प्रधानमन्त्रीलाई सहिद परिवारको पत्र

-  |   अनिस तामाङ

प्रधानमन्त्रीलाई सहिद परिवारको पत्र

सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’
खाडीमा पसिना बगाउँदै गरेको सहिदको भाइका तर्फबाट लाल सलाम । सर्वप्रथम कामरेड यो देशको प्रधानमन्त्री हुनुभएकोमा यो चिठीमार्फत भए पनि हार्दिक बधाई दिन चाहान्छु । केही दिन अगाडि तपाईंलाई चिठ्ठी कोर्दै थिएँ तर किनकिन विगतका घाउले फेरि पोल्न थाल्यो । कलमका सुइहरु घुमाउनै सकिन । अनि कलम बन्द गरेर जनयुद्धकालीन गीत सुन्दै सुतें ।

कामरेड म सहिद परिवारको सदस्य हुँ । मेरो घर काभ्रे जिल्ला सस्र्युंखर्क गविस चुखा हो । जनयुद्धको बेला मलाई सबैभन्द प्यारो लाग्ने दाइ गुमाएको छु । मलाई याद छ म सानै थिएँ, गाउँघरमा सामान्तहरुले हल्ला फिजाउने गर्थे । कोसीपारि माओवादी आए अब हाम्रो गाउँमा पनि माओवादी आउँछन् । माओवादीले मार्छन्, लुट्छन् भनेर हामीहरु निकै डराउँथ्यौंँ । ढुङ्गाको छानो भएको घरभित्र पानी चुहिएर भाँडो थाप्दै थिएँ । अचानक घरको ढोका विस्तारै कसैले ढकढक्यायो । हामी एकदमै डरायौं र एक छिन् त ढोकै खोलेनौं । तर बाहिरबाट कसैले धेरै पटक आमा भनेर बोलाएपछि बाबाले ढोक खोल्दिनु भयो । दुईजना मान्छे हातमा पेस्तोल, कम्मरमा ग्रिनेट भिरेको थिए । तीमध्ये एकजनाले भने म लेकाली, उहाँ छिरिङ बहिनी, हामी माओवादी हौँ । बाबा एक पटक हच्किनुभयो । उहाँले हामी तपाईंहाम्रो राज्यसत्ता ल्याउनका लागि हिँडेको क्रान्तिकारी हौँ, डराउनु पर्दैन भन्नुभयो । मेरो बाबा क्रान्तिकारीप्रति अलि सकारात्मक ठान्नु हुनथ्यो । उहाँहरु रातभरि कुरा गरेर बस्नु भयो। म सनै थिएँ तर ठूलो मान्छेले बोलेको कुरा कान ठाडो बनाएर सुन्ने गर्थें । आमाले बारम्बार चिमोटेर सुत भन्नु हुनथ्यो तर मलाई क्रान्तिकारीहरुको कुराले आमाले चिमोटेको पनि वास्त हुँदैन थियो । त्यो रात बोल्दाबोल्दै बिहान भएको थियो ।
आजभन्दै भोलिभन्दै गाउँ माओवादीमय हुँदै गयो । पछि बाबाले काठमाडौंमा बस्नुहुने दाइलाई युद्धमा पठाउने निर्णय गर्नुभयो । एउटा छोरो चहिँ जनताका लागि भयो लेकाली आले भनेर भन्दै गर्दा आमा रोइहनु भएको थियो । पछि दाइ काठमाडौंबाट आउनुभयो । बाबाको हरेक कुरालाई नाइँ भन्न नसक्ने मेरो दाइले बाबाको त्यो प्रस्तावलाई पनि नाइ भन्नु भएन । राति सबैजना काम सकेर थाकेर सुत्ने तरखरमा थिए तर मेरो दाइ आफ्ना लुगा प्याक गरेर जङ्गल छिर्ने तरखरमा हुनुहुनथ्यो । काठमाडौं बस्ने छोरा जङ्गलमा के खान्छ होला के लाउँछ भनेर आमा रुँदै हुनुहुन्थ्यो । बाबाले हाम्रो कमल हाम्रो मात्रै छोरा हैन सारा नेपालीहरुको छोरा हुनेछन् भनेर आमालाई फकाउँदै हुनुहुन्थ्यो । दाइ कहिले आउनुहुन्छ भनेर मैले प्रश्न गर्दा भोलि पर्सि आउँछु ल कान्छ भनेर गालामा म्वाइ खाएको आजै जस्तो लाग्छ । दाइ म नि जान्छु भनेर हात समाएर रोएका दिनहरु अहिले जस्तै लाग्छ ।

दाइ हिँडेको ठ्याक्कै एक वर्षपछि काभ्रेको नाराणस्थानमा माओवादीको कार्यक्रम रहेछ । बाबा र म त्यहाँ जाँदै थियौं । तल जङ्गलमा जनमुक्ति सेना ड्रेस लगाएर उभिइरहेको देखेँ । बुबाले त्यो केटालाई देखाउँदै भन्नु भयो– त्यो पुलिस हैन नि कान्छा, त्यो त हाम्रो लालसेना हो भन्दै नजिक पुग्द अरु कोही नभएर मेरो प्यारो दाइ कमल हुनुहुदोरहेछ । पहिलाको मोटो ज्यान सुकेर सिकुटे भएको रहेछ । बाबाले सोध्नुभयो– कस्तो छ छोरा तिमीलाई ? दाइ ठिकै छ, बाबा युद्ध झन् चर्किंदैछ । हिजोअस्ति अलिकतिले दुस्मनको गोली लागेन । सायद आमाले सधैं भगवान पूजा गरेर होला, भाग्यले बाँचेँ ।

युद्ध मैदानमा कतिबेला ढलिन्छ थाहा हुँदैन बाबा । अनि मैले रोपेको गोठमाथिको अमलाको बिरुवा कत्रो भयो, फल्न थाल्यो होला है? बाबा केही बोल्न सक्नुभएन । एकछिन पछि त्यसो भए युद्ध छोड न त म पार्टीमा कुरा राख्छु । दाइले भन्नुभयो– बाबा आजको दिनसम्म हजुरले भनेका सबैको काम पूरा गर्दै आएको छु अब यो पनि पूरा गरेरा छाड्ने छु । मरेछु भने भाइहरु छन् । उनीहरुलाई मेरो राइफल थमाउनु होला ।

मैले राइफलमा तपाईं र आमाको नाम लेखेको छ बाबा भनेर दाइ आँखाभरि आँशु पार्दै छुट्टिनु भयो । त्यसको केही महिनापछि लेकाली कामरेड सहिद हुनु भयो भन्ने खबर आयो । त्यतिबेला हाम्रो परिवार शोकमा डुबेको थियो ।

रेडियो नेपालमा दिनैक यतिजना माओवादी मार्यो भनेर नाम आउँथ्यो । हामी सधैं कान थापेर सुनथ्यौँ । कहिलेकाहीँ दाइको जस्तै नाम आउँथ्यो । हामी झस्किन्थ्यौँ । केही समयपछि बाबाले रेडियो नेपाल नसुन्नु, यसमा झुठो समाचार सम्प्रेषण गर्छ भन्नुभयो ।

कमल दाइ माओवादी भएको कुरा ठूलो दाइलाई थाहा थिएन । एक दिन ठूल्दाइ खुसीको खबर सुनाउन गाउँ आउनुभएको थियो । ठूल्दाइ खुसी हँुदै भन्नुभयो– बाबा तपाईंले सधैं देशको सेवा गर्नु भन्नुहुन्थ्यो नि, मेरो जागिर शाही सेनामा पक्क भइसक्यो । अब म देशको सेवा गर्छु । बाबा हेरेको हेर्यै हुनुभयो । ठुलो छोरा शाहीसेना अर्को छोरा जनमुक्ति सेना ।

बाबाले के तिमी आफ्नै भाइलाई गोली ठोक्न जान्छौ छोरा भन्नुभयो ? तिम्रो भाइ जनमुक्ति सेनामा छ । ठुल्दाइले भन्नुभयो मेरो आफ्नै भाइलाई कसरी गोली हान्न सक्छु बाबा । बरु म जागिर नै खान्न भनेर नेपाली सेनाको जागिर छोड्नुभएको थियो । यसरी नै दिन बित्दै थिए । कमल दाइ वर्षमा एक दुई पटक घर आउनुहुनन्थ्यो आमालाई मेरो आशा नगर्नु आमा जति खेरा जुनबेला नि म सहिद हुन सक्छु भन्नुहुन्थ्यो ।
बाबालाई पनि त्यो गाउँमा माओवादी नेता भनेर चिनिन्थ्यो । कहिलेकाहीँ सेना सीधै हाम्रो घर घेर्न आइपुगथ्यो । हामी गाउँबाट १ घन्टा टाढा भीरको छेउको गोठमा बस्थ्यौं । बाबा त गोठमा पनि बस्नुहुन्न थियो । सधैं गुफामै सुत्नुहुन्थ्यो । त्योही क्रममा ७ कक्षा पढ्दै गरेको दिदीलाई पनि सेनाले गिरफ्तार गर्यो । २ महिना जेलमा राख्यो । शाही सेनाको अत्यचारको सीमा नाघेपछि दिदीले जेलबाट निस्केपछि बाध्यताले क्रान्तिको बाटो रोज्नु भयो । हामी गोठमा सुतिरहेका थियौं, अचानक रेडियोमा दाइ सहिद भएको नाम प्रसारण भयो । भोलि पल्टा पार्टीका साथीहरू आएर कमल सहिद भयो भन्द आमा बेहोस् भएर ढल्नुभएको थियो । बाबा हाम्रो अगाडि रुन नसकेर माथि पीपलको बोटमुनि गएर रुदै रहेछन् । हामी सबै रोएर आँशु सकिसकेको थियो । आमा केही बोल्न सक्नुहुन्न थियो, बाबाले पनि उहाँलाई सम्झाउने प्रयास गर्नुहुन्थ्यो । हाम्रो मात्रै छोरा सहिद भएको हैन, सारा दुनियाँको यस्तै कथा छ । एउटा सहिदका आमा र बुबा भएकोमा गर्व गर्नु पर्छ । रोयो भने दुस्मनहरु बलिया हुन्छन् भनेर आमालाई सम्झाउनु हुन्थ्यो । त्यसपछि मैले दाइको राइफल बोक्छु बाबा भन्द बाबाले कान्छा तिमी त धेरै पढ्नुपर्छ । सन्तानमा एउटा छोरालाई भए पनि पढाउनुपर्छ । तिम्रो उमेर पनि त सानै छ भन्नु भयो । पछि दाइको बदला लिन राम दाइले बन्दुक उठाउनु भयो ।

कामरेड यस्ता दुख धेरै छन् । हामीले हिजो देखेका सपना आज ओझेल पर्दै गइरहेका छन् । जनयुद्धमा दाइ, चेलीका सपना आदि सबै गुमायौं । तर आजका दिनसम्म पार्टीबाट केही सहयोग पनि पाएका छैनौँ । हिजो पार्टीले हामीलाई सिकाएको सिद्धान्त अझै भुलेका छैनौं । आजसम्म माओवादी र तपाईंको गुनगान गाउँदै आइरहेको छौ । निरन्तरताले मात्रै क्रान्ति सफल हुन्छ भन्ने थाहा मानसिकताले आजको दिनसम्म माओवादीबाहेक अरु केही सोचेको छैन । माओवादी र तपाईंलाई गाली गर्दा मलाई मेरो आमालाई गाली गरेको भन्द धेरै दुख्छ त्योही भएर माओवादीको विरुद्ध कहीँकतै बोलेको पाए ठाउँकोठाउँ बहसमा उत्रिँदै आइरहेको छु । हामी सहिद परिवार र निम्न स्तरको कार्यकर्ता सधैं तपाईंहरुलाई बचाउँदै आएका छौं । तपाईंहरु आफूहरु आफै पद र सत्ताका लागि टुटफुट गर्दा साह्रै मन दुख्छ कामरेड । हामीलाई व्यक्तिगत रुपमा केही चाहिँदैन । तपाईंको खुबीले जनतालाई जति दिन सकिन्छ दिनुहोस् ।
तपाईंले चाहेमा यो देशलाई उथलपुथल बनाउन सक्नु हुन्छ । कसैलाई पद नदिँदा पार्टी छोड्छन् भने छोड्न दिनुस् । उनीहरु पार्टीमा रहेर पनि बदनाम मात्रै भइरहेका छन् । जता अट्छन् त्यतै जान दिनुस । आज म खाडीमा पसिना बगाउँदै छु । म जस्तो लाखौँ युवाहरु विदेशी भूमिमा अपमानको जिन्दगी बिताइरहेका छन् । लाखौं श्रम शक्ति विदेशिएका छन् । अब तिनीहरुलाई घर फर्काउने जिम्मा पनि तपाईंकै हो कामरेड । वर्षौं लगाएर अरुको भाषा सिकेर अरुको देशमा त कृषि काम गर्न तयार हुने युवा आफ्नै देशमा आधुनिक कृषि गर्न पछिपर्ने छैनन् । राजनीतिक अस्थिरताले जनता निरास छन् । कामरेड एक पटक प्रचण्ड भएर देखाउनुस्, यो देशका सबै समस्य हल हुनेछन् । आशा छ यसपटक पालि धेरै चुनौती भए पनि राम्रै काम गर्ने छन् भनेर ।

धन्यवाद

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल