जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्

जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्

प्रिय जोया
हुन त म साइनोमा तिम्रो कोही पर्दिनँ । तिमी र ममा देशको भिन्नता छ । भाषाको भिन्नता छ । लवाइ–खवाइको भिन्नता छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान् साइनो छ, त्यो हो मानवीयता र नारीको साइनो । मजस्तै तिमी पनि नारी अनि कसैकी आमा, कसैकी छोरी, कसैकी चेली हौ । सबैभन्दा उच्च कुरो तिमी एक बहादुर आमा हौ ।

joya
यही कारण हो, जसले मलाई तिम्रानिम्ति दुई शब्द कोर्न बाध्य बनायो । यही कारण हो, तिम्रा हरेक पीडाले मेरो मन छोयो । केही दिनअगाडि देखि सामाजिक सञ्जालमा एउटा अपुष्ट खबर छापियो कि एक फिलिपिनी महिला छोराछोरी लिएर रूँदै सडकमा अलपत्र परेकी छिन् भनेर । बिस्तारै–बिस्तारै दिन बित्दै जाँदा त्यो समाचार आगो फैलिएसरी फैलँदैै भाइरल भयो ।
तिमी फिलिपिन्सबाट दुबईमा ती नेपाली युवकजस्तै श्रम गर्न आएकी थियौ । अझ तिम्रोबारे लेखिएको थियो कि तिमी तीन÷चार वर्षपहिले पैसा कमाउन गएको एक नेपाली युवकसँग प्रेममा पर्यौ, जो आफैँ कुलतमा फसेका थिए रे । र, तिमीले उसलाई सक्दो सहयोग गर्यौ । यहाँसम्म कि तिमीले आफूले दिन–रात नभनी जोडेको पैसाले तिम्रो प्रेमी भनाउँदो त्यो युवकलाई नेपाल ल्याउन सफल भएकी थियौ ।
र, ती युवकको प्रेममा परेकी तिमीलाई तिम्रो भनाइ र समाचारमा आएका लिखित भनाइअनुसार त्यो प्रेमीले विभिन्न प्रताडना दिइरह्यो । कस्तो अनौठो लाग्ने हगि ? जसको प्रेममा परेर तिमीले आफ्नो देश छाड्यौ, जिन्दगी नै धराशयी बनाएयौ । उसैले तिमीलाई यत्तिका पीरव्यथा आँसु र पीडा कसरी दिन सक्यो ? कि ऊ साँच्चिकै मानव थियो ? या उसले तिमीलाई खेलौना ठान्यो ? कि तिमी विदेशी केटी भएकाले जे–जस्तो व्यवहार गरे पनि मिल्छ भन्ने सोच्यो उसले ? के यही प्रेम थियो ? तिम्रो बलिदान र त्यागको बदलामा तिमीलाई उसले दिएको प्रेम यस्तै थियो ?
उफ्, आज यी शब्दहरु केलाउँदाकेलाउँदै मेरो औँला काँपेका छन् । मन आन्दोलित भएको छ । असह्य पीडाको अनभूति भएको छ । किनकि तिम्रो प्रेम र त्यागलाई आज नाजायज प्रेमको एउटा स्वरुप बनाइएको छ । तिम्रो प्रेमको बलिदानलाई अवैधानिकताको ल्याप्छे लगाइएको छ । तिमीले बिताएका हरेक दिनको हर्जना तिराइएको छ । तिमीले पाएका पीडाको तिरस्कारको उल्टो तिम्रो देशले हर्जना तिर्नुपरेको छ ।
यो कस्तो विडम्बना हो, यो कस्तो अन्याय हो ? आजको अत्याधुनिक युगमा के सही, के गलत, के अन्याय, के न्याय सबैले छुट्याउन सक्ने भएका छौँ जोया । हो, तिमी विदेशी केटी थियौ र तिम्रो पीडा पनि विदेशीको पीडाजस्तो लाग्यो होला कसैकसैलाई । कसैलाई यी फिलीहरुलाई यस्तै व्यवहार गरिनुपर्छ किनकि यिनीहरु चरित्रहीन हुन्छन् । हो, आम रुपमा यस्तै–यस्तै मान्यता छ– आममान्छेमा फिलिपिनी महिलाप्रति । तर, म सत्य मान्दिनँ यस्ता आमगलत हल्लाहरुलाई ।
किनकि सबै फिली केटी चरित्रहीन हुँदैनन् । र, कुनै पनि कुरा सबै नराम्रा र सबै नराम्रा हुँदैण्हुँदैनन । हरेक ठाउँमा हरेक देशमा हरेक समाजमा राम्रा कुरा सँगसँगै नराम्रा विकृति नराम्रो परिवेश हुन्छन् । अनि अर्काे महथ्वपूर्ण कुरो तिमीले जसलाई प्रेम गर्यौ, आफ्नो प्राणभन्दा बढी प्रेम गर्यौ । नत्र त्यही नेपालीसँगै बिहे गर्नु र उसैका लागि आफ्नो जिन्दगी नै दाउमा किन लगाउने थियौ र ? यति ठूलो संसारमा तिमीजस्ती रुपवान् केटीले अरु पनि केटा भेट्न सक्थ्यौ ।
तर, प्रेमको लीला अपरम्पार छ । यही प्रेमका लागि ठुल्ठूला युद्ध भएका छन् । कैयौँ प्रेमी यही प्रेममा डुबेर आफूलाई विलीन बनाएका छन् । कतिले आफ्नो ज्यान दिए कतिले प्रेमकै नाममा अरुको ज्यान लिए ।
त्यसैले जोया, कसैलाई प्रेम गरेकै कारण तिमीले परदेशी भूमिमा पाउनु दुःख पायौ । भाषा, बोलिचाली रहन–सहन बेग्लै भएको बिरानो ठाउँमा तिमीले आफ्नो कल्कलाउँदो जीवन सिँचाइ गर्दै आफूलाई जीवनको सबैभन्दा महत्वपूर्ण कुरा आफूलाई आमा बनायौ । भनिन्छ, ‘एक साधारण व्यक्तिले जस्तातस्ता परिस्थिति सामना गर्न सक्दैनन् तर एउटी आमाले हरेक परीक्षा र परिस्थितिको सामना गर्न सक्छन् ।
यसैले त तिमीले यत्तिका दुःख पायौ । तिम्रा दुई छोरालाई छाड्न सकेनौँ । उनीहरुको बाबुले निर्वाह गर्न नसकेको कर्तव्य तिमीले सहर्ष स्वीकार्दै आफ्ना दुई संन्तान लिएर हाँसीखुसी आफ्नो देश (फिलिपिन्स) फर्कन सक्यौ । साँच्चिकै भन्नुपर्दा तिमीले तिम्रो प्रेमीबाट कानुनतः रुपमा वैधानिकता पाउन सक्छौ र तिम्रा छोराहरुले बाबुको नाममा सम्पूर्ण अधिकार पाउन सक्छन् । त्यो उनीहरुको जन्मसिद्ध अधिकार हो । हो, हाम्रो कानुनले तिमीलाई र तिम्रा छोराहरुको जन्मसिद्ध अधिकार दिनैपर्छ । । त्यसैले यसपालि तिमी गए पनि जुनै पनि दिन तिमी तिम्रो इच्छा भएको खण्डमा फर्केर आफ्नो गुमेको हक–अधिकार प्राप्त गर्न सक्नेछौ । र, तिमीलाई साथ दिने हामीजस्ता हजारौँ नेपाली हुनेछौ ।
यो लेख प्रकाशित हुँदा तिमी तिम्रो देश पुगिसकेकी हुन्छ्यौ होला । जोया, तिमी यात्रामै छौ कि । तर, तिम्रो पीडादायी कथाले हामी सम्पूर्ण नेपालीको मन पोलेको छ । छटपटी भएको छ । किनकि देशले सिमाना छुट्याउँछ, भाषा छुट्याउँछ तर मानवीय संवेदना र भावना छुट्याउन सक्दैन । किनकि मानवीय व्यवहार र मानवीय धर्मको कुनै सिमाना हँुदैन जोया ।
त्येसैले तिमीलाई तिम्रो अवस्थाका लागि हामी सम्पूर्ण नेपालीको तर्फबाट माफी माग्न चाहन्छु । किनकि तिमीसँग जे–जे गलत कुरा बित्यो, त्यो हाम्रा लागि समेत असह्य र गलत नै हो । कुनै पनि स्वाभिमानी नेपालीले आफ्नो देशमा आएका चाहे जुनै विदेशी हुन् चाहे जुनै सम्बन्ध जोडेर आएका हुन्, तिनीहरुप्रति अन्याय र नराम्रो व्यवहार गरेको सहदैनौँ । अझ त्यसमाथि तिमी त विदेशमा आपतमा परेको नेपालीलाई सहयोग गरेर हाम्रो देशमा भित्रिएकी थियौ ।
हो, तिम्रोजस्तै पीडाले पीडित नारी हाम्रा देशमा हजारौँ छन् । तर, ती स्वदेशी हुन् । जसले आफ्नै देशमा घरेलु हिंसाको सिकार भएका छन् । सयौँको संख्यामा नारी बलात्कार, दाइजो र असीमित रुपमा पीडित भइरहेका छन् । र, यस्ता घटना पक्कै राम्रो हुँदै होइनन् । त्यसैले हामीले गलत कुरालाई गलत नै भन्न सक्नुपर्छ । जुनै पनि घरमा आमाछोरी, दिदिबहिनी हुन्छन् । र, तिमीलाई जस्तै पीडा हाम्रा छोरीचेलीलाई नपर्ला भनेर कसैले ग्यारेन्टी दिन सक्दैनौ । त्यसैले हामीले नै हाम्रा छोरीचेलीलाई सजग हुन र सकेसम्म आफ्नो सुरक्षा आफँै गर्न सिकाउनुपर्छ । यो आजको युगको माग पनि हो ।
अन्त्यमा नेपाल बस्दा तिमीले जे–जस्तो व्यवहार भोग्न पर्यो, ती सबै नराम्रा कुरा तीता यथार्थ भनेर सधैंका लागि भुलिदिनू । जोया तिम्रा दुई छोरा हाम्रो छोरा हुन् । नेपाली रगत हुन् । हामीबीच हाम्रो देशको नाता छ । ती दुई छोरालाई उसको बाबाजस्तो नबनून् भनेर सक्दो सचेत बनाउनू । नत्र भोलि अर्की जोया बन्न के भर भो र ? तयसैले आउँदा दिनमा तिमी योभन्दा अझ बलियो कर्मनिष्ठ भएर अगाडि बढ्नू । तिम्रोजस्तै पीडा भएका अन्य नारीका लागि प्रेरणा स्रोत बन्न सक्नू, तिमीलाई यही शुभकामना म-हामी नेपालीको तर्फबाट ।

उही तिम्री नेपाली दिदी
जुनु राना
बागलुङ, नेपाल
हाल : हङकङ

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल