ब्लग : अफताल त कथ्थो गन्हाउने रच बाइ

-  |   सुरेन्द्र सुमन

ब्लग : अफताल त कथ्थो गन्हाउने रच बाइ

उसो त ‘कहिल्यै अस्पताल जान नपरोस्’ भनेर कामना गर्ने ममात्रै एक्लो होइन हुँला । जिन्दगीका धेरै बाध्यतामध्ये अस्पताल जानैपर्ने बाध्यतासँग मलाई सख्त घृणा छ, त्यति घृणा मेरा दुस्मनलाई पनि गर्दिनँ म ।Passport size photo
केही दिनअघिको कुरा हो । श्रीमतीको पेटमा असमान्य समस्या देखिएपछि जाजरकोट अस्पतालको पुर्जी काट्ने लाइनमा पालो पख्र्यौं । साथमा अढाई वर्षकी छोरी काव्या पनि थिइन् । पुर्जी काट्ने फाँटमा होचो कदको सुख्खा अनुहारमा आँखा रसिला देखिने व्यक्ति थियो । हेर्दा यस्तो लाग्थ्यो– ऊ पनि रोगी हो । पुर्जी हातमा थमाउँदै भन्यो, ‘खै, दस रूप्या पाम् ।’
श्रीमती नीराले रातो हातेझोलाको गोजी खोलखाल पारेर दसको नोट टेबलमा राखिदिइन् । मैले छोरीलाई काखमा राखेको थिएँ । अस्पतालको गेटभित्र पसेदेखि नै बाबा, घर जाम् भनेर छोरीले अत्याउन सुरू गरिसकेकी थिइन् ।
छोरीलाई फकाउँदै बिरामी दर्ता पुर्जी हातमा च्यापेर हामी चेकअपका लागि डाक्टरको कोठातर्फ लाग्यौँ । डाक्टरको कोठाको ढोकाको छेउमा एकजना ख्याउटे कार्यालय सहयोगी बिरामी पुर्जी हातमा राखेर पालैपालो बोलाइरहेको थियो । नीराले आफ्नो पुर्जी उसलाई दिइन् । प्रतीक्षालयको खाली बेन्च देखाउँदै उसले पालो कुर्न इसारा गर्यो । हामी गएर थपक्क बेन्चमा बस्यौँ । अन्य बेन्च बिरामी र कुरूवाले खचाखच भरिएका थिए ।
कुर्तामाथि सेतो कोट लगाएकी युवती डाक्टरको कोठामा छिरिन्, उनीसँगै पछि–पछि हातमा पुर्जी लिएकी अर्की अधबैंसे आईमाई पनि छिरिन् । ढोकामा बसेको सहयोगी उसको छेउमा बसेका बिरामी र कुरूवासँग गफिरहेको थियो ।
‘बाहिर यति धेरै बिरामी पालो कुरिरहेका छन्, चिनजानका आधारमा किन यसरी पालो मिचेको होला ?’ नीराले मसँग असन्तुष्टि पोखिन्् ।
‘भैगो छोडिदेऊ, एकजना त हो नि । अलि सिरियस केस छ कि ?’ मैले बिस्तारै भनेँ । प्रतीक्षालयमा पालो कुर्न थालेको पनि एक घन्टा बित्दै थियो हाम्रो । ‘बाबा, पानी खान मन लाग्यो,’ छोरीले अनुहार बिगार्दै भनिन् ।
मैले यताउता हेरेँ । प्रतीक्षालयको एउटा कुनाको भित्तामा ‘ए फोर’ साइजको कागजमा ‘शुद्ध पिउने पानी’ भनेर लेखिएको रहेछ । म पानी पाइने आशामा छोरीलाई काखमा राखेर कुनामा पुगेँ । त्यहाँ पानीको जर्किन, गाग्री या जग केही पनि थिएन । म निराश भएँ ।
‘मामुको चेकअप गरेपछि बाहिर गएर पानी खाउँला है छोरी,’ मैले छोरीलाई सम्झाएँ । आखिर, बच्चाको ढिपी न हो बुझ्ने कुरै भएन । उनी झनै अत्याउन थालिन् ।
उता ढोकाछेउमा बसेको दाइले नाम बोलाए । नीराको पछि–पछि म पनि डाक्टरको फाँटमा छिरेँ । साँघुरो कार्यकक्षमा दुई डाक्टर आ–आफ्ना बिरामी चेकअप गर्दै थिए । अनुहारमा दाह्री–जुँगा झपक्क पालेको डाक्टर एक विद्यार्थीको छातीमा ‘आला’ राखेर सोधपुछ गर्दै थिए । अर्का डाक्टर भने बिरामीलाई औषधि लेखिदिएर बाहिर निस्के ।
विद्यार्थी स्कुल पोशाकमै थियो । छेउमै उसको साथी पनि स्कुल पोसाकमै थियो । ऊ उत्सुक नजरले आफ्नो साथी र डाक्टरको आला हेरिरहेको थियो ।
‘तिम्रो समस्या के हो ?’ डाक्टरले ठाडोस्वरमा प्रश्न तेस्र्याए । ‘एक हप्ताजति भयो, खाना खान मनै लाग्दैन ।’ विद्यार्थीले आफ्नो दायाँ गाला मुसार्दै भित्तातर्फ फर्केर भन्यो ।
सेनाको क्याप्टेनले ‘जवान हो अलर्ट’ को शैलीमा अस्पतालको टिनको छानो थर्किनेगरी भन्यो , ‘अनि चाउचाउ, कुरमुरे खान मन लाग्छ त ?’
डाक्टर कराएको सुन्दा डराएर छोरी मेरो पाखुरा जोडले समात्दै थिइन् । बिरामी विद्यार्थीको साथमा आएको साथी डरले ढोकाबाहिर लुसुक्क निस्क्यो । बिरामी विद्यार्थीको आँखाको चेपचेपमा आँसु रसाएका देखिन्थे । सायद डाक्टरको प्रस्तुतिले ऊ डराएको थियो । डाक्टरले आँसु झर्न थालेको देखेपछि थप केरकार नगरी औषधि लेखिदियो । र, बिरामी विद्यार्थी दायाँ–बायाँ नहेरी बाहिरियो । बाहिरिँदै गर्दा मनमनै उसले भगवान्सँग प्रार्थना गर्यो होला, ‘हे, भगवान् मलाई अस्पतालमा कहिल्यै आउनु नपरोस् ।’
त्यो दृश्यले मेरो मन अमिलो भइरहेको थियो । नीराको पालो आयो ।
‘के हुन्छ ?’ डाक्टरले ठाडो लवजमा सोध्यो । ‘के हो तपाईंहरुको तरिका ? मेडिकलबाट जथाभावी औषधि किनेर खाने अहिले सन्चो भएन भनेर अस्पताल आउने ?’ नीराले सबै कुरा इतिवृत्तान्त सुनाइसकेपछि अन्त्यमा उसैगरी टिनको छाना थर्काउँदै भन्यो, ‘ती औषधि प्रयोग गर्न योग्य छन् कि छैनन् ? मेडिकल दर्ता छन् कि छैनन् । हावामा औषधि खाइदिने ?’
पुर्जीमा पिसाब र रगत जाँचको सिफारिस गरेपछि हामी बिल काट्न गयौँ । नगद फाँटले दुई सयको बिल काटिदियो । र, रसिद लिएर प्रयोगशालामा छिर्यौँ । त्यहाँ एकजना सिस्टर कुन्नी के जाँच गर्दै थिइन् । हामीलाई देखेपछि उनले पुर्जी र रसिद मागिन् । सरर्र पढेपछि उनले भनीन्, ‘यसको त सय रूपैयाँमात्रै हो । दुई सय किन तिर्नुभयो । जानुस् सय रूपैयाँ फिर्ता माग्नुस् ।’
‘ठिकै छ भइहाल्यो,’ मैले नीरालाई हेरेर हल्का हाँसेँ । ‘काँ त्यस्तो हुन्छ । सिस्टरले भनेकोजस्तै हो भने विनासित्ती किन सय रूपैयाँ दिने ?’ हजुर नगए म जान्छु भन्दै उनी नगद फाँटतर्फ लागिन् । म हाँसेँमात्रै ।
छोरीलाई नजिकैको क्यान्टिनमा लगेर पानी खुवाएँ । एकछिनपछि छोरीले भनिन् , ‘बाबा, आची गर्ने ।’
छोरीलाई शौचालय लिएर गएँ । शौचालयको भित्र महिला, पुरूषको छुट्टाछुट्टै फाँट थियो । सुरूमा पुरूषकै फाँटमा छिरेँ । त्यहाँभित्र पनि दिसा र पिसाबका लागि थप फाँटको व्यवस्था थियो । तर, ती सबै फाँटमा दिसा नै दिसा थियो । त्यहाँबाट छोरीलाई महिला फाँटमा लिएर गएँ । त्यहाँ झनै फोहोर, गन्हाउने र झिँगा भन्किरहेको । चारैतिर दिसा नै दिसा । दिक्क लाग्यो । त्यहाँ भएका कुनै पनि बाल्टिनमा पानी थिएन । दुई÷तीन बाल्टिनको पानी जम्मा गरेर पहिलेको दिसा सफा गरें । र, छोरीलाई प्यानमा बसाएँ ।
जग लिएर बाहिर पानीको खोजीमा निस्किएँ । शौचालयबाहिर अलि ठुलो ड्रम थियो । ड्रमको पिँधमा थोरै पानी थियो, त्यो पनि लेदोमात्रै । त्यही पानी लिएर छोरीको दिसा सफा गरिदिएँ । आठ÷दस मिनेट शौचालयभित्र यताउता गरिरहँदा टाउको भारी भइसकेको थियो ।
प्रयोगशालाबाट रिपोर्ट लिएर अस्पतालको इन्डोरमा नीरा आइपुगिन, म पनि भारी टाउकोसहित छोरीलाई लिएर त्यहाँ पुगेँ । इन्डोरमा तीन युवती नर्सको पोसाकमा टेबलवरिपरि बसिरहेकी थिइन् । तीमध्ये एउटा गहुँगोरो वर्णकी नर्स अलि सिनियरजस्तो देखिन्थी । चिउँडोमा कालोकोठी हुने नर्स जुरूक्क उठेर बाहिर हिँडी । छेउकीले टाउको झुकाउँदै सिनियरजस्ती देखिने नर्ससँग कुरा लाई, ‘दिदी यो खुब जान्ने पल्टिन्छे । मैले जे काम गर्न लागे पनि खै यता देखाऊ त भनेर पो भन्छे त ।’
उसको कुरा सुनेर अर्कीले दायाँ ओठ कुना अलि पर लिई । मैले नीराको रिपोर्ट टेबलमा राखेँ । ल्याबको रिपोर्ट र डाक्टरको सिफारिस सरर्र पढेपछि ब्लकको अर्को कोठामा नीरालाई लिएर गई । नर्सले नीराको स्वास्थ्य अवस्था जाँच गरेपछि एक हप्ता पछि आउने सल्लाह दिँदै भनिन्, ‘डाक्टरले सिफारिस गरेजस्तो गम्भीर अवस्था छैन । डाक्टर साब नयाँ भएकाले उहाँलाई यस्तो केसबारे त्यति अनुभव छैन । तपार्इंहरु नआत्तिनुहोस् ।’
हामी अस्पतालबाट घर पुग्दासम्म दुवै मौन रह्यौँ । छोरीले घरको आँगनमा पुगेपछि नाक खुम्च्याउँदै भनीन्, ‘बाबा, अफताल त कथ्थो गन्हाउने रच बाइ ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल