धर्तीको स्वर्ग रारा

-  |   देवीकृष्ण रोकाया

धर्तीको स्वर्ग रारा

RARA-ARTICLEमुगुको रारा गाउँ विकास समितिमा रहेको अनुपम प्राकृतिक सम्पदा राराताल समुद्र सतहबाट २,९९० मिटर उचाइमा रहेको छ । पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको रारा क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो ताल हो । रारा १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारावरिपरि घुम्न तथा तालको सौन्दर्य अवलोकन गर्नका लागि करिब पाँच घन्टा पैदल यात्रा गर्नुपर्छ ।
सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ । यहाँ विभिन्न पर्यटकीय विशेषता छन् । बिहान सूर्य उदाउँदा ऐनाझैं टलटल टल्किनु, मध्याह्नमा मन्द मुस्कानसँगै हावामा कावा खेल्नु, साँझपख उत्ताउलिनु, आकाशमा बादल लाग्दा बादल पौडिएर रुप परिवर्तन हुनु, विश्वको सबैभन्दा अग्लो स्थानमा र विश्वमै दुर्लभ एवम् उत्कृष्ट जातको असला माछा पाइन्छ । त्यतिमात्रै होइन, मौसमअनुसार साइबेरियालगायतका स्थानबाट आउने चराको चिरबिर, स्थलीय तथा जलीय वनस्पति, रंगीविरंगी फूलले ढकमक्क मैदान, वरिपरि होचा हरियाली तथा सुन्दर पहाडले घेरिएको भव्य जलमग्न उपत्यका, रोचक ऐतिहासिक तथ्य, स्वच्छ हावापानी राराका विशेषता हुन् ।
अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा पुगेर मन्त्रमुग्ध नहुने स्वदेशी तथा विदेशी पर्यटक सायद को होलान् र ? पश्चिम एसियाको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित पर्यटकीय सम्पदाको तुलनामा सबैभन्दा सुन्दर मानिने रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए, ‘मानसरोवर सधँै ठूलो, राम्रो र सुन्दर लाग्थ्यो तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।’ मनोरम रारा पुग्दाको अर्को उपलब्धि भनेको डुंगामा सयर गर्नु हो । नेपाल सरकारले विदेशी पर्यटकका लागि केही कारण देखाउँदै रारामा डुंगा चढ्न बन्देज लगाए पनि स्वदेशी पर्यटकले रारा पुगेर डुंगा चढ्न पाउँदा निकै पुलकित हुन्छन् ।

rara lake
राराताल संरक्षणार्थ २०३२ मा स्थापित निकुञ्ज १०६ वर्ग किमि फैलिएको नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज भए पनि जैविक विविधताले उदाहरणीय मानिनुका साथै विभिन्न बहुमूल्य जडीबुटीसमेत पाइन्छ । २०२० मा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिँदै ‘रारा कि अप्सरा’ शीर्षाकृत कविता समेत सिर्जना गरेका थिए । सोही वर्ष जिल्ला पञ्चायतको बैठकले रारालाई महेन्द्र तालको नामकरणसमेत गरेको थियो । त्योबेला भन्दा पहिले रारालाई ‘हुटु’ भनिन्थ्यो ।
अनुपम प्राकृतिक सम्पदा रारामा हवाई र स्थलमार्ग प्रयोग गरी पुग्न सकिन्छ । काठमाडौँबाट नेपालगन्ज करिब ५६ मिनेट र नेपालगन्जबाट ताल्चा (रारा) विमानस्थल ४५ मिनेट वा सुर्खेतबाट ताल्चा (रारा) विमानस्थल ३५ मिनेटमा पुगिन्छ । स्थलमार्ग हुँदै रारा पुग्न जुम्ला–सिंजा हँँँँुदै रारा साना गाडी तथा जिपमा र बाजुरा (कोल्टी) बाट दुई दिनको पैदल यात्रापश्चात् पुग्न सकिन्छ । रारा जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण–पश्चिमतर्फ करिब तीन घन्टा र मुगुको एकमात्र विमानस्थल ताल्चाबाट करिब साढे एक घन्टाको पैदल यात्रा गर्नुपर्छ । रारा नजिकको पुग्नैपर्ने पर्यटकीय ठाउँ मुर्माटप पनि एक हो । राराबाट करिब दुई घन्टाको पैदल यात्रापश्चात् मुर्माटपमा पुग्न सकिन्छ । मुर्माटपबाट राराको पूरै दृश्यावलोकन हुनुका साथै अपी–सैपाल, कान्जिरोवा, सिस्ने, छायाँनाथ, बडिमालिकालगायतका पर्यटकीय स्थलको समेत अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरताका सवालमा स्वर्गसँग तुलना गरिने राराको प्राकृतिकपनको सम्बद्र्धन र प्रवद्र्धन अहिलेको आमसरोकारको सवाल पनि हो । रारा पुग्ने हरेकजसो स्वदेशी तथा विदेशी पर्यटकको एउटै सुझाव छ, ‘राराको प्राकृतिक सौन्दर्यलाई जोगाइराख्नुपर्छ । रारालाई सधैँ यत्तिकै सुन्दर राख्नसके रारा पुग्ने पर्यटकको संख्या निरन्तर बढ्नेछ ।’ हुन पनि विगतका वर्षको तुलनामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन पछिल्ला वर्षमा बढ्दै गएको छ । राराबराबरको क्षेत्रफलमा फैलिएको फेवातालको वातावरणीय दुर्दशा देख्दा पनि माथिको भनाई व्यावहारिक देखिन्छ ।
अन्त्यमा, नर्वेका नागरिक एवम् शिक्षक मार्टिन ग्रेभका शाब्दिक भावनाप्रति मेरो पनि सहमति छ, ‘रारा धर्तीको स्वर्ग हो, हामीले यसलाई स्वच्छ र प्राकृतिक राख्नुपर्छ ।’
(लेखक, रोकाया रारा पर्यटन विकास समिति अध्यक्ष हुन् ।)

rtdcrara@gmail.com

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल