परदेशमा देशप्रतिको माया

-  |   युवराज ढकाल

परदेशमा देशप्रतिको माया

विदेशमा नेपालीहरूलाई हप्ताभरी काम गरेपछि आइतबार बिदा हुने गर्दछ । ठूलो सपना बोकेर आफ्नो जन्मभूमि चटक्क छाड्दै आफ्ना परिवारजन, मित्र र नातागोताबाट टाढा हँुदै विदेश आइपुगेका ह्ुन्छन् । सुन्दर भविष्यको सपना साकार पार्न विभिन्न बाधा अड्चन छिचोल्दै विदेशिएका हुन्छन् । यो उनीहरूको कुनै रहर नभई बाध्यता हो । घर, परिवार र देश यसैबाट चलेको छ । जीवनका झिनामसिना आशा विदेशी भूमिमा बगाउने पसिनासँगै गुथिएका छन् । तातोचिसो, गाह्रोसाह्रो नभनी अरूको हप्काई खाँदै निरन्तर काममा लागेर सन्तानको भविष्यका विदेशी भूमिमा पसिना बगाइरहेका छन् ।
म पनि एक पात्र हुँ, जो भोलिको सुखी जीवनका लागि भर्खरै विदेशिएको छु । आफ्नो जीवनलाई नयाँ रूप दिनका लागि । परदेशमा नेपाललाई धेरै माया गर्ने नेपाली भेटेको छु । हुन पनि हो, जसको पसिनाले देश चलिरहेछ भन्ने लाग्यो । सच्चा देशप्रमी अहिले विदेशिएका छन् । उनीहरुले हरपल देशको चासो राख्छन्, अनि आफ्नो सन्तान र देशको उज्ज्वल भविष्यको कामना गर्छन् ।
हरेक आइतबार हुने बिदामा जमघट र कुराकानीहरू देशकै भविष्यलाई लिएर हुने गर्छन् । सबैको चासो देशमा स्थिर सरकार, शान्ति, अमनचयन, भ्रष्टचारमुक्त प्रशासन, लगानीमैत्री वातावरण अनि रोजगारीका सम्भावनाप्रति हुनेगर्छन् । देशमा प्रत्येक नौ–नौ महिनामा फेरिने सरकारसँगै उनीहरू झिना आशा पलाउँने र मर्ने गर्छन् । यस्तै जमघटका समयमा भएको एउटा वादविवाद मेरो मानसपटलमा अझै आइरहेको छ । वादविवादका क्रममा एकजना साथीले दुःख व्यक्त गर्दै भन्नु भयो– “हैन म कस्तो देशमा जन्मिएँ, जहाँ मेरो पसिनाको मोल छैन र पसिनाको मोल खोज्न मेरी आमाको साथ चटक्क छाड्नुपर्यो । मेरी बूढीको फरिया फेर्न, छोराछोरीको विद्यालयको शुल्क बुझाउन परदेशिनु पर्यो ।” मैले उनलाई सम्झाउने कोसिस गरेँ, मित्र यता कमाऔँ अनि आफ्नै देश गएर केही गर्नुपर्छ । अवसर पाउनेले आफ्नो भविष्य सुनिश्चित त गरेकै छन् ।
मैले भने– मित्र तपाई मसँग धेरै रिसाउनु भयो । उनीहरूको पीडा कति होला तपाईंलाई के थाहा । एकाध मात्र सफल भएका होलान्, जसको बजारसँग राम्रो हेलमेल छ उसले मात्र सफलता पाएका छन् । असफल मानिस पनि छन् तर तिनीहरुलाका बारेमा मिडिया मौन छन् । देशमा भएका बेथिति, बेरोजगारका बारेमा केही कुरा आउँदैेनन् । दैनिक १८ घण्टाभन्दा बढी लोडसेडिङ हुन्छ । गाउँ, घर, टोल, परिवार र देश राजनीतिमा विभाजित छ । यस्तो परिस्थितिमा कसरी हुन्छ शान्ति, एकता र अमनचयन ? विभाजित मनस्थितिले केवल अशान्ति, बेरोजगार र मनमुटाव मात्र पैदा गर्छ । यसको असर हामीले यहाँ भोगिरहेका छौँ । विदेशबाट जाने लास गनेर बस्ने सरकारबाट हामीले के आशा राख्ने । उनीहरुलाई न त आँशुले पगाल्छ न त श्रापले नष्ट गर्छ । शासक भनेका मुटु नभएका हुदारहेछन् । कसरी पग्लियोस् तिनीहरूको मन । हामीले बगाएका पसिनाले किनेका सामान विमानिस्थलमा खोस्ने सरकारलाई कसरी राम्रो सरकार भन्ने ? अनि म नेपाली भनेर कसरी गर्व गर्ने । मलाई ती मित्रका गहन कुराले सोच्न बाध्य बनायो । मेरो देश कहिले हामी सबै नेपालीको मन मुटु र मानसपटलमा छाउनसक्ने हुन्छ । नेताहरूले छिट्टै ती दिनहरू महसुस गर्ने बनाऊन् जसले सबै प्रवासी नेपालीलाई आफ्नो देशको नाम गर्वसाथ लिन सकून् । जय नेपाल ।

शिवराज नगरपालिका, कपिलवस्तु
हाल दक्षिण कोरिया

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल