युवा उद्यमशीलता : सम्भवना र चुनौती

-  |   शान्त के.सी.

युवा उद्यमशीलता : सम्भवना र चुनौती

shanta KC

विषय प्रवेश

युवा शक्ति राष्ट्रको आशा र भरोसाको केन्द्र हो । युवा शक्तिविना विश्वका कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण र क्रान्ति सफल भएका छैनन् । त्यसैले युवा शक्ति समाज परिवतर्नका संवाहक शक्ति हुन् । युवामा निहित साहस, सिर्जनशीलता र उच्च आत्मविश्वासका कारण यो शक्तिलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ ।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षका बीचमा कायम गरिएको छ भने संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हुन आउँछ ।
युवा अवस्था आँट, क्षमता र उच्च मनोबलले भरिएको जीवनको उर्जाशील अवस्था हो । आफ्नो समग्र जीवनलाई कतातर्फ लैजाने र कस्तो जीवन जिउने भन्ने विषयमा महत्वपूर्ण निर्णय र फैसाला गर्ने अवस्था नै युवा अवस्था हो । यो अवस्थामा सही निर्णय लिन सकिएन भने समग्र जीवन नै बर्बादीको खाडलमा पर्न सक्दछ । जीवनमा जोखिम बहन गर्न सक्ने क्षमता भएका र आफ्नो उद्देश्यमा दृढ रहेका युवाहरुले नै आफ्नो जीवन बदल्न सक्दछन्, समाज बदल्न सक्दछन्, देश बदल्न सक्दछन्, विश्व बदल्न सक्दछन् ।
नेपालका अधिकांश युवामा आज विभिन्न कारणले जोखिम बहन गर्नेे क्षमतामा क्रमश ह्रास आउँदै गएको पाइन्छ, जसका कारण नेपाली युवाहरुमा उद्यमशीलतातर्फ भन्दा पनि अरुको नोकरीतर्फ आकर्षित हुने मनोविज्ञान बढ्दै गएको पाइन्छ । त्यसकै परिणाम स्वरुप फलस्वरुप आज दैनिक १५०० बढी युवाहरु आफ्नो घर परिवार र मातृभूमि छोडेर विदेशको भूमिमा पसिना बगाउन एयरपोर्टमा लामबद्ध छन् । पढेलेखेका सचेत युवाहरु पनि नेपाली नागरिकता परित्याग गरी विदेशी ग्रिनकार्ड र पीआर प्राप्त गर्न लालायित देखिन्छन्, आखिर किन ? आज यसको जवाफ खोज्नुपर्ने आवश्यकता भएको छ ।
२. नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था
नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५औं स्थानमा रहेको छ । दक्षिण एसियाका मुलुकसँग तुलना गर्दा पनि नेपालको युवा विकास सूचकाङ्क सबैभन्दा कमजोर देखिन्छ । सरकारी तथ्याङ्कमा नेपालमा पूर्ण बेरोजगार युवाको दर २.३ प्रतिशत मात्र देखाइए पनि अर्धबेरोजगार युवाको दर करिब ३६ प्रतिशत छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार पूर्ण बेरोजगारी दर १९.२ प्रतिशत र अद्र्ध बेरोजगारी दर २८.३ प्रतिशत छ । अर्धबेरोजगारीमा रहेको नेपालको करिब ३६ प्रतिशत युवा शक्ति आर्थिक उत्पादन र सीपसँग जोडिन सकेको छैन । सीमान्तकृत, अल्पसङ्ख्यक, आदिवासी, अपाङ्गता भएका युवामा बेरोजगारी दर उच्च रहेको छ ।
युवा श्रमशक्तिको झण्डै आधा भाग अझै गुजारामुखी कृषिमा आश्रित छ । वैदेशिक रोजगारीमा जाने वार्षिक पाँच लाख ३८ हजार युवामध्ये ७४ प्रतिशत अदक्ष छन्् । सेवा क्षेत्रमा रोजगारीको अनुपात केही बढेको देखिए पनि बहुराष्ट्रिय कम्पनीको दबदबाका कारण औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा भने यो अनुपात घट्दो छ । विप्रेषण गार्हस्थ उत्पादनको २९ प्रतिशत पुगेको भए पनि यसको निकै सानो अंश मात्र उत्पादनको क्षेत्रमा प्रवाह भएको छ । विप्रेषणबाट भित्रिएको अधिकांश पुँजी विलासितामा खर्च भएको छ त्यसबाट बचेको पुुँजी अनुत्पादक क्षेत्र घर, घडेरी र जग्गामा खर्च भएको छ ।
नेपालका अधिकांश युवाहरु आज आफ्नो जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालभित्र रहेका युवाहरुमा केही पढेलेखेका र सचेत युवा एनजीओ आईएनजीओ तथा विभिन्न निजी एवम् सार्वजनिक निकायको सेवामा संलग्न छन् भने अधिकांश युवा गुजारामुखी कृषि पेसामा संलग्न भएका छन् । उद्यमशीलताको क्षेत्रमा नगन्य युवाहरु मात्र लागेको पाइन्छ ।
४. युवा उद्यमशीलताका विद्यमान सम्भवना
नेपालमा युवा उद्यमशीलताका सम्भवनालाई निम्न बुँदाहरुमा उल्लेख गर्न सकिन्छ ः
 नेपाली समाज पुँजीवादको सुरुवाती चरणमा रहेका कारण आन्तरिक रुपमा उद्यम व्यवसायमा तीव्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नभएका कारण वस्तु तथा सेवाको उत्पादनबाट उल्लेख्य मुनाफा आर्जन गर्न सकिन्छ । त्यसैगरी, नेपाली उपभोक्ताहरुको पुँजीवादी जीवनशैली सुरु भइसकेकाले वस्तु तथा सेवाको सहज बिक्री गर्न सकिने अवस्था छ । यसका लागि आन्तरिक उत्पादनलाई राज्यले प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नु पर्दछ ।
 नेपालमा राजनीतिक आन्दोलन र क्रान्तिको युवा लाग्नुपर्ने समय अब लगभग सकिएकाले आन्तरिक उत्पादनलाई बढावा दिई देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने कुरामा प्रायः सबै राजनीतिक दल एकमत देखिएकाले युवा उद्यमशीलताका लागि जुनसुकै सरकार आए पनि उपयुक्त वातावरण बन्ने कुरा निश्चित छ ।
 नेपालमा रहेको प्राकृतिक स्रोत, साधन तथा खनिजहरु प्रचुर मात्रामा रहेको र तिनीहरुको प्रयोग अत्यन्त न्यून रुपमा मात्र भएका कारण प्राकृतिक स्रोत, साधन तथा खनिजमा आधारित उद्यम व्यवसायको ठूलो सम्भवना रहेको छ ।
 नेपालको कृषि क्षेत्रमा अर्धबेरोजगारी र लुप्त बेरोजगारी व्याप्त छ । त्यो श्रम शक्ति त्यसै खेर गइरहेको छ अतः उक्त बचत श्रमलाई कृषि क्षेत्रकै स्थिर ज्यालादरमा औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिने सम्भवना छ, यसरी सस्तो ज्यालादरको श्रमशक्तिलाई उद्यम व्यवसायमा प्रयोग गर्दा उच्च मुनाफा आर्जन गर्न सकिने सम्भवना विद्यमान छ ।
 बैङ्क, सहकारीजस्ता वित्तीय संस्थाको बढ्दो विकास र सञ्जालबाट युवाहरुको वित्तीय क्षेत्रमा सहज पहुँचका कारण आफूसँग पुँजी नहुँदा नहुँदै पनि उत्साही, सिर्जनशील र मिहिनेती युवाले ऋण लिएर उद्यम व्यवसाय गर्न सक्ने सम्भवना विद्यमान छ ।
 लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित अनुदानमूलक उद्यम व्यवसायका विभिन्न कार्यक्रमको विस्तारका कारण पनि युवा उद्यमीहरु लाभान्वित हुने अवसर रहेको छ ।
 वैदेशिक रोजगारीबाट प्राप्त पुँजी, सीप, प्रविधि र अनुभवलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै खेर गइरहेको कच्चा पदार्थको उपयोगबाट उद्यम व्यवसाय सञ्चालन गरी उच्च मुनाफा आर्जन गर्न सकिने सम्भवना रहेको छ ।
५. युवा उद्यमशीलताका विद्यमान चुनौती

(क) व्यापारिक पुँजीवादको दबदबा
नेपाली समाज उत्पादन सम्बन्धका हिसाबले सामन्तवादबाट पुँजीवादमा प्रवेश गरिसकेको अवस्था छ । यस्तो अवस्थामा विश्व समाजको अनुभव हेर्ने हो भने उद्यमशीलतामार्फत औद्योगीकरणको चरम विकास र विस्तार हुनुपर्ने हो तर नेपालमा यस्तो अवस्था पाइँदैन त्यसको कारण खोजी गर्नु आज अत्यावश्यक भएको छ ।
नेपालमा व्यापार व्यवसायमा संलग्न अधिकांश व्यक्तिहरु आफैं उद्योग कलकारखाना खोल्ने र उद्यम गर्ने भन्दा पनि बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका सेवा तथा सामग्रीहरु नेपाली बजारमा नाफा खाएर बेच्न तल्लीन छन्, यसको प्रमुख कारण भनेको ठूलो परिमाणमा सस्तो सामग्री उत्पादन गर्ने विदेशी पुँजीपतिको स्वामित्वमा रहेका बहुराष्ट्रिय कम्पनीहरुसँग नेपाली उद्यमीहरुले प्रतिस्पर्धा गर्न नसक्नु नै हो ।
पुँजीवादको चरित्र भनेको पुँजीको सञ्चिती भई त्यस्तो सञ्चित पुँजी थप मुनाफाका लागि पुनः लगानी हुँदै जानु हो । यसलाई विस्तारित पुँजीवाद पनि भन्न सकिन्छ । तर नेपालमा वस्तु र सेवाको बिक्रीबाट प्राप्त मुनाफा विदेशी बहुराष्ट्रिय कम्पनीका मालिकले आर्जन गर्ने भएकाले विस्तारित पँुजीवादको प्रक्रिया अवरुद्ध भएको छ र त्यसको सट्टामा व्यापारिक पुँजीवाद हावी भएको छ । परिणाम स्वरुप हामी नेपालबाट सस्तोमा श्रम शक्ति र कच्चा पदार्थ बिक्री गरी त्यही श्रम शक्ति र कच्चा पदार्थबाट निर्मित वस्तु महँगोमा खरिद गर्नुपर्ने नियती भोगिरहेका छौं । नयाँ नयाँ उद्यमको स्थापना र रोजगारी सिर्जनामा अवरोध उत्पन्न भएको छ । युवा उद्यमशीलता विकासका लागि यो सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको छ ।

(ख) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र परनिर्भरता
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दिनानुदिनको बढोत्तरीले रुपमा जेजे प्रभाव देखिए पनि सारको प्रभाव भनेको परनिर्भरता नै हो । विश्वका कुनै पनि देशको आर्थिक समृद्धि बाह्य देश वा निकायको सहयोगबाट सम्भव भएको छैन र हुँदैन पनि । नेपालका अधिकांश पढेलेखेका र सचेत युवा वर्ग आइएनजीओको भुलभुलैया र कथित आकर्षक रोजगारीमा लिन भएका छन् । उनीहरुलाई उद्यमशीलता र देशको समृद्धिका बारेमा सोच्ने र काम गर्ने एकैछिन पनि फुर्सद छैन । एकातिर भने अर्कोतिर केही समय यो क्षेत्रमा प्रवेश गरिसकेपछि व्यवसायका लागि लगानी गर्ने, मुनाफा आर्जन गर्ने जस्ता उद्यमशीलता र स्वरोजगारका लागि अत्यन्त आवश्यक जोखिम बहन गर्ने क्षमतामा अस्वभाविक ह्रास आउँदै गइरहेको पाइन्छ । यसरी नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दिनानुदिनको वृद्धि र त्यसले सिर्जना गर्ने परनिर्भता पनि युवा उद्यमशीलताको बाधकका रुपमा रहेको छ ।

(ग) सांस्कृतिक दासता
उत्पादन सम्बन्धका आधारमा नेपालमा सामन्तवाद नरहे तापनि सांस्कृतिक क्षेत्रमा सामन्तवाद व्याप्त रहेको छ । अहिले पनि नेपाली समाजमा राज्यको कानुनभन्दा रुढिवादी संस्कार र परम्परा प्रभावकारी छ । सामन्तवादको आर्थिक चरित्र भनेको अतिरिक्त पुँजी÷बचत पुँजीलाई थप पुँजी निर्माणमा लाग्न नदिई विलाशिता, धर्मकर्म र सामाजिक संस्कारमा फजुल खर्च गर्नु हो । जन्म, मृत्यु विवाहजस्ता जीवनका महत्वपूर्ण घट्नाहरुमा धर्म संस्कारका नाममा आफ्नो जीवनभरिको कमाइ खर्च गर्नुपर्ने बाध्यता नेपाली युवामा रहेको छ ।
हाम्रो संस्कृतिले धन सम्पत्ति कमाउने कुरालाई दुःखको जडको रुपमा हेर्दछ । भौतिक श्रमलाई निरुत्साहित गर्दछ, भएको सम्पत्ति पनि विभिन्न नाममा दान गर्न प्रोत्साहित गर्दछ । एकातिर युवालाई यसरी आन्तरिक संस्कृतिक दासताले थिचेको छ भने अर्कोतिर भारतीय सांस्कृतिक दासताले पनि नेपाली युवाहरुलाई दास बनाइरहेको छ । ब्रह्मकुमारी राजयोग, पतञ्जली योगपीठ, राधेराधे, मानव धर्म, कृष्ण प्रणामी र ओम शान्ति जस्ता भारतीय कथित धार्मिक अभियानले समेत नेपाली युवालाई आफ्नो दास बनाइरहेका छन् । यस्तो प्रकारको सांस्कृतिक दासता पनि युवा उद्यमशीलताका लागि बाधक बनेको छ ।

(घ) राजनीतिक अस्थिरता
समग्र देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ । राजनीतिक अस्थिरताका कारण सरकारले प्रस्तुत गरेका नीति कार्यक्रमहरु सही रुपमा कार्यान्वयन हुन पाउँदैनन् । युवालाई सीप सिकाउने, उद्यमशीलता विकास गर्ने, स्वरोजगार बनाउने आदि सरकारले पटक पटक घोषणा गरेका कार्यक्रम राजनीतिक अस्थिरताको सिकार भएका छन् ।

(ङ) उत्पादनका साधनको असमान वितरण
उद्यमशीलताका लागि प्रचुर मात्रामा स्रोत र साधनको आवश्यक्ता पर्दछ । जुन वर्ग श्रम गर्दैन र जसलाई उद्यमशीलताको आवश्यकता नै छैन त्यस्तो वर्गको कब्जामा असीमित स्रोत र साधन छ भने गरिखाने वर्गको स्वामित्वमा अत्यन्त न्यून स्रोतसाधन छ । यसको प्रयोगबाट गुजारा मात्र सम्भव छ । उत्पादनका साधनको यस्तो किसिमको असमान वितरणको अवस्था पनि नेपालमा उद्यमशीलता विकासको अर्को चुनौती हो ।

(च) प्राविधिक चुनौतीहरु
 युवामा गुणस्तरीय एवम् प्राविधिक शिक्षाको अभाव,
 व्यावसायिक सीपको अभाव
 उद्यमका लागि उपयुक्त प्रविधिको पहुँचमा कमी
 उद्यमका लागि आवश्यक पूर्वाधारको अभाव
 युवा उद्यमशीलताका लागि सहुलियत दरको ऋणको अभाव
 उपयुक्त जोखिम बहन गर्न सक्ने क्षमताको अभाव
 उत्पादित वस्तु तथा सेवा बिक्री गर्ने बजारको अभाव
 व्यवसाय गर्नुपूर्व व्यावसायिक योजना तर्जुमा गर्ने र सोको विश्लेषण गर्ने सीपको अभाव

४. नेपालमा युवा उद्यमशीलताको लागि चाल्नुपर्ने कदमहरु
 राज्यको तर्फबाट तय गरिएका नीति, रणनीति र कार्यनीतिको व्यावाहारिक कार्यान्वयन गर्नुपर्ने,
 राष्ट्रिय युवा परिषद्लाई सवैको अपनत्व महशुस हुनेगरी एक स्वतन्त्र, स्वायत्त र राजनीतिक हस्तक्षपबाट मुक्त निकायका रुपमा विकास गर्नुपर्ने,
 अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई पूर्वाधार निर्माण र उद्यमशीलता गर्नेभन्दा बाहेकका क्षेत्रमा लगानी गर्न निरुत्साहित गर्ने अवलम्बन गर्नुपर्ने,
 उद्यम व्यवसायका लागि आवश्यक पर्ने पूर्वाधारको विकास र विस्तार गर्नुपर्ने,
 उद्यम व्यवसाय गर्न चाहने युवालाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने,
 कृषि, वन, पशुपालनबाहेकका जल, खनिज, पर्यटन, प्रविधि आदि वस्तु र सेवाको उत्पादनमूलक क्षेत्रमा व्यवसाय गर्न चाहने युवालाई समेत अनुदान र सहुलियत ऋणको व्यवस्था गराउनुपर्ने,
 प्राविधिक शिक्षामा सबै युवाको पहुँच स्थापित गराई बेरोजगार युवालाई सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने,
 व्यवसाय गर्न चाहने युवाहरुलाई व्यावसायिक योजनाको तर्जुमा गर्ने सीप सिकाउनुपर्ने,
 युवा उद्यमशीलतालाई प्रवर्धन गर्न माध्यमिक तहमा नै पाठ्यक्रम तर्जुमा गरी पठनपाठन गर्नुपर्ने,
 स्थानीय स्तरका सफल युवा उद्यमीलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गर्नुपर्ने,
 उद्यम सुरु गर्न चाहने युवालाई सफल उद्यमीसँग प्रत्यक्ष भेटघाटको अवसर प्रदान गर्नुपर्ने
 उद्यम÷व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजार उपकरण तथा प्रविधिको खरिदमा भन्सार छुटको व्यवस्था गर्नुपर्ने,
 आन्तरिक उत्पादनलाई प्रोत्साहित गर्न बाह्य वस्तु तथा सेवाको भन्सार दरमा वृद्धि गर्नुपर्ने,
 उद्यम÷व्यवसाय सञ्चालन गर्दा आइपर्ने जोखिम कम गर्न विमामा लाग्ने शुल्कमा अनुदान व्यवस्था गर्नुपर्ने,
 उद्यम÷व्यवसाय मैत्री संस्कृति र संस्कारको विकासका लागि अभियान सञ्चालन गर्नुपर्ने,
 विप्रेषणबाट देशभित्र भित्रिने पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनको लागि विषेश नीति अवलम्बन गर्नुपर्ने ।
अन्त्यमा
कुनै पनि देश धनी वा गरिब हुने भन्ने कुरा उक्त देशमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग कुन हदसम्म र कसरी भएको छ भन्ने कुरामा निर्भर हुने गर्दछ । माथि उल्लेखित उपायहरु अपनाउने हो भने हाम्रो जस्तो प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको देशलाई छोटो समयमा नै हामीले युवा उद्यमशीलताको माध्यमबाट एक आत्मनिर्भर, स्वावलम्बी र समृद्ध राष्ट्र निर्माण गर्न सक्नेछौँ, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण नेपाली युवामा यही बाटोतर्फ अग्रसर हुने प्रेरणा मिलोस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल