुक्त रुपमा भारतीय र नेपाली सैनिकबाट दमन गर्न लगाएको विरोध गर्दा कांग्रेस सरकार उहाँप्रति रूष्ट भयो । महाकाली क्षेत्रमा कमैयाप्रथाविरूद्ध जनतालाई गोलबद्ध गर्दै ‘कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो’ भन्ने नाराले शोषक सामन्तको मुटुमा ढ्यांग्रो ठ्योक्यो र गरिब जनता उहाँको वरपर गोलबद्ध हँुदै गए । उहाँ कालाबजारियासँग नुन, तेल, लत्ताकपडा खोसेर गरिब जनतालाई बाँड्नुहुन्थ्यो । गाँजा, चरेश खोजी–खोजी जलाउनुहुन्थ्यो ।
सरकारबाट संरक्षित गाँजा, चरेशका व्यापारी तथा कालाबजारिया उनका दुस्मन भए । सरकारले उनलाई डाँका घोषित गर्यो । तत्कालीन डडेल्धुरा जिल्लाका बडाहाकिम धर्मशमशेरले उनको जिउँदो वा मृत टाउको ल्याउनेलाई पाँच हजार पुरूस्कार दिने घोषणा गर्यो । पटक–पटक उनलाई पक्राउ गरिए पनि जनदबाबका कारण जेलमुक्त गर्नुपरेको थियो । २००९ मा गिरफ्तार गरी बेलैरी थुनामा राखिएका पन्तलाई त्यहाँका जनताले दबाबमूलक संघर्ष गरेपछि तत्कालीन सरकार छाड्न बाध्य भयो । तर, रेडियोबाट जेल तोडेर भागेको प्रचार गरियो । भारतसँग नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र प्रधानसेनापति किरणशमशेरले भीमदत्त पन्तलाई मार्न सैन्य सहयोग माग गर्यो । २०१० असारमा सात सयको सशस्त्र फौजसहित धनगढी कब्जाका लागि अत्तरिया बडेहा गाउँमा तयारी गरिरहेका बेला भारतीय सेनाले आक्रमण गर्दा तीनजनाको मृत्यु, १२ भन्दा बढी घाइते र दुई सय पचास जतिलाई गिरफ्तार गर्यो ।
तर, भीमदत्त पन्त घेरा तोड्न सफल भए । २०१० साउन १७ गते आन्दोलनलाई पुनः संगठित गर्नेक्रममा डडेल्धुरा गल्लेखमा खाना खान लागेका बेला भारतीय र नेपाली सेनाले संयुक्त रुपमा घर घेरा हाली मित लालबहादुर थापाले झुक्याई गोली हानी हत्या गरियो । अन्त्यमा भीम्बा दियाल नामक भीमदत्तकै मित पर्ने एकजना सेनाले घिसार्दै खुकुरीले उनको टाउको छिनाले । हत्याको खबरले त्यस क्षेत्रका शोषक, सामन्तीले ठूलो उत्सव मनाएर भोज खाए । आफूलाई आन्दोलनपछिको प्रजातान्त्रिक सरकार भन्ने तत्कालीन कांग्रेस सरकारका पालामा हत्या गरिएका पन्त १९९७ मा मारिएका चारजना सहिदबीच एउटा संयोग के देखियो भने हत्या गरिएपछि डडेल्धुरा पुर्याइएको पन्तको टाउको बाँसको खम्बामा झुन्ड्याएर ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै हुन्छ’ भनी लेखिएको थियो । त्यसभन्दा अगाडि उनको टाउकाको फुटबल खेलेर तीन दिनसम्म जमिनमा गाडिएको थियो । भीमदत्तकी पत्नी पार्वतीदेवीले आफ्नो लोग्नेको टाउको माग्न बडाहाकिम मोहनबहादुर सिंहकहाँ जाँदा अशोभनीय तरिकाले अपमानित गरी ३१ सर्तमा सहीछाप गर्न लगाई टाउको दिएका थिए । जसलाई डडेल्धुराको प्रख्यात घटाल मन्दिरनजिक दाहसंस्कार गरियो । स्मरण होस्, पन्त पत्नी पार्वतीदेवीको सात वर्ष अघि निधन भइसकेको छ ।
अगाडि डाँक गाडी आयो पछाडि माल आयो
गरिबको पालो आयो ठालुको काल आयो ।
उक्त गीत भीमदत्त पन्तले आफैँ लेखेर गाउँदै हिँड्ने गरेको उनका समकालीन बताउँछन् । तत्कालीन भारतीय स्वतन्त्र संग्रामी खुदीरामलाई अंग्रेज शासकले फाँसीमा झुन्ड्याउनुअघि भनेका थिए, ‘नौ महिना, नौ दिनपछि जन्म लिन्छु सानिमाको घरमा, त्यसपछि म यो देशवाट अंग्रेजलाई धपाउनेछु ।’ भनिन्छ– ठीक त्यति नै समयपछि उनको सानिमा घरमा नेताजी सुवाषचन्द्र बोसको जन्म भएको थियो । इतिहास साक्षी छ, नेताजी सुवाषचन्द्र बोसले अंग्रेज सत्तालाई हल्लाएर राखिदिएका थिए । सायद पन्तको क्रन्तिकारी विचार सुदूरपश्चिमबाट कसै न कसैको नाममा जन्मेको हुनुपर्छ, । जसले शोषक, सामन्ती र सबैखाले शोषण, दमन तथा उत्पीडनविरूद्ध मानवीय हैसियत खोज्ने जनमानसको भनाइ छ । उनको विचारलाई यस धर्तीमा फुलाउँदै, फैलाउँदै जानुपर्ने हामी सबैको अठोट हुनुपर्छ ।

(लेखक, पत्रकार महासंघ डडेल्धुरा शाखा सचिव तथा प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य हुन् ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल