BLOG : समयको अवमूल्यन

-  |   निश्चल वाग्ले

BLOG : समयको अवमूल्यन

हामी कस्तो समाजमा हुर्के, बढेका छौँ, त्यो बुझ्न हामीले समयलाई कत्तिको महत्व दिन्छौँ, त्यो बुझ्न जरूरत छ । सरकारी कार्यालय होस् वा कुनै सभा–समारोह या अन्य कुनै कार्यक्रम । यदि उल्लिखित समयमै ढिलासुस्ती नगरी हामी त्यहाँ पुग्यौँ भने आफ्नो पदीय मर्यादा र सम्मान नै धरापमा पो पर्ने हो कि जस्तो कल्पना गर्छौं । कुनै पद वा प्रतिष्ठामा पुग्न हरेक व्यक्तिले पक्कै पनि ठूलै संघर्ष गरेको हुन्छ, जुन हामी सबैले सम्मान गर्छांै, चाहे राष्ट्रपति होस् वा वडाअध्यक्ष, विद्यार्थी नेता, पत्रकार, डाक्टर, वकिल, प्राध्यापक वा सरकारी कार्यलयको हाकिम । सबैले आफ्नो तहबाट लामो समयको अभ्यास, ज्ञान र संघर्षबाट त्यो पदमा पुग्न सफल भएका हुन्छन्, जसको हरेकले सम्मान गर्नुपर्छ तर कुनै कार्यक्रममा अतिथि बनेको बेला वा सरकारी कार्यालयमा दैनिक कामकाजमा सही समयमा पुगे आफू कतै महत्वपिहीन पो बनिने हो कि भन्ने मनोवैज्ञानिक त्रास हामी सबैमा रहेको कुरा स्वीकार्न सक्नुपर्छ ।
पदीय गरिमा कायम गर्ने बहानामा हामीले जस्तोप्रकारको संस्कारलाई जन्म दिएर आत्मसात् गरी अघि बढ्दै छौँ, यसले भविष्यमा कस्तो असर गर्छ त ? हाम्रो समाजमा एउटा शब्द खुबै प्रख्यात छ– ‘नेपाली टाइम’ । कुनै कार्यक्रममा हामी साधारण व्यक्तिसमेत श्रोताका रुपमा उपस्थित हुनुपरे कहिले सुरू होला भनी सोध्छौँ र आफैँले ‘नेपाली टाइम’ न हो भनी तोकिएकोभन्दा एक घन्टापछि कार्यक्रम सुरू हुने आँकलन गर्छांै । त्यहीअनुसार उपस्थिति जनाउछौँ । वक्ता वा सम्माननीय अतिथि अझै ढिलो आउनु त सायद स्वाभाविक नै होला ।
समय हाम्रो अधिकार हो । समय अमूल्य चीज हो । समयको सम्मान नै हामी सबैको अधिकारको सम्मान हो । मलाई लाग्छ– हाम्रो समाजमा समयको सख्त पालना हुने एउटा मात्र ठाउँ छ, त्यो हो– परीक्षा । जहाँ निर्धारित समयमै सुरू हुन्छ र केही नआए पनि विद्यार्थी एक घन्टा नै बस्न बाध्य हुन्छन् । जति नै जानेको भए पनि वा छुटेको भए पनि कुनै माग–दाबी नगरी समय सकिनेबित्तिकै दिनुपर्छ । परीक्षामा मात्र समयको सम्मान र कदर हुन्छ, नतिजा निकाल्ने बेलामा । फर्म खोल्ने बेलामा वा परीक्षाको मिति तोक्ने बेलामा समयको कदर नभएको फेरि पनि देख्न पाइन्छ । हरेक क्षेत्रमा हेराँै– ढिलासुस्ती र समयको कदर नगरिएको प्रहस्तै देख्छौँ, क्याम्पसका प्रशासनदेखि लिएर सरकारी कार्यालय र मन्त्रालयसम्म पनि निर्धारित समयमा केही सुरू नहुने हामी सबैले देखेका र भोगेका छौँ, जसले एउटा सेवाग्राहीलाई मात्र होइन, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा समाजको ठूलै हिस्सामाथि असर गरिरहेको हुन्छ ।
समयको अवमूल्यन सबैभन्दा धेरै हुने राजनीतिक कार्यक्रम वा कुनै राजनीतिक व्यक्तित्वको आतिथ्य हुने कार्यक्रममा हो । जनप्रतिनिधि, जनसेवक र जनताका आशा बोकेका व्यक्ति स्वयम्ले नै जनताको समयको कदर नगरेको हामी भेट्छौँ । राजनीतिक व्यक्तित्वको आतिथ्य भएको कार्यक्रममा श्रोतालाई धेरै नै समय कुराएर वक्ताको आगमन हुनु र धेरै लामो भाषण, मन्तव्य दिएर कार्यक्रम लम्ब्याई उपस्थित अन्य कसैको समयको महत्व नै नभएकोजस्तो गरिदिनु हाम्रो समाजमा कुनै नौलो विषय होइन न त साधारण व्यक्तिले धेरै चासोसाथ लिने विषय नै । उपस्थिति ढिलो हुनु छुट्टै कारण होला, जस्तै नेपालको हकमा सवारी चाप र अवरोधले पनि उपस्थिति हुनुमा ढिलो गराउन सक्छ तर सधैँ समयको सम्मान र महत्व नबुझ्नुलाई बहाना दिएर चोखिनु उपर्युक्त नहोला ।
मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको सवारीले गर्दा आमजनताले सास्ती भोग्नुपरेका उदाहरण पनि धेरै नै छन् । तर, उहाँहरु नै कुनै कार्यक्रममा जाँदै हुनुहुन्छ भने श्रोताले धेरै समय कुर्नुपर्ने बाध्यात्मक अवस्था हुन्छ, जब कि आउनका लागि सडक खाली गरिन्छ, ढिला हुनु अरु जिम्मेवारी र कामको बोझले पनि हुन सक्छ तर अब हाम्रो समाज र नेतृत्वले बुझ्नु जरूरत छ । कुनै कार्यक्रममा छ भने समय पहिले नै मिलाएर आउने नआउने तय गर्नुपर्छ । आउने भए ठीक समयमै सबैको कदर गर्दै आउनुपर्छ । तय गरेकोभन्दा धेरै ढिला आउने, धेरै समय कुराउने र लामो भाषण र मन्तव्य दिने कार्य अब बिस्तारै कम गर्दै जानुपर्छ । सर्वसाधारणले ग्राउन्ड लेभलबाटै यस्तो प्रवृत्ति कम गर्नका लागि यस्तो व्यवहारलाई नैतिक विरोधका रुपमा कार्यक्रम बहिष्कारसम्म गर्नुपर्छ, जसले गर्दा आउने पुस्तामा यस्तो प्रवृत्ति अन्त्य भएर समयको सम्मान गर्ने र महत्वको कदर गर्ने परिपाटी सिर्जना हुनेछ । किनकि जे सिक्यो आफूले पनि त्यही अभ्यास गर्ने हो । समाजमा जस्तो प्रवृत्ति छ, भोलिका देशको भविष्यका मनोविज्ञानले सिक्ने नै त्यस्तै हो । यस्ता अभ्यास अहिलेदेखि नै रोक्ने, कम गर्नेतर्फ सोचिने भए अर्काे पुस्ताले पनि जे सिक्यो त्यही पालना गरी निरन्तरता दिनेछन् ।
समयको महत्व र यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाजको ठूलो हिस्सालाई असर गर्छ भनी हेर्न नेविसंघको जारी महाधिवेशन हेरे प्रस्ट हुन्छ । नौ वर्षपछि हुन लागेको महाधिवेशन पूर्वनिर्धारित समयमा हुन नसक्दा अहिले कांग्रेस–माओबादी समीकरणको प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन । एउटा दलको भ्रातृ संगठन समयअनुसार चल्न नसक्दा मन्त्रिपरिषद्को पूर्णता नपाउनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्पूर्ण देश नै प्रभावित बन्दै छ । त्यसैले सबैको समयको सम्मान गरी अघि बढ्न सिक्नुपर्छ ।
समय अमूल्य हुन्छ । समय नै सबैभन्दा ठूलो अधिकार हो । यसको सम्मानविना अरु कुनै अधिकारको सम्मान हुन सक्दैन । जबसम्म हामीले समयको सम्मान र महत्वको कदर गर्न सक्दैनौँ, तबसम्म समृद्ध नेपालको कल्पना गर्न सक्ने अवस्था हुँदैन, त्यसैले हामी सबैले आफ्नो तहबाट आजबाटै समयको सम्मान गर्ने र अरुलाई पनि गर्न लगाउने परिपाटी विकास गर्दै परिवर्तन र समृद्ध नेपालको निर्माणका लागि इँटा थप्दै अघि बढौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल